अध्ययनको सारांश
लयविधान काव्यको एक आधारभूत तत्व हो । आधुनिक समीक्षाविधिको सङ्कथन विश्लेषणमा लयविधानको प्रयोग हुन्छ । काव्यकै लघुरूप अन्तर्गत पर्ने गजलमा लयको भूमिका अत्यावश्यक हुन्छ । लयको प्रयोगले गजललाई साहित्यका अन्य विधाबाट अलग देखाउँछ । लयको अभावमा गजलको सिर्जना गर्नु सम्भव छैन । लयविधानका कोणबाट हेर्दा गजललाई सङ्कथनका रूपमा लिई विश्लेषण गरिन्छ । यसर्थ गजलको विश्लेषण गर्ने विशिष्ट विधिमध्ये लयविधान पनि एक हो । पूर्वीय काव्य मान्यतालाई आधार मानेर गरिने लयविधानमा संरचनालाई प्रमुख रूपमा लिइन्छ भने सङ्कथन विश्लेषणमा लयको काव्यात्मक उपयोगितालाई हेरिन्छ । लय प्रयोगका आधारमा कवितालाई पद्यलय र गद्यलय गरी दुई भागमा विभाजन गर्ने गरिन्छ । गजलमा लयविधानको चर्चा गर्नुपर्दा लयविधानका सामग्रीका रूपमा आवृत्ति वा समानान्तरता, वर्णविन्यासवक्रता, पङ्क्तिविन्यास, लेख्य चिन्हहरूको प्रयोग, वाक्यीय ढाँचा, विचलन तथा कथ्य भाषाको प्रयोगको चर्चा गरिन्छ । लयप्रयोगमा निकै सचेत गजलकार श्रेष्ठ प्रिया पत्थरका गजल लयविधानका दृष्टिले उत्कृष्ट छन् । यो आलेखमा श्रेष्ठ प्रिया ‘पत्थर’का गजललाई लयविधानका तिनै उपकरणका आधारमा विश्लेषण गरिएको छ ।
शब्द कुञ्जी ः आवृत्ति, विचलन, पङ्क्तिविन्यास, वर्णविन्यासवक्रता, वाक्यीय ढाँचा ।
१. विषय परिचय
साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ (२०२१) नेपाली साहित्याकाशमा सुपरिचित स्रष्टा तथा द्रष्टा हुन् । उनका हालसम्म प्रकाशित विविध विधाका १७ वटा कृति त्यसका ज्वलन्त साक्ष्य हुन् । नेपाली साहित्यका गजल र कविताजस्ता पद्य तथा उपन्यास, कथा र संस्मरणजस्ता गद्यसाहित्यमा उनको कलम सफलतापूर्वक चलेको पाइन्छ । यसका अतिरिक्त समीक्षाअन्तर्गत पर्ने भूभिका लेखनमा पनि उनको सक्रियता देखिन्छ । गजल विधाअन्तर्गत उनका पग्लिएका व्यथाहरू (२०५३), पत्थरका प्रलापहरू (२०५९), आँसुको सौगात (२०६०) र ओभाएका छैनन् आँखा (२०६७) गरी चारवटा कृति प्रकाशित भएका छन् । गजलसिद्धान्तको पालना गरी लेखिएका उनका गजलमा विशिष्ट लयको प्रयोग गरिएको पाइन्छ ।
लयविधान काव्यको विश्लेषण गर्ने विशिष्ट विधि हो । त्यसो त गजललाई विविध तरिकाबाट विश्लेषण गर्न सकिन्छ । तिनमा सङ्कथन विश्लेषण पनि एक हो । सङ्कथन विश्लेषणमा लयविधानको चर्चा हुन्छ । पूर्वीय काव्य मान्यतालाई आधार मानेर गरिने लयविधानमा संरचनालाई प्रमुख रूपमा हेरिन्छ भने सङ्कथन विश्लेषणमा लयको काव्यात्मक उपयोगिता प्रमुख रूपमा आउँछ । गजलका आधारभूत तत्वहरूमध्ये लयविधान एक महत्वपूर्ण तत्व हो । लयले गजललाई साहित्यका अन्य विधाबाट अलग देखाउँछ । यसको अभावमा गजलको सिर्जना गर्न सकिँदैन । गजलमा लयविधानको चर्चा गर्नुपर्दा पङ्क्तिविन्यास, आवृत्ति वा समानान्तरता, वर्णविन्यासवक्रता, लेख्य चिन्हहरूको प्रयोग, वाक्यीय ढाँचा तथा विचलनको चर्चा गरिन्छ । यहाँ श्रेष्ठ प्रिया ‘पत्थर’ का गजललाई लयविधानका आधारमा विश्लेषण गरेर हेरिएको छ ।
२. लयविधानको सैद्धान्तिक अवधारणा र ‘पत्थर’का गजलको विश्लेषण
