सारतत्त्व:

पाश्चात्य साहित्यमा विकसित भई नेपाली साहित्यमा प्रविष्टी पाएका समाजशास्त्रीय सैद्धान्तिक चिन्तनलाई आधार बनाई प्रेतकल्प उपन्यासको मनोवैज्ञानिक दृष्टिकोणबाट विवेच्य गर्ने काम यस लेखनमा गरिएको छ । पश्चिमाहरूले साहित्यको समीक्षा गर्ने क्रममा ल्याएका अवधारणा र पूर्वीय साहित्य समालोचना प्रणालीको छनक पनि अन्तरमिश्रण भएर यहाँ आएको छ । विशेष गरेर उपन्यासमा आएका सामाजिक मनोविज्ञान, शासकीय मनोविज्ञान, शासित मनोविज्ञान, यौन मनोविज्ञानजस्ता कुराहरूलाई मिहिन तरिकाले अनुशीलन गर्ने कामसमेत समीक्षकले गरेको छ ।

शब्दकुञ्जी:

मनोविज्ञान, हीनताबोध, यौन उन्माद, भयग्रस्त, प्रतिशोध, किशोरावस्था, शिखण्डी ।

विषय परिचय

उपन्यास मानव समाजसँग सापेक्षित साहित्यिक विधा हो । समाजमा विविध समस्या, स्थिति र परिस्थितिद्वारा प्रभावित एवम् विकसित मनुष्यको जीवनव्यापार नै उपन्यासको मूल विषय रहेको हुन्छ । अतः समाजको प्रकाशन कलाबाट हुन्छ भने कलाका विविध विधाहरूमध्ये उपन्यास यस कार्यका निम्ति बढी उपयुक्त मानिएको छ । जसमा ज्ञान, विश्वास, कला, आचार, कानुन तथा प्रथा अन्य क्षमता अनि आचरणको समावेश हुन्छ । यसका नाताले मानिसले समाजको सदस्यता प्राप्त गर्दछ । यसबाट के सिद्ध हुन्छ भने संस्कृति जटिल प्रक्रिया हो जसअन्तर्गत समाजका सदस्यको ज्ञान, विश्वास, कला, नैतिकता, व्यवहार, धर्म र क्षमता तथा दैनन्दिन व्यवहार पर्दछन् (टेलर; १९७४: १) । यसका अतिरिक्त भाषा साहित्यका माध्यमबाट नेपालका बहुजाति, बहुभाषी, बहुसांस्कृतिक समाजलाई पनि उजागर गर्ने प्रयास गरिएको छ । प्रस्तुत उपन्यासमा संवत् १९५७ देखि १९९७ सम्मको नेपालको राणाकालीन समयमा भए गरेका सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, न्यायिक अवस्थाको पृष्ठभूमि पाइन्छ । काठमाडौंँको मिश्रित नेपाली संस्कृतिलाई देखाउनुका साथै नेपालको राणाकालीन समय खास गरेर चन्द्रशमशेरको शासनकालमा भए गरेका सामाजिक, ऐतिहासिक कार्यलाई प्रस्तुत गर्न खोजेकाले पनि प्रेतकल्प उपन्यासभित्र तत्कालीन समयको राजनीतिक, आर्थिक, न्यायिक, सांस्कृतिक अनि जातीय वर्गीय चिन्तनको चित्रण मिहीन तरिकाले गरिएको छ । यस लेखमा प्रेतकल्प उपन्यासमा उल्लेख भएका समाज मनोविज्ञानका पक्षहरूलाई समावेश गरिएको छ ।

बाबुराम लम्साल

सामाजिक मनोविज्ञान

समाज संरचना मानवको सङ्गठित संरचनाबाट निर्मित हुने एउटा स्वरूप हो । त्यस सङ्गठित समाजभित्र मान्छेको उपस्थिति हुन्छ । प्रत्येक मान्छेको मनोरचना त्यस समाजको प्रभावबाट निर्मित भएको हुन्छ । समाजका सांस्कृतिक, राजनीतिक, आर्थिक तत्वका आधारमा निर्मित र प्रेरित हुने गर्दछ । साहित्यमा प्रयुक्त पात्रहरू समाजका सदस्य हुन् र उनीहरू त्यस समाजको संरचनाबाट प्रेरित मान्छेको मन समाजअनुसार निर्मित भएको हुन्छ । व्यक्ति समाजका समग्र सङ्गठनको एक सहभागी हो । त्यस्ता व्यक्तिले समाजमा अभिव्यक्त गरेका आचरण र प्रवृत्ति उसका मनोविज्ञानबाट अनुशासित भएका हुन्छन् । समाजका व्यक्ति तथा सदस्यहरूका मनोविज्ञानका अवस्थाहरूको संश्लेषणात्मक स्परूप नै समाज हो (लजार्सफिल्ड र अन्य; १९६७ः ३६) । समाज मनोविज्ञानको तात्पर्य के हो भने समाजमा रहने व्यक्तिहरूको व्यवहार हो । यसले सामाजिक संरचना, संस्था र समूहको निर्माणमा भूमिका खेलेको हुन्छ । समाज मनोविज्ञानले व्यक्तिका व्यवहार तथा उसका नियन्त्रणमा समाजका प्रभाव तथा उसका क्षमतागत सीमालाई निर्धारण गर्दछ । समाज मनोविज्ञानकै चर्चा गर्ने क्रममा डब्ल्यु आई थोमसले मानवको मनोविज्ञान समाजको प्रेरणाद्वारा सञ्चालित हुन्छ भन्ने मत व्यक्त गरेका छन् । त्यही समाजको प्रेरणा मार्फत व्यक्तिमा निहित आन्तरिक क्षमता तथा प्रतिभाजस्ता गुणकोे अभिव्यक्ति हुन्छ । यस्ता गुणबाट मानवमा क्रियाशीलताको भाव उत्पन्न हुन्छ (थोमस; १९६२ः २४) ।

