पाइलाबाट पाइलासम्म फैलिएको जीवनको कथा नै हो यात्रा । शायद यस्तै भएर होला हामी अर्थात् म र सविना यसपटकका सहयात्री । पुग्ने लक्ष्य थियो नर्थ एबीसी ।

भनिन्छ, “यात्रा बाटो मात्र हेर्ने हैन, त्यो त अनुभवको अनुपम सङ्ग्रह पनि हो ।” त्यसैले यसपटक दशैँ–तिहार बिदाको बीचको समय अर्थात् असोज ३१, कार्तिक १ र २ गते हामीले हाम्रो गन्तव्यको यात्रा तय गर्यौँ – नर्थ एबीसी ।

पोखरा बसेको पनि १७ वर्ष पूरा भएर १८ वर्षमा शुरु हुँदै छ । पोखरा वासस्थानबाट बिहान पहिले उठ्नेबित्तिकै हिमाल कति हाँसेको छ भनेर हेर्ने बानी अझै पनि गएको छैन । सेती नदीको खोँच नजिकै महेन्द्रपुल नजिकै रहेको सैनिक स्कुलबाट साँझ ४:३० बाट हाम्रो यात्रा आरम्भ भएको थियो । साँझको यात्रा बाग्लुङ बसपार्कमा पुगेर एउटा ईभी (EV) भ्यानमा बेनीसम्मको यात्रा तय गरी गाडीमा चढियो ।

भ्यान निर्धारित समयभन्दा केही ढिलो हिँडे पनि त्यसले समयमा पुर्‍याउनेमा हामी निश्चित थियौँ । बाटोमा गाडीभित्रको गीतको चर्को स्वरले हामी सबैलाई सताइरहेको थियो भने चालक र सह-चालक त्यसको आनन्दमा रमाइरहेका थिए । उनीहरूको बानीबेहोरा पनि खासै राम्रो लागेन ।

लुम्ले नजिकै उनीहरूको खाजा खाने ठाउँमा खाजा खाएर भ्यान पर्वतको कुश्मा बजार पुगेपछि बेनी जाने हामी दुई मात्र देखेपछि गाडीको चार्ज सकियो भनेर हामीलाई त्यहीँ छोडेर भाग्न खोज्यो । केहीबेर हाम्रो प्रतिकारपछि अर्को बसमा हालेर पठाइदियो र हामी निर्धारित समयभन्दा एक घन्टा जति ढिलो तातोपानी पुग्यौँ ।

तातोपानीको होटेलमा हामी रातबास त्यहीँ बस्यौँ । बिहान ६ बजे नै हामीलाई हुमखोलासम्म लैजाने जिप आइसकेको थियो । हामी दुई र त्यहीँबाट भेटिएका धुलिखेल निवासी सुशील श्रेष्ठका बाबु–छोरा गरी चार जनाले उक्त जिप आठ हजार रुपियाँमा रिजर्भ गरेर हुमखोलासम्मको बाटो तय गर्यौँ । बाटोमा देखिएका सुन्दर प्राकृतिक सौन्दर्य र गुरुजीबाट ती ठाउँका बारेमा बताउँदै करिब २:३० घन्टाको यात्रापछि हुमखोला पुगियो । सडक साह्रै अप्ठ्यारो थियो । नीलगिरि नदीमा बनाएको हाइड्रो पावरले आफ्नो कामको लागि बनाएको बाटो रहेछ त्यो ।

हुमखोलाबाट हाम्रो पदयात्रा शुरु भयो । त्यो यात्रा करिब १६ किलोमिटरको थियो । नीलगिरि नदीको तिरैतिर त्यस नदीको सौन्दर्यता र सङ्गीतको आवाजलाई पछ्याउँदै हामी अगाडि बढिरह्यौँ । कतै नदी लुकेको देखिन्छ भने कतै नदी हामफालेर सुन्दर झरना बनेको देख्न सकिन्छ । अन्यत्रको यात्राभन्दा यताको यात्रा केही फरक थियो किनभने अन्यत्र एकैपटक गन्तव्यमा पुगेपछि मात्र सुन्दरता देख्न/हेर्न पाइन्थ्यो भने यो यात्रामा भने शुरुबाटै सबै प्राकृतिक सुन्दरता हेर्न पाइने ।

