कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो सत्रौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइएने कुरा डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन् ।

१. कृतघ्न
(रासा)

कविताको किताबबाट

रासा

फुत्त निस्कन्छ कीरा ।

च्याप्प समात्छु
मार्दिनँ
टाँस्छु छातीमा ।

छातीमा बस्छ त्यो
र, भित्र पस्न खोज्छ ।

भित्रै पस्छ ।

पछि
कुटुकुटु खान थाल्छ—
छातीभित्रका कविताहरू पनि ।

 

 

२. न्यातपोल
(टङ्क उप्रेती)

टङ्क उप्रेती

संसारले
मेरो गजुरमा
किन हेर्छ ?

शक्ति त
तल छिन् तल
मेरो खुट्टामा ।

 

३. पुल
(आर. एम. डङ्गोल)

आर. एम. डङ्गोल

त्रासको तार समातेर
षड्यन्त्रको पुल किन तर्दै छौ ?
पुलमुनि हेर त—
तिमीभन्दा अगाडि
हामफालिरहेको
तिम्रो काँतर मन !

पुल टुटिसकेको छ
यस्तो पुल कहिल्यै नतर ।

 

४. सिकार
(मणि राई)

मणि राई

सबैभन्दा सजिलो हुन्छ
मान्छेको सिकार गर्न !
चरा होइन मान्छे
उड्न सक्दैन ऊ !
नदीको माछा पनि होइन ऊ !
बाँदर जस्तो
रुख पनि चढ्न सक्दैन ऊ !
सबैभन्दा सजिलो हुन्छ
मान्छेको सिकार गर्न !

 

५. तम्मर
(नवीन सुब्बा)

नवीन सुब्बा

तँ— मर !
श्रापित एउटा अस्तित्व
मृत्यु— एउटा महाशून्यमा
गतिशील बहन्छ—
तम्मर !!