प्रेतकल्प उपन्यासमा काल्पनिक पात्रहरूका माध्यमबाट शासित र शासकवर्गको सामाजिक मनोविज्ञानको चित्रण गरिएको छ । शासकहरू आफ्नो राज्य सत्ताप्रति नागरिकले क्रान्ति गर्छन् कि भन्ने मानसिक मनोदशामा हुन्छन् भने शासितहरू शासकले कतिखेर के गर्छ भन्ने मानसिक द्वन्द्वमा रहेका हुन्छन् । उपन्यासमा मान्छेका गास, बास, कपास र सहबासको मनोधारणा अभिव्यक्त भएको छ । चौथो मनोदशाका पात्रहरू शङ्खधर, रामजी भारद्वाज, दीर्घनरसिंह, नन्दिनी आदि छन् । चाकडी मनोदशामा रुमलिएको विष्णुभक्त, चक्रधर, शङ्खधर पनि उपन्यासमा सामाजिक मनोदशाका पात्रका रूपमा उपस्थित भएका छन् ।

क. भयग्रस्त मनोविज्ञान

निरंकुश तानाशाही सरकार अझ त्यसमा राणाकालीन समयमा शासकको विरुद्धमा लाग्नु निकै भयग्रस्त ठानिन्थ्यो । प्रस्तुत प्रेतकल्प उपन्यासको मुख्य पात्र बालकृष्णका बाबु रामकृष्ण राणाको दण्डनीय कार्य देखेर भयग्रस्त मानसिकताका बाँचिरहेको छ । त्यसमा पनि बालकृष्णले महर्षि दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश पुस्तक भारत बसाइमा पढी आफ्ना साथीहरूले पढून् र जनवर्गीय क्रान्तिमा लाग्न उत्प्रेरित होऊन् भन्ने हिसाबले नेपाल फर्कदा साथमा ल्याएको छ । रामकृष्ण किताबको नाम सुन्नासाथ कपालका रौं ठाडा बनाउँदै र त्रासपूर्ण मनोदशामा बालकृष्णलाई गाली गर्न थाल्छ ।

विष्णुभक्त गाउँको जिम्बावाल व्यक्ति हो । उसले भनेको सबैले मान्नुपर्छ । यदि कसैले अवज्ञा ग¥यो भने आक्रोसित भई सजाय दिनसमेत पछि पर्दैन । बालकृष्णले ल्याएको सत्यार्थ प्रकाश पुस्तक सम्बन्धमा उसको पनि दुःखेसो प्रकट भएकोे छ । श्री ३ चन्द्रशमशेरले दिइएको जिम्बावाल पद खोसिन्छ भन्ने त्रासदी मनस्थितिले उसलाई लखेटिरहेको थियो । सत्यार्थ प्रकाश पुस्तकको ज्ञान नागरिकले लिए भने उसप्रतिको विश्वासप्रति भई ओैँला ठडिन्छ कि भन्ने डर उसमा थियो । यस कुराका लागि यो उद्धरण उल्लेख गर्न मनासिब हुन्छ – “मलाई गाममा कसैले औंला उठाउने हिम्मत गरेका छैनन् ऐलेसम्म । एउटा चक्रधरे हो, त्यो पनि कन्नापछाडि पाखुरा सुर्किने हो तर यो पण्डितले आज जे ग¥यो त्यसबाट कसैलाई राम्रो हुन्न” (ढकालः २२) । यस उद्धरणमा बालकृष्णले सोझासाझा जनताको पक्ष लिएर जिम्बावाल विष्णुभक्तको विरुद्धमा बोलेको हुनाले ऊ भयग्रस्त बन्न पुगेको थियो ।

विष्णुभक्तले कुत र मालपोत नबुझाएको निहुँमा धनवीरे सार्कीलाई कठोर सजाय दिएको थियो । त्यसै समयमा बालकृष्ण आएर धनवीरेलाई गरेको अमानवीय व्यवहारको विरोध गरेको थियो । यस कार्यले जिम्बावाल केही हच्कियो । बालकृष्णले ठूल्बालाई भन्यो– “ठूल्बा ! यो पटकलाई माफ दिनुुहोस् । अब मध्ययुगको जस्तो न्यायिक व्यवहार गरेर समाज चलाउनु ठीक हुन्न” (ढकालः २०) । यस कुराले विष्णुभक्तलाई ठूलो आघात पर्यो । समाजमा दलित वर्गलाई हातमा लिएर आफ्नो हैकमप्रति औँला ठडिने डरले विष्णुभक्त भय ग्रस्त मानसिकतामा रहन पुगेको कुरा माथिको अंशले स्पष्ट पार्छ ।

आचार्यको परिवारमा बालकृष्णको व्यवहारले ठूलो मानसिक हलचल नै ल्याइदियो । पण्डित बालकृष्ण र आचार्य रामकृष्णका बीचमा ठूलो बहस हुन थाल्यो । बालकृष्णको समाज रूपान्तरणको व्यवहारले आक्रान्त भएको रामकृष्ण गाँजाको नशामा बरालिन पुग्यो । आफ्ना परममित्रका पिता आचार्य रामकृष्ण लगातार हारिरहेको देखेर उसले मनमनै गुन्यो– “अवश्य पनि सत्यार्थ प्रकाश नै उनको पराजयको मूलभूत कारण हुनुपर्छ । यसैले अहिलेसम्म उनको मनोदशालाई शक्तिशाली भूकम्पले झैँ डोलायमान पारिरहेको छ । यसको उपाय त गर्नैपर्छ” (ढकालः ३९) । माथिको उद्धरणले समाजमा सत्यार्थ प्रकाश पुस्तकले सामाजिक व्यवस्थामा ल्याएको परिवर्तनको सङ्केत गरेको छ । यसले समाजमा आफ्नो हैकम जमाएर बस्ने व्यक्तिहरूलाई सन्तापमा पार्ने अवस्थाको मनोविज्ञान प्रस्तुत गरेको छ ।

