आः कति टिपि मात्र रने लौ लौ बस ठूले एकछिन । अलिकति चुत्रो साँधेर खाउँ । हामीले नून खूर्सानी ल्याछौँ । खाइसकेपछि नानी टिप्दै रन्चे । तिमी उ त्यो रुखको घाँस झार, म सम्याइदिन्छु अब चाँडै चाँडै गर्नुपर्च । ‘घाम त एक जुवा मात्र पो छन् क्यारे’, रंतेल्नी कान्छीले भनी ।

विनोदप्रसाद धिताल

‘एक जुवाभन्दा त अलि बढ्तै छन् । ओझेल पर्न खोजेर हो । चुत्रा स्वाद त गाउँमै पार ताप्दा हो । ह्याँ त मुटु चिसो भाच । टिप्दाटिप्दै खाकाले पुग्या छ कान्छी भाउजू, मलाई त । तिमारु साँधेर खाओ । म घाँस झार्न जान्छु’ नेप्टेले भन्यो ।

‘हुँ ठूल्दाइ नि । एकपटक थचक्क बसेर सास त फेर्नुस् । यो डाली भरको चुत्रो एक्लै टिप्नुभो भने नि हुन्च’ लाहुर्नी कान्छीले मायालु स्वरले भनी ।

लाहुर्नी कान्छीको स्वरले घाँस झार्न कम्मरबाट नाम्लो फुकाउन लागेको नेप्टेको हात त्यसै रोकियो । नेप्टेले बस्ने इच्छा प्रकट गरेको देख्नासाथ रंतेल्नी कान्छीले नून खुसार्नी अगाडि सार्दै भनी, ‘लौ त ठूले साँध लौ’ तुरुन्तै केही सम्झेझैँ फेरि भनी, ‘साँध्ने त साँध्ने के मा साँध्छौ बरु । वरपर ठूला पात देखिन्न् । ए ! नानीसँग छ नि कोरा नयाँ रुमाल ।’ ‘किन ठूल्दाइलाई दुःख दिने । हाम्ले साँध्न हुन्न र ?’ दिदीको कुरा अन्त्य नहुँदै लाहुर्नी कान्छीले भनी ।

‘हत्तेरी ! के भनेकी । विष्टलाई आफूले छ्वा ख्वाएर म त नर्काँ जान्न । पूर्वजन्मा पापले आज यस्तो हुनु पर्याछ तिमरु लहुर देश गएर आ भन्यो कि जे नि गर्न खोच्चौ छ्याः कसे होला त्यो देश जात पात नि नखोज्ने’ रंतेल्नी कान्छीले निकै मन नपराएको मुख लगाएर भनी ।

दिदीको कुरा सुनेर गल्ती भएछ भन्ने सम्झी लाहुर्नी कान्छीको मुख अलि रातो भयो । उसले घलेकभित्र राखेको कोराको सेतो रुमाल नबोलिकन नेप्टेको अगाडि सारिदिई । तर नेप्टेले रुमाल लाहुर्नी कान्छीतिर नै सारेर भन्यो, ‘आः कान्छी भाउजू नि कस्तो कुरा गर्या है । राजा एनले फुकाएछि के को नानाभाँती स्वाँग चाहिएको । सिम्जुङे मुखिया कान्छाले गाउँकै कमिनी लिएर लाहुर गयो भन्या हैन ? बिहे त चल्न लाग्योभने । यो वन पाटाँ साँध्या चुत्रो खाने कुरो ।’

‘लौः बा लौः पाप मलाई नलागोस् । तिमारु आजकलका ठिटाठिटीको के कुरा गर्नु । (लाहुर्नी कान्छीतिर फर्केर) लौ साँध तेरो ठूल्दाइलाई तैँ । देश खाई शेष भाकी तैँलयै साँध्या मिठो होला नि’ रंतेल्नी कान्छीदे आँखा झिम्क्याउँदै भनी ।

दिदीको व्यंग्य वचनलाई बुझे पनि नबुझे जस्तो गरी लाहुर्नी कान्छीले भनी, ‘मैले त अहिलेसम्म चुत्रो साँध्या छैन् । कसरी हो कसरी । ठूल्दिदी नै साँधन ।’

यी ! क्या नखरी छ नीः यो । फेरि किन ठूलो हुनुपर्यो नि । के जान्नु छ यो जाबो चुत्रो साँध्न । साँध्न साँध् । ढिलो नगर बरु ।’

आः हाम्रा ह्याँ नि राजाले ऐन बनाएपछि त सपै खुल्याछ । यो त गर्नु गर्या हुन राजाले । हाम्रा बाआमा यी कान्छी भाउजू जस्तालाई मात्र नचल्या हो । एलेका त क्वै पनि ख्याल गर्दैनन् यस्ता कुराँ ।’

 

दिदीको दोस्रो आदेश झर्नासाथ लाहुर्नी कान्छीले डालीको चुत्रो रुमालमा खन्याएर टिप्दा पर्न गएको पात छेस्का फ्याँक्न थाली । नेप्टेका हात पनि सगसग गर्दै काम सघाउन अघि सर्न खोजे । तर पनि बलै रोकेर भन्यो,‘क्या कान्छी भाउजू अछाम देशतिर त हाम्रा नेपाली भनेपछि सबै एकै हुन्छन् रे । भात भान्सा सपैको चल्छ रे । बिहाबारी नि सजिलै चल्छ रे । हाम्रा ह्याँ राजाले फुकाउनु भन्दा नि अघि नै ह्वाँ फुक्या रे । पोहोर चेपेघाट जाँदा लुइटेल भन्ज्याङका हाम्रा पुषाजु भेट्न गाथे । छुट्टीमा आरचन् । उनैले कुरा गर्दा भन्या (लाहुर्नी कान्छीतिर फर्केर) कान्छी नानीलाई थाहा होला कसो हो कुरो ?’

