काउन्ट–डाउन सुरु ।
लक्ष्य नजिकिँदै छ । चुनौती थपिँदै छ । सकस बढ्दै छ । समयसीमा घट्दै छ । कथाको माग जे छ, छँदै छ । सहरले आइज भन्दै छ, गाउँले नजा भन्दै छ । दोबाटोमा देख्छु पागल, तारा झर्ने दिन गन्दै छ । देख्दिनँ कोही सन्तुष्ट यहाँ यो भीडमा आफ्नो मान्छे, त्यही भीडमा मिसिनलाई यो मन उत्ताउलो बन्दै छ ।
…
कस्तो होला मेरो मृत्यु ?
खासगरी नेपाली ड्राइभरहरूले एकपछि अर्को गर्दै धर्म छोडिरहेको बेला कसले भन्न सक्छ, भोलि के होला ? पाश्र्वमा नमरी बाँचे कालले साँचे, चन्द्रागिरी कटेर चीसोसँग पौँठेजोरी खेल्नु छ । जे होला देखा जाला !
…
दुनियाँ अपेक्षित गतिमा छिटो–छिटो अगाडि बढिरहेको छ ।
‘यो ठाउँमा किरासरि मान्छे भइसके अनि बस्ने ठाउँ के पाइन्छ ?’ राजधानीमा, बसमा उभिइरहेकी महिलाले सकस मान्दै भनिन् ।
‘अरू कुरा त ठिकै छ, तर त्यो किरा भनेको चाहिँ अलि कस्तो–कस्तो सुनियो । त्यो किराको ठाउँमा पुतली भन्नुभए राम्रो हुने थियो कि !’
उनले मलाई चिनिनन्, हाँसिन् मात्र ।
…
प्रकाश नेपाली, सुविद गुरागाई संवार्ता ः
‘ओहो ! गुरागाईजी, के छ ?’
‘सर नमस्कार ! राम्रो छ सर ।’
‘अचेल यतै इटहरीमै बस्नुहुन्छ होइन ?’
‘हो सर, चोकबाट उत्तर हलगडा टोल छ, त्यतै छ बसाइ ।’
‘ए, अरू नयाँ खबर सुनाउनुस् !’
‘अब काठमाडौँबासी हुने योजना बनाउँदै छु, हेरौँ के हुन्छ ?’
‘ए, लु राम्रो । इनरुवाबाट यहाँ आउनुभयो, राम्रै भएको देखिरा’छौँ । राम्रै गर्दै हुनुहुन्छ । काठमाडौँ जाने भन्दा त्यो पनि राम्रै हो !’
‘योजना त बनाइयो सर तर सबै योजनाहरू पूरा हुन्छन् नै भन्ने हुन्न ।’
‘राम्रै हुन्छ । तपाई जत्तिको मान्छेले राम्रै गर्नुहुन्छ भन्ने विश्वास छ ।’
‘खै सर, अब सप्रिने हो कि बिग्रिने हो, अहिले नै कसरी भन्नु ?’
‘काठमाडौँ ठुलो ठाउँ हो, राम्रै हुन्छ । मान्छेले ठाउँ छोडेपछि नयाँ उपलब्धि भेट्टाउने सम्भावना बढ्छ ।’
‘धन्यवाद सर, तपाईँहरू जस्तो शुभेच्छुक हुनुहुन्छ र त मलाई पनि के–के के–के योजना बनाइबस्न मन लाग्छ ।’
…
‘पहाड गाउँमा हुँदा नाताको हिसाबले ठूलाबाउ पर्ने, गाउँका ठालुहरूले नै मेरो बुवालाई बीउ चोरको बात लगाए । काठमाडौँ पाकशाला बसेर प्रथमा पास गरेको मान्छे । हेपेको, थिचोमिचो, भेदभाव गरेको मन नपर्ने । हामीले भनेको मान्दैन, यसलाई तह लगाउनुपर्छ भनेर आफन्तले नै बिनाबित्थामा बीउ चोरको बात लगाएपछि बुबाले निकै चित्त दुखाउनुभयो । तर, त्यो नेगेटिभ अवस्थाले पोजेटिभ काम ग¥यो । बीउ चोरको बात लागेपछि बुबा दुई छोराहरू केदार र बद्री लिएर धरान झर्नुभयो । २०२० सालको कुरा हो यो । त्यसरी तराई झरेको हुनाले त्यो नेगेटिभबाट पोजेटिभ भयो, बद्रीविशाल प्रोफेसर–डाक्टर भयो ।’
‘इटहरी चोकका सिटौलाहरूलाई पान्थरे लिम्बूहरूले खेदे । अब ती खेद्नेहरूमध्ये कतिपय त्यहाँ पान्थरमा अझ पनि पुरानो कट्टु लगाएर हल्लिराका होलान् । तर, यहाँ चोकका सिटौला अरबपति–खरबपति भए । नेगेटिभबाट पोजेटिभ हुन्छ । भन्नाले कुनै मान्छेले थाँतथलो छोड्न बाध्य हुनुपर्याे भने पनि त्यसको प्रगति नै हुन्छ । नयाँ ठाउँमा नयाँ सिर्जना हुन्छ । इखले गर्छ नि त !’