ख. किशोरावस्थाको मनोविज्ञान

साहित्यको समाजशास्त्रीय अध्ययनको एक महत्वपूर्ण तत्वका रूपमा सामाजिक मनोविज्ञान पनि एक हो । प्रस्तुत उपन्यासको मुख्य पात्र बालकृष्ण काशीमा पाँच वर्षको अध्ययन पूरा गरेर नेपाल फर्केपछि उसकी कान्छी बहिनीका मनमा विभिन्न भाव तरङ्गित भई उब्जिरहेका छन् । दाजुले विवाह गर्नेछन् र पुतलीजस्ती भाउजू ल्याउने छन् भन्ने मानसिक उडानमा कान्छी मस्त भएकी छे । यस कुरालाई पुष्टि गर्न उपन्यासको निम्न उद्धरणको उपयोग गर्नु सान्दर्भिक देखिन्छ – “पाँच वर्षदेखि टाढा रहेको आफ्नो दाजु घर आएको कुराले उसलाई ताजा पूmलको थुँगाझैँ हल्का र चुस्त बनाएको थियो । अब दाइको बिहे हुनेछ र पुतलीजस्ती भाउजू भित्रिनेछिन् भन्ने कुराहरू नै उसको दिमागमा खेलिरहेका छन्” (ढकालः १६) । यस कथनले कान्छीका मनमा किशोरावस्थामा उत्पन्न हुने मनोवैज्ञानिक भावनालाई अभिव्यक्त गर्न खोजेको छ ।

ग. वितृष्णाबोधक मनोविज्ञान

समाजमा उच्च पदस्थ व्यक्तिहरू आफ्नो हित र अवस्था अनुकूलको वातावरण सृजना भएन भने मानसिक रूपमा हलचल ल्याउने अवस्थामा पुग्छन् । त्यसै कारणले उनीहरू विभिन्न दुव्र्येसनीमा लाग्ने गर्दछन् । यस कुराको पुष्टिका लागि उपन्यासको उद्धरण लिन सकिन्छ –

जब उसको पति राती अबेर गाँजाको नशामा बर्बराउँदै घर आयो त्यसपछि मात्र उसले आफ्नो अनुपस्थितिमा बिहान भएको द्वन्द्वको गहिराइ अनुमान गरी । …ऊ चुपचाप पण्डित छोराको मलिनो अनुहार र ज्योतिषाचार्य पतिको बर्बराहटको माझमा उदासिन भएर रही (ढकालः ३५) ।

माथिको कथनमा व्यक्तिले मन शान्ति लिएन भने ऊ विभिन्न कुलतमा लाग्छ । त्यसको एक कारण घर परिवार पनि हो । सही किसिमको वातावरण भएन भने व्यक्तिका मनमा वितृष्णा बोधले डेरा जमाएको हुन्छ ।

सत्यार्थ प्रकाश पुस्तकले समाजमा यथास्थिति मानसिकता बोकेका व्यक्तिहरूका मनमा ल्याएको वैचारिक वितृष्णा थियो । बालकृष्ण काशीमा हुँदा पनि मामा बलभद्रसँग उसको वैचारिक बहस हुन्थ्यो । मामा पुरानो रुढिवादी, अन्धपरम्परामा विश्वास गथ्र्याे भने बालकृष्ण समयानुकूल परिवर्तित भइरहनु पर्छ भन्ने मान्यता राख्थ्यो । मामाले भान्जालाई आर्य समाजीहरूप्रति लागेर हिँडेको मन पराउँदैनथ्यो । जुलुसमा हिँड्ने, पत्रपत्रिका पढ्ने समाचारहरू नछुटाई हेर्ने कुरामा पनि बलभद्र सशङ्कित हुन्थ्यो । यस प्रसङ्गमा उपन्यासकारले बलभद्रका माध्यमबाट भन्छन् – “मानिसको रुचि अचानक बदलिन थालेको छ, ऊ प्रत्येक दिन निस्कने आज पत्रिकाका समाचारहरू नछुटाई पढ्छ र काशीमा हुने जुलुसमा भाग लिन्छ र पछिपछि लागेर सहरको परिक्रममा गर्छ” (ढकालः ३१) । यस कथनले समाज रूपान्तरणका लागि भएको आन्दोलनमा बालकृष्णजस्ता युवाहरूले साथ दिएकाले रुढिवादी अन्धपरम्पराका पक्षपोषक मामा जस्ताको मनमा वितृष्णाबाधी भावनाले डेरा जमाएको कुरा व्यक्त भएको छ ।

बालकृष्णको विद्वतता देखेर दरबारका राजगुरुसमेत डराएका थिए । राजगुरुको निद्रा पनि हराइसकेको थियो । रामभक्तले भन्यो– “मलाई जेसुकै भन्नोस् । यो विचारले माइला राजगुरुको निन्द्रा खोसेको कुरा मैले बुझेँ” (ढकालः ३७) । यस कथनले के सिद्ध गर्छ भने राजकुलमा पण्डित्याइँ काम गर्नेले आफ्नो रोजीरोटी खोसिन्छ कि भन्ने वितृष्णा वोधक भावना भरिएको छ । बालकृष्णको क्षमता देखेर शासक पनि डराएका थिए । श्री ३ चन्द्रशमशेर डराएर बालकृष्णलाई दरबारको सल्लाहकार बन्नसमेत अनुरोध गरेको थियो तर बालकृष्णले स्वीकार गरेन ।

