किपट खोसिएको याक्थुम्बा
पगरी खोसिएको किरात जाति

तीतेपातीको झ्याङ
अलैंचीका बोटहरू
घरछेउको कान्लामा नै छाडेर

हिंडेको छ
ट्रयाक्टरको ट्रली चढेर सुस्तरी सुस्तरी

बाँदरले दुःख दिएका कारण
उठेको बस्तीको
छानाबिनाको घर

जिन्दगीका अटोग्राफमा लेखिएका
क्रान्तिकारी शब्दहरूलाई सुस्तरी सम्झिरहेका

भेटिन्छन्
जनयुद्ध लडेका सिपाहीहरू
पुराना पहाडमुनि
अचेल यता आइपुग्दैन
पार्टी हेडक्वाटरको नयाँ घोषणा

आइपुग्छन् त केवल
कवाडी सामानहरू खोज्दै
रक्सौलबाट
केही अपरिचित अनुहारहरू

सायद
मुटु मिलेको साथी पनि
बाँच्नुको खेलमा भिडिरहेछ
अरबतिर

विगत हिँडेको बाटोमा
अझै छ घामको चित्र

छैनन् त केवल
समयका छायाहरू ।