केही दिनअघि सामाजिक संजालमा “यो दलित साहित्य भनेको चैँ के हो ?” भन्ने विषयमा खुब मजाकी चल्यो । संजालको माहोल गर्मागर्मीले खुब तात्यो पनि । साहित्यमा पनि दलित, ब्राह्मण, वैश्य, शुद्र वा जात, वर्ग, लिङ्ग , वर्ण आदि इत्यादि सापेक्ष हुन्छ र भन्ने विषयमा व्यङ्ग्यपरक सतही टिप्पणीहरू खुब छताछुल्ल भए । केहीले खुब उडाए पनि यो विषयलाई । केहीले समर्थमा आधारभूत तर्कसहित सारगर्भित टिप्पणीहरूमार्फत् यसको औचित्यबारे आफ्नो धारणाहरू पनि राखे । जेहोस्, सतहमा आएको यो मजाकीले एक गम्भीर विषयको उठान पनि पुनः गरेको छ । साधनारत यो पंक्तिकारलाई यसबारे केही लेख्न उत्प्रेरित पनि गरिदिएको छ । त्यसको लागि पनि यो विषय उठान जे, जसरी, जसले, जुन उदेश्यका लागि गरेका भए पनि ती धन्यवादका पात्रहरू हुन् ।

‘दलित साहित्य के हो ?’, ‘दलित साहित्य हुन्छ कि हुँदैन ?’ भन्ने बहस अब प्राज्ञिक रूपमै उठ्न जरूरी छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो भने अब साहित्यमा पनि बहुसाहित्यिक देश किन नस्वीकार्ने ? अर्थात दलित साहित्य किन नहुने, किन नस्वीकार्ने ? बीजगणितमा एउटा स्वयंसिद्ध तथ्य छः a=b, b=c हुन्छ भने c=a पनि हुन्छ । यही तथ्यलाई अब हामी बहुभाषिक, बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुसाहित्यिक पक्षहरूसँग अन्तरघुलन गरेर बराबरीको निष्कर्ष निकाल्न सकौंला कि नसकौंला ! यो विषयमा अब सार्थक विचार, विमर्श र बहस हुन जरूरी छ ।

दलित साहित्यबारे बहस हुनुपूर्व “दलित ” शब्दकै वस्तुनिष्ट परिभाषाबारे बुझ्न जरूरी छ । दलित शब्द, न अछूत/शुद्रको पर्याय हो न त यसकै शब्दातीत अपभ्रंश । दलित शब्द तमाम शोषित, पीडित , उत्पीडित र समाजिक, आर्थिक, राजनैतिक अनि सांस्कृतिक रुपमा पछाडि पारिँदै आएका वर्गहरूले आन्दोलन र संघर्षमार्फत् स्थापित गरेको दक्षिण एसियाकै एक सामुहिक पहिचान हो । बुर्जुवा वर्गले यसको गरिमा नस्वीकार्नु र अन्य अर्थ लगाउनु अलग कुरा हो । यो इतिहासकै कालखण्डले निर्माण गरेको एक अवस्था पनि हो ।

कृष्ण विश्वकर्मा

ट्राटस्कीको एउटा निकै सान्दर्भिक भनाइ छ । उनले भनेका छन्, “हरेक राज्य बाहुबलकै जगमा निर्मित हुन्छ ।”, राज्य भनेको कुनै निश्चित भूगोल मात्रै होइन । सोही भूगोलभित्र अन्तर्घुलित गतिशील वर्ग पनि हो । अब माथिको भनाइमा राज्य शब्दलाई हटाएर त्यसको ठाउँमा वर्ग राखौं र उनकै भनाइ पुनर्विचार गरौं । सजिलोको लागि राज्य शब्दको ठाउँमा दलित शब्द राखेर हेर्दा यो कुनै निश्चित वर्गले आफ्नै संघर्षको बाहुबलमा निर्माण गरेको एक ऐतिहासिक सामुहिक पहिचान हो भनेर बुझ्न नसकिने ठाउँ छ जस्तो मलाई लाग्दैन ।

वर्णाश्रम शासकीय स्वरूप अर्थात् जात व्यवस्थाको एउटा विशिष्ट गुण छ । त्यो के हो भने यो व्यवस्थाको जग नै भिन्नतामा आधारित छ । कोभन्दा को ठूलो अर्थात् कोभन्दा को सानो हो यसले किटानी गर्छ । एक अर्कामा तुलना गर्ने/गराउने र यसलाई अस्तित्वमै राखिराख्ने । यो नै यसको विशिष्ट गुण वा प्रकृति हो । यो व्यवस्थाको जग नै असमानताबाट शुरू हुन्छ । त्यसैले दलित शब्दभित्र अपमान देख्नु र त्यो भाव आमरुपमा संचार गर्नु/गराउनु जात व्यवस्थाको एक रणनीतिक प्रपञ्च पनि हो । यो एउटा यस्तो इन्द्रजाल हो जसले इहलोक, परलोक देखाउँछ । पाप, पुण्यको डर-त्रास देखाउँछ । भगवानमाथिको आस्था भजाएर धर्मको नाउँमा धार्मिक प्रचारप्रसार गरी हाम्रो भूत, वर्तमान र भविष्यलाई पनि आफ्नो नियन्त्रण राख्ने कुचेष्टा गर्छ ।

