एन्टोइन डि सेन्ट–एक्जुपेरी

स्पेनको गृहयुद्धताका फाँसीवादीहरुविरुद्ध लड्दै गर्दा म पक्राउ परेँ । मेरा दुस्मनले मलाई कालकोठरीमा हालिदिए र त्यहाँबाट अब बच्न सकिन्छ भन्ने मलाई पटक्कै थिएन । आँखाअगाडि मृत्यु देखेर को डराउँदैन ? को काम्दैन ? चिन्ता र डरले थर्थराएको जिउलाई साम्य पार्न चुरोट पिउन मन लाग्यो । सत्रुहरुले मलाई पक्रँदा सबै चिजबिजहरु लगेका थिए । कसो हुनाले यो एउटा चुरोट बाँकी रहेछ ! चुरोट ओठमा त लगाएँ तर त्यसलाई सल्काउने चिजबिज मसँग थिएन ।

मलाई थुनिएको ठाउँबाट जेलरलाई स्पष्ट देख्न सक्थेँ । जालीबाट यता देखिन्थ्यो कि देखिदैनथ्यो म ठ्याक्कै भन्न त सक्तिनँ तर यस्सो ठूलो स्वरले बोल्यो भने त्यता नसुनिने कुरै थिएन ।

मैले हिम्मत जुटाएँ र भनेँ– “चुरोटको ज्यादै तलतल लाग्यो । निगाह भए म छ्यास्स आगो पाउँथेँ कि ?” जेलर निकै कोमल रहेछ ! ऊ लुखुरलुखुर आयो र सलाई कोरिदियो । ऊ बार बाहिर म बारभित्र !

सलाईको झ्यारर्र आवाजसँगै अनायास मेरो आँखा उसको आँखासँग जुध्यो । जसै आँखा जुध्यो, मेरा ओठ मुस्कानले तनक्क तन्किए । त्यो क्षण म जेलरसँग किन मुस्काएँ, मलाई नै थाहा छैन । तर मेरो मुस्कानको असर के परिदियो भने, जेलरका ओठ पनि मुस्काए । मलाई थाहा थियो, ऊ मालिक अनि म बन्दी ! ऊ मसँग कसरी मुस्काउन सक्छ ? ऊ मसँग मुस्काउन चाहँदैन थियो तर मेरो मुस्कानका कारण अकस्मात ऊ पनि मुस्कायो । यो मुस्कानले मनको दूरी मेटिदिएको थियो ।

चुरोट सल्काइसकेपछि पनि जेलर केहीबेर आमनेसामने भएरै बस्यो र हामी एकअर्कालाई हेर्दै मुस्काइरहेका थियौँ । त्यहाँ उसका लागि कैदी थिइनँ म र, ऊ पनि जेलर थिएन मेरा लागि । अकस्मात जेलरले सोध्यो– “बच्चाबच्ची कति छन् नि ?”

मृत्युको चिन्ता र डर अझै घटिसकेको थिएन र बोल्ने आँट अझै आइसकेको थिएन । मैले उसको प्रश्नमा आफ्नो गोजीमा भएको फोटोबाट उत्तर दिन चाहन्थेँ । गोजी छामछुम पार्दैगर्दा उसले आफ्नो गोजीबाट एउटा राम्रो बच्चाको तश्वीर निकाल्यो । उसलाई आफ्नो निनोजप्रति ठूलो आशा थियो र ऊ कल्पिरहेको थियो– निनोजका लागि ऊ यसो गर्नेछ, उसो गर्नेछ । उसले आफ्नो छोराका बारेमा भन्दै गर्दा मेरो आँखामा चाहिँ आँशु आयो । नआओस् पनि किन ? अब म उसलाई कहिल्यै देख्न पाउने छैन । मैले भनेँ पनि– “मैले कहिल्यै पनि मेरा सन्तान र श्रीमतीलाई हेर्न नपाउने भएँ । मेरा सन्तानहरु हुर्किरहेको मैले देख्न नपाउने भएँ ।”

मैले त्यसो भनिरहँदा उसका आँखामा पनि आँशु देखेँ ।

अचानक ऊ जुरुक्क उठ्यो र मेरो कोठाको ताला खोल्यो । मेरो कोठाभित्र छिर्यो र मेरो हातमा समात्यो । भित्री चोठाकोठा हुँदै उसले जेलबाहिर निकाल्यो र सुरक्षित ठाउँमा आइपुगेपछि मलाई छाडेर ऊ जेलतिर लाग्यो ।
एउटा मुस्कानले मेरो ज्यान जोगिएको थियो । अब मैले मेरा बच्चा र श्रीमतीलाई हेर्न पाउने भएको थिएँ ।

अनुवादः अच्युत कोइराला

(स्पेनको गृहयुद्धमा नाजीहरुविरुद्ध लडेका साहित्यकार एन्टोइनले लेखेको यो कथा निकै लोकप्रिय भएको थियो । यो उनको सत्य घटना थियो । उनी लडाकु जहाजका पाइलट पनि थिए । पछि दोश्रो विश्वयुद्धमा लड्दैगर्दा उनी मारिएका थिए । उनी स्पेनका प्रख्यात साहित्यकार हुन् । उनको प्रख्यात लघुउपन्यास द लिटिल प्रिन्स नेपालीमा पनि ‘सानो राजकुमार’को नाममा अनुवाद भएको छ ।)