साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

घरभित्रको कथाः सहिदको परिवार

Chovar Blues Mobile Size

केही दिनबाट काठमाडौमा जाडो निकै बढेको छ । छिनछिनमा पानी पर्ने क्रम जारी छ । त्यसैपनि माघको चिसो महिना, त्यसमाथि हिउँदे झरी परिरहेको छ । पसलेहरू आगो बालेर आगो तापिरहेका छन् । मोटरसाइकल यात्रुहरू रेनकोट लगाएर गुडिरहेका छन् । पैदल यात्रीहरू कोही छाता ओढेर हिँडिरहेका छन् त कोही बिना छातानै दौडिरहेका छन् । उनीहरू पानीले भरिएका खाल्डाखुल्डीमा सवारी साधनको पाँग्राले कुल्चेर आफूतिर छ्याप्ने फोहोर पानी र हिलोसँग बच्दै र त्रसित हुँदै लम्किरहेछन् । उपत्यका वरिपरीका डाँडाहरू सेताम्मे हिउँले ढाकिएका छन् । दिन ढल्कँदै छ, साँझ पर्दैछ । मोटरसाइकल र साना गाडीहरूको लर्को चन्द्रागिरी, फुल्चोकी, नागार्जुन, शिवपुरी, नगरकोटतिर हिउँ परेको हेर्न र खेल्न त्यतैतिर लम्किरहेका छन् । म पनि आफ्नो गन्तव्यतिर गइरहेको छु । बीर अस्पतालको जनरल वार्ड । जहाँ मेरा बा मलाई पर्खिरहेका छन् ।

राजीव भण्डारी

“तीनसय एक नम्बर खाली भएन सिस्टर ?”, म ड्युटीमा रहेकी नर्ससँग सोध्छु । उनी आफ्नो काउण्टरमा बसेर रजिष्टर्डमा केही लेखिरहेकी हुन्छिन् “छैन” उनी अनुहार पनि नहेरी जवाफ दिन्छिन् । “आज डिस्चार्ज भनेको होइन त ?” “हो, त्यो बिरामी गइसक्यो, यो अर्कै हो, नयाँ ।” “अनि मैले भनेको होइन, त्यो मलाई राखिदिनु भनेर?” “अँ तिम्ले भनेर हुन्छ, खाली हुँदा आफू काँ जाँदो रैछ, त्यतिबेला सार्नु पर्दैन ? यो इमर्जेन्सी केस हो, अट्याक भएर ल्याको रे, माथि खाली नभएर राखेको रहेछ, अब खाली हुँदा सार्नु, दिनभरी कता हराकोनी ?” म उनको प्रश्नको उत्तर नदिई बाको बेड, तीनसय साततिर लम्कन्छु, बा बेडमा निदाइरहेका रहेछन् । म खाटमुनी राखेको स्टिलको स्टुल तान्छु, चिसो रहेछ, त्यसमै बस्छु, “आच्छु कस्तो चिसो”, कहिले त यही पनि हुँदैन, अर्कै बेडकोले लगिदिएको हुन्छ, लुकाएर जानु पर्छ ।

बा उत्तानो परेर सुतिरहेछन् । सिधा कपाल पनि ननुहाएर र सिरानीमै दलिएर होला घुम्रे भएको छ, अँग्रेजी गीत गाउने माइकल ज्याक्सनको जस्तो । गालाको अगाडिको उठेको भाग र नाक बाहेक अनुहार पनि चाउरीले छोपिएको छ । छ्यास्सछुस्स उमे्रका दाह्री र जुँगा त्यही पनि कपाल जस्तै तिलचामले भएर फुलेका छन् । शरीरमा अस्पतालले दिएको सर्ट र पाइजामा छ । मुस्किलले पाँच फिट चार इन्च उचाई, फुस्रो शरीर र दुब्लो भएको ज्यान । निदाएका बालाई म मनमनै भन्छु, “बा अहिले तिमलाई मेरी आमाले मात्र होइन तिम्रै आमाले पनि देखिन् भने चिन्दिनन्” । ननुहाएको पनि महिना दिन नाघ्यो होला, डेरामै छँदा नुहाएका थिएनन् । डाक्टर र नर्स कराउँछन् आफूलाई जाँगरै चल्दैन, फेरि जाडो सहन नसकेर हिरिक्क पनि त हुन सक्छन् नि, त्यसमाथि आफूलाई समय निकाल्नै गाह्रो । न्युरोड, गुच्चाटोल, मखन, ओटु, यतैतिर बस्यो, भारी बोक्यो, कहिले राम्रै आम्दानी गर्याे, कहिले हातमा लाग्यो शुन्य हुन्छ । बन्द, हड्ताल भयो भने त मुखमा माड लाउन पनि पाइँदैन । बाको उपचार खर्च, आफ्नो रासन पानी, कोठा भाडा, सबै पुर्याउनु पर्छ ।

