हरेक दिनझैँ ऊ साँझ घर फर्किरहेको थियो । साँघुरो गल्लीमा हिँड्दै गर्दा ऊ निकै सावधान थियो किनभने बाटामा वर्षाका कारण सानाठूला खाल्डाखुल्डी भरिएका थिए र कुन बेला त्यसमा छप्लङ्ग भइने हो, कुनै टुङ्गो हुँदैनथ्यो । उसलाई अचानक महसुस भयो, उसको जिन्दगीका दिनहरु तीव्र गतिले घट्दै गइरहेको छ र यो चाँडै नै सकिन लागेको छ । मरेपछि उसलाई चिहानमा गाढिनेछ र पनि उसको मनमा रहेका आधाअधुरा इच्छाहरु ज्यूँदै रहनेछन् । उसले आफैँसँग गुनगुन गर्यो, ‘हमिद, तँ त अझै धेरै समय बाँच्नेछस् । केही समयपछि तेरा सारा इच्छाहरु पनि पूरा हुनेछन् ।’

यस्तो सोच्नेबित्तिकै मृत्य–भयको भूत, जुन ऊसँगै हिँडिरहेको थियो, गायब भयो । तापनि उसको सोचाइको क्रम भने जारी नै रह्यो– त्यो के भने– म मरेपछि मेरा छिमेकीहरुले मेराबारेमा थरिथरिका कुरा गर्नेछन् । तर के पनि हुनसक्छ भने उनीहरुले मेरो मृत्युपछि त्यसरी नै उपेक्षा पनि गर्लान्, जसरी मेरा निकै धेरै कुरामा तिनले उपेक्षा गरिरहेकै छन् ।

जसै ऊ आफ्नो घरमा पुग्यो, उसले हरेक पटकझैँ न त उसले ढोका ढक्ढक्यायो न त त्यसलाई ठेलेर भित्र गयो । बरु बाहिर नै उभिएर भित्रबाट आइरहेको आवाज सुन्न थाल्यो । भित्रबाट आइरहेको आवाज परिचित थियो, उसकी पत्नीको र उसका सन्तानका । ती आवाज सुनेपछि ऊ हल्का मुस्कुरायो । ती आवाजलाई अझ स्पष्टसँग सुन्नका लागि उसले ढोकामा कान सटायो । उसको मुस्कान एकाएक गायब भयो र अनुहारमा चिन्ताको रेखा भरर्र उम्रियो ।

उसले आफैँलाई भन्यो, ‘अरे, यो त आमाको आवाज हो ! आज के कारणले उनलाई यहाँसम्म ल्याइपुर्यायो होला ? के गडबड भएछ गाउँमा ? पक्कै केही त भएकै हुनुपर्छ ।’

उसलाई थाहा छ, उसकी आमा बसराबाट बग्दाद त्यसै आउँदिनन्, केही न केही खास कुरा वा गडबडीकै कुराले उनलाई यहाँसम्म तान्ने हो । नत्र त खजूरका घना रुखहरूले घेरिएको त्यति टाढाको गाउँ उनले पक्कै छाड्दिन थिइन् । हरेक पटक जब आमै यहाँ आउँछिन्, छोरालाई अघिल्तिर राखेर दुःख र विषाद्पूर्ण आवाजमा कुनै न कुनै दुःखदायी घटना सुनाइरहेकै हुन्छिन् । आमा त अब साह्रै वृद्धा भइसकिन् । समय उनका लागि बोझझैँ बनिसक्यो । समयले उनलाई दुर्बल र अशक्त बनाइसकेको छ । कहिलेकाहीँ आश्चर्य लाग्छ, हाडमासुको पिँजडा बनेकी यी बूढी आमै यति टाढाको यात्रा एकलै कसरी गर्छिन् होला ?

ऊ स्मृतिमा हराउन थाल्यो । र, बूढी आमाले उसलाई पहिले सुनाएका कयौँ कुरा सम्झँदै मनमनै दोहोर्याउन थाल्यो ।

उसले फेरि सोच्यो, अब बूढी आमाले म भित्र छिर्नेबित्तिकै भन्छिन्, ‘तेरा बा काम नलाग्ने भइसके हमिद । उनले आँखा देख्न छाडेको पनि कयौँ वर्ष भइसक्यो । उनी अब नजिकैको मस्जिदमा नमाज पढ्न पनि जान सक्तैनन् । उनलाई आँखाको अस्पतालसम्म पुर्याइदिए हुन्थ्यो ! अल्लाहको कृपाले उनका आँखाले कतै देखी पो हाल्छन् कि ? कस्ता दिन आए, अब अरुकै कृपाले बाँच्नुपर्ने ! हाम्रो खर्चका लागि तँ किन केही पैसा पठाउँदैनस् हँ ? हाम्राबारेमा सोच्न छाडिसकिस् कि क्या हो हमिद ?’