…
भनिन्छ, जुन ठाउँमा विद्वानको सम्मान हुँदैन, सीपको कदर हुँदैन, त्यो ठाउँमा बस्नु हुँदैन । ओत लाग्न ठुलो रुखको छहारी रोज्नू, बास बस्न अग्लो धुरी भएको घर खोज्नू भन्छन् बूढापाकाहरू ।
जब–जब म मोटरसाइकल हाँकिरहेको हुन्छु, अगाडि हेर्दा परसम्म सवारी–साधन र मान्छेहरूले सडक डम्म भरिएको देख्छु । तर, जब म त्यही ठाउँमा पुग्छु, त्यही भीडमा म पनि सजिलै अटाइरहेको हुन्छु । म पुग्दा त्यहाँ मेरा लागि ठाउँ खाली भइसकेको हुन्छ । अनि लाग्छ, केहीबेर अघि म व्यर्थमा डराएको रहेँछु ।
…
काउन्ट डाउन जारी छ । उतार–चढाव बाँकी छ ।
सुझावसँगै गाली गर्नेहरू छन् । रिसाएझैँ गर्दै माया गर्नेहरू पनि छन् । आफ्नौ मलामीहरूसँग टाढिने दिन सूत्रबद्ध बनाउँदै आर्यघाट अलि मास्तिर श्लेमान्तकको टाउकोमा आशावादी डङ्गर छाया भुइँ झर्न खोज्दै छ, बाँकी जिन्दगीका लागि । हर्ने–भर्ने लिने–दिने उनै शिवजीको भजन गुन्गुनाउँदै गर्दा हरिभक्तको जस्तो फ्याट्ट चुँडिन, देवकोटा जस्तो प्राविधिक गल्ती हुन बेर छैन !
…
मलाई माफ गर्नू साथीहरू हो ! खोजेको बेला भेटिइनँ भने । सोचेको बेला देखिइनँ भने । पर्खेको बेला आइपुगिनँ भने । दोधारमा बाटो समाइनँ भने । बिदाइको आँसु पचाइनँ भने ।
मैले लेखेको जिन्दगीको पहिलो गीत कालापानीमा खुकुरी पखाल्छु भन्दै गीत गाउने विजय श्रेष्ठ दाइले संयोगवश मन पराइदिनुभयो ।
‘हो, यस्तो चाहिँ लेख न तिमी ! यो त अहिलेसम्म तिमीले लेखेको जम्मै लेखाइको सार खिचे जस्तो छ ।’
मेरो अहोभाग्य ! दाइको सकारात्मक टिप्पणीले गद्गद !’
…
म ः सयौँ अप्ठेरा घुमाउरोहरूमा बाँचेर, सघन तुँवालो छिचोलेर बिहानै सहर आइपुग्दा मनले माटोको गीत गायो – भाग्य लहरमा लहरी–लहरी, पुगेँ यस मरुस्थलमा कसरी ? तर खेद छैन तिम्रो आकृति, कोरिएको छ यो हृदयभरि । सिद्धिचरण श्रेष्ठ बाबैको शब्दमा यतिबेला सामान्य रिमिक्स गर्न मन लाग्यो, मेरो प्यारो सुनसरी !
दिनेश पौडेल ः हिँड्ने बेलामा घरबारी बेचेर सगर्व डुक्रिँदै हिँड्यौ, अहिले गोहीको आँसु चुहाउँदै ‘मेरो प्यारो सुनसरी’ रे !