दलित शब्द आफैँमा एक महान् संघर्षद्वारा इतरसमुदायले प्राप्त गरेको एक सामुहिक पहिचान हुँदाहुँदै पनि यो अपमानित शब्दमा पुनर्भाषित गराउनु र यसको विकल्प खोजिनु पर्ने , शिल्पी शब्द राख्दा न्यायोचित देखिने बहस आउनुभित्र पनि ठूलो रहस्य छ । दलित शब्द न शुद्र/अछूत शब्दको विकल्प थियो, न हो र हुनेछ । न यसको विकल्पमा अन्य शब्द प्रतिस्थापन गरेर यसले बोकेको आदर्श र सामुहिक पहिचानमा तात्विक भिन्नता ल्याउन सक्छ । यो शब्दको विरासतलाई एकल खस आर्य नश्लवादी शासकीय राज्य संयन्त्रले वि.सं . २०५२ भन्दा अगाडि स्वीकारेकै थिएन । जब माओवादीहरूले सशस्त्र क्रान्तिको घोषणा गरे त्यसपश्चात् सोही पार्टीको सम्भवत: प्रथम अधिवेशनको पार्टी दस्तावेजमा यो इतर वर्गलाई दलित वर्ग भनेर सम्बोधन गर्‍यो । दलित शब्दलाई स्वीकार गर्‍यो । आजपर्यन्त यो शब्दले नेपालमा हाम्रो सिङ्गो वर्गको सामुहिक पहिचानको वकालत गर्दै आएको वस्तुनिष्ट धरातलीय यथार्थ छ। झुटलाई पनि हजारपटक ‘सत्य हो, सत्य हो’ भनेर फुकिरहे जनमानसमामा त्यो झुट सत्यमा रुपान्तरण हुन्छ भन्ने ग्वेबल्सका अनुयायीहरूले यो शब्दको विरासतलाई शुद्र/अछुत शब्दको पर्यायवाची शब्दमै कुन्ठित गर्न न्वारनदेखिको बल लगाएर भ्रम छर्न यत्नशील छ्न् । तर यसले विश्वभरि नै आफ्नो पहिचान स्थापित हरिसकेको छ । कहिलेकाहीँ सत्य, असत्यको गर्तमा पुरिएर असत्य नै सत्य हो भन्ने भ्रम हुन सक्छ । तर, विज्ञान र प्रविधिको यो युगले ती भ्रमहरू हामी सबैको मन-मस्तिष्कबाट ढिलोचाँडो पखालेर सत्यलाई सत्यकै रुपमा उजागर गर्नेछ । कमसे कम अहिलेका युवापुस्ता यो भ्रामक प्रपञ्चबाट मुक्त छ ।

समाज रुपान्तरण गर्ने/गराउने कार्यमा धेरै तत्वहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । त्यसमध्ये एक निर्णायक तत्व हो- भाषा तथा साहित्य ।

गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार
फेर्नलाई उठ

जस्ता गीतले नेपाली जनमानसमा ल्याएको जागरण, यसले सामन्ती व्यवस्था हटाउन खेलेको अहम् भूमिका सबैलाई सर्वविदितै भएको आम सत्य हो । त्यस्तै बबमार्लीको “बफेलो सोल्जर इन द हर्ट अफ अमेरिका” गीतले अश्वेत वर्गमा ल्याएको युगीत चेतलाई पनि हामी हेर्न सक्छौं । यी गीतहरू पनि त भाषा तथा साहित्यकै एक उपविधा हुन् । यसबाट के बुझ्न सकिन्छ भने हरेक मानव जातिलाई सबै भन्दा छिटो प्रभाव पार्ने तत्व भनेकै भाषा तथा साहित्य हो रहेछ । अब यसको पकड कुन वर्गको हातमा छ र उसले भाषा साहित्यलाई कसरी आफ्नो अनुकूल बनाएको छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्दो रहेछ ।

१९९७ सालको प्रजापरिषद् पर्वमा धेरै युवाहरू पक्राउ परे । नेपाल भाषामा लेख्ने साहित्यकारहरू फत्तेबहादुर , सिद्धिचरण , चित्तधरहरू पनि थुनिए । राणालगायत अधिकांश उनीहरूकै आसे, गासे, ढोके भारदारहरू यो मानेमा त्रसित थिए कि समृद्ध नेवारी भाषाको अधिपत्यले खस आर्य भाषालाई गौण र छायाँमा पार्न सक्छ । त्यसैले पनि नेपालभाषा- व्याकरण लेखिसकेका लेखक शुक्रराज शास्त्रीलाई राणाहरूले योजनाबद्ध रुपमा ठूलो यातना दिएर मारे । सिद्धिचरणलाई जेल कोचे । सायद सबै भाषा-साहित्यलाई उत्तिकै महत्व , स्थान दिएर विकास, प्रबर्द्धन र संरक्षण गरेको भए आज हाम्रो वर्गले पनि नेपालमा विद्यमान १२९ भाषामै सम्वाद गर्ने दक्षता हासिल गरिसकेका हुने थियो होला । यत्तिखेर हामी सबै खस-आर्य भाषा मात्रै नभएर सबै भाषामा कुरा गरिरहेका हुने थियौं । हाम्रो कस्तो सुन्दर इन्द्रेणी समाज र अपनत्व हुने थियो । पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर राणा हुँदाहुँदै महेन्द्रकालीन समयसम्म आइपुग्दा अन्य समुदायहरूका भाषा, साहित्य, संस्कृति आदिलाई यसरी योजनाबद्ध रुपमा दमन र निषेध गर्दै आए कि मानौं खस आर्य भाषा / साहित्यभन्दा अरू भाषा, साहित्य र संस्कृति नै यो भूगोलमा अस्तित्वमा थिएनन् । भए पनि ती पछि बनेका हुन् भन्ने जस्तो धारणा हाम्रो मन-मस्तिष्कमा घनीभूत छ अझै । राजा महेन्द्रले त खस आर्य भाषा र साहित्यलाई अन्य भाषिक समुदायमा योजनाबद्ध रुपमा झन् यसरी लादे कि अझै पनि त्यसको तुष हाम्रो समाजमा एकल जातीय सौन्दर्य मूल्यका रुपमा जडगत नै छ । चुच्चे नाक- सुन्दर, थेप्चे नाक -असुन्दर , कस्तो कामी दमाईको जस्तो व्यहोरा (मानौं खराब व्यहोरा सबै यिनैको कर्म हो), कस्तो राम्री बाहुनकी जस्ती छोरी ( मानौं राम्री छोरी अन्य समुदायमा जन्मिनै सक्दैन) आदि इत्यादि यसका सारांशित ज्वलन्त उदाहरणहरू हुन् ।

दलित वर्गको त आफ्नो भाषा नै निर्माण हुन पाएन सायद ।कहिलेकाहीँ सोच्छु, हाम्रो वर्गको पनि त थियो होला नि आफ्नै भाषा, आफ्नै संस्कार, आफ्नै संस्कृति र आफ्नै साहित्य ।