चुपचाप अरुका कुरा सुन्ने बानी बसिसक्यो हमिदको । सोच्दासोच्दै कहिलेकाहीँ ऊ आफैँ चिच्याउन थाल्थ्यो अथवा घरबाट निस्केर खाली उजाड मैदानमा घुम्न थाल्थ्यो । कहिलेकाहीँ रेलवे स्टेसनमा गएर बस्थ्यो । रेलमा बसेर आउजाउ गरिरहेका, तिनलाई लिन आउने वा पुर्याउन जानेहरुलाई हेरिरहन्थ्यो । कसैका आँखामा विछोडका आँशु देखिन्थे, कसैका अनुहार उदास हुन्थे । त्यसपछि ऊ बल्ल खल्का भएर घर फर्कन्थ्यो र ओछ्यानमा डङ्ग्रङ्ग पसारिन्थ्यो र निदाउँथ्यो ।

भोलिपल्ट, ऊ आमाको हातमा केही दिनार (रुपैयाँ) राखिदिन्थ्यो र गाउँँ फर्कने बसको टिकट काटिदिन्थ्यो । तर आमा फर्किएपछि निकै दिनसम्म निदाउन सक्दैनथ्यो । हताशाले भरिएको उसको मन रोइरहेको हुन्थ्यो । उसकी आमा पनि विलाप गरिरहेकी हुन्थिन् । पत्नी र सन्तान भयभित भएर रुन-कराउन थाल्थे । रात उसका लागि निकै कालो र अवसादले भरिएको हुन्थ्यो ।

‘ओह हमिद, तेरा पिता सधैँका लागि चिरनिद्रामा सुत्नुअघि तेरो अनुहार एक पटक भए पनि हेरुँ भन्ने चाहन्थे । प्राण जानै लाग्दा पनि उनले तेरै नाउँ पुकारा गरिरहेका थिए । रेलको डिब्बामा भएका सबै यात्री हाम्रा वरिपरि उभिए । तीमध्ये केही त्यहीँ भूइँमा बसे । उनीहरु सबैले तेरा पिताको पहेँलो मुर्दा अनुहार एकटकले हेरिरहेका थिए । त्यस्तै घण्टापछि एक जना भला मानुषले एक दृष्टि लगाए र भने, ‘अरे, यी त बितेछन् । रेल चाँडै नै स्टेसनमा पुग्ला । आमै, तिमी चिन्ता नगर । म पनि तिमीसँगै उत्रनेछु र तिमीलाई के गर्न सक्छु हेरौँला !’

एक अर्को मानिसले पनि भन्यो, ‘म पनि तिमीसँगै उत्रुँला !’

म जुन सिटमा बसेकी थिएँ, त्यहीँ भासिएझैँ भएँ । यात्रुहरुका आँखामा हेर्छु, तिनका आँखामा एक किसिमको डरजस्तो केही देख्छु । मानौँ, यसअघि उनीहरुले यस्तो कहिल्यै नदेखेका होऊन् ।’
०००

‘उसो भए यस पटक के भयो होला त?’ ढोकामै अडिएर उसले सोच्यो र आफैँलाई सोध्यो । फेरि सोच्यो, हुनसक्छ, आमा गाउँमा कुनै जंगली बिरुवाझैँ एक्लै बस्दाबस्दा दिक्क मान्न थालिन् होला र यहीँ सधैँका लागि बस्न आइन् होला ! यो भन्दा अरु के हुनसक्छ ? तर फेरि उसलाई के याद आयो भने, अघिल्लो पल्ट आमालाई उसैले भनेको थियो, ‘आमा, अब त्यो गाउँमा के छ र ? को छ र ? किन त्यहाँ बस्नुहुन्छ ? आउनू, यहीँ बसौँ । त्यहाँ एक्लोपन छ, यहाँ कम्तीमा हामी छौँ ।’

आमाले त्यो कुरा अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘हमिद, तँ त्यो गाउँ छाड्ने कुरा गर्दैछस् ? म त्यहीँ जन्मिएँ, हुर्किएँ । हुर्किएर खजूरको बोटझैँ भयौँ ।’

‘तर आमा, गाउँमा अब हाम्रो केही पनि त छैन !’

‘होइन हमिद, अहिले पनि त्यहाँ धेरै कुराहरु बाँकी नै छन्, प्यारा चिजहरु बाँकी नै छन् ।’

‘छन्, फल नदिने खजूरका बोट बाँकी छन् । त्यसको के काम ?’

‘उसो भए तैँले गाउँ छाडेर के पाइस् त ? यहाँ तँ मरिस् भने पनि तँलाई काँध थापेर चिहानघारीसम्म पुर्याउने कोही हुँदैनन् ।’

‘हाम्रा बा पनि त रेलमा नै बितेका थिए !’

‘तर उनी त रोगी थिए र मर्नुअघि तँलाई नै हेर्न भनेर आउँदै थिए !’