सायद खाना खाने बेला भयो भनेर होकि वा निन्द्रा पुगेर हो, बा केही चलमलाए, आँखा पिर्लिक्क खोले, एक नजर मतिर फ्याँके । उनलाई ढुक्क भयो होला छोरो आइपुग्यो भनेर । बालाई क्यान्टीनबाट जाउलो ल्याएर खुवाउँछु । आफूले भने आज जाडोको दिनमा अघि यता आउँदा महाबौद्धमा डेढ प्लेट तात्तातो मःमः र प्लास्टिकको जगबाट पानी घट्घट पिएर आएको थिएँ, केही खानै परेन । हामी दुवैले आ–आफ्नो ‘राजसी’ भोजन समाप्त गरिसकेको हुनाले बालाई माथिदेखि तलसम्म ओड्ने ओढाइदिन्छु । मनमनै ‘गुडनाइट ड्याड’ भन्छु । मुखले त भन्न सकेपो, लाज लाग्छ । आफू शौचालय गएर शौच गरेर आउँछु, बालाई भने लानै पर्दैन, डाक्टरहरूले पिसाबको थैलो झुन्ड्याइदिएका छन्, कहिलेकाहिँ त यो बाको लागि भन्दा पनि मेरो सजिलोको लागि बनाइदिएको जस्तो लाग्छ । म चिप्स घोटेको चिप्लो र चिसो भुइँमा खैरो म्याटमाथि ओछ्यान लाएर ढल्छु । कहिलेकाहिँ उत्तानो परेर सुत्दा बाले फेरेको पहेंलो पिसाब पारदर्शी पाइपको बाटो हुँदै पलङमा झुण्ड्याएर राखेको प्लास्टिको थैलोसम्म गएको पनि आफ्नो बेडबाट देख्छु । सँगैको बिरामीको कुरुवाले ‘लुट्न सके लुट कान्छा’ भन्ने गीत सानो स्वरले सुनिरहेको मेरो कानमा पनि आउँछ । कतीबेला निदाएछु पत्तै भएन, एक्कासी मानिसहरू ठूलो ठूलो स्वरले रोएको आवाजले ब्युँझन्छु । त्यो दिउँसो ल्याएको तीनसय एकको बिरामीले संसार छाडेछ । मलाई आजकल यस्ता कुराहरूले छुनै छाडिसक्यो । अस्पताल पनि अनौठो ठाऊँ हो, जन्म पनि यहीँ हुन्छ, मरण पनि यहीँ हुन्छ । मलाई भने कहिले भोलि होला र बालाई त्यो बेडमा साह्रो भइरहेको छ ।

sagarmani mobile size

बिहानै नर्सहरूलाई भनेर बालाई तीनसय एकमा सार्छु । यो बेडमा आएपछि बाको अनुहार पनि हिजो दिउँसो एकछिनको लागि उघ्रेको आकाश जस्तै केही उज्यालो भएर आयो । यो बेड मेरो लागि अत्यन्तै प्यारो छ किनभने यसमा मेरी आमाले छ महिना बिताएकी थिइन् । थोरै समय थिएन, त्यसैले सबैजना मलाई चिन्दथे । डाक्टर, नर्स, क्लिनर, स्विपर, गार्ड, पाले, बगैंचे, ड्राइभर, क्यान्टीन, अन्य कर्मचारीहरू सबैलाई म चिन्दथेँ र उनीहरू पनि मलाई चिन्दथे । सबैजना मलाई “ए फुच्चे भाइ” भन्दै बोलाउँथे ।