बालकृष्णले जातभात छुवाचछुत आदिलाई पर सारेर दमाई, कामी, सार्की सबैलाई समान रूपमा हेर्ने गथ्र्यो । यस कार्यलाई सहन नसकेको शङ्धरले राणाहरूलाई चुक्ली लगाएर बालकृष्णको प्रत्यक्ष विराध गर्न सकेको थिएन । उसलाई यस कार्यले वितृष्णा वोध गराइ दियो । सरकार चलाइ रहेको श्री ३ चन्द्रशमशेरले देशमा भएका राणा विरोधी कार्यलाई नियन्त्रण गर्न नसकेकोमा वितृष्णा पैदा भएको थियो । जेलमा हालेको बालकृष्णलाई जेल सरुवा गर्दा कफ्र्यु लगाएर लान पर्ने स्थिति देखा प¥यो । यस कुराको पुष्टिका लागि उपन्यासको अंश लिनु आवश्यक हुन्छ – “पण्डितलाई कफ्र्यु लागेको समयमा सदर जेलखाना सुन्धारा चलान गरियो” (ढकालः १९७) । यस प्रसङ्गले पनि अब राणाहरूको मानसिकतामा नागरिकहरू सचेत हुन थाले अब यिनीहरूलाई कसरी विश्वास दिन सकिन्छ भनी विकास निर्माणका योजना बुन्नपट्टि केन्द्रित हुन थालेको प्रसङ्ग उल्लेख छ । श्री ३ चन्द्रशमशेरले विष्णुभक्तलाई भने– “मैले के भन्नु तिमीलाई ? तिमी दुःखपुरमा हाम्रा राज्यका प्रतिनिधि हौ । …हाम्रा रैंतिले अरु जेसुकै गरुन् मलाई आपत्ति छैन, तर हाम्रो गाथगादीमा चाइँ उनीहरूले आँखा नगाडून्” (ढकालः १३८) । जनतामा आएको जनचेतनाले चन्द्रशमशेरलाई आफ्नो शासनसत्ता गुम्छ कि भन्ने मानसिकताले लखेटिरहेको थियो ।

घ. अनैतिक यौन

राणाकालीन समयमा समाजमा व्यभिचारले जरा गाडेको थियो । शङ्खधर व्यभिचारी कार्यमा निकै अगाडि देखिन्थ्यो । ऊ समाजमा आफ्नो रवाफ देखाउन चाहन्थ्यो । ऊ रातिराति राँको बालेर गाउँलेहरूलाई भूतको भ्रम फिँजाइ व्यभिचारमा लिप्त हुन्थ्यो । यस कुरालाई निम्न उद्धरणले पुष्टि गर्छ – नजिकै परालको धुस्नु र झिक्राझिक्री बलिरहेको थियो, त्यसको उज्यालोमा त्यो बीभत्स व्यभिचार सम्पन्न भइरहेको थियो । कहिले ठूलो र कहिले सानो ज्वालामा बलिरहेको अग्निस्थलबाट आएको उज्यालोमा देखिएको त्यो दृश्य भ्रम हुनै सक्दैनथ्यो (ढकालः ४९) ।

यस कथनले समाजमा जिम्बावाल व्यक्तिले डर त्रास देखाएर आफ्नो व्यभिचारीपनका माध्यमबाट स्वार्थ लिप्सा पूरा गर्ने गर्दथे । घरमा श्रीमतीलाई छाडेर रातको समयमा लुकीछिपी यौनजन्य अनैतिक कार्यमा सरिक भएको कुरा माथिको कथनले स्पष्ट पार्छ ।

रातको समयमा दिसापिसाप लागेर बाहिर निस्केको धनवीरे सार्कीले अनैतिक किसिमको व्यभिचार देखेको थियो । ऊ केही समय भ्रममा पर्यो । ऊ त्यस कार्यको पुष्टिका लागि राँको बोलेको ठाउँमा पुग्यो । उसले चिनेको व्यक्तिले त्यस किसिमको व्यभिचारी कार्य गरेकोमा आक्रोसले काप्न थाल्यो । उपन्यासको उद्धरणले यस कुरालाई स्पष्ट पार्छ –“रातको घना नीरवतामा नग्न आकृति, कामोन्मादले भरिएको ध्वनिले ऊ त्रसित भयो र थरथर काप्न थाल्यो” (ढकालः ४९) । यस कुराले के सिद्ध गर्छ भने गाउँमा सर्वसत्तावाद लादेर नागरिकलाई दमन गरी मन लाग्दो व्यवहार गर्ने व्यक्तिहरूबाट गाउँका महिलाले अस्तित्व रक्षा गर्न सकेका छैनन् । कसैले देखे र उजुरी दिन खोजियो भने उसकै अनाहकमा ज्यान गुम्ने डर हुन्थ्यो ।

यस्तैको सिकार भएको छ धनवीरे सार्की । व्यभिचार गरेको अभियोग प्रमाणित हुन सक्ने भयले उसको हत्या गरिएको छ । उसको हत्या व्यभिचार देखेकै कारणले भएको छ । व्यभिचार गरेको अभियोग प्रमाणित हुन सक्ने भयले उसको हत्या गरियो । “पन्ध्र दिनपछि नीलबाराहीको जङ्गलको खोंचमा टाउको बिनाको एउटा लास भेटियो । लास पूरै गनाइसकेको थियो । तर लुगाले चिनियो, त्यो धनवीरे नै थियो” (ढकालः ५०) । व्यभिचारीको पोल खुल्ने डरले उसको हत्या गरिएको हो भन्ने कुरा माथिको कथनले स्पष्ट पार्छ । समाजमा न्यायको कुरा गर्ने व्यक्ति समाजबाट तिरष्कृत हुनु पथ्र्यो । मान्छे मरे पनि कुकुर मरे सरह हुने तत्कालीन समयमा निमुखा जनताका लागि श्राप सावित भएको थियो ।

ङ. यौन उन्मादको मनोविज्ञान

शिखण्डी रामेले नन्दिनीलाई बिहे गरेर घरमा ल्यायो । नन्दिनी अलि मुखाले र उमेर चढेकी थिई । त्यसैले पनि उसको विवाह ढिलो भएको हुन सक्थ्यो भन्ने भनाइ दुःखपुरबासीको थियो । नन्दिनी र शिखण्डीको विवाह प्रसङ्गले गाउँ धेरै समयसम्म कुराकानीमा भुलिरह्यो । शिखण्डीमा पुरुषमा हुनु पर्ने गुण नभएकाले पनि गाउँमा उसका बारेमा टीकाटिप्पणी हुने गथ्र्यो । उदाहरणका लागि उपन्यासको उद्धरण लिनु आवश्यक देखिन्छ – “नन्दिनीलाई शिखण्डीको घर भित्र्याएदेखि नै ऊ लोग्नेको विपक्षमा खुला रूपले लागेकी थिई । उसको अनुहारमा कि त कालोपन कि त यौनउन्मादको रातो लाली टल्किएको देखिन्थ्यो । बस, यही कुरा गाउँलेलाई कुरा काट्ने प्रमुख आधार थियो” (ढकालः १२८) । यस कथनले के सिद्ध गर्छ भने विवाह भएर घरमा आएकी दुलहीले पौरुषत्वको चाहना गर्छ । यो प्राकृतिक र विवाहपछिको परम्परित यौन चाहनाका रूपमा चित्रित छ ।