गजल कविता–काव्य अन्तर्गत पर्ने विशिष्ट संरचना हुने काव्यिक भेद हो । यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । संरचनात्मक आधारमा भाव र भाषाशैली; गजलका तŒवका आधारमा शेर, रदीफ, काफिया, तखल्लुस; लयका आधारमा बहरबद्ध, वर्णमात्रिक लय, लोकलय, स्वनिर्मित लय तथा विभिन्न दार्शनिक कोणबाट समेत गजलको विश्लेषण हुन सक्छ । जे भए पनि शास्त्रीय लय, लोकलय वा स्वनिर्मित लयमध्ये कुनै एक लयमा गजलको रचना गरिन्छ ।
लयविधान आधुनिक भाषाशास्त्रीय मान्यता हो । पाश्चात्य साहित्य सिद्धान्त अनुसार सङ्कथन विश्लेषणमा लयविधानको चर्चा हुने गर्छ । हिजोआज लयविधान काव्यको विश्लेषण गर्ने विशिष्ट आधार बन्दै गएको छ । गजल एउटा विशिष्ट काव्यिक सङ्कथन भएकाले यसको आधारभूत तत्व अन्तर्गत लयविधानलाई लिइन्छ । लयविधानले गजललाई साहित्यका अन्य विधाहरूबाट अलग गराउँछ । गजलमा प्रयोग हुने विशिष्ट प्रकारको भाषिक विन्यासका कारण विशिष्ट लय उत्पन्न हुन्छ । गजलमा प्रयुक्त लयविधानको विश्लेषण गर्न आवृत्ति वा समानान्तरता, वर्णविन्यासवक्रता, पङ्क्तिविन्यास, लेख्य चिन्हहरूको प्रयोग, वाक्यीय ढाँचा, विचलन तथा कथ्य भाषाको प्रयोगजस्ता उपकरणहरूको चर्चा गर्दै गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का प्रकाशित चार गजलसङ्ग्रहहरूमध्ये यहाँ उनको दोस्रो गजलकृति पत्थरका प्रलापहरू (२०५९)लाई आधार मानेर उनका गजलमा प्रयुक्त लयविधानको निम्न उपशीर्षकमा विश्लेषण गरिएको छ ः
२.१. आवृत्ति वा समानान्तरता
आवृत्ति भनेको उही वा उस्तै कुरा दोहो¥याउनु हो । गजलमा समान वर्ण, पद, पदावली, उपवाक्य तथा वाक्यको आवृत्ति गरी लयको सिर्जना गरिन्छ । वर्णको आवृत्ति अन्तर्गत आद्य स्वरावृत्ति, मध्य स्वरावृत्ति, अन्त स्वरावृत्ति, आद्य व्यञ्जनावृत्ति, मध्य व्यञ्जनावृत्ति, अन्त व्यञ्जनावृत्ति, आद्य अक्षरावृत्ति, मध्य अक्षरावृत्ति, अन्त अक्षरावृत्ति, आद्य व्यञ्जन स्वरावृत्तिजस्ता विभिन्न भेदहरू हुन सक्छन् । सुरुको स्वर एक वा अनेक पटक दोहोरिनु आद्य स्वरावृत्ति हो भने बीचको स्वर दोहोरिनु मध्य स्वरावृत्ति र अन्तको स्वर दोहोरिनु अन्त स्वरावृत्ति हो । सुरुको व्यञ्जन एक वा अनेक पटक दोहोरिनु आद्य व्यञ्जनावृत्ति हो भने बीचको व्यञ्जन दोहोरिनु मध्य व्यञ्जनावृत्ति र अन्तको व्यञ्जन दोहोरिनु अन्त व्यञ्जनावृत्ति हो । त्यस्तै सुरुको अक्षर दोहोरिनु आद्य अक्षरावृत्ति, बीचको अक्षर दोहोरिनु मध्य अक्षरावृत्ति र अन्तको अक्षर दोहोरिनु अन्त अक्षरावृत्ति हो । वर्ण मात्र नभई यस्तो आवृत्ति पद, पदावली, उपवाक्य र वाक्यको तहमा पनि हुने गर्दछ । गजलमा यस्तो आवृत्तिले विशिष्ट लयको सिर्जना गर्दछ । यहाँ गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’को गजलकृति पत्थरका प्रलापहरूमा प्रयोग भएको आवृत्तिलाई निम्नानुसार विश्लेषण गरिएको छ ः
२.१.१. वर्णको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिको आदि, मध्य र अन्त्यमा गरिएको स्वर तथा व्यञ्जन वर्णको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
क) आद्य स्वरावृत्तिको नमुना
“ आँगनमै साँढे आई चर्दा, नचर् भन्ने को छ यहाँ ?”