अस्पतालको बेडमा भएपनि आमालाई आफ्नो औषधी भन्दा पनि बाको रक्सीको बढ्ता चिन्ता लाग्थ्यो । ‘आज त्यसले काम पायो कि पाएन, पैसा थियो कि थिएन, रक्सी खान पायो कि पाएन, रक्सी खान पाएन भने त निदाउँदै निदाउँदैन’, भन्दै आमा एकोहोरो बोलिरहन्थिन् । रातमा अस्पतालमा आमालाई सधैं मै कुर्थें । एक त राति डेरामा मलाई एक्लै डर लाग्थ्यो भने अर्कोतिर बा रक्सी नखाई सुत्दै नसुत्ने । एक पटक त बा सुतेको बेलामा राति गन्हायो भनेर नर्सहरूले बाहिर सुत्न पठाएछन् । आमाको पालामापनि अहिले बा र म सुते जस्तै गरी आमा खाटमा र म भुइँमा ओछ्यान लाएर सुत्थेँ तर राति नर्सहरू सुतिसकेपछि अरुले थाहा नपाउने गरेर आमा मलाई खुसुक्क बोलाउँथिन् र आफूसँगै च्यापेर सुताउँथिन्, म आमाको अँगालोमा बेरिएर निदाउँथें । आमा बिरामी हुन्, कमजोर छिन् भन्ने पनि कहिल्यै बुझिएन । फोहोरी छिन्, गन्हाउँछिन् भन्ने पनि भएन । न उनले नै कहिल्यै झर्को मानिन् ।
त्यसदिन आमालाई अलि बढ्ता नै च्यापेको थियो । रातभर यता दुख्यो, उता दुख्यो भनेर कराइरहिन् । ज्यान सुकेर आधा पनि बाँकी थिएन । अनुहारका मासु त कता हराए हराए, टर्की चराको गाला जस्तो तुन्द्रुङ झुण्डिएको, छाला र हाड मात्रै बाँकी थियो । कुपोषण, स्याहार सम्भारको अभाव, अपुग उपचार र मानसिक अशान्तिले गर्दा उनको मुहार देखेर उनलाई पहिला देख्नेहरू कसैले पनि चिन्न सक्दैनथे । बा बिहानको खाना लिएर आइपुगे, कोठाको साँचो दिएर मलाई डेरातिर जाने इशारा गरे । किन किन मलाई जानै मन थिएन, आमासँगै बसौं जस्तो लागिरहेको थियो, तर खाना खाएर तुरुन्तै आइहाल्छु भन्ने मनमा पर्यो र लागेँ कोठातिर । तल ढोकामा गार्डले मलाई च्याप्प समात्यो अनि पाइण्टको खल्तीमा चार पाँचवटा चकलेटहरू हालिदिंदै भन्यो, “ला फुच्चे भाइ यो खा ।” कति माया गथ्र्यो ऊ मलाई, कहिलेकाहीँ त भात पनि खुवाउँथ्यो । म डेरातिर लागेँ । बिहान त घाम लागेकै थियो तर जाँदाजाँदै एक्कासी पानी पर्यो, साउनको महिना थियो, पानी त पर्ने नै भयो । मलाई वर्षातको मौसम असाध्य मन पर्छ, त्यसमा रुझ्न झन मज्जा लाग्छ । आमा गाली गर्थिन– “नरुझ भन्थिन्, रुघा खोकी लाग्छ, ज्वरो आउँछ भन्थिन् ।” म हुन्छ भन्थें, तर फेरि पानी देख्यो की रुझ्न मन लागि हाल्थ्यो । डेरा नजिकैको बसन्तपुर दरबार स्क्वायरको अग्लो मल्लकालिन देवलमा बसेर पर परसम्म, आँखाले भ्याएसम्मको दृश्य हेर्दै, झरीको मज्जा लिनुको मज्जै अर्कै हुन्थ्यो ।