म ः ओहो सर, घर–जग्गा बेच्दैमा वा भनौँ संसारको जुनसुकै कुनामा बस्दैमा आफ्नो जन्मभूमिसँग साइनो टुट्छ र ? ‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी’ भन्ने माया–मोहको जालो मर्नुअघिसम्म पनि रहिरहँदैन र ! फेरि तपाईहरू हुनुहुन्छ नि त्यहाँ, त्यो माटोमा मैले रोपेका बिरुवा, सिर्जना, गरेका काम सम्झिराख्ने । मलाई माया गरिराख्ने !
दिनेश पौडेल ः लौ त शुभ यात्रा ! फर्केर आउँदै गर्नुहोला ।
…
‘तैलेँ यहाँ आउनुपर्छ र मलाई काममा सघाउनुपर्छ,’ काठमाडौँले मसँग फेरि अपेक्षा गर्दै छ ।
मैलेँ भनेँ, ‘हुन्छ, म अब कम्तीमा पाँच वर्षका लागि तँसँग बस्छु । तर, त्यस्तो मायालु वातावरण तैँले बनाउनुपर्छ ।’
‘ओके छ त !’ उसले भन्यो ।
उसलाई थाहा छ, घोडा जबसम्म आफ्नो काममा रमाउँदैन, तबसम्म घोडसवारले घोडचढीको आनन्द लिन सक्दैन । र, घोडा रमाउने वातावरण बनाउने काम उही घोडसवार हुन चाहने (सइस) को हो ।
…
सुविद गुरागाईको सम्भावित महाभिनिस्क्रमणका लागि दिनेश पौडेलको माया –
‘सँगै हाँस्थ्यौँ, खेल्थ्यौँ । यसै सहरलाई संसार मानेर जीवनको अर्थ खोज्थ्यौँ । थोरै थियो होला, तर पुगेकै थियो । सानै भए पनि आफ्नै सहर थियो । अचानक खबर सुनायो फेसबुकले, मेरो त्यो सहयात्री अचानक एउटा भयानक समुद्रमा हाम्फाल्दै छ, कुन बूँद बन्ला ऊ त्यस मानिसको महासागरमा ? घर छँदाछँदै किन मेरो साथी पाहुना बनेर रमाउने चेष्टा गरिरहेको छ ? त्यो काठमाडौँलाई नचिन्या हो र ? पर्स मोटो छउन्जेल ज्वाइँलाई भन्दा आदर गरेजस्तो गर्छ, माया पनि गरेजस्तो गर्छ, दुःख–सुख के छ ? सोधखोज गर्छ । खल्ती दुब्लो छ भन्ने थाहा पायो भने आची पुछेको टालोझैँ पर हुत्याउँछ र महानगरपालिकाको ट्रयाक्टरले ओखरपौवा पुर्याउँछ । पीर पर्दैन ?
…
सहरमा ठाँटो जमाउने चीसो छ । मौसमको मिजाज ठिक छैन ।
यही बेला हो, बर्डस् अफ् प्याराडाइज (स्वर्गको चरा) फुल्ने । खङ्ग्रङ्ग पत्करसँगै हावा चुमिरहेको धूलोले एकाबिहानै सामूहिक बलात्कार गरेको मन पर्दैन कविलाई । खाल्डोमा छताछुल्ल, उदाङ्ग माया मात्र छैन । अधकचल्टिएका धेरै सेनेटरी प्याड र कन्डमहरूले ओखरपौवा भरिँदो छ ।
…
यो सहरले मलाई पागल बनाउने भो । कवि, प्रेमी, आवारा केके हुनुपर्ने हो ? गर्छ आफू नाजायज पर्दाभित्र बसेर, मैले गर्दा भएको आरोप लगाउने भो । अरू जस्तो होइन मेरो माया भन्नेले, फकाउँदै लगेर भीरबाट खसाउने भो । हिँडेका ती पाइला गोरेटा सम्झेर एक्लै, रुनु, हाँस्नु, के गर्नु ? राम्रै सताउने भो ।
…
भनिन्छ १२ वर्षपछि फर्किन्छ खोलो । २० वर्षपछि फुल्छ बाँस । मन मिलेपछि, माया भएपछि जे पनि हुन्छ । संसारमा असम्भव भन्ने केही छैन ।
ईश्वरले तँ चिता म पर्याउँछु भन्छ रे ! त्यस्तै, एउटा सुखद् घटना हुन लाग्दै छ, मेरो जीवनमा । २० वर्षपछि फेरि ऐतिहासिक फर्पिङ नगर फर्किने अनुमति पाउँदै छु । धन्यवाद शुभेच्छुकहरू !
