किपट खोसिएको याक्थुम्बा
पगरी खोसिएको किरात जाति
तीतेपातीको झ्याङ
अलैंचीका बोटहरू
घरछेउको कान्लामा नै छाडेर
हिंडेको छ
ट्रयाक्टरको ट्रली चढेर सुस्तरी सुस्तरी
बाँदरले दुःख दिएका कारण
उठेको बस्तीको
छानाबिनाको घर
र
जिन्दगीका अटोग्राफमा लेखिएका
क्रान्तिकारी शब्दहरूलाई सुस्तरी सम्झिरहेका
भेटिन्छन्
जनयुद्ध लडेका सिपाहीहरू
पुराना पहाडमुनि
अचेल यता आइपुग्दैन
पार्टी हेडक्वाटरको नयाँ घोषणा
आइपुग्छन् त केवल
कवाडी सामानहरू खोज्दै
रक्सौलबाट
केही अपरिचित अनुहारहरू
सायद
मुटु मिलेको साथी पनि
बाँच्नुको खेलमा भिडिरहेछ
अरबतिर
विगत हिँडेको बाटोमा
अझै छ घामको चित्र
छैनन् त केवल
समयका छायाहरू ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ फाल्गुन २०८२, बिहीबार 