‘जहाँ गएपनि दुःख नगरी पैसा फल्दैन, मलाई आफ्नै परिवारसँगै बसेर यही किसानी कामले नै सन्तुष्ट छु’

 

सलिना दिदी यो दरबार स्क्वायरमा मलाई लिएर आइरहनु हुन्थ्यो, विकास दाइलाई भेट्न । विकास दाइले सलिना दिदी सँगै मलाई पनि, आइसक्रिम, मःमः, चटपटे, पानीपुरी खुवाउनु हुन्थ्यो । सलिना दिदी र विकास दाइ दुवैजना बिहान एउटै कलेजमा पढ्थे, कहिलेकाहीँ साँझतिर दुवैजना यहाँ भेटघाट गर्दथे । पानीपुरी साहु जितेन्दर, उसले हामी सबैलाई राम्ररी चिन्ने भैसकेको थियो । त्यसैले कहिलेकाहीँ म एक्लै हिँड्दा पनि बोलाएर भन्थ्यो, “ए फुच्चे भाइ, के खान्छस्, आइज खाएर जा, पैसा पर्दैन ।” साँच्चै ऊ मलाई बिना पैसानै ठेलामा भएको जे भएपनि खान दिन्थ्यो । घरको माथि बुट्टा कुँदेर बनाएको झ्यालमा बसेर ‘अजी’ दिनभरी कपासको बत्ती कातिरहनुहुन्थ्यो । सलिना दिदी मलाई मेरै दिदी जस्तै लाग्नु हुन्थ्यो । मेरी आफ्नै दिदी छैनन्, छैनन् त के भन्नु अरु जस्तो देखिन्नन् । मेरो हृदयभित्र छिन् ।

कति रमाइलो थियो हाम्रो गाऊँ । गाऊँको माथि वन र पुछारमा खोला सुसाइरहन्थ्यो, मध्यभागमा सानो गाऊँ, गाऊँमा सानो चिटिक्क परेको घर, सँगै गोठ, वरिपरी अम्बा, कटहर, नासपाती, कागतीका रुखहरू, बारीभरी तरकारी र सागपात । झोंछेको पेन्टिङ पसलमा झुण्ड्याएको पेण्टिङ जस्तै । बा बिहान गाई वस्तुको काम गर्नु हुन्थ्यो, दिउँसो खेत बारीमै व्यस्त हुनुहुन्थ्यो । कतीले ‘सहर जाऊँ काम गर्न’ भन्थे तर बा ‘जहाँ गएपनि दुःख नगरी पैसा फल्दैन, मलाई आफ्नै परिवारसँगै बसेर यही किसानी कामले नै सन्तुष्ट छु’ भन्नु हुन्थ्यो । गाउँभरकाले भन्थे पनि ‘साँइला असाध्यै मेहनती छ’ भनेर ।

हाम्रो विद्यालय दश बजे लाग्थ्यो, हामी नौ बजे भात खान्थ्यौं, त्यसपछि ड्रेस लगाउँथ्यौं, अझ दिदीलाई त कपाल कोर्न बढ्ता समय लाग्थ्यो । विद्यालय गाउँको पुछारमा थियो, जाँदा दश मिनेट आउँदा आधा घण्टा लाग्थ्यो । जाँदा बिस्तारै जान्छु भन्नै नपर्ने, ओरालो बाटो खुर्मुरिएको खुर्मुरिएई पुगिन्थ्यो । म लड्छ भनेर दिदी एक हातमा आफ्नो किताब कापी च्यापेर अर्को हातले मेरो हात समातेर हिँड्थिन् तर ओरालोमा, कती बेला हात छुटिसकेको हुन्थ्यो । भिरालो बाटोमा खुट्टामा चप्पल अड्याउनै गाह्रो हुन्थ्यो । वर्षा र पानी परेको बेलामा त हाम्रो चप्पल खुट्टामा भन्दा हातमा बढी हुन्थ्यो ।