यो समाजमा प्रथम वैज्ञानिक दलित, प्रथम प्राविधिक दलित , प्रथम संगीतकार दलित , प्रथम शिल्पकार दलित, प्रथम सञ्चारकर्मी दलित, प्रथम सफाइ अभियन्ता दलित भएर पनि यो समुदायको छुट्टै पहिचान, अस्तित्व यो समाजमा नहुनुको रहस्य के हो ? कुरा स्पष्ट छ, मनुस्मृति र मुलुकी ऐन-१९१० को प्रभाव अर्थात् एक शब्दमा भन्दा विभेदकारी वर्णाश्रम शासन व्यवस्थाको चरम दलन र निषेध अनि यसको अख्तियार गरेको अघोषित निरन्तरता । जात व्यवस्थाले निर्माण गरेको तहगत श्रेणी अनुरुप उपल्लाहरूले राज्यबाट व्यापक सहुलियत लिनु र विभाजित निम्छरा तहगत श्रेणीहरूउपर बहिष्करण र दलन चरम रुपमा लादेर राज्यको हरेक संयन्त्रबाट विमुख पार्दै शृङ्खलाबद्ध रुपमा शोषण गर्दै आउनु यो वर्गको अधोगतिको प्रमुख कारक तत्वहरूमध्येका हुन् । दलित वर्गको त आफ्नो भाषा नै निर्माण हुन पाएन सायद ।कहिलेकाहीँ सोच्छु, हाम्रो वर्गको पनि त थियो होला नि आफ्नै भाषा, आफ्नै संस्कार, आफ्नै संस्कृति र आफ्नै साहित्य । कला , प्रविधि , शिल्प , संगीत , सञ्चार आदि क्षेत्रमा यतिधेरै अग्रस्थान ओगटेका वर्गको आफ्नै मौलिक भाषा-साहित्य हुन्न भनेर कुनै कोणबाट पनि प्रमाणित हुने कुरा नै होइन ।

राज्य विस्तार गर्ने क्रममा पृथ्वीनारायण शाहले खस भाषा तथा साहित्यको विस्तारमा दलित जातिको भरपूर उपयोग गरेको तथ्य इतिहास सिद्ध छ । राज्य विस्तारकै क्रममा भएका युद्ध तथा अंग्रेजी , भोट र चीनसँगका युद्धहरूमा गन्धर्वहरूले ठाउँ ठाउँमा पुगेर वीरताको गीत गाउन लगाएका थिए । कयौं ब्राह्मण- क्षेत्रीहरू सँगसँगै बसाइँ सर्ने क्रममा नेपाली भाषा र साहित्यलाई कुना कुना पुराउन निर्णायक भूमिका खेलेका थिए । पृथ्वीनारायणको समयका चर्चित कर्खागायक मणिराम गाइनेले पृथ्वीनारायणकै निर्देशमा विभिन्न ठाउँमा पुगेर झाराप्रथा ( बिनापारिश्रमिक श्रमको दोहन गर्ने प्रथा) अन्तर्गत रहेरै गोर्खाली वीरगाथा गाएका थिए । बिस्या नगर्ची र जया नगर्ची त उतिबेलै निकै अब्बल दर्ताका सुझबुझ भएका व्यक्तिहरू थिए ।

बिस्या नगर्ची (बिसे नगर्ची) कै सल्लाहबमोजिम राज्य विस्तारको लागि पृथ्वीनारायणलाई गोरखाका बाह्र हजार घरधुरीबाट एक-एक रुपियाँ उठाएर काँशी गई हातहतियार खरिद गरी ल्याउन सल्लाह दिएका कुरा इतिहास प्रमाणित छ । नुवाकोट युद्धमा बिस्या नगर्चीलगायत धार्ने कामी, कालु सार्की, मणिराम गाइने, बनादर दमाईलगायत अन्य अज्ञात दलितहरूले पृथ्वीनारायण सँगै युद्ध लडेका थिए । यस्ता पराक्रमी दलितहरूको इतिहास कसले लुकायो ? कहाँनिर छ यी वीरयोद्धाहरूको बारेमा लेखिएको साहित्य ? वाचन शिरोमणि उपाधि पाएका नारायण पोख्रेलको पुराण वाचन हरेक घरका एफएम/ रेडियोहरूमा एकाबिहानै घन्किरहदा उस जमानामै संस्कृतमा शास्त्री गरेका आचार्य भगत सर्वजित विश्वकर्माका संदेश किन कतै बज्दैन ? किन कुनै साहित्यकारहरूको छनाैट पर्दैनन् ? किन उनीबारे कथा, कविता, आख्यानहरू लेखिएनन् ? कुरा स्पष्ट छ किनकि उनी दलित थिए । एक पानी नचल्ने जात । वर्णाश्रम व्यवस्थाको एक श्रापित फेद ।

एक छिन अब महान् देश भक्त वीरयोद्धा बाङ्गे सार्कीको बारे पनि थोरै प्रसङ्ग राखौं । घटना वि.सं १८६६ हो जुनबेला अङ्ग्रेज फौजले नेपालमा आक्रमण गर्ने योजना बनाइरहेको थियो, त्यतिबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरू त्यही रोकिएका थिए । त्यहीबेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइदिए घर, पैसा जे मागे पनि दिने प्रलोभन देखाए तर गरिबीमा जति पिल्सिए पनि देशभक्तिभन्दा ठूलो अरु केही नदेख्ने नेपाली सपुत बाङ्गे सार्कीले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम मबाट कदापि हुन सक्दैन, तिम्रो सम्पत्ति मलाई चाहिन्न।’’ आशा गरे भन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुर भएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गे सार्कीको ज्यान लिन आदेश थिए । उनलाई अङ्ग्रेज फौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे सार्की उसबेला घरायसी सामान लिन जानेक्रममा नेपालको सिमाना नजिकरहेको भारतको बेतिया सहरमा पुगेका थिए ।

नेपालको सार्वभौम सत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गेसार्की जसको बारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन् ।

बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यही प्राणको आहुति दिए। बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यहीँ प्राणको आहुति दिए। नेपालको सार्वभौम सत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गेसार्की जसको बारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन् । प्रायः मूलधारका भनिएका कुनै साहित्यकारहरूले उनीबारे कथा, कविता, आख्यान र गैह्रआख्यान अझैसम्म लेखेका छैनन् ।