(पत्थर, २०५९, गजल ः ६५) ।
माथिको उदाहरणमा आँगन र आई शब्दको सुरुमा स्वरवर्ण आ को आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ख) मध्य स्वरावृत्तिको नमुना
“मात्तिएर पात्तिएर, हिँड्नेहरू हिँड्दै गर्छन् ।”
(पत्थर, २०५९, गजल ः ३) ।
माथिको उदाहरणमा मात्तिएर र पात्तिएर शब्दको मध्यमा ए वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ग) अन्त स्वरावृत्तिको नमुना
“ यौटा भाइलाई बन्दुक अनि, अर्कोलाई बम दिई ।”
(पत्थर, २०५९, गजल ः ६५) ।
माथिको उदाहरणमा भाइलाई, अर्कोलाई र दिई शब्दको अन्तमा ई वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
घ) आद्य व्यञ्जनावृत्तिको नमुना
“मेवा मिष्ठा चाहिँदैन, रुखो सुको भए पुग्छ, ”
(पत्थर, २०५९, गजल ः २) ।
माथिको उदाहरणमा मेवा र मिष्ठा शब्दको सुरुमा म वर्णकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ङ) मध्य व्यञ्जनावृत्तिको नमुना
“किन चाहियो महल र, पजेरोको सवारी नै ।”
(पत्थर, २०५९, गजल ः २) ।
माथिको उदाहरणमा चाहियो र महल शब्दको मध्यमा ह वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको पाइन्छ ।
च) अन्त व्यञ्जनावृत्तिको नमुना
“पुर्खाले दिए विशाल नेपाल, रगतले सिंचेर ।”
(पत्थर, २०५९, गजल ः २४) ।
माथिको उदाहरणमा पुर्खाले, विशाल, नेपाल र रगतले शब्दको अन्त्यमा ल वर्णको आवृत्ति गरी लयको सिर्जना गरिएको पाइन्छ ।
यस्ता खालका आदि, मध्य र अन्त्यमा हुने स्वर तथा व्यञ्जन वर्णको आवृत्ति गजलकृतिका विभिन्न गजलमा ठाउँ ठाउँमा गरिएको छ । यसरी गरिएको स्वर तथा व्यञ्जन वर्णको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
२.१.२. अक्षरको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिको आदि, मध्य र अन्त्यमा हुने अक्षरको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
क) आद्य अक्षरावृत्तिको नमुना
अ) “छान्दा थाकिए पनि, सडेकोलाई छान्नु हुन्न ।”
(पत्थर, २०५९, गजल ः ९) ।
आ) “चिन्नु थियो संसारलाई, चिन्नु जति चिनिसकेँ ।”
(पत्थर, २०५९, गजल ः ६६) ।
माथिको पहिलो उदाहरणमा छान्दा र छान्नु पदको सुरुमा छा तथा दोस्रो उदाहरणमा चिन्नु, चिन्नु र चिनिसकेँ पदको सुरुमा चि अक्षरकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ख) मध्य अक्षरावृत्तिको नमुना
“बनेकोलाई धेरै भत्काई सक्यौ, हुर्किएकोलाई धेरै ढाली सक्यौ ।”
(पत्थर, २०५९, गजल ः १७) ।
माथिको उदाहरणमा बनेकोलाई र हुर्किएकोलाई पदको मध्यमा को अक्षरकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
ग) अन्त अक्षरावृत्तिको नमुना
आ) “वारी कि त पारी भन्ने, अठोट गरी हिँड्दा,”
(पत्थर, २०५९, गजल ः ६) ।
आ) “चित्त दुख्दा आँसु झर्छ, छाला काट्दा रगत आउँछ ।”
(पत्थर, २०५९, गजल ः ३३) ।
माथिको पहिलो उदाहरणमा आएका वारी, पारी र गरी पदमा री अक्षरको तथा दोस्रो उदाहरणमा आएका झर्छ र आउँछ पदको अन्तमा छ अक्षरकोे आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
यस्ता खालका आदि, मध्य र अन्त्यमा हुने अक्षरको आवृत्ति गजलकृतिका विभिन्न गजलमा ठाउँ ठाउँमा गरिएको छ । यसका अतिरिक्त गजलको काफियामा यस्तो पदको आवृत्ति हरेक जोर पङ्क्तिमा गरिएको छ । यसरी गरिएको अक्षरको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू लयविधानमा उत्कृष्ट बनेका छन् ।
२.१.३. पदको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा पदको आवृत्तिबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
अ) “समान ठाउँमा समान भाउमा, आफूलाई बेचेपछि ।”
(पत्थर, २०५९, गजल ः २३) ।
आ) “क्षणिक सुख, क्षणिक शान्ति, क्षणिक बाँच्ने चाहनामा ।”
(पत्थर, २०५९, गजल ः ३७) ।
माथिको पहिलो उदाहरणमासमान पदको एक पटक र दोस्रो उदाहरणमा क्षणिक पदको दुई पटक आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
यस्ता खालका पदको आवृत्ति गजलकृतिका विभिन्न गजलमा ठाउँ ठाउँमा गरिएको छ । यसका अतिरिक्त गजलको रदीफमा यस्तो पदको आवृत्ति हरेक जोर पङ्क्तिमा गरिएको छ । यसरी गरिएको पदको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
२.१.४.पदावलीको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा पदावलीको आवृत्ति गरी निम्नानुसार गजलमा लयको सिर्जना गरिएको छ ः
अ) “साँच्चै ठूलो पहाड खस्यो, म भित्रको मान्छेलाई ।
बाध्यताले फेरि कस्यो, म भित्रको मान्छेलाई ।”
(पत्थर, २०५९, गजल ः ३७) ।
आ) “जिन्दगीमा खुसी पीडा, उन्छु म गजलमा नै,
हृदयका चीत्कार पनि, सुन्छु म गजलमा नै ।”
(पत्थर, २०५९, गजल ः ४६) ।
माथिको पहिलो उदाहरणमाम भित्रको मान्छेलाई पदावलीको तथा दोस्रो उदाहरणमा म गजलमा नै पदावलीको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
यस्ता खालका पदावलीको आवृत्ति गजलकृतिका विभिन्न गजलमा विभिन्न ठाउँमा गरिएको छ । यसका अतिरिक्त कतिपय गजलको रदीफमा पनि यस्तो पदावलीको आवृत्ति हरेक जोर पङ्क्तिमा गरिएको देखिन्छ । यसरी गरिएको पदवलीको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
२.१.५.उपवाक्यको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा उपवाक्यको आवृत्ति गरी गजलमा निम्नानुसार लयको सिर्जना गरिएको छ ः
अ) “अयोध्यामा रावण पस्यो, राम खोज्न कहाँ जाऊँ ?