देशमा युद्ध चर्किरहेको थियो । यसबाट हाम्रो गाऊँ मात्र अछुतो हुने कुरै भएन । एकदिन विद्यालयबाट घर पुग्दा हाम्रो घरमा एक हुल युवायुवतीहरू आएका थिए । कसैले झोला बोकेका थिए, कसैले बन्दुक बोकेका थिए । कोही सेनाको जस्तो लुगामा थिए । कोही साधारण लुगामा पनि थिए । सबैको खुट्टामा कपडाको जुत्ता थियो । बालाई वरिपरीबाट घेरेर के के भनिरहेका थिए । बा घोसे मुण्टो लाएर बसिरहेका थिए, मैले त केही पनि बुिझन, दिदीले कति बुझिन् थाहा भएन । उनीहरु गएपछि राती अँगेनोमा बा र आमा कुरा गरेको सुनियो । बा भन्दै थिए, “अब धेरै दिन यिनीहरुले कुर्दैनन्, कुन दिन लिएर जान्छन्, आँखा लगाइसकेका छन्, यताउती गरेर अलिकति पैसाको जोहो गरेर अर्को हप्ता म यी दुईटैलाई लिएर काठमाण्डु जान्छु, कोठा नपाउन्जेल ताराको कोठामा राख्छु, त्यसपछि बिस्तारै सबै मिलाउँदै जाउँला, तँ चिन्ता नगर ।” तर अर्को हप्ता होइन, भोलिपल्टै ती व्यक्तिहरू आएर दिदीलाई लिएर गए, त्यसमा एउटी केटी आमालाई सम्झाउने प्रयास गर्दै थिइन्, “केही हुँदैन, हामी पनि कसैका छोरी हौं, युद्व लडिरहेका छौं, देशको मुक्तीको लागि, जनताको मुक्तीको लागि यिनले ठूलो योगदान दिनेछिन्, एकदिन विजयी भएर आउने छिन्, माला उनेर राख्नु होला ।” दिदी सानो झोला बोकेर पिढीमा आइन्, मैले दिदीको हात समातेँ । उनीहरूले बा र आमासँग दह्रो गरेर हात मिलाए । एउटीले दिदीलाई तानिन्, दिदीको हातबाट मेरो हात छुट्यो । आमा पिँढीमा बसेर क्वाँ क्वाँ रुन थालिन्, बा फलैँचामा दुवै हातले टाउको समातेर आँखाबाट आँसु निकालेर घोप्टिइरहेँ । म दलिन समातेर उभिइरहेँ, दिदी आँखाबाट ओझेल नहुन्जेल हेरिरहेँ ।