नपुंसकले यौन चाहना भएकी स्त्रीको इच्छा पूरा गर्न सक्दैन । त्यसैले त्यस कामको पूर्तिका लागि मेला, पर्वमा गएर यौन चाहना पूरा गर्र्ने बलिष्टालिङ्गको खोजी कार्य गरेको प्रसङ्ग उपन्यासका अंशले प्रस्ट पार्छ – “म केटीसित होइन, केटासित दोरी खेल्छु … नन्दिनीले फेरि भनी “आ ऽ ऽ ऽ विद्याधर तँ र म दोरी खेलौं” (ढकालः १२८) । यस कथनले यौनले उन्मुत्त भएकी महिलाको मनोविज्ञानको चित्रण गरेका छ । नन्दिनीले विद्याधरलाई जबर्जस्ती समातेर पिङमा हाली । उसले मच्चीमच्ची पिङ हल्लाई तर विद्याधरलाई डराउने अवस्थामा पु¥याउन चाहन्थी तर बढी यौन उन्मादले ऊ चाडै थाकी । यस कुराको पुष्टि निम्न उद्धणले गर्छ –

नन्दिनीले स्वादसित मच्चाई । ऊ विद्याधरलाई कहाली लाग्ने अवस्थामा पुर्याएर आनन्दित हुन चाहन्थी, तर विद्याधर झन आनन्दले पिङमा मच्चिरह्यो । मानसिक उन्मादले गर्दा ऊ चाँडै थाकी । पिङबाट ओर्लने बेलामा भनी– मलाई त विद्याधरजस्तै लोग्ने चाहिन्थ्यो, कहाँ लाटोबुङ्गोजस्तो शिखण्डीको फेला परिछु (ढकालः १२८) । यस कथनले के कुरा पुष्टि हुन्छ भने तीव्र यौन आकाङ्क्षाले ग्रसित भएका व्यक्ति बलिष्ट पुरुषको चाहना गर्छन् ।
शङ्खधरले शिखण्डीको नपुंसकताको फाइदा उठाएको छ । उसले नन्दिनीको यौन चाहनाको अवस्थालाई थाहा पायो । ऊ दिनहुँ जस्तो शिखण्डीको घरमा जान थाल्यो । केही महिनापछि नन्दिनीले छोरो पाई अनि गाउँमा अनेक टीकाटिप्पणी हुन थाले । गाउँका महिलाहरूले शिखण्डीलाई भने– “अरु त ठीकै छ शिखण्डी, त्यो शंखेलाई चाहिँ आफ्नो घरतिर ढिम्किन नदे । आफू छँदाछँदै किन खेताला लाउन परो” (ढकालः १२९) । समाजमा एउटाको कमजोरीबाट अर्काले फाइदा उठाउन सक्छ । शिखण्डीको नपुंसकताको फाइदा शङ्खधरले नन्दिनीबाट प्राप्त गरेको थियो ।

रामजी भारद्वाज उपन्यासको अर्को गौण पात्र हो । ऊ एउटा खुट्टो छोटो भएको अपाङ्ग हो । यही अपाङ्गताले गर्दा उसको विवाह हुन सकेको छैन । शरीर अपाङ्ग भए पनि उसको यौनेच्छा अपाङ्ग भएको थिएन । ऊ भट्टार भन्ने गाउँबाट निकाला भएपछि शान्तनुको घरको गोठमा बसेर जीवन बिताउन थालेको थियो । शान्तनुका घर जुवाडेहरूको अखडा बनेको थियो । चनमतीले मानवीय नाताले रामजीलाई केही खाने कुरा ल्याएर दिई । उसले त्यही मौका छोपेर चनमतीको पुस्ट छातीमा समात्न पुग्यो । उसको मनमा सल्केको यौनकोृ तीव्र ज्वाला निभाउन चाहन्थ्यो । यस कुराको पुष्टिका लागि यी उद्धरण लिनु उपयुक्त –“रामजीको हृदयमा सल्केको यौनतृष्णाको भयंकर आगोले चनमतीलाई तर्सायो” (ढकालः १६०) । परम्परादेखि मानव जीवनका लागि चाहिने यौनेच्छाको चाहना वैवाहिक सम्बन्धले पूरा गर्ने गरिन्छ । अपाङ्गताको अवस्थाले गर्दा नै नैतिक रूपमा वैवाहिक सम्बन्धमा गासिएर यौन इच्छा पूरा गर्न नसकेको रामजीको प्राकृत यौन चाहना उम्लिएर आएको कुरा माथिको कथनले स्पष्ट पार्छ । अझ यसको परिपुष्टताको लागि अर्को उद्धरण हेरौँ – “एकातिर तीव्र कामेच्छा र अर्कातिर शारीरिक दुर्बलता यी दुवै उसका निम्ति अन्तरविरोधयुक्त विषय थिए …लाज छैन लवस्तरा आफ्नी आमालाई गेर समात्न जा … आइमाईले चुट्दा अलग्गै आनन्द आउँछ” (ढकालः ६०–१६१) । शारीरिक दुर्बलता भए पनि प्राकृतिक रूपमा हुने यौनेच्छा सबलतामा परिणत हुन्थ्यो ।

च. अपराध मनोविज्ञान

साहित्यको समाजशास्त्रीय अध्ययनमा समाज मनोविज्ञानको अर्को एक पाटो अपराध मनोविज्ञान हो । मान्छेले यौन अपराधका माध्यमबाट पनि यौन चाहना पूरा गरेको हुन्छ । यस कुराको पुष्टिका लागि उपन्यासको अंशलाई हेर्न सकिन्छ –