यसपछि हमिद चुप लाग्यो । उसलाई थाहा थियो, गाउँ छाडेको धेरै समय बितिसक्यो र यसबीच गाउँमा धेरै कुरा परिवर्तन भइसकेको छ । हुन त ऊ छँदै गाउँमा धेरै कुरा परिवर्तन भइसकेको थियो । त्यसैले त गाउँ छाड्नुका अतिरिक्त ऊसित कुनै उपाय थिएन । गाउँ छोड्दाका बेला ऊ लज्जित पनि थियो । त्यसैले ऊ आफ्ना साथीसंगी, परिचित, आफन्त, घरबार, जमिन केही हेर्न भनेर पनि फर्केर गएन । तर जुन बेलादेखि ऊ सहरमा छ, गाउँको खजूरका वृक्षका पातले हावा बजाउँदै सर्सराउँथ्यो, ती सबै सुन्न सक्थ्यो । गाउँको सम्झनाले कहिलेकाहीँ ऊ हुरुक्क हुन्थ्यो र हृदयमा एउटा टिस जन्माउँथ्यो । यातना र डरलाग्दा दुःस्वप्नले उसलाई रातरातभर जगाइरहन्थ्यो । दिनभरि त ट्रक र त्यसमा लादिएका-उतारिएका इँटाहरुमै बिताउँथ्यो, ती इँटाले उसको पिठ्यूँ र ढाड दुखेर हैरान हुन्थ्यो र रातभर तिनैले ऐंठनमा पार्थे ।

उसकी पत्नी पटक-पटक प्रेमपूर्वक भन्थी, ‘तिमी मालिकसँग केही दिनको छुट्टि किन लिँदैनौ ? किन दुई चार दिन आराम गर्दैनौ ? तिमीलाई आराम अति आवश्यक छ ।’

‘छुट्टि लियो भने त तलब काटिहाल्छ नि ! हुँदैन । हाम्रा लागि त काम नै आराम हो !’

‘उसो भए तिमी अन्तै काम खोज, बिदा बस्दा तलब नकाट्ने काम खोज ।’

‘हैन, यहाँ छोड्नु हुँदैन । मलाई ऊ अत्ति माया गर्छ । मैले यहाँबाट छोडेँ भने त उसले मलाई बिर्सिहाल्छ नि ! उसकहाँ काम गर्ने हमिद सजादी नामक कुनै मानिस काम गर्थ्यो भन्ने नै बिर्सिन्छ ।’

आमाको ममता र प्रेमको भावमा हमिद आफ्ना विचारहरुमा कतै हरायो । ऊ सोच्न थाल्यो, उसले कति नराम्रो गर्यो ! कति गलत काम गर्यो ! कि वास्तवमा उसले आफ्नी आमालाई उनको याद र आँशुका सहारामा गाउँमा एक्लै छाडिदियो ।

उसले सोच्यो, ‘म आज राति आमालाई सबै कुरा बताउँँछु, उनीसित कुरा गर्छु । आमा तिमी के चाहन्छ्यौ ? के तिमी पनि हामी गाउँँ फर्कौं भन्ने चाहन्छ्यौ, हो ? मलाई नसोध, म किन यो कुरालाई जोड दिइरहेको छु । यसका पछाडि के कारण छन् ? मेरो मनमा कुनै कुरा लुकेको छैन । मेरो मनमा अरु केही छैन बरु एउटा घाइते पक्षीको पीडा छ ।’

‘मैले निश्चय गरेँ । भोलिबाट नयाँ जिन्दगी शुरु गर्नेछु । अब आफ्नो निर्णयबाट पछि हट्ने छैन । म आमालाई नयाँ जिन्दगी कसरी शुरु गर्नेछु भनी बताउनेछु र भविष्यमा के के गर्नेछु भनी सुनाउनेछु ।’

हमिदले सोचिरहेको थियो र सोचिनैरहेको थियो । यत्तिकैमा पछाडिबाट ऊतर्फ आइरहेको पदचाप सुनियो । आफ्नै कोठाअगाडि यसरी उभिएको कुरामा अरुले कुनै विविधखाले शंका नगरुन् भनेर उसले तत्काल ढोका धकेल्यो र भित्र छिर्यो । उसले देख्यो, उसकी पत्नी बालबालिकाका साथ बसेर कुरा गरिरहेकी थिई ।

हमिदले सोध्यो, ‘आमा, खै ?’

‘तिम्री आमा ?’

‘अँ, मेरी आमा नि ! के तेरी आमाको कुरा गरेको हुँ र ? मैले भर्खरै आमासँग तँ कुरा गरिरहेको सुनेको थिएँ ।’

हमिदकी पत्नीले विस्यमपूर्वक लोग्नेलाई हेरी, ‘हैन के भयो आज यी बूढालाई !’

हमिद केही बोल्न सकेन । उसलाई लाग्यो, ‘आज अलि बढी नै थाकियो कि क्या हो ! अब घुप्लुक्क सुत्नुपर्छ ।’

(हिन्दी पत्रिका कादम्बिनी मासिककाे २००१ फेब्रुअरी अंकबाट साभार)