सायद हाम्रो भाग्यमा त्यही दिनसम्म मात्रै रमाइलो दिन थियो, त्यसपछि त सबै भताभुङ्ग । मलाई एक्लै विद्यालय जान पनि मन लाग्दैनथ्यो । बा र आमा जा भनेर भन्थे, तर दिदी बिना, एकलै जानै मन लाग्दैनथ्यो । बाटोभरी उसैसँग गएको झझल्को, विद्यालयमा उसैसँग खाजा खाएको झझल्को, घर आउँदा उसकै हात समातेको झझल्को । पढाइमा मन लाग्नै सकेन । आमाका आँखा जतिबेला पनि रातो भएर रसाइरहेका हुन्थे, बाको मुण्टो कतै ऊ टुप्लुक्क आइपुग्छे कि भनेर बाटोतिर फर्किरहेको हुन्थ्यो । ऊ त आइन तर एकदिन जिल्ला नेताले गाउँको चियापसलमा समाचार छोडेर गएछ, सिन्धुलीको युद्धमा ऊ सहिद भई रे । यो खबर पत्याउने कि नपत्याउने ? उसको मृत शरीरलाई न बाले देख्नु भयो, न आमाले देख्नु भयो, न मैले देख्न पाएँ । त्यसैले दिदी मारिइन् भनेर हामीले विश्वासै गर्न सकेनौँ । मलाई त अहिले पनि कुनै दिन दिदी ढोकामा टुप्लुक्क आइपुग्छिन् जस्तै लाग्छ । विद्यालयको पोशाकमा, निलो स्कर्ट, आकाशे रङ्गको सर्ट, तेल हालेर दुई चुल्ठो बाटेको कपाल, हातमा तह मिलाएर बोकेको किताब, कापी खुट्टामा सुन्तला रङको प्लास्टिकको चप्पल । मलाई दिदीको यही आकृती अहिलेसम्म पनि झल्झल्ली याद आइरहन्छ । सपनामा पनि सँगै खेलेको, खाएको, मैले जिस्क्याउँदा कुट्न दौडेको, विद्यालय जाँदा लडेकोजस्ता दृश्यहरूमात्रै देख्छु । मलाई त्यति सानो उमेरमा पनि उसलाई सम्झ्यो कि निन्द्रानै लाग्दैन थियो । अहिलेसम्म पनि उसको बारेमा सम्झ्यो कि रात छर्लंगै हुन्छ । मलाई त त्यस्तो मानसिक पीडा भयो भने आमा कसरी सहन सक्थिन् होला ? अलिअलि गर्दागर्दै आमामा छिनमा मुर्छा पर्ने, छिनमा चिच्याउने, छिनमा दौडने, टाउको तथा पेट दुख्ने जस्ता समस्याहरू देखा पर्न थाले जसले गर्दा उनी नराम्ररी थला परिन् । बाले आफ्नो पीडाभित्र भित्रै लुकाउने सक्दो कोसिस गर्न थाले । गाउँभरीमा सबैभन्दा असल थिए बा । अरुले समेत रक्सी खाएको मन नपराउने मान्छे, बिस्तारै बिस्तारै आफैँलाई त्यो कुलतमा फसाउन थाले । पछि त उनी रक्सी बिना निदाउनै नसक्ने अवस्थामा पुगे । त्यही भएर आमाले आफ्नो औषधी भन्दा पनि बाको रक्सीको बढ्ता चिन्ता गर्न थालेकी हुन् ।

गाउँमा धामीझाँक्री देखि डाक्टर बैद्यसम्मको उपचारले पनि नछोएपछि बाले आमालाई काठमाडांै ल्याए । भएको घरखेत पनि बेच्नु पर्यो, डेराको कोठामा भएका जती सामान छन् तिनै हाम्रो सम्पूर्ण श्री सम्पत्ती हो । गाउँमा आरन चलाएर, पुख्र्यौली पेशा गरिरहेका तारा काका युद्धमा जानुपर्छ भनेर भागेर काठमाडांै आएका थिए । उनी बाका अति मिल्ने साथी थिए । काठमाडांैमा उनी भारी बोक्ने काम गर्थे, उनले नै बालाई पनि आफूसँग हिँडाउँदा हिँडाउँदै यो काम सिकाए ।

हामीले जवानी धेरैदिन देख्न पाउँदैनौँ, किनभने भरियालाई भारीले थिच्दा थिच्दै आफू भन्दा दोब्बर उमेरको बनाइसक्छ ।

 

म विद्यालय नगई दिनभरी यताउता कुदिरहेको देखेर होला बालाई घरबेटी बा भन्नुहुन्थ्यो, “यो मामपाखालाई स्कुल हाल्नुपर्छ, टँ फिक्री नगर, भर्ना गर्ने जिम्मा मेरो भयो ।” कस्तो देवता जस्तो घरबेटी साहुहरू थिए । आफ्नो घरको छिँडीको एउटा अँध्यारो कोठामा बस्ने हामीलाई परिवारका सबै सदस्यहरू आफ्नै जस्तो राम्रो व्यवहार गर्थे । सलिना दिदी मात्र होइन, सुनिल दाई पनि कहिलेकाहीँ मलाई त्यो कानै फुट्ला जस्तो कराउने ‘बुलेट’ भन्ने बाइकमा चढाएर कता कता पुर्याई रहनु हुन्थ्यो । एकदिन त स्वयंभुनेरको रिङरोडमा स्पिड बढ्ता भएर एउटा साइकललाई हानिदिनु भयो, साइकल वालालाई साधारण चोटपटक मात्र लाग्यो तर साइकल चाहिँ कुच्चिएको थियो, पैसा दिएर कुरा मिलाउनु भयो । पछि कसैलाई नभन् है भनेर मलाई थर्काउनु भयो । हामी तामाङ, घरबेटी नेवार, विकास दाइ बाहुन, गार्ड दाइ क्षत्री, जितेन्दर मधेशी, भरिया काका दलित, सबैजना यसरी मिलेर बसेका थियौँ । अहिले आएर सम्झन्छु नमिल्ने त मन रहेछ, सोचाई रहेछ । मन र सोचाईलाई मिलायो भने सबै मिल्दो रहेछ ।