मथुरामा कंश पस्यो, श्याम खोज्न कहाँ जाऊँ ?”
(पत्थर, २०५९, गजल ः १८) ।
आ) “कहिल्यै उतार कहिल्यै चढाव, सफर यस्तै छ,
नसोध्नोस् भन्नै नमिल्ने, खबर यस्तै छ ।”
(पत्थर, २०५९, गजल ः ६३) ।
माथिको पहिलो उदाहरणमा खोज्न कहाँ जाऊँ ? र दोस्रो उदाहरणमा यस्तै छ उपवाक्यको आवृत्ति गरी लयको सिर्जना गरिएको छ ।
यस्ता खालका उपवाक्यको आवृत्ति गजलकृतिका विभिन्न गजलमा विभिन्न ठाउँमा गरिएको छ । यसका अतिरिक्त कतिपय गजलको रदीफमा यस्तो पदावलीको आवृत्ति हरेक जोर पङ्क्तिमा गरिएको छ । यसरी गरिएको उपवाक्यको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
२.१.६. वाक्यको आवृत्ति
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा वाक्यको आवृत्ति गरी गजलमा निम्नानुसार लयको सिर्जना गरिएको छ ः
“पाना सबै भरिए पनि, म कतै छैन अब,
आह्वान जति गरिए पनि, म कतै छैन अब ।”
(पत्थर, २०५९, गजल ः ६६) ।
माथिको उदाहरणमा म कतै छैन अब वाक्यको आवृत्तिले कवितामा विशिष्ट खालको लयको सिर्जना भएको छ । यसले लय सिर्जना मात्र गरेको छैन, भावलाई पूर्णता दिने काम पनि गरेको देखिन्छ ।
यस्ता खालका वाक्यको आवृत्ति गजलकृतिमा कतैकतै गरिएको छ । यसरी गरिएको वाक्यको आवृत्तिले गजलकार ‘पत्थर’का गजलहरू लयविधानका कोणबाट उत्कृष्ट बनेका छन् ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ले आफ्ना गजलमा आवृत्तिको पूर्ण पालना गरेकी छिन् । विभिन्न स्थानमा वर्ण, अक्षर, पद, पदावली, उपवाक्य एवम् वाक्यको आवृत्ति गरेर विशिष्ट खालको लयको सिर्जना गरिएको हुँदा उनको गजल लयविधानका दृष्टिले उत्कृष्ट छ ।
२.२. वर्णविन्यासवक्रता
गजल सिर्जना गर्दा स्वर तथा व्यञ्जन वर्णहरूको केही निश्चित अन्तरालमा एक वा अनेक पटक गरिने आवृत्ति नै वर्णविन्यासवक्रता हो । यसका पनि विभिन्न भेदहरू हुन सक्छन् । एउटा वर्णको आवृत्तिबाट एक वर्णविन्यासवक्रता, दुईवटा वर्णको आवृत्तिबाट द्विवर्ण विन्यासवक्रता र दुईभन्दा बढी वर्णहरूको आवृत्तिबाट बहु वर्णविन्यासवक्रता बन्दछ । गजलमा सुनियोजित रूपमा गरिने यस्तो वर्णहरूको आवृत्तिले विशिष्ट लयको सिर्जना गर्न महŒवपूर्ण भूमिका खेल्दछ । गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा वर्णविन्यासवक्रताको उपयोग गरी निम्नानुसार लयको सिर्जना गरिएको छ ः
२.२.१. स्वर वर्णविन्यासवक्रता
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा स्वर वर्णको वर्णविन्यासवक्रताबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
“अमृत बग्ने हृदयमा भष्म अग्नि सल्काएर,”
(पत्थर, २०५९, गजल ः ३७) ।
माथिकोे उदाहरणमा अ स्वरवर्णको आवृत्ति गरेर वर्णविन्यासवक्रताको सिर्जना गरिएको छ ।
यस्ता खालका स्वर वर्णविन्यासवक्रताको प्रयोग गजलकृतिका विभिन्न गजलमा ठाउँ ठाउँमा गरिएको छ । यसरी गरिएको वर्णविन्यासवक्रताले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
२.२.२. व्यञ्जन वर्णविन्यासवक्रता
गजलकार ‘पत्थर’का गजलका पङ्क्तिमा व्यञ्जन वर्णको वर्णविन्यासवक्रताबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
क) “नसम्झनोस् गाउँदै हिँड्ने, गाइनेको आलाप हो यो,”
(पत्थर, २०५९, गजल ः १) ।
ख) “कलंकको कालो टीका, निधारमा टाँसेका छौ ।”
(पत्थर, २०५९, गजल ः ४०) ।
माथिकोे पहिलो उदाहरणमा न, स, ग तथा ह वर्णको तथा दोस्रो उदाहरणमा क, ल तथा ट जस्ता व्यञ्जन वर्णको आवृत्ति गरी वर्णविन्यासवक्रताको निर्माण गरिएको छ ।