घरभित्रबाट बाख्रो आर्तनाद गरिरहेको आवाज बाहिर टाढासम्म सुनिएको थियो । वल्लोपल्लो घरकाहरूले ठाने– बाख्राको दाम्लो घाँटीमा कसियो र मर्न लाग्यो । सबै पशुप्रेमले उत्प्रेरित भएर उद्धारको निम्ति आए ।… त्यसैबेला भावी कवि रामजी भारद्वाज भित्रबाट बाहिर निस्क्यो । ऊ पसिनै पसिनाले भिजेको थियो । मुख चाहिँदो भन्दा बढी रातो थियो । बाख्रो अझै कराइरहेको थियो (ढकालः १६२) ।

यो यौन मनोविज्ञानको सामाजिक अपराध हो । व्यक्तिले यौन तृष्णा पूरा गर्न नपाएको खण्डमा पशु करणीमा लागेर इच्छा पूरा गर्न पट्टि लाग्दो रहेछ भन्ने कुराको उदाहरण पनि हो । उसको तत्कालीन समयमा पच्चीस वर्ष पुग्दा पनि बिहे हुन सकेको कारणले त्यस्तो स्थितिको सृजना भएको देखिन्छ । त्यसको प्रतिफल समाजले देवालय, छरछिमेकमा देख्नु र भोग्नु परेको देखिन्छ ।

समाजमा विधवा महिलाले विवाह गर्नु हुँदैन भन्ने मान्यता विद्यमान छ । दमयन्ती यस्तैको सिकार भएकी छे । बालविवाह गरेर घर गएकी दमयन्तीको एक वर्षमा नै पति रामबोल खड्काको मृत्यु हुन्छ । ऊ जवानी हुँदै गई उसका इच्छा चाहनाहरू पनि बढ्दै गए । विधवा हुँदैमा उनीहरूको इच्छा आकाङ्क्षा चाहनाहरू मरेका हुँदैनन् । दमयन्तीका जवानीमा देखिने यौवनका लक्षणहरू जीवित थिए । ती दिनानु दिन पालुवा झँै बढिरहेका थिए । उदाहरणका लागि उपन्यासको अंश हेरौँ — “त्यहाँ दमित यौवनको टिठ लाग्दो भाव झल्किरहेको थियो । सोह्र वर्षकी त्यो युवतीको शरीरको संरचना पण्डितको निम्ति मोह र उत्तेजना सिर्जना गराउने भन्दा पनि करुणा र दया सिर्जना गर्ने किसिमको थियो” (ढकालः ७९) । उक्त कथनले के सिद्ध गर्छ भने विधवा हुँदैमा प्राकृतिक रूपमा देखिने रूपाकृति विधवा भएर सिधै नस्ट भएर जादैन । त्यो समय र परिस्थिति अनुरूप देखिने अवस्था हो । यी अवस्था सामाजिक मनोविज्ञानले नै सिर्जना गरेको थियो किनभने रजस्वला भएर घरमा राखेमा पाप लाग्ने र बालविवाह गरेर घरमा पठाउँदा बेलैमाथि विधवा हुनु पर्ने सामाजिक मूल कारण थियो ।

छ. जर्वजस्ती यौन करणीको मनोविज्ञान

साहित्यको समाजशास्त्रीय अध्ययनको सामाजिक मनोविज्ञानअन्र्तगत पर्ने अर्को जर्बजस्ती यौन करणी पर्दछ । सुभद्रा प्रस्तुत उपन्यासकी सहायक पात्र हो । ऊ नौ वर्षकी हुँदा बाबुआमा स्वर्गे भैसकेका थिए । उसले जीवनमा धेरै दुःख पाइसकेकी थिई । एउटै गाउँकी फूलमती बाहुनीले काठमाडौंँ ल्याएर ठमेल निवासी दीर्घनरसिंह कहाँ भाँडा माझ्ने काम लगाइ दिएकी दिई । राणाकालीन समयका कप्तानले उसको तेह्र वर्षे फक्र्रँदो उमेरमा केही नयाँपन देख्न थाल्यो । उसको बलिष्टालिङ्गनले बाहुपासमा बाध्यो र यौन तृप्ति पूरा गर्यो ।

आफूमा चालीस वर्षको बैंसको प्रत्यागमन भएको ठान्ने दीर्घनरसिंहले सुभद्राको उक्सिएको छाती र फराकिलो हुन थालेको नितम्ब देख्यो । उसले धर्म, नैतिकता, कानुन, मानवीय मूल्य र आर्दश बिस्र्यो । उसले त्यो फूल भएर नफर्किसकेको कोमल कोपिलालाई टिपेर आफ्नो कामाग्नि शान्त पार्ने साधन बनाउने अठोट गर्यो (ढकाल ः ११२) ।

यस कथनले के सिद्ध गर्छ भने आफ्नो घरमा काम गर्न राखेका युवतीहरूलाई जर्वजस्ती बलत्कार गरेर आफूमा भएको पुरुषार्थ देखाउने तत्कालीन शासन व्यवस्थाका सङ्केत गरेको छ । आपराधिक काम गरेर पुरुषार्थ देखाएको दीर्घनरसिंह पत्नीले पूजा गरेको स्थान गएर पूजा पाठ गरी पाप कटनीको प्रार्थन गर्न थाल्छ । समाजले नारीलाई सामाजिक शोषणका साथै शारीरिक शोषण बढी गथ्र्यो । जबर्जस्ती करणी गरे पनि सामाजिक मनोविज्ञानका कारण महिलाले स्पष्ट रूपमा आफ्ना पीडा अरू सामु राख्न नसक्ने वातावरण तत्कालीन समयमा थियो ।