पानी रोकियो, म अस्पताल पुगेँ । गार्ड देख्ने बित्तिकै करायो, “काँ गाको, छिटो माथि जा ।” मन कस्तो कस्तो भएर आयो, एकै सासमा दौडेर आमाको बेडनेर पुगेँ । आमालाई उत्तानो पारेर टाउको देखि खुट्टासम्म उनले ओड्ने गरेको ब्ल्याङ्केटले छोपेर सुताइएको थियो । शरीर त एक मुठीको भइसकेको रहेछ, राम्ररी त त्यतिबेला पो देखेँ, यदि हामी बाहेक अरु नयाँ मानिस हुने हो भने, त्यो ब्ल्याङ्केटभित्र मानिस छ भन्ने थाहा पनि पाउँदैन थियो । “बा ! आमालाई सास फेर्न गाह्रो हुन्छ, मुखबाट ब्ल्यांकेट झिकिदिउँन”, अघिसम्म पौरुषता प्रदर्शन गरेर आँसु झार्न नसकेका बाले मलाई च्याप्प समातेर भक्कानो फुट्ने गरी रुन थाले । मैले बुझेँ, आमा यो धरतीमा छैनन् भनेर । बाले रिसेप्सनबाट फोन गर्न नम्बर दिइसकेका रहेछन्, घरबेटी बा, तारा काकाहरू आएपछि आमालाई ‘शव वाहन’ लेखिएको गाडीमा हालेर लिएर गइयो, मलाई कसैले सम्झाउनै परेन, म आमादेखि खुशी भएँ, किनभने त्यसदिन आमा दिदी भेट्न जाँदै थिइन्, अब दिदी पनि एक्ली हुने छैनन् भनेर ढुक्क भएँ ।

त्यसपछि मलाई घरबेटी बाले रानीपोखरी अगाडीको दरबार स्कुलमा भर्ना गरिदिनु भयो । म विद्यालय त जान्थेँ तर कक्षा कोठाभित्र जानै मन लाग्दैनथ्यो । विद्यालय अगाडिको पानी सुक्दै गरेर सौन्दर्य सिध्याउँदै गरेकी उजाड रानीपोखरी र ममा केही फरक नै थिएन । बा पनि आज काम गर्यो भोलि उठ्नै नसक्ने, एक गिलास रक्सी खायो, त्यसले छोड्न पाको हुँदैन अर्को गिलास हुली हाल्ने गर्न थाले । पछि दुई हजार बहत्तर सालको शनिबारको दिन म अशोक बिनायक गणेश मन्दिर अगाडिको काष्ठमण्डपबाट रक्तदान गरेको हेरेर फर्कंदै गर्दा एक्कासी ठूलो भुकम्प आयो । मानिसहरूको भागाभाग भयो । कति मरे कति घाइते भए ।हामी बसेको घर पनि नराम्ररी हल्लियो । घर गल्र्याम्गुर्लुम् त ढलेन तर बस्न नसक्ने चाहिँ भयो । हामी सबैजना टुँडीखेलमा पाल मुनि बस्न गयौं । बाले रक्सी खान पाएनन्, केहीदिन खान नपाएपछि उनको बानी छुट्यो । अरुलाई यो भुकम्प अफाप भए पनि मलाई चाहिँ फाप नै भयो । पछि घरबेटी बाहरू नयाँ बजारमा सलिना दिदीको मामाघरको भुइँ तल्ला खाली गराएर बस्न जानु भयो । घरबेटी बाले हामीलाई पनि अर्कै घरमा कोठा खोजेर डेरा सर्नु भन्नु हुन्थ्यो । तर टेको दिएर अड्याएको यहि घरमा आजसम्म हामी बसिरहेका छौं । मरौंला भन्ने पिर भएपो डर लाग्थ्यो ।