यस्ता खालका व्यञ्जन वर्णविन्यासवक्रताको प्रयोग गजलकृतिका विभिन्न गजलमा ठाउँ ठाउँमा गरिएको छ । यसरी गरिएको वर्णविन्यासवक्रताले गजलकार ‘पत्थर’का गजलहरू उत्कृष्ट बनेका छन् ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ले आफ्ना गजलमा विभिन्न ठाउँमा स्वर तथा व्यञ्जन वर्णको सचेततापूर्वक आवृत्ति गरी वर्णविन्यासवक्रताको निर्माण गरेकी छिन् । यसले गर्दा उनका गजलमा विशिष्ट लयको सिर्जनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।
२.३. पङ्क्तिविन्यास
पङ्क्तिविन्यास भनेको पङ्क्ति कसरी तयार पार्ने ? भन्ने योजना हो । गजल सिर्जना गर्दा पङ्क्तिविन्यासमा विशेष ध्यान पु¥याइन्छ । गजलमा पङ्क्तिविन्यास गर्दा अक्षर गणनामा विशेष ध्यान पु¥याइन्छ । शास्त्रीय लयमा लेखिएका गजलमा अक्षर र मात्रा दुबै मिलाइन्छ भने लोकलय तथा निर्मित लयका गजलमा अक्षरको सङ्ख्या मात्र मिलाइन्छ । अक्षर बराबर बनाए पनि शब्द सङ्ख्या भने घटबढ हुने गर्छ । यस्तो योजनाले विशिष्ट खालको लयको सिर्जना गर्छ । तसर्थ पङ्क्तिविन्यास गजलमा लयविधान गर्दा हेरिने अर्को महŒवपूर्ण आधार हो ।
गजल लयमा रचिने काव्यात्मक रूप भएकाले गद्यकवितामा जस्तो फरक फरक पङ्क्तिमा फरक फरक आयाममा रचना गर्ने छुट गजलकारलाई हुँदैन । यसमा हरेक गजलमा पङ्क्तिविन्यास गर्दा बराबर अक्षरको आयाममा फैलिनु जरुरी हुन्छ । उदाहरण ः
क) कम शब्द भएको पङ्क्तिको नमुना ः
“भाइ–भाइ हुन्, मर्ने–मार्ने,
दुवैलाई धन्यवाद छैन ।” (पत्थर, २०५९, गजल ः ४१) ।
ख) बढी शब्द भएको पङ्क्तिको नमुना ः
“उठ–उठ, उठ तिमी उठ्नु पर्ने हो यो समय,
जुट–जुट, जुट तिमी जुट्नु पर्ने हो यो समय ।”
(पत्थर, २०५९, गजल ः ४७) ।
उदाहरण स्वरूप माथि प्रस्तुत पहिलो शेरको पहिलो पङ्क्तिमा पाँच शब्दको प्रयोग भएको छ भने दोस्रो पङ्क्तिमा तीन शब्दको प्रयोग भएको छ । यसर्थ यो छोटो पङ्क्तिविन्यासको नमुना हो । त्यस्तै दोस्रो शेरका दुबै पङ्क्तिमा नौ–नौ शब्दको प्रयोग गरिएको छ । यसर्थ यो लामो पङ्क्तिविन्यासको नमुना हो ।
यस्तो पङ्क्तियोजना सर्जकको विशिष्ट पहिचान हो । यसले लयको सिर्जनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, जुन गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा पनि पाइन्छ । यसरी विविध खालका पङ्क्तिविन्यास गर्दै गजलकारले विशिष्ट लयको योजना गरेकी छिन् । तसर्थ पङ्क्ति योजनाका कोणबाट गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा विशिष्ट लयको सिर्जना गरिएको पाइन्छ ।
२.४. वाक्यीय ढाँचा
गजलमा निश्चित खालको वाक्यीय ढाँचाको प्रयोग गरिएको हुन्छ । यस्तो ढाँचामा फरक फरक पङ्क्तिहरूमा कुनै वाक्य पूर्ण र कुनै वाक्य अपूर्ण खालका पनि हुन्छन् । कुनै पङ्क्तिमा एकभन्दा बढी वाक्यहरू पनि हुन्छन् भने कुनै वाक्यका लागि एकभन्दा बढी पङ्क्तिहरूको समेत उपयोग गरिएको हुन सक्छ । यस्तो वाक्यीय ढाँचा सर्जकको मौलिक पहिचान पनि हो । यस्ता वाक्यीय ढाँचाले गजलमा विशिष्ट लयको सिर्जना गर्छ ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा कतै एउटै पङ्क्तिमा एकदेखि दुई वाक्यसम्मको प्रयोग गरिएको छ । कतै अपूर्ण वाक्यको प्रयोग गरिएको छ भने कतै एउटै वाक्यका लागि दुई पङ्क्तिको समेत प्रयोग गरेको पाइन्छ । उदाहरण ः
२.४.१. एक वाक्यीय ढाँचा
तलको उदाहरणमा एउटा पङ्क्तिमा एउटा मात्र वाक्यको उपस्थिति पाइन्छ ः