…
जिन्दगी रोएर बित्छ भने क्षणिक हाँसो किन ? ना २ ख ६१६१ । दक्षिणकाली यात्रामा बाटोमा दुई वटा टिपर ठोक्किएर लामो जाम भयो । त्यसमध्ये ब्रेक फेल भएर ठोक्काउने टिपरको पछाडि यस्तै लेखिएको थियो ।
यस्तै आँसु–हाँसो जिन्दगीको कथा समेटिएको ट्रक साहित्यको दोस्रो संस्करण व्यवस्थापन गर्न खोज्दै छु । कमल ढकालजीसँग कुरा भा’छ । कभर–अपमा ‘जनताको भरिया’ लेख्ने सल्लाह भा’छ ।
…
जयराम – केटिएम खाल्डोमा अब गर्ने योजना के हो नि दाइको ?
म – योजनै–योजना छन् । योजनाको भारीले किचिएर मरेँ भने मलामी तिमीहरू नै त हौ नि !
जयराम – मलामी हामी हौँ तर त्यसबारे सोच्ने पनि बेला भा’छैन ।
म – अहिले गर्नुपर्ने केही खास रहरहरू पनि छन् ।
जयराम – जस्तै ?
म – शिवरात्रिमा पशुपति जाने, डुल्ने, रमाइलो गर्ने ।
जयराम – नाङ्गा बाबा हुन लाग्नु भा ?
म – अहिले पनि के कम छु त ?
जयराम – हा हा हा ! बिन्दास बुढा !
म – ओके, नाइस टु टक यु । किप इन टच ।
…
दुखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे – बालकृष्ण सम ।
ईश्वर बराल, ईश्वर घिमिरे, ईश्वर ढकाल, ईश्वर रौनियार, ईश्वर पोख्रेल, ईश्वर भट्टराई, ईश्वर कोइराला, ईश्वर गिरी, ईश्वर आचार्य, ईश्वरलाल श्रेष्ठ, ईश्वरचन्द्र ढुङ्गेल, ईश्वरमणि ओझा, ईश्वर आचार्य, ईश्वर दाहाल, ईश्वरी महत, ईश्वरी पराजुली । मेरो इन बक्समा जो–जो ईश्वरहरू हुनुहुन्छ, महिला–पुरुष, कृपया तत्–तत् ठाउँमै रहनुहोला । म ईश्वर भेट्न आउँदै छु ।
…
कम–ब्याक चन्द्रागिरी ः
यतिबेला काठमाडौँको अटोग्राफमा लेख्न मन लागेको कुरा – रोउँ भने हाँस्छन् सबै, हाँसु भने कुरा काट्छन् । भित्रभित्रै विरोध गर्छन्, केही होइन भनी ढाँट्छन् । बाहिर देख्छु जून जस्तो मनमा कालो लुकाएर ! भलाद्मी जो धेरै हुन्छन्, मौका पर्दा जुठो चाट्छन् ।
अहिलेलाई यति भनेँ । सरोकारवालाहरूसँग सेल्फी खिच्न बाँकी छ ।
…
‘तिमी फन्टुस ! कुरै बुझ्दैनौँ ।’
‘म फन्टुस ? के भनेको त्यो ?’
मेरो मनमा अर्को खलपात्र जन्मियो । उही फन्टुस कहिले नायक भइदिन्छ, कहिले खलपात्र ।
यस्तो किन हुन्छ ? आफूलाई नै आश्चर्य लाग्छ । म कहिलेकाहीँ सानो कुरालाई ठुलो बनाउँछु, कहिले ठुलो भनिएकोलाई सामान्य ठान्छु ।
जस्तो कि अहिले भइरहेछ ।
…
प्रभु तिमी मेरो माया गर स्वीकार !
तिमीबिना केही छैन जीवनको सार ।
आजसम्म कमाएको आनन्द मैले,
तिमी पाए त्याग्छु सबै सुख बार–बार ।
पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए । बराबरी भए ।
…
काउन्ट डाउन जिरो । नेपाल गए कपालस“गै बर्मा कर्मस“गै ।
सिएन गौतम ः फेरि काउन्ट डाउन सुरु ?
सरी ल ! यसपटक म हल्लखल्ल गर्ने मुडमा छैन ः म ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।