त्यसपछि त थल्लिएर बा काममा पनि जान नसक्ने भए । अब बाउको बिडो थाम्ने पालो मेरो थियो । सुरुमा तारा काकाहरुसँगै हिँडे पनि पछि एक्लै यो काम गर्न सक्ने भएँ । यसो हेर्दा अरु भन्दा जवान देखेर होला साहुहरू पनि पहिलो प्राथमिकता मलाई नै दिन्छन् । तर, हामीले जवानी धेरैदिन देख्न पाउँदैनौँ, किनभने भरियालाई भारीले थिच्दा थिच्दै आफू भन्दा दोब्बर उमेरको बनाइसक्छ ।

अस्पताल आएको आज एक्काइसौं दिन थियो । “ए रमेश…” भनेर नर्स चिच्याइन, म झसँग हुन्छु, “बिहान भयो र भन्या” । नर्सहरू बिहान आफ्नो ड्युटी सकेर जाने बेलामा थर्मोमिटर च्याप्न लगाएर ज्वरो टिपेर जान्थे, कहिलेकाहिँ प्रेशर पनि हेर्थे । यतिबेलासम्म नउठेको हुनाले उठाइन होला भनेर आँखा मिच्दै टाउको उठाउँछु । तर, बाहिर त निष्पट्ट अन्धकार छ । “ह्याँ हेर, बा ….” । उनले आफ्नो डेक्सबाट बाको झुकेको गर्दन देखिछिन् दौडेर आएर हेर्दा बा यो संसारबाट बिदा भइसकेका रहेछन् । म बाको टाउको सिधा बनाउँछु । फेरि त्यही प्रकृया दोहोर्याउँछु, जुन प्रकृया आमाको पालोमा बाले गरिदिएका थिए । उनले ओडेकै ब्ल्याङ्केटले उनकै टाउको देखि खुट्टासम्म ओडाउँछु । यत्तिका दिनसम्म उनले त यही बेडपो कुरेर बसेका रहेछन्, कहिले त्यहाँ सरौं र आफ्नी छोरी र श्रीमतीलाई भेट्न जाऊँ भनेर । त्यसमा सुतेकै रात …….. । तर बा तिमीले एक पटक पनि मेरो बारेमा सोचेनौं, म पनि त अब एक्लै हुन्छु ‘धिक्कार छ मलाई, अब एक्लै बस्’, जे कुरा पनि गुमाएपछि त्यसको मूल्य थाहा हुन्छ भन्थे हो रहेछ ।

‘राम्रो ठाउँमा उपचार गराउन सक्नु छैन, कतिञ्जेल यो काम चलाऊ पाराले अस्पतालमा लडाको लडाई गरेर निको हुन्छ ? आडिलो पोषिलो खानेकुरा, फलफूल, भिटामिन खुवाउनु छैन । थुइक्क हुतिहारा, नामर्द ।’ मनमनै आफूले आफैंलाई सकेको गाली गर्छु । छक्क पर्छु, हामी त यो देशको शहिदको परिवार, औषधोपचारको अभावमा कुनै कुनामा गुमनाम मृत्यु वरण गरिरहेछौं । रुन त मन लागि हाल्छ नि, बाहिर निस्कन्छु । कालो आकाशमा दुईवटा ताराहरू थिए । ती आमा र दिदी जस्तै लाग्यो, त्यहाँ अलिकती खाली ठाऊँ पनि थियो । अब त्यहाँ बा गएर बस्नेछन् ….. ।

प्रतिक्रिया
Loading...