हुमखोलाबाट शुरु भएको यात्रा करिब ५० मिनेट हिँडेपछि भने एउटा ठाडो उकालो गुराँसे डाँडामा पुग्यौँ । करिब ४० मिनेट हिँडेपछि उक्त उकालो सकिन्छ र केही बेरको ओरालो हिँडेपछि ठाउँ-ठाउँमा साह्रै डरलाग्दो बाटो आउँछ । ती ठाउँहरूमा कम्तीमा रेलिङ हालिनुपर्ने छ । तल विशाल खोला र भित्ताको सानो बाटो । लालिगुराँस फुल्ने समयमा कति सुन्दर देखिन्छ होला भन्ने कल्पना गर्दै हामी फुतफुते झरनामा पुग्यौँ । करिब ३१३५ मिटरको उचाइमा रहेको उक्त झरनाले त्यहाँ पुग्ने सबैको मन हर्दो रहेछ । त्यसलाई केहीबेर नियाल्दा त्यहाँ पुग्दासम्मको थकान नाश भइसक्ने । नीलगिरि नदीको पानी एकनासले बगिरहेको छ । जसरी नदीहरू आफ्नो लक्ष्यमा पुग्न निरन्तर बगिरहन्छन्, त्यसैगरी मानिसले पनि आफ्नो गन्तव्य नपुगुन्जेल नथाकी काम गर्नु पर्ने शिक्षा लिँदै र केही थान फोटो खिचेर हामी पुनः उकालिन लाग्यौँ ।

फुतफुतेको मधुर सङ्गीत, ताल र लयसँगै हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ । केहीबेरको उकालो पश्चात् पुग्न सकिने ठाउँ साँधीखर्क पुग्यौँ । त्यहाँ चिया/खाजा खाएर र केहीबेर थकाइ मार्दै पुनः यात्रालाई अगाडि बढायौँ । साँधीखर्क करिब ३१६० मिटरको उचाइमा रहेको छ । यो अन्नपूर्ण ४, नारच्याङ, म्याग्दीमा पर्छ । त्यसपछि हामी गुफाफाँट भन्ने ठाउँमा पुग्यौँ । हामीभन्दा अगाडि जानुभएको सुशीलजी त्यहीँ भेट हुनुभयो । हामीले आजको बिहानको खाना त्यहीँ खाने निर्णय गर्यौँ ।

गुफाफाँटमा खाना खाएर पुनः हामीले आफ्नो गन्तव्यलाई छोट्याउन थाल्यौँ । सुशीलजी लगायत अन्यले हामीलाई उछिनेर अगाडि लाग्नु भयो । तर हामी भने ट्रेकिङ हिँड्दा खरायोको होइन कछुवाको चालमा हिँड्ने गर्छौं जसले गर्दा थकान कम लाग्छ । हामीलाई उछिनेर हिँडेका मानिसहरूलाई आराम गरिरहेको अवस्थामा हामीले भेटिहाल्थ्यौँ । भौगोलिक र प्राकृतिक सुन्दरतालाई हेर्दै आजको हाम्रो बास बस्ने ठाउँ बुस्केट मेला भन्ने ठाउँमा हामी पुग्यौँ । त्यहाँ केही मानिस पहिले नै आइपुगेका थिए । हामीले पनि एउटा टिनले छाएको ठाउँमा बास बस्न पायौँ । यो ठाउँ करिब ३५५१ मिटरको उचाइमा रहेको छ । वरिपरि ढुङ्गै-ढुङ्गाको पहाड, बीचमा नीलगिरि नदीको आवाज । कति सुन्दर रहेछ त्यो ठाउँ! नीलगिरि नदीको सुमधुर स्वर, बाटोको सन्नाटा अनि बुस्केट मेलाको रौनकता लाग्थ्यो, जीवनका सबै रङ एकै साथ बुनिएको छ । यहीँ भेट भयो दिपेश केसी र राजेश अधिकारी सर पनि ।