ज. प्रतिशोध मनोविज्ञान

शङ्खधर चक्रधरको छोरो हो । ऊ उपन्यासको सहायक पात्र हो । ऊ विष्णुभक्त बालकृष्ण, रामभक्त, रामकृष्ण, अश्विनी, मन्नोदरी, दमयन्तीका विरुद्धमा लागेको खलनायक पात्र हो । उसले विष्णुभक्तको स्थानीय सत्तालाई विस्थापित गरेर आफ्नो सत्ता कायम गर्न चाहने विरोधी कित्ताको प्रतिनिधि चरित्र हो । अश्विनीको व्रतबन्धको विषयलाई सिंहदरबारसम्म पु¥याउने, चुक्ली लगाउने व्यक्ति पनि शङ्खधर नै थियो । बालकृष्णको गल्ती पत्ता लगाएर श्री ३ लाई टक्र्याउन सकिएमा आफ्नो चाकडी सुनिश्चित ठान्ने शङ्धर सफल हुन पुग्यो । उसले बालकृष्णका विरुद्धमा लागेर जातच्यूत गराउनमा समेत भूमिका खेलेको थियो । ऊ बालकृष्णको स्कुल पढ्दादेखिको साथी हो । ऊ न पढाइ न ज्ञान न वाक्कला कुनै पक्षमा पनि बालकृष्णभन्दा अगाडि देखिएन र बालकृष्णको बाल्यकालीन समयदेखि विरोधीका रूपमा देखिन थाल्यो । यस कुराको परिपुष्टिका लागि निम्न उद्धरण लिनु उपयुक्त हुन्छ –

हामी बालककालको पिँढी शिक्षाका सहपाठी थियौं । त्यसबखत म रामभक्तसँग जति आत्मीय हुन्थेँ । त्यति ऊ मसँग टाढिँदै जान्थ्यो । काशी प्रस्थान गर्नु अघिसम्म पनि मैले यसको रहस्य बुझ्न सकेको थिइनँ । हामी सिंहदरबार जाने कुरा सुन्नासाथ शङ्खधर तातो कराइमा परेको जिउँदो माछाझैँ छटपटिएर शिवालयमा आइपुगेको रहेछ । लुगासुगा लगाएर म त्यहाँ पुग्दा ऊ अत्यन्तै चर्को र खस्रो स्वरमा बर्बराइरहेको थियो (ढकालः ५८) ।
यस कथनले अर्कालाई यातना दिन खोन्दा आफै मानसिक तनावमा परेको छ भन्ने कुरा स्पष्ट हुन्छ । प्रतिशोधात्मक भावनाले भरिएको मानसिकतामा आफू अनुकूल हुन नकेन भने व्यक्ति मनोरोगले आक्रान्त हुन्छ ।

शङ्खधर बालकृष्णको प्रगति देखेर मानसिक दुरवस्थामा देखिन्थ्यो । उसले श्री ३ को चाकरी गरी बालकृष्णका विरुद्धमा सुराकी लगाउँथ्यो । उसले भए नभएको पोल लगाएर बाल्यावस्थाको क्षतिपूर्ति उठाउन चाहन्थ्यो । ऊ विद्यालयमा पढ्दादेखि नै बालकृष्णसँग प्रतिस्पर्धा गर्न सक्दैनथ्यो । उपन्यासको निम्न उद्धरणले यस कुराको पुष्टि गर्छ – “त्यो पहिलेदेखि नै मलाई रिस गर्छ । सुरुमा सँगै पढ्दा पनि त्यो पढ्न नसकेर गुरुको पिटाइ खान्थ्यो । म कण्ठ गरेर पाठ सुनाउँथेँ र गुरुको स्यावासी पाउँथेँ । बस, यो कुरा त्यसलाई डाहा हुन्थ्यो” (ढकाल ः १५६) । यस कथनले के कुरा पुष्टि हुन्छ भने लेखाइ, पढाइलगायत हरेक क्षेत्रमा आफू कमजोरी हुँदा त्यस कार्यको क्षतिपूर्तिका लागि प्रतिस्पर्धीलाई विस्थापित गराएर शक्ति हत्याउने र बदला लिने प्रतिशोधात्मक भावना जागेको बुझ्न सकिन्छ ।

बालकृष्णको परिवारलाई देशनिकाला गर्दा शङ्खधर गाउँको जिम्बावाल व्यक्ति भएको थियो । उसले श्री ३ चन्द्रशमशेरलाई सुराकी दिनमा सहयोग पुर्याएको प्रतिफल बालकृष्ण देशनिकाला हुनु परेको थियो । ऊ यस कार्यबाट निकै खुसी भएको थियो र आफ्नो अभीष्ट पूरा हुनेमा विश्वस्त थियो । उसले बालकृष्णको अनुहारमा दुःखको प्रताडना देख्न चाहन्थ्यो तर त्यो अवस्था बालकृष्ण र उसका परिवारमा देख्न पाएन । उसले परिवारका सबै सदस्यहरूलाई देश निकाला हुनु पर्दाको क्षण कस्तो स्थिति मनमा उठेको हुन्छ भन्ने कुरा सोध्यो । उसले चाहे अनुरूपको जवाफ आचार्यको परिवारबाट पाउन सकेन । उसको प्रतिशोधी मानसिकतालाई पूरा हुन नसकेको निम्न उद्धरणले गर्छ– “त्यसो भने तपाइँहरू दुःखी हुनुहुन्न त अचार्जज्यू .. बाले भनेको कुरामा म सयका सय सहमत छु । हाम्रो परिवार यो दण्डबाट आहत भएको छैन … हो हो, क्यै छैन । तिमेर्को परिवारको क्वै दोष छैन । मन चङ्गा पारेर जाऊ शङ्खधर” (ढकालः २१२) । यस कथनले के सिद्ध गर्छ भने सहयोगको नामका अर्कालाई दुःख दिएर आनन्द लिने शङ्खधरजस्ता नीच व्यक्ति मानसिक दुःखमा पिल्सिएको कुरा स्पष्ट बुझ्न सकिन्छ ।

झ. हीनताबोध मनोविज्ञान

प्रस्तुत उपन्यासमा उपस्थित पात्र शङ्खधरले रातारात देश निकाला भएका आचार्य परिवारलाई विधाइका नामका आफ्नो कार्य सिद्धी पूरा हुने ठानी गएको थियो तर उसले उल्टै आफै स्वपीडनमा पर्न पुग्यो । उसले आचार्यको परिवार श्लेषमान्तक वनभन्दा धेरै टाढा पुगिन्जेलसम्म एक नाशले हेरिरह्यो । ऊ आचार्यको परिवारमा आएको विपत्तिबाट आनन्दित हुने र आफ्नो अभीष्ट पूरा हुने मनसायमा थियो तर उसले आचार्यको परिवारमा दुःखको कुनै सङ्केत नपाएपछि विजयको सास फेर्न पाएन । ऊ पराजयले द्रविभूत भयो । शङ्खधरले बालकृष्णका परिवारलाई जति प्रताडना दिन खोजे पनि सफल हुन सकेन । ऊ मानसिक सन्तापले छट्पटिन थाल्यो ।