कतिलाई थाह छ बलदेव रामबारे ? उनीबारे गैह्रदलितलाई त परै जाओस् अधिकांश दलितहरू नै उनीबारे अनभिज्ञ छन् भन्ने लाग्छ मलाई । प्रजातन्त्रसँगै २००७ सालमा जन्मिएका थिए चमार मुक्ति आन्दोलनका अगुवा अभियन्ता बलदेव राम । सप्तरीको मधुपट्टि गाविस कनकपुरको एक गरिब चमारको रामझुपडीमा जन्मेका उनले त्यसबेला चमारहरूमाथि ‘उच्च जात’ का ‘गिरहत’ (बाली कमाएको मालिक) को अत्याचार आफ्नै आँखाले देखे, भोगे । चमारले ‘गिरहत’हरू कहाँ पशु मर्दा त्यसको मासुसमेत खानुपथ्र्यो । चमारलाई वार्षिक १० किलो धान दिएपछि सिनो फ्याक्ने काम पुरुष र सुत्केरीलाई तेल लगाउने काम महिलाले गर्नुपथ्र्यो । यो चमार परिवारको ‘कर्तव्य’ हुन्थ्यो । उनकै पहलकदमीमा सिनो फ्याँक्नु पर्ने चलनको अन्त्य २०५६ मा भयो । उनको यो महान् संघर्षको कथा , कविता, आख्यान, गैरआख्यान लेख्ने खै को जन्मिए आजसम्म ? प्रचण्ड र लालबाबु पण्डित बाबुराम भट्टराईबारे मोटा मोटा स्तुतिगान लेख्ने आख्यानकारहरूबाट के उनीबारे अपेक्षा गर्न सकिन्छ अझै ? सकिँदैन । किनकि वर्णाश्रम व्यवस्थाभित्रका एक प्रमुख मानिएका झुण्डले उनलाई निर्णायक पात्र नै स्वीकार्दैन । किन उनी महान् कार्य गरेर पनि गुमानाम बनाइयो ? किन कुनै मिडिया, पत्रपत्रिकामा उनको कुनै खोज खबर छैन ? कुरा स्पष्ट छ, किनकि उनी एक दलित थिए । वर्णाश्रम शासन व्यवस्थाको एक श्रापित फेद ।

साहित्य समाजको दर्पण हो । साहित्यको कर्तव्य, जागरण फैल्याउनु हो । बुद्धिविलाश र आत्मसन्तुष्टिका लागि पनि लेखिएलान् तथापि साहित्यले सु-सभ्य, समतामूलक समाज निर्माणमा पनि गहकिलो भूमिका निर्वाह गरी मार्गप्रसस्त पनि गर्न सक्ने हुँदा साहित्य लेखनीको पक्षधरता के हुनुपर्ने हो भन्ने बारेमा पनि छलफल हुन आवस्यक छ । यहाँ साहित्यमै पनि अघाएकाहरूले लेख्ने र भोकाएकाहरूले लेख्ने, विशिष्ट अधिकार प्राप्तहरूले लेख्ने र बहिष्करणमा परेकाहरूले लेख्ने अनि जन्मैले उपल्लो दर्जाको पगरी विरासतमा पाउनेहरू र जन्मैले तल्लो बनाइएकाहरूले लेख्ने बीचमा आकाश जमिनको फरक छ । प्रयोगात्मक नूतन धार र जडवत् पुरातन धारहरू बीचमा आपसी अन्तर्द्वन्द्वहरू छन् । साहित्यमा विविध विधागत धारहरू हुन सक्छन् । जस्तो कि यथास्थितिवादी, प्रगतिशील, स्वच्छन्द, प्रकृतिप्रेम , रोमाञ्चकारी, प्रयोगात्मक नवीनता आदि इत्यादि । यी सबैको तात्विक उपध्येयता के हुनुपर्ने हो ? अब छलफल र बहस हुनुपर्ने होइन र ? मुठीभर स्वनामधन्य वरिष्ठहरूको चंगुलबाट मुक्त हुन नसकेको नेपाली साहित्यको परिभाषा पनि सोही व्यक्तिहरूले निर्धारण गरेकै सीमित आयतनमा परिक्रमित छ । जसलाई एकथरी बुर्जुवा सोचबाट ग्रसित युवापिँढीहरूले सोही अनुकम्पालाई अंगालो हाली दन्तबझान गर्दै उही परिमितिलाई अन्तिम सत्य मान्दै आइरहेका पनि छन् र सोही ढाँचामा शब्दहरूलाई ३६० डिग्रीको आवृत्तिमा निसंकोच उफारिरहेका छन् । हेर्ने र मुल्यांकन गर्नेहरूबाट म पनि अछुतो नहुन सक्छु यसबाट । बिम्ब प्रयोगमा नवीनता ल्याउन नसके पनि केही युवा साहित्यकारहरूले समयानुकूलको विचारलाई हस्तक्षेपकारी ढंगले अघि ल्याइरहेको कुरा पनि उत्तिकै सत्य हो ।

दलित वर्गलाई लामो समयसम्म शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित राखियो । मनुमय समाजले दलितलाई पढ्न त के अरूले पढेको सुनेमा मात्र पनि निर्मम सजाय हुने विधिविधान नै तय गरेको थियो जुन कुरा राणाकालसम्म पनि यथावत् नै राखियो ।मासिन्या जातमा वर्गीकृत तामाङ्ग जातिको कुरा त परै जाओस् शिक्षा, संस्कार, संस्कृति र राजनैतिक कुशलतामा पृथ्वीनारायण शाहकै पालादेखि अब्बल देखिएका नेवार वर्गलाई समेत विभिन्न आरोप, प्रत्यारोप , प्रपञ्चहरू रचेर/लगाएर कमजाेर पारी पारी बहिष्करणसम्म पुराएको तथ्य सिद्धिचरण श्रेष्ठको “कारागार सम्झना ” पुस्तकमा पनि पढ्न सकिन्छ । शुक्रराज शास्त्रीलाई इन्द्रचोक डबलीमा गीताबारे प्रवचन दिइएको अभियोगमा पक्राउ गरी ‘तँ ज्यापूले गीताको व्याख्या गर्ने ! बडे-बडे नम्बरी पण्डितहरूले गर्न नसकेको ब्रह्मसूत्र उल्था गर्ने ! नेवार भएर वेद पढ्ने , गीताको प्रवचन दिने’ भन्दै गरिएको निर्मम केरकार र मानसिक यातनाबाट पुनारो राज्यसत्ता कस्तो थियो भन्ने बारे प्रष्ट बुझ्न सकिन्छ । र, पूरानै सत्ताको विरासतको प्रभाव आजको समाजसम्ममा कस्तो छ भन्ने कुरा थप वर्णन गरिरहनु पर्ने विषय हो जस्तो लाग्दैन ।

