१. पहिलो लघुकथा
( पद्मावती सिंह )
अभिवादनको मूल्य

पद्मावती सिंह
उ … देख्नु भो सहरको नामि व्यापारी लुसुक्क न्यूरोडको एउटा खर्चिलो बारभित्र पसेको ?
प्रत्येक दिन साँझ छिप्पिइ सकेपछि ऊ त्यही बारमा आफूलाई रित्ताउने गर्छ ।
आज केवल ऊ एक्लै बारभित्र पसिरहेछ । कहिलेकाहीँ मात्र यस्तो हुने गर्छ ।
मौकाको फाइदा उठाएर उसलाई पछ्याउँछ । एक निम्न मघ्यम वर्गीय कर्मचारी जो उसको परिचय व्यक्ति मघ्ये एक हो भन्ने आफूलाई दावी गर्छ र उसलाई सविनय अभिवादन गरि सोही टेबुलमा आफ्नो उपस्थिति जनाउँछ ।
जतिजति साँझ राततिर अग्रसर हुँदै जान्छ । रक्सीका बोतलहरू एकपछि अर्को खुल्दै जान्छन् । त्यसपछि दुबैले रमरममा आ–आफ्ना रक्सीका गिलासमा जीवनका कुण्ठाहरू प्रतिविम्बित भएका देख्न थाल्छन् ।
व्यापारी मुडमा आउँछ । आफ्नो व्यापारमा हालसालै आएको ह्रासलाई लिएर ऊ राष्ट्रिय व्यापार नीतिमाथि आक्रोस व्यक्त गर्न थाल्छ ।
अब कर्मचारी जुरुक्क उठेर टवल ठटाउँदै गर्जन थाल्छ । रक्सीको मातमा ऊ आफ्नो अविवेकी हाकिम, जसले गर्दा उसलाई दशवर्षसम्म अस्थायी कर्मचारीको रूपमा काम गर्न वाध्य तुल्याएको छ । त्यस हाकिमलाई मौका पाएमा खतम बनाउने योजना बनाउँछ र आफ्नो दिन परदिन गिर्दै गएको आर्थिक स्थितिको जिम्मेवारी आफ्नो निरक्षर पत्नीमाथि दोषारोपण गरि आफ्नो कुण्ठालाई रित्याउँछ ।
आफ्नो कोटा पुगेपछि व्यापारीको आँखा छलेर ऊ लुसुक्क बारबाट बाहिर निस्कन्छ ।
साँझ छिप्पिएर रात गहिरिएको हुन्छ ।
(नेपाली लघुकथा मात्रै प्रकाशित हुने पहिलो पत्रिकको नाम “लघुकथा“ हो । यो पत्रिका स्रष्टा गोविन्द गिरी प्रेरणाले अनुभव प्रकाशन, काठमाडौबाट २०४३ साल बैशाखबाट प्रकाशन आरम्भ गर्नु भएको थियो ।
“लघुकथा“ पत्रिकाको पहिलो अंकमा दुई नारी लघुकथाकारहरू समेटिएका छन् जसमघ्ये एक हुन् पद्मावती सिह ।
कथाकार पद्मावती सिहको जन्म २००५ सालमा ॐबहाल, काठमाण्डौमा भएको हो । उहाँ आख्यानमा विशेष रुची राख्नुहुन्छ । नारीका विविध बिषयहरूमा कलम चलाउँदै विभेदहीन समाजको परिकल्पना उहाँको लेखनीको उद्देश्य हो । आख्यानकार पद्मावती सिहका दश आख्यानात्मक कृतिहरू प्रकाशनमा आएका छन् । आख्यानकार सिहले मैनाली कथा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान पनि प्राप्त गर्नु भएको छ । उहाँ “गुञ्जन“ नारी साहित्यिक संघकी संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।)
२. स्वर्णकालीन कथा
( नारायण तिवारी )
सँगसँगै