आचार्यको परिवार श्लेषमान्तक वनभित्र लुप्त नहुन्जेल शङ्खधर उभिएर एकनास उनीहरू गएको बाटोतिर हेरिरह्यो । साँच्चै यत्रो दुःखमा पनि उनीहरू हल्लेका थिएनन् । कहाँसम्म भने सबभन्दा सानी कान्छी समेत उज्यालोले प्रदिप्त थिई । यो सब देखेर उसले पञ्चकिस्नसँग भन्यो– पञ्चे, मैले त केही पनि जितेको छैन । जस्तो पो लाग्यो । म याँ आको तँलाइ था छँदै छ । म पन्नितको परिवारको दुःख हेरेर आनन्दित हुन चाहन्थेँ । मेरो मुटुमा शत्रुताको आगो बलिरहेको छ । मैले जिन्नगीभरि यिनेरुसित हार्दै आएँ । प्रत्येक हारले म छटपटिएँ । एक्लै कतिपटक रोएँ । यिनीहरूको हारमा ती सपैको क्षतिपूर्ति आज हुन्छ भन्ठानेको, तर आज पनि जित्न सकिनँ । म उनीहरूको परिवारको दुःख हेरेर आनन्द लिन आको, झन दुःखी भेर पो फर्कने भएँ । भन् के गरम म (ढकालः २१२) ?

माथिको कथनबाट के स्पष्ट हुन्छ भने जीवनमा अर्कालाई दुःख दिएर आनन्दित हुने पात्रहरू समाजमा प्रशस्त हुन्छन् । अर्कालाई पीडा दिन खोज्दा नसकेपछि जीवनबाट विदा लिन आफ्नो नजिकको मित्र सोधेको कुराले स्वपीडनमा परेको कुरा स्पष्ट हुन्छ । तत्कालीन समयमा यस किसिमका पात्रहरू समाजमा प्रशस्त हुन्थे भन्ने कुरा शङ्खधरजस्ता नीच व्यक्तिबाट स्पष्ट हुन्छ । आचार्यको परिवारलाई दुःख दिएर परपीडक बन्न खोजेको ऊ आफै स्वपीडनमा परिणत भएको छ । यस कुराको पुष्टिका लागि उपन्यासको निम्न उद्धरणले स्पष्ट पार्छ – “पञ्चकिस्नेले शंखधरको अनुहार पराजय र हीनताबोधमा कुँदिएको स्पष्ट देख्यो, शंखधरको आँखामा आँसुको दह जमेको थियो” (ढकालः २१२) । यस कथनले के स्पष्ट हुन्छ भने अर्कालाई पीडा दिन नसक्दा स्वयम् स्वपीडकका रूपमा परिणत भएको कुरा प्रस्ट हुन्छ ।

निष्कर्ष

प्रस्तुत उपन्यासको साहित्यको समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन गर्दा उपन्यासले नेपालीहरूको सांस्कृतिक परम्परालाई अभिव्यक्त गरेको छ । नेपालीहरूको सांस्कृतिक जीवनशैली तथा रीतिरिवाज, धर्मपरम्परा, ईश्वरप्रतिको भक्तिभाव, भूतप्रेत, बोक्सी, झाँक्री आदिप्रतिको विश्वास उपन्यामा आएको छ । प्रस्तुत उपन्यासको विश्लेषणका क्रममा सामाजिक सांस्कृतिअन्र्तगत शक्ति पूजा, ढोग–अभिवादन, नारी रजस्वला, उपहार अर्पण, पूजा पाठ, पारायण, यज्ञ, अमूर्त तत्वमाथिको विश्वास, काजक्रिया, पुत्रपुत्रीको स्थान, कुलपूजा, ज्योतिष आदि रहेका छन् । यस उपन्यासको विश्लेषण गर्ने अर्को तत्व सामाजिक इतिहास पनि एक हो । नेपाली बहादुरी सिपाहीहरू प्रथम विश्वयुद्धमा रणकौशल देखाएर आएको प्रसङ्गले इतिहासको सम्झना गराउँछ । राणाकालीन समयमा शासकहरूले शासितप्रति गरेको दुव्र्यवहारको ऐतिहासिक दृष्टि प्रस्तुत उपन्यासमा भएको छ । त्यस बेलाको समयमा शासकीय संगठन विधि दमनकारी भएको कुरा बुझ्न सकिन्छ । देशको उन्नति र भलो चाहने नेपाली आमाका सच्चा सपूतहरूलाई देश निकाला गरेको घटनाले ऐतिहासिक तथ्यको पुष्टि गर्छ । माधवलाल, अमरराज, वाग्पतिलाल, तुलसीमेहर आदिलाई जनचेतना फैलाएको बाहानामा देश निकाला गरेको प्रसङ्ग निकै मार्मिक रूपमा चित्रण गरिएको छ राणाहरूले विकासको सट्टा यथास्थितिलाई निरन्तरता दिदै गएको अनि दासमोचनका नाममा देशको ढुकुटी सकेको र साहित्य काण्ड गरी सहिद पर्व गरेको प्रसङ्ग उपन्यासका आएको छ । सामाजिक मनोविज्ञान उपन्यासको विश्लेषणका क्रममा आएको छ । यसमा शासकको दमनकारी मानसिकता, शासकको ज्ञानको उच्चता बोधी मानसिकता, नागरिकको वितृष्णा बोधक र भय ग्रस्त मानसिकता, किशोरावस्थाको यौन मनोविज्ञान, अपराध मनोविज्ञान प्रतिशोधमूलक मनोविज्ञान आदि छन् ।