यो विरासत साहित्यमा पनि अघोषित रुपमा व्याप्त छ । जसरी अन्य क्षेत्रमा अघोषित सिन्डिकेट छ उसरी नै साहित्यमा पनि पूरातनपन्थीहरूकै र यसका हिमायतीहरूको सिन्टिकेट छ ।

एकल जातीय अहंकारवाद र प्रभुत्वमा आधारित शासकीय स्वरूपमा अन्य इतर समुदायहरू किनारिकृत हुनु अनौठो होइन । जब शासकीय स्वरूप नै एक वर्ग, एक समुदायमा कुन्ठित हुन पुग्छ त्यसले सामाजिक, सांस्कृतिक, राजनैतिक आर्थिक पाटोहरूमा पनि सोही वर्गकै सीमित व्यक्तिहरूको हालीमुहाली र एकल प्रभुत्व स्थापित गर्ने तथ्य त आम कुरा नै भयो । यो विरासत साहित्यमा पनि अघोषित रुपमा व्याप्त छ । जसरी अन्य क्षेत्रमा अघोषित सिन्डिकेट छ उसरी नै साहित्यमा पनि पूरातनपन्थीहरूकै र यसका हिमायतीहरूको सिन्टिकेट छ ।

एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि नेपालको असीदेखि नब्बे प्रतिशत दलितहरू निरपेक्ष गरिबीको रेखामुनि हुनु, भूमिहीन किसानमध्ये असी प्रतिशत दलितहरू नै हुनु, तराईमा त झन पन्चानब्बे प्रतिशत दलितहरू भूमिहीन हुँदा समेत यो वर्गको आवाज प्रखररुपमा साहित्यको मूलधारमा नआउनुको पछाडि केही त छ ! राजनैतिक पार्टीहरूले त आफ्नो स्वार्थसिद्ध गर्न यो वर्गलाई बारबार ढाल बनाए नै । प्रयोग गरे नै । तर, साहित्य त कुनै वर्ग, जात, वर्ण, लिङ्ग आदि भन्दा माथि हुन्छ भन्ने भाष्य आत्मसात् गरिरहँदा नेपाली साहित्यले यी वर्गहरूले भोग्दै आएका शासना, विभेद, दलन , बहिष्करण, छुवाछूत , गरिबी आदिका लागि निरपेक्ष रुपमा मूलधारा मुखर हुने गरि आफ्नो धर्म निभायो त ? यो निकै जटिल प्रश्न हुन सक्छ साहित्यकर्मीहरूलाई । वर्णाश्रमको श्रापित फेद बनाइएका यी वर्गहरूलाई नायक बनाएर लेखिएका कति वटा आख्यानहरू होलान् आजसम्म ? कुनै साहित्यलाई जात, वर्ग, वर्ण, लिङ्ग भन्दा माथि मान्ने साहित्यकारहरू र यसका मतियारहरूसँग यसको वस्तुनिष्ट तथ्यांक होला कि नहोला ? यो पनि जटिल प्रश्न नै हुन सक्छ किनकी यो समाजले साहित्यमै पनि दलित वर्गलाई सहायक समुदायको दर्जामा राख्न समेत कन्जुस्याई गएको देखिन्छ । मेरो अध्ययनमा दलित वर्गलाई साहित्यमा पनि नायकको भूमिकामा राखेर समभाव प्रकट गर्ने गैह्र दलित साहित्यकारहरू केही छन् जसलाई औंला नै भाँचेर गन्दा हातका दस औंला पूरै गन्न पाइदैन ।नायक बनाएर आफ्नो कथा, कविता, आख्यान परै जाओस् दलिद जातिको मुक्तिसित गाँसिएको विषयमा विरलैले कलम चालाएका छ्न् । दलित विषयक पहिलो उपन्यास लेख्ने मुक्तिनाथ तिमिल्सिनाले २०११ सालमा सम्भवत: पहिलो पटक ” को अछुत ” उपन्यास लेखे । त्यसपछि नै प्रगतिशील खेमाका साहित्यकार खगेन्द्र संग्रौलाले दलित मुक्तिकै विषयमा आधारित भएर “जूनकीरीको संगीत” लेखे । राजन मुकारुङले दमिनी भीर लेखे। स्पष्ट रुपमा दलित वर्गलाई नै आफ्नो आख्यानको प्रमुख नायक बनाएर लेख्ने आख्यानकार सम्भवत: शरद पौडेल हुन् जसले लिखे र तपन लेखें । त्यसपछि दोश्रोमा कवि तथा आख्यानकार भूपिन खड्का हुन् जसले दलित पात्रलाई नै आफ्नो आख्यानको प्रमुख नायक बनाएर मैदारो उपन्यास लेखें । केही अरू एकाध आख्यानहरू मेरो नजरबाट छुट्न पुगेका पनि हुन सक्छन् । के यति नै प्रयाप्त हो त ? अब यो बहसको रुपमा आउनु पर्छ । मूलधारको साहित्य लेख्नेहरूले यो पिँधको वर्गलाई किन साहित्यकै मूलधारमा समाहित गरेर लेखिनु पर्ने मात्रामा लेख्न सकेनन् होला ? लेख्न नसक्नु र लेख्न नचाहनुको जड के हो त्यो समाजिक संरचनालाई एकै क्षण नजर दिने बित्तिकै स्वत: सिद्ध हुन्छ ।