नेप्टेका कुराले आँखै हँसिलो भएकी लाहुर्नी कान्छीले नरिसाउने हो भने भनौँ भनेझैँ गरी दिदीको मुख हेरी । रंतेल्नी कान्छीले पनि कुरा बुझेर भनी, ‘आः भको कुरा भन्न के हुन्च र भन देखे जानेका कुरा । अछाम लाहुरका कुरा कस्ता हुन्दा रचन् हामी नि सुनिहालम् ।’

रंतेल्नी कान्छीको स्वीकृति–सूचक कुराले लाहुर्नी कान्छी र नेप्टे दुवैका मुख उज्यालो भयो । यतिञ्जेलसम्म लाहुर्नी कान्छीले नून खुर्सानी हाली मुछ्न लागिसकेकी थिई ।

दिदीको स्वीकृति पाएर प्रफुल्ल भएकी उसले भनी, ‘अछाम देशाँ त सपै नेपाली को ठूलो को सानो । ह्वाँ त जाभाताँ हैन इलममा धनी पो साना ठूला हुँदा रचन् । कामी जात रे कस्ता कस्ता बिजुली बनाउने, मटर बनाउने इन्जिनिअर बन्याछन् । कति बाबू बन्याछन् । तिन्का चेलीबेटी सपै अरु त्यस्तै इलमी धनी बाहुन क्षेत्रीले नि बिहा गर्याछन् । बिहा गरेपछि लोग्ने जात भइहाल्दो रैच । ह्वाँ स्वास्नीलाई सिरोमती भन्दा रचन् । कामीका छोरी नि गरेपछि सिरोमती फलानी भइहाल्दा रचन् । जातभात लाग्ने गरिबलाई त रच नि ।’

‘आः हाम्रा ह्याँ नि राजाले ऐन बनाएपछि त सपै खुल्याछ । यो त गर्नु गर्या हुन राजाले । हाम्रा बाआमा यी कान्छी भाउजू जस्तालाई मात्र नचल्या हो । एलेका त क्वै पनि ख्याल गर्दैनन् यस्ता कुराँ ।’ नेप्टेले हात हल्लाउँदै भन्यो ।

‘हुन त हो नै अघि लुकेर गर्थे । अचेल देखादेखी गर्छन् । त्यति नै फरक हो । केप्रुँकी उजेली कमिनी कुन विष्टको सत्यनारान पूजाँ गीत गाउन गैन । कुन घाँट बजाराँ गैन । तिमरु ज्स्ता विष्ट ठिटा कति भए कति उसका लोग्ने । हैन त ठूले ही ही ही ।।।’ रंतेल्नी कान्छीले पनि समर्थन जनाउँदै भनी ।

रंतेल्नी कान्छीको स्वीकृति–सूचक कुराले नेप्टे र लाहुर्नी कान्छी दुवैका मुख उज्यालो भयो । त्यति बेलासम्म लाहुर्नी कान्छीले चुत्रो साँधिसकेकी थिई । त्यसैले साँधेको चुत्रो हातमा लिएर भनी, ‘नून कस्तो भो कुन्नी । ए ! के मा दिने होला । लौन दिदी ती झर्या बाँझा पात ल्यौन ।’

‘आजकलका ठिटाठिटीले यौटा काम गर्नु पर्यो भने ठूले ! चारओटा मान्छेलाई अराउँचन्, अनि फेरि यत्ति काम गर्योँ उति काम गर्यौँ जस चाहिँ आफूँ लिन खोज्छन् । रंतेल्नी कान्छीले अलि अलि हाँस्तै बाँझको पात बटुल्न लागी ।

रंतेल्नी कान्छीको आँखा भूइँमा लागेको देख्नासाथ लाहुर्नी कान्छी र नेप्टेका आँखाले परस्परको भाषा पढ्न खोजिहाले । यसपटक नेप्टेले स्पष्ट देख्यो । चार आँखाको साथ लाहुर्नी कान्छी मुसुक्क हाँसी । उसका गाला पनि राता भए ।

नेप्टे डम्म अघायो । केल्यै भोक लाग्दैन क्यार भनेझैँ अघायो । केले अघाएको हो उसलाई थाहा भएन । खुशीले जिल्ल भएनस्तो लाग्यो । लाटो भएजस्तो लाग्यो । कता कता बोलुँ बोलुँ जस्तो लाग्यो । तर के बोल्ने कतै केही सुझेन । उ त रंतेल्नी कान्छीले ‘पात समात ए ठूले ! हावाले उडाउला । के ट्वाल्ल पर्या । ह्वाँ घाम गेसके । कालोनीलो हुन नि लाग्याजस्तो पो छ ए आकाशाँ ’ भन्दा पो झसङ्ग भयो ।