नारायण तिवारी
ऊ र म सँगसँगै हिँडिरहेका थियौँ ।
बाटोमा उसले मलाई ‘ङ्यार्र’ गर्याे । फेरि अलि पर पुगेपछि ‘भुः भुः’ गर्याे ।
एकठाउँमा त उसले मलाई अगाडि बढ्नै दिएन, रोक्यो । र, ‘होक्काँ…!’ गर्याे ।
कहाँ, म त उसलाई सहयात्री, साथी, मजस्तै मान्छे ठानिरहेको थिएँ । होइन रहेछ ! ऊ त जनावर पो रहेछ…!
(२०३० को दशकलाई नेपाली लघुकथाको स्वर्णकालीन अवस्था बनाउन आख्यानकार नारायण तिवारीको पनि सकृय भूमिका छ । उहाँको जन्म २०११ सालमा सुनसरीमा भएको हो । आख्यानकार तिवारीको “दशैं खर्च“ अनि “महंगी, भोक र सर्वभौमसत्ता“ नामक दुई लघुकथा संग्रहहरू प्रकाशित छन् । उहाँ सामाजिक विकृति र विसंगतिमाथि थोरै शब्दहरू प्रयोग गरी चोटिलो लघुकथा लेख्न रुचाउनु हुन्छ । तिवारी मानवतावादी आख्यानकार हुनुहुन्छ । उहाँले षडानन्द प्रतिभा पुरस्कार २०५४ र पद्म रामचन्द्र लघुकथा सम्मान -२०७५ प्राप्त गर्नु भएको छ । उहाँ सर्वाधिक सदस्य संख्या भएको फेसबुक पेज ‘लघुकथा कुनो’ को संस्थापक हुनुहुन्छ ।)
३. मलाई मन परेको लघुकथा
( लक्ष्मीप्रसाद पौडेल )
प्रश्नोत्तर

लक्ष्मीप्रसाद पौडेल
सामान्य नेपालीको उचाइ, उसको पनि थियो । र पनि गाउँमा ठूलासाना सबै डल्ली भनेर बोलाउँथे । नाक चाहिँ अलि थेप्चो थियो । एकदिन स्कुलमा मास्टरले पिटे भनेर पढ्न छोडिदिइ । घरको काम भने चौपट्टै छिटो र राम्रो गर्थी । पैसा पाउने भएपछि उसले घरघर चहारेर काम गर्न थाली । ऊ खुसी देखिन्थी ।
हप्ता दिनजति भयो ऊ कतै देखिएकी थिइन ।
ऊ पेट दुखेर घरमै लडेकी थिई । अरू घरका मान्छे बिरामी पर्दा आफन्तहरू फलफूल लिएर आएको देखेकी थिई उसले । आज उसले आफ्नो आफन्त कोही नभएको ठानी ।
“आमा, मेरो तिमी बाहेक कोही छैन र ?” डल्लीको यो प्रश्नले उसकी आमालाई रन्थनायो । “ थियो त ! तेरो बाउ सन्काहा !”
“अनि अहिले खोइ त ?” उसले आमाको अनुहारमा बाउ खोजी !
“बीस बर्ष भयो, हराएको ! अहिले कहाँ छ थाहा छैन ।” आमाले विगत सम्झी ।
“म कति बर्षकी भएँ आमा ?” उसले अर्को प्रश्न सोधी ।
“अहिले अठार पुगेर उन्नाइस लागिस् ।” आमाले सहज उत्तर दिई ।
“ए, रत्ने साहुले भनेको ठिकै रहेछ । अस्तिको पटक अब तँ आमा बन्छेस् भन्थे । मेरो लोग्ने छैन कसरी आमा बन्छु होला भनेर सोचेथेँ ।
बा नहुँदा पनि आमा, आमा बनिछन् । अब म पनि आमा बन्छु ।”
ऊ आमा बन्ने खुसीमा उत्साहित हुँदै फेरि काममा निस्किई ।
(लघुकथाकार लक्ष्मीप्रसाद पौडेल साहित्यकारभन्दा कुसल पाठक हुनुहुन्छ । अनुसन्धान र साहित्यकाे लेखनी हुँदै उहाँ लघुकथाको माध्यमबाट पछिल्लो समय घटना-दुर्घटना र निजी अनुभूतिहरू सम्प्रेषण गर्दै लघुकथाकाे उन्नयनमा लाग्नु भएकाे छ ।
यहाँ प्रस्तुत ‘प्रश्नोत्तर’ लघुकथाको विषय समाजमा हरपाठकहरूले देखे सुनेकै हो । तर कथाकार लक्ष्मीप्रसादले लघुकथाको सर्वमान्य सिद्धान्तमा बिषयलाई उनेर पाठकहरूलाई ताजा र बिद्युतीय तरंग पैदा गर्न सक्षम हुनु भएको छ ।
लघुकथाकार लक्ष्मीप्रसाद पौडेल सुदूर पश्चिममा रहेर नेपाली लघुकथाको विकासमा लाग्नुभएकाे छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