आवाजविहीनहरूको आवाज अब साहित्यको मूल प्रवाहमै हस्तक्षेप हुने गरि दलित साहित्य नामाकरण गरि लेखिनु जरूरी छ । यो वर्ग अब दयाका पात्र होइनन् । न परिभाषित गरिएको कुटिल भाष्य अनुरूप सहायक वा अतिरिक्त हुन् । यो वर्ग इतिहास सिद्ध निर्णायक थिए जुन कुरा यो वर्ग बिना यो समाज एक पल अघि बढ्न नसक्ने इतिहास देखि वर्तमानसम्मको सामाजिक कामकाजहरूले स्वत: सिद्ध गरिसकेका छन्। निर्णायक वर्ग नलेखिनुको पछाडि पनि ठूलो समाजशास्त्रीय प्रपञ्चले काम गरेको छ ।

दलित साहित्य, अन्टोनियो ग्राम्शीद्वारा प्रतिपादित दर्शन अनुरूप हेर्दा “सबाल्टर्न लिटेरेचर” भन्न सकिन्छ । साहित्य- अझै पनि जात, धर्म, वर्ग, लिङ्ग , सम्प्रदाय भन्दा माथि हुन्छ भन्नु एक भ्रामक प्रचार हो । सामन्ती लेखकहरू/साहित्यकारहरू जो सत्ता र शासकहरूद्वारा बिर्ता/ भत्ता खादै परिपोषित हुँदै आए तिनीहरूले नै निर्माण गरेको एक कुटिल भाष्य हो यो । एसो नहुँदो हो त अहिलेसम्म विँधको दलित वर्ग साहित्यको मूलधारमा आइसकेका हुने थिए । त्यो वातावरण निर्माण बनिसकेको हुने थियो । अहिले हामी दलित साहित्यमा थप अन्वेषण सहित थेसिस लेखिरहेका हुने थियौं ।

साहित्य विचार हो । कला हो । अर्थात दुबैको सन्तुलित संयोजन हो । हाम्रो वर्गको कला पक्षसँग मुकाबिला गर्न सक्ने कुनै अर्को वर्ग जन्मिएकै छैन भन्दा अतिशयोक्ति सायदै होला ।

एउटा सानो उदाहरण नै लिउँ । रामायण, महाभारत, गीता, पुराणहरू र गन्नै नभ्याइने स्मृतिहरू के पौराणिक साहित्य भन्दा पर अरू केही हुन् त ? तर्कवाजहरूले त यी सबै भगवानद्वारा लिखित दर्शन हुन् । वेद हुन् । विधिको विधान हुन् भनेर हाँस्यास्पद तर्क गर्न पनि पछि नपर्लान् ! जे भनून् । के यी तमाम पुस्तकहरू जात, धर्म, वर्ण , लिङ्ग र सम्प्रदाय भन्दा माथि छ त ? प्रश्नको उत्तर खोज्दा केहीलाई चिटचिट पसिना आउन पनि सक्छ रिसको पारो मस्तिष छेडेर तथानाम गालीगलौज वर्षाउन मन पनि हुँदो हो । त्यसैले त अब दलित साहित्यको अपरिहार्यता झन झन मुखर भई आइरहेको विषय हो । यो वर्गको विद्वान लेखक/साहित्यकारहरू , कथाकार/ कविहरू, इतिहासविदहरू/अन्वेषणकताहरू आदिइत्यादि सबैले यसलाई मूलधारमा हस्तक्षेप गर्ने गरि संस्थागत गर्नु पर्ने नैतिक दायित्व अबको टट्कारो आवश्यकता हो । साहित्य विचार हो । कला हो । अर्थात दुबैको सन्तुलित संयोजन हो । हाम्रो वर्गको कला पक्षसँग मुकाबिला गर्न सक्ने कुनै अर्को वर्ग जन्मिएकै छैन भन्दा अतिशयोक्ति सायदै होला । कलालाई अब विचारले निखारेर दलित साहित्यलाई अग्रगति दिन ढिलो गर्नु हुन्न भन्ने कुरा महशुस हुनै पर्छ ।

हाम्रो वर्गको पनि भाषा थियो होला !आफ्नै संस्कार/संस्कृति थियो होला । आफ्नै लिपि थियो होला ! आफ्नै मौलिक बिम्वहरू , मिथकहरू थिए होलान् ! जसरी अन्य समुदाय जस्तै: – गुरुङ, तामाङ, राई ,”लिम्बू, थारू, नेवार आदि इत्यादि समुदायका छन् । मुन्धुमीय मौलिक विम्बहरू लगायत अन्य जातजातिका मौलिक विम्वहरू , मिथकहरू , कथा कविताहरूमा पढिरहदा दलित वर्गलाई पनि कही न कही आफ्नै मौलिकताको अभाव खड्किनु र प्रेरित हुँदै त्यस प्रति चासो, चिन्ता र खोज गर्न उत्सुक हुनु अनावश्यक होइन । यही खोजको एक आधारभूत आधारशिला निर्माण गर्न पनि अब दलित साहित्य नामाकरण गरि अघि पढ्न आवश्यक छ । दलित भित्रका एकाध अपवाद छोडेर दलितले लेखेका लेख, रचना अर्थात साहित्य मुख्य मिडियाहरू, मुख्य पत्र-पत्रीकाहरूमा नआउनु, समावेश नगरिनुले पनि यो वर्ग समग्र प्रतिनिधि साहित्यकै अँध्यारो गर्तमा कहाँ निर छ भनेर बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । यो अवस्थाको अन्त्यको विकल्प भनेकै दलित साहित्यको जग ढिलो नगरी निर्माण गर्नु हो ।