“रावणको दरबारमा, बदनाम राम हुन्छ ।”
(पत्थर, २०५९, गजल ः १९) ।
माथिको उदाहरणमा एउटा पङ्क्तिमा एउटा मात्र वाक्यको उपस्थिति गराएर गजलकारले विशिष्ट लयको योजना गरेकी छिन् ।
२.४.२. बहु वाक्यीय ढाँचा
तलको उदाहरणमा एउटा पङ्क्तिमा दुईवटा वाक्यको उपस्थिति पाइन्छ ः
“राष्ट्रियता घायल हुन्छ, मानवता चिच्याउँछ ”
(पत्थर, २०५९, गजल ः ४) ।
माथिको उदाहरणमा एउटै पङ्क्तिमा दुई वटा वाक्यको उपस्थिति गराएर गजलकारले विशिष्ट लयको सिर्जना गरेकी छिन् ।
२.४.३. बहु पङ्क्तीय वाक्यढाँचा
तलको उदाहरणमा एक वाक्यका लागि दुईवटा पङ्क्तिको प्रयोग भएको छ ः
“साउनमा आँखा फुट्यालाई
कतै केही बरबाद छैन ।”
(पत्थर, २०५९, गजल ः ४१) ।
माथिको उदाहरणमा एक वाक्य पूरा गर्नका लागि गजलकारले दुईवटा पङ्क्तिको प्रयोग गरेकी छिन्, जसका कारण छुट्टै खालको लययोजना निर्माण भएको छ ।
२.४.४. अपूर्ण वाक्यढाँचा
तलको उदाहरणका दुबै पङ्क्तिमा गजलकारले अपूर्ण वाक्यको प्रयोग गरेकी छिन् ः
“जहाँ पनि जैले पनि, उही बासी खबरहरू
जताततै उस्तै घाइते, सपना र रहरहरू ।”
(पत्थर, २०५९, गजल ः ६०) ।
माथिको उदाहरणको पहिलो पङ्क्तिमा जहाँ पनि जहिले पनि उही बासी खबरहरू छन् वाक्यलाई अपूर्ण रूपमा प्रयोग गरी लयको सिर्जना गरिएको छ भने दोस्रो पङ्क्तिमा जताततै उस्तै घाइते सपना र रहरहरू छन् वाक्यलाई अपूर्ण वाक्यका ढााचामा प्रयोग गरिएको पाइन्छ ।
यस्तो वाक्यीय ढाँचाको प्रयोग सर्जकको विशिष्ट पहिचान हो । यसले लयको सिर्जनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, जुन गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा पनि पाइन्छ । तसर्थ विशिष्ट खालका वाक्यीय ढाँचाको प्रयोगबाट गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा विशिष्ट लयको सिर्जना गरिएको पाइन्छ ।
२.५. लेख्य चिन्हहरूको प्रयोग
लेख्य चिन्ह खासगरी लेखनका क्रममा उपयोग गरिने भएपनि वाचन वा पठनमा समेत तिनले अहम् भूभिका खेल्छन् । लेख्य चिन्हहरूको प्रयोगले गजलमा गति, यति र लयको सिर्जना गर्दछ । गजलमा यिनको उचित प्रयोग हुन सकेमा सुन्दर लयको निर्माण हुन पुग्छ, तर सबै गजलमा यिनको एकनास प्रयोग गरिएको हुँदैन । लेख्य चिन्हहरूमध्ये अल्पविराम, अर्धविराम, पूर्णविराम, प्रश्नवाचक, विस्मयादिबोधक, योजक, दीर्घताबोधक, कोष्ठक आदि चिन्हहरूको प्रयोगबाट गजलमा आरोह अवरोह सिर्जना गरी विशिष्ट लयको सिर्जना गरिएको हुन्छ ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा लेख्य चिन्हहरूको प्रयोग आवश्यकता अनुसार विभिन्न ठाउँमा भएको छ । लेख्य चिन्हहरूमध्ये अल्पविराम, पूर्णविराम, प्रश्नवाचक, योजक, उद्धरण, विस्मयादिबोधक र दीर्घताबोधक चिन्हको प्रयोग निम्नानुसार गरिएको पाइन्छ ः
२.५.१. अल्पविराम चिन्ह
“कति निष्ठूर भयौ आज, असमयमै छोडी गयौ, ”
(पत्थर, २०५९, गजल ः ५९) ।
माथिको उदाहरणमा दुई ठाउँमा अल्पविराम चिन्ह (,) को प्रयोग भएको छ । उनका गजलसङ्ग्रहका प्रायः सबै गजलमा यो चिन्हको प्रयोग अत्यधिक मात्रामा गरिएको छ । कतिपय पङ्क्तिमा दुई वा सोभन्दा बढी ठाउँमा पनि यसको प्रयोग भएको पाइन्छ ।
२.५.२. पूर्णविराम चिन्ह
“कमिसनको टपरीलाई, चाट्नुसम्म चाटिएछ । ”
(पत्थर, २०५९, गजल ः १५) ।
माथिको उदाहरणमा पूर्ण विराम चिन्ह (।) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग अधिकांश गजलमा आवश्यकता अनुसार गरिएको पाइन्छ ।