थाकेको हुनाले सातै नबजी हामीले खाना खायौँ । प्रति व्यक्ति खाना खाएको र सुतेको दुई हजारको दरले रहेछ । रातको ११ बजेसम्म पनि मानिसहरू आउने लर्को लागेको थियो । बाहिरको चिसो र भित्रको केही तातो-तातो अनुभव भए पनि रातमा निद्रा खासै परेन । रातको १२ बजेतिर बाहिर निस्केको त खाना खाएको ठाउँमा पनि अटाई नअटाई मानिसहरूको खचाखच भरिएको रहेछ । हामी बिहान ३:१५ तिर नै उठ्यौँ र आफ्नो नित्य कर्म सकेर ४ बजेतिर पञ्चकुण्ड ताल तथा आधारशिविर जानका लागि हिँड्यौँ ।

बाटो अँध्यारो  । शुरुमा हिँड्ने मानिसहरूले बाटो भुल्दा हामी आधा घण्टा अलमलमा पर्‍यौँ  । पहाडको आधा बाटो हिँडेपछि पुनः ओर्लिएर अर्को बाटो हिँड्दा बाटोमा मरीमरी हाँस्यौँ पनि  । अँध्यारो रातमा हिँडेका हामी करीब ७ बजेर ३० मिनेट जाँदातिर पञ्चकुण्ड तालको नजिकै पुग्यौँ  । त्यो हिमालबाट बगेर आएको ताल थियो । धार्मिक-आध्यात्मिक दृष्टिले समेत महत्त्वपूर्ण रहेछ त्यो ताल । त्यो ताल ४०५० मिटरको उचाइमा रहेको छ । पानी जमेको थियो हामी त्यहाँ पुग्दा । साँच्चै त्यहाँको नीलो जलमा वरिपरिका हिमालको छायाँ प्रतिबिम्बित भएको थियो । वरिपरि हिमाललाई आफ्नै आँखा अगाडि देख्दा केहीबेर मौन बसेँ । लाग्यो मौनतामा पनि केही अर्थ हुन्छ । ताललाई आँखाभरि अघाउन्जेल हेरेर केही थान फोटो खिचेँ सम्झनाका लागि । पञ्चकुण्डको तालको पानीमा नुहाउन त सकिएन तर पानीले आफ्ना पूर्वजहरूलाई सम्झँदै जल अर्पण गरें ।

चारैतिरका सुन्दर हिमाल अनि मानव सभ्यताभन्दा अगाडि पृथ्वीको उत्पत्ति हुने बेलादेखि नै बनेर कालिगढले मिलाएर राखेका जस्ता विशाल चट्टानका पहाड । नर्थ अन्नपूर्णको काखमा गएर उभिँदा हावा, पानी, माटो नै पवित्र भए जस्तो लाग्ने । हिमालहरू ज्ञान र तपको केन्द्र पनि हुन् । हिमालमा शक्ति छ । अद्भुत शक्ति । वरिपरि फैलिएका चम्किला अन्नपूर्ण (८०९१), अन्नपूर्ण उत्तर (७५५५), नीलगिरि हिमशृङ्खला, तिलिचो पीक, गङ्गापूर्ण र टाढा देखिने माछापुच्छ्रे! आहा! त्यो हृदय जित्ने जादु भरिएको हिमालको मुस्कान । यी सबैले आ-आफ्नै भाषामा भनिरहेका थिए, हिमाल हेर्न पुग्नु भनेको हिँडाइ मात्र हैन आफूले आफैँलाई भेट्नु पनि हो । यहाँ हिउँ, हावा, नदीसँग पनि आत्मीय भेट गर्न पाइन्छ अनि आत्मसन्तुष्टि मिल्छ । फर्कँदा जीवनमा पहिलो पटक प्रत्यक्ष हिउँ पहिरो गएको पनि हेर्ने अवसर प्राप्त गर्यौँ ।