बैरागी काइँला, ईश्वर बल्लभ र इन्द्र बहादुर राईहरूले साहित्यमा तेश्रो आयाम निर्माण नगरेका भए आज हामी साहित्यका बहुआयामिक सुन्दरताबाट विमुख हुने थियौं । भोक कविता नामक साहित्यिक आन्दोलन शुरू गर्ने अगुवा अभियन्ता राजेन्द्र परदेशीले २०३९ साल तिरै यो आन्दोलन नगरी दिएका भए आज हामी भोकको बहुआयामिक पक्षबाट विमुख भई यो सबै दैवकै लीला हो । पूर्वजन्मको फल हो । हाम्रो भाग्यनै यस्तै हो । नीयतिलाई यस्तै स्वीकार थियो भनेर रामनाम जप्दै रामनाम कै जपनामा कविताहरू लेखेर विलौना गरिरहेका हुन्थौं । नेपाली साहित्यमा बहुरंगवाद एउटा साहित्यिक अभियान ( Multicolorism, A Literary Movement ) का प्रवर्तक समदर्शी काइँलाले नभित्र्याएका भए हालको नेपाली नूतन साहित्य यत्तिको चम्किलो कहाँ हुने थियो ! जाँ पाल सार्त्र ले पनि त भित्र्याएका छन् नि विसंगतवाद । के यसको अस्तित्वले विश्व साहित्य अझै थप बहुआयामिक भएको होइन र ? फरक धारको पृथक स्वाद लिन पाएका होइनन् र ? कुकुर कविता अभियान नचलेको भए आजसम्म पनि हामी उही आइयोस् , गैस्योस, सुकला होस् , कुमुम होस् , आदि इत्यादिका फुलबुट्टा भरिएका कथा, कविता र आख्यानहरू भोको पेटले सुनेर/ पढेर ताली पिट्न वाध्य हुने थियौं होला । यो अभियान आयो र त यसले त्यो धारलाई भत्काई दियो र समान आदारार्थी सहअस्तित्व बारे चर्को आवाज मुखरित गर्‍यो । राजनमुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बाहरूले नेपाली साहित्यमा “सिर्जनशील अराजकता ” अभियान चलाएर नेपाली साहित्यको मूलधारमा हस्तक्षेप नगरेको भए मुन्धुमीय सुगन्धबाट सारा पाठक विमुख हुन सक्थ्यो । पिँधमा जनजातिहरूका स्वरले साहित्यमै बाघको गर्जन लिएर आफ्नो कलात्मक हस्तक्षेप मुखर गर्न अझै कयौं वर्ष लाग्न सक्थ्यो । कवि केवल बिनाबी, मुक्तान थेवा, प्रकाश गुरागाईं लगायत केही प्रगतिशील कविहरूले उन्मुक्तपुस्ता गठन गरि शृङ्खलाबद्ध रुपमा सडक कविता अभियान सडक सडक चलाउदै आएकैले धेरथोर सीमान्तकृत वर्गहरूका नयाँ पुस्ताहरूले आफ्नो पहिचान के रहेछ भन्ने कुरा अझै मिहिन रुपमा कविताहरूबाटै बुझ्न पाएका हुन् भन्ने मेरो ठहर छ । उन्मुक्तपुस्ताद्वारा प्रकाशित गरिएको “आफर “कविता कृति नेपाली साहित्यमा पाठकहरूले पढ्नै पर्ने उत्कृष्ट दस पुस्तकहरूमा सूचिकृत हुनुले पनि यो विषयको बलियो पुष्टि गरेको छ । यी सबै अभियानहरू समयकै माग अनुरूप स्थापित हुँदै हुँदै सशक्त रुपमा आ-आफ्नो आकार लिदै आएकाले नै त आज साहित्यको बृहत् आयाम, बृहत् विम्वविधान कति सुन्दर भएको छ । दलित साहित्य पनि अरू जस्तै निर्णायक अस्तित्वमा आउनु र यसले भोलि विशाल आकार प्राप्त गर्नुमा कसैको केही हानी नोक्सानी हुँदैन भन्ने कुरा आत्मसात गर्नु नै बुद्धिमता हुनेछ ।

अमेरिकामा जर्ज फ्लोयडको हत्यामा जसरी सारा गोरा, कालाहरू सडकमा आए त्यसरी नै यहाँका उच्च जातका पगरी पाएकाहरू स्वतस्फूर्त जघन्य अपराध हुँदा समेत सडकमा आएनन् ।

दलित साहित्यको औचित्यबारे यससँग सम्बद्ध हरेक व्यक्तिले अब खुलेर विचार-विमर्श गर्न आवश्यक छ । सदियौं देखिको छुवाछूत, दलन, विभेद बहिष्करण आदि भई रहनुको पछाडिका कारक तत्वहरू मध्येको एक अज्ञानता पनि हो । यो विषयको उठान शिक्षा क्षेत्रका तहगत पाठ्यक्रमहरूमा समावेश नहुनुले पनि हो । साहित्यमा यसको उठान हुनु पर्ने गरि नआउनुले पनि हो । सायद विभेद बारे हरेकलाई प्राथमिक कक्षाहरूबाटै उचित ज्ञान दिदै आएको भए आजसम्म दलित वर्गमाथि हुँदै आएको विभेद सोचेभन्दा धेरै न्यूनीकरण भई सकेको हुने थियो । “ताराबाजी लै लै मामा आए घोडा….” जस्तो अव्यवहारिक गीत राख्नुको साटो ” ए ज्ञान भएको मान्छे , ज्ञानलाई सन्चै छ कि विरामी…. ” जस्ता गीत राखेर नानी बाबुहरूलाई सानै देखि जनचेतना फैल्याउन किन सकिरहेको छैन हाम्रो शिक्षा प्रणाली ? जे जति बुर्जुवा शैलीका साहित्य हामीले बाल्यकाल देखि पढ्दै पढ्दै आयौं त्यसैको असर हो आज पनि हाम्रो चिन्तन प्रणालीमा बुर्जुवा प्रवृत्ति हाबी हुनु । त्यसैले पनि अब साहित्य घोषित रुपमै कित्ताकाँट हुनु आवश्यक छ ।

देशमा दिनदिनै दलित समुदायका बालबालिका, युवायुवतीहरूको शृङ्खलाबद्ध हत्या, हिंसा, बलात्कार हुँदै आएका छन् । तथाकथित उच्च जातका केटीलाई प्रेम गरेकै निहुँमा अजित मिजारको लास आज चार सालदेखि अस्पतालमै कुहिन विवश छ । नबराज लगायत छ जना होनाहार युवाहरूलाई उच्च जातीय अहंकारले नै मार्‍यो । अमेरिकामा जर्ज फ्लोयडको हत्यामा जसरी सारा गोरा, कालाहरू सडकमा आए त्यसरी नै यहाँका उच्च जातका पगरी पाएकाहरू स्वतस्फूर्त जघन्य अपराध हुँदा समेत सडकमा आएनन् । यो बारे बोल्दा आफूले जन्मैको आधारमा सित्तैमा पाएको उच्च जातीय विरासत गर्ल्यामघुर्लुम ढल्ने पो हो कि भन्ने द्विविधा देखियो । हाम्रो समुदायको हत्या, हिंसा, बलात्कार भएको होइन यसमा हामी बोल्नु बेकार छ भन्ने जस्तो व्यवहार देखियो । हालसालै बलात्कार भई बर्बर हत्या गरिएकी बालिका सम्झना कामीको पक्षमा उच्च जात भनिएका कविहरूले एक कविता लेखेर संजालमा राख्न नसक्नुले पनि कविहरू जातीय रुपमा कति विभेदकारी र संकृण मनस्थितिबाट गुज्रिएका छन् भन्ने कुरा सतह मै देखिएको निर्लज्जता हो । अन्य सम्झना कामीहरूकै भविष्य सुरक्षित र गौरवपूर्ण बनाउनला लागि भए पनि अब दलित साहित्यको जग मजबुत रुपमा उठान हुन आवस्यक छ ।

दलित साहित्यले आफ्नो निर्णायक अस्तित्व हस्तक्षेपकारी रुपमा निर्माण गरेर हरेक क्षेत्रमा भएको विसंगतिहरू, विभेदहरू र अन्धविश्वासहरू बारे अब तर्कसंगत रुपले सशक्त प्रतिकार गर्न आवश्यक छ । दलित साहित्यबाटै एक आम दलित देखि दलित सांसदसम्मले किन भाडावाल कोठा पाउदैनन् यो समाजमा लेख्न जरूरी छ ।शम्बुकको हत्या गर्ने , सुर्पणखाको नाक काटेर मर्यादा पुरुषोत्तम बनेका आधुनिक रामहरूलाई अपराधवोध गराउन र सजायँको भागिदार बनाउन दलित साहित्य लेखिनु पर्छ । यो देश हाम्रो पनि हो । यो देशको हरेक राज्य संयन्त्रमा हाम्रो पनि समानुपातिक समावेशिता सुनिश्चित हुनु पर्छ भन्ने चेत साहित्य मार्फत चौतर्फी उठान गर्न/गराउन र जागरुकता फैल्याउनकै लागि भए पनि दलित साहित्य किटानीका साथ लेखिनु पर्छ । हाम्रो जन्म विराट पुरुषको पाउबाट होइन । आ-आफ्नै आमाहरूको योनीबाट भएको हो भन्ने विज्ञानसम्मत शाश्वत सत्यलाई पूरातनपन्थीहरूका मन-मस्तिष्कमा स्थापित गर्न/ गराउन पनि दलित साहित्य लेखिनु जरूरी छ । विभेदकारी हरेक वेद, पुराण, स्मृतिहरू कि त जल्नु पर्‍यो कि त पुनरलेखनर भई सच्चिनु पर्‍यो भन्ने पक्षमा वकालत गर्न पनि यो दलित साहित्य निर्णायक अस्तित्वमा दह्रो विचार सहित उभ्याउन आवश्यक छ । अध्यात्मवादी र भाग्यवादी चिन्तन प्रणालीको रजगजले कचक्क किचिएको दलित समुदायको आत्मसम्मानलाई शीर्षस्थ स्थानमा पुराउनकै लागि पनि दलित साहित्यले आफ्नो कित्ता फरक पार्नै पर्ने देखिन्छ । उठाएका विषय वस्तु वा मुद्धाहरू एसो हेर्दा कुनै राजनीतिक पार्टीका नेताले गरेको भाषण जस्तो पनि देखिएला तर यी सबै र अझै अनगिन्ती बेथितिहरूको बारेमा चर्को स्वर मुखर गर्न अब दलित साहित्य अस्तित्वमा ल्याई निर्णायक स्तरमा ल्याउनै पर्छ । साहित्यको नैतिक धर्म नै जागरण फैल्याउनु हो । समाजलाई दिशा निर्देशन दिनु हो । अब यो त राजनीतिक कुरा भयो भन्ने तर्क आउन सक्छ । साहित्य लेख्नु पनि त एक सिकिमको राजनीति नै हो भन्ने कुरा प्रमाणित गर्न अरू तर्क राखिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।

अरूले निर्माण गरेको बाटोमा हिँड्न सजिलो हुन्छ । सुविधाजनक पनि हुन्छ । हिँड्नुको गौरव, सान र मजा त आफैले निर्माण गरेको बारोमा पो हुन्छ भन्ने हेक्का बेलैमा राखिएन भने अँध्यारो गुफामा जति सुकै सुन्दर फूलहरू फुलून् त्यसको सुन्दरता र सुगन्ध प्रकशमय हुन पाउदैन र गुफामै उम्री, फक्री मुर्झाउनु शिवाय अरू नहुन सक्छ । त्यसैले दलित साहित्यले अब यही माटोमा सगर्व आफै हिँड्न आफैले आफ्नो बाटो निर्माण गर्न ढिलाउनु हुन्न । अग्रजहरूले यो बाटो निर्माण गर्ने महान अभिभारा लिई सकेका छन् । अब बाँकीले थालनीलाई गन्तव्यमा पुराउने दायित्व बाँकी छ । जसरी दलित वर्ग यो देश निर्माणमा सहायक वर्ग वा सहायक वर्ग नभै निर्णायक वर्ग मध्येकै एक हो। त्यसरी नै यो वर्ग अब साहित्यमा पनि सहायक वर्ग नभै निर्णायक वर्ग मध्ये कै एक हो भन्ने पुनर्जागरण ल्याउने जिम्मा अब दलित साहित्य लेख्नेहरूको हो । यो मुद्धालाई सही मान्ने र समर्थन गर्ने हरेक वर्गका समुदायहरूको पनि हो । सस्तो भावुकता, सस्तो वाहवाही र सस्तो तालीद्वारा प्राप्त हुने आत्मरतिमा भुल्नु स्वयंलाई धोका दिनु सरह हो । पूर्वाग्रह त्यागेर आउनुहोस् सबै मिलेर दलित साहित्यको जग निर्माण गरौं र दलित साहित्यद्वारा निर्णायक अस्तित्वको पुनर्जागरण फैलाउदै यसलाई एक मौलिक पहिचान दिदै सबै मिलेर हस्तक्षेपकारी भूमिका निभाऔं । जय दलित साहित्य !