२.५.३. प्रश्नवाचक चिन्ह
“आफ्नो घर आफैं नै, फुक्नेहरूको के कुरा ? ”
(पत्थर, २०५९, गजल ः १०) ।
माथिको उदाहरणमा प्रश्न बाचक चिन्ह (?) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग प्रश्न गर्नुपर्ने अवस्था रहेका अधिकांश गजलमा गरिएको छ ।
२.५.४. योजक चिन्ह
क) “कटेरोभित्र सुख–दुःख जे छ, त्यसैमा खुसी छौँ, ”
(पत्थर, २०५९, गजल ः २४) ।
ख) “भाइ–भाइ हुन् मर्ने–मार्ने, ”
(पत्थर, २०५९, गजल ः ४१) ।
माथिको उदाहरणमा योजक चिन्ह (–) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग आवश्यकता अनुसार विभिन्न गजलमा गरिएको छ ।
२.५.५. उद्धरण चिन्ह
“ ‘पत्थर’ बनी बस्नु जँच्यो म भित्रको मान्छेलाई”
(पत्थर, २०५९, गजल ः ५७) ।
माथिको उदाहरणमा एकोहोरो उद्धरण चिन्ह (‘’) को प्रयोग गरिएको छ । त्यस्तै यो चिन्हको प्रयोग अन्य गजलमा पनि तखल्लुस प्रयोगका सन्दर्भमा गरिएको छ । उनका गजलमा दोहोरो उद्धरण चिन्हको प्रयोग भने गरिएको पाइन्न ।
२.५.६. विस्मयादिबोधक चिन्ह
“चरित्रको पोशाक हरे ! फाट्नुसम्म फाटिएछ ।”
(पत्थर, २०५९, गजल ः १६) ।
माथिको उदाहरणमा विस्मयादिबोधक चिन्ह (!) को प्रयोग भएको छ । यो चिन्हको प्रयोग अन्यत्र भने निकै कम ठाउँमा गरिएको देखिन्छ ।
२.५.७. दीर्घताबोधक चिन्ह
“खुइयँऽऽ गरी आकाश हेर्दै, प्रभुलाई पुकारेर,”
(पत्थर, २०५९, गजल ः ३३) ।
माथिको उदाहरणमा दीर्घताबोधक चिन्ह (ऽ) को प्रयोग भएको छ । यो चिन्हको प्रयोग अन्यत्र भने निकै कम ठाउँमा गरिएको पाइन्छ ।
लेख्य चिन्हको प्रयोगमा गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ निकै सचेत देखिन्छिन् । यसले लयको सिर्जनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । तसर्थ लेख्य चिन्हको प्रयोगको कोणबाट गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा विशिष्ट लयको सिर्जना भएको पाइन्छ ।
२.६. विचलन
गजलमा लय सिर्जना गर्ने अर्को आधार विचलन हो । विचलन भनेको भाषाका मानक प्रयोगको सार्थक व्यतिक्रम हो ( शर्मा, २०५५ ः ५५२ ) । यस्तो विचलन सामान्यतया पदक्रममा गरिन्छ । तर कहिलेकाही सर्जकले यसको प्रयोग अर्थका तहमा समेत गर्दछन् । भाषिक विचलन अन्तर्गत पदक्रमको विचलन गरिएको हुन्छ भने आर्थी विचलनमा शब्दलाई अर्कै अर्थका रूपमा प्रयोग गरिएको हुन्छ । गजलकारले आफ्नो गजलमा साङ्गीतिकता भर्न र भावमा तीव्रता ल्याउन यस्तो विचलनको प्रयोग यदाकदा गर्दछ ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा विचलनको प्रयोगबाट निम्नानुसार लयको सिर्जना गरिएको पाइन्छ ः
२.६.१. पदक्रम विचलन
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा पदक्रम विचलनका माध्यमबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
“उठ–उठ, उठ तिमी उठ्नु पर्ने हो यो समय,
जुट–जुट, जुट तिमी जुट्नु पर्ने हो यो समय ।”
(पत्थर, २०५९, गजल ः ४७) ।
माथिको उदाहरणका दुवै पङ्क्तिमा कर्ता, कर्म र क्रियापदको ढाँचा अवलम्बन नगरिएका कारण पदक्रमको विचलन भएको पाइन्छ । यसले गजलमा विशिष्ट लयको सिर्जना गरेको छ ।
२.६.२. आर्थी विचलन
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा आर्थी विचलनको माध्यमबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
“ ‘परिचय’ले दरिए पनि, म कतै छैन अब ।”
(पत्थर, २०५९, गजल ः ६६) ।
माथिको उदाहरणमा गजलकारले आफू परिचयले दरिएको कुरा गरेकी छिन् । यति हुँदा पनि आफू कतै नभएको भाव समेत पोखेकाले यहाँ आर्थी विचलन पाइन्छ । यसले गजलमा विशिष्ट लयको सिर्जना गरेको छ ।
गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ विचलनमा भने उदासीन देखिन्छिन् । उनका गजलमा यदाकदा पदक्रम विचलन देखिए पनि आर्थी विचलन भने नगण्य ठाउँमा गरिएको पाइन्छ । तसर्थ विचलनका कोणबाट गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का कमजोर देखिन्छ ।
२.७. कथ्य भाषाको प्रयोग
गजलमा लय सिर्जना गर्ने अर्को आधार कथ्य भाषाको प्रयोग पनि हो । भाषाका लेख्य र कथ्य रूपहरूमध्ये कथ्य रूपको प्रयोग जनबोलीमा बढी आउँछ । सर्जकले आफ्नो रचनालाई प्रभावकारी बनाउन कहिलेकाहीँ कथ्य भाषाको प्रयोग समेत गर्दछन् । यस प्रकारको भाषिक विन्यासबाट गजलमा विशिष्ट लयको सिर्जना गरिन्छ । गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा कथ्य भाषाकाको प्रयोगबाट निम्नानुसार लयको सिर्जना गरिएको छ ः
“सोच्या कुरा पुग्छ अरे, आँट्न मात्र सक्नु पर्छ, ”
(पत्थर, २०५९, गजल ः ५५) ।
माथिको उदाहरणमा सोचेको शब्दका सट्टासोच्या शब्दको प्रयोग भएको छ,जसले लयको सिर्जना गरेको छ । कथ्य भाषा अनौपचारिक प्रकृतिको हुने भएकाले कतिपय अवस्थामा यसले सिर्जनाको गुणबत्ता कम गर्न सक्छ । यसर्थ गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ लेख्य भाषाको प्रयोगमा रुचि राख्ने स्रष्टा हुन् । यस्तो कथ्य भाषाको प्रयोग उनका गजलभित्र अन्यत्र कताकति मात्रै गरिएको पाइन्छ ।
३. निष्कर्ष
हरेक गजलकारले आफ्नो गजललाई उत्कृष्ट बनाउन विशिष्ट भाषिक विन्यासका माध्यमबाट पृथक् खालको लयको सिर्जना गरेको हुन्छ । यसरी सिर्जित लयले भावको तीव्रता समेत वहन गरेको हुन्छ । श्रेष्ठ प्रिया ‘पत्थर’का गजलमा पनि यस्तैे सुन्दर लयको प्रयोग गरिएको छ । यसका लागि वर्ण, पद, पदावली, उपवाक्य तथा वाक्यको आवृत्तिले महŒवपूर्ण भूमिका खेलेको छ । त्यस्तै लययोजनाका अङ्गहरू पङ्क्तिविन्यास, वर्णविन्यासवक्रता, वाक्यीय ढाँचा, लेख्य चिन्हहरूको प्रयोग, कथ्य भाषाको प्रयोग तथा व्याकरणिक एवम् भावगत विचलनका माध्यमबाट पनि सुन्दर लयको सिर्जना गरिएको छ । तसर्थ ‘पत्थर’का गजल लय योजनाका दृष्टिले उत्कृष्ट र सशक्त छ ।
सन्दर्भ सामग्रीसूची
अधिकारी, रविकिरण (२०७२). ‘तिम्रो र हाम्रो मन एक होओस् कवितामा लयविधान’. विवेक. ३१÷१०, पृ.९६ – १०४.
गौतम, देवीप्रसाद (२०६७).‘ध्वनि पद्धति र लयविधान’ . के.एम.सी. जर्नल . ४र१, पृ. ७ ( १४.
थापा, हिमांशु (२०४२). साहित्य परिचय. दो.संस्क. काठमाडौं ः साझा प्रकाशन.
पत्थर, श्रेष्ठ प्रिया (२०५९). पत्थरका प्रलापहरू. धनगढी कैलाली ः सुदूर पश्चिमाञ्चल साहित्य समाज.
प्रभात, रमेश (२०७३). ‘बसेको छु म त यहाँ गजलमा लयविधान’. गजल सारथि . अङ्क – ३, पृ. ५१ ( ५३.
लुइटेल, खगेन्द्र्रप्रसाद (२०६०). कविता सिद्धान्त र नेपाली कविताको इतिहास. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान.
ढकाल, विप्लव (२०६८). कवितामा लयविधान हिउँमा लेखिएका नामहरू. अप्रकाशित दर्शनाचार्य कक्षा प्रस्तुतिपत्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर .
शर्मा, मोहनराज (२०५५). समकालीन समालोचना सिद्धान्त र प्रयोग. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
.
श्रेष्ठ, रमेशकुमार (२०५७). पूर्णिमाकी जून. अप्रकाशित स्नातकाोत्तर सिर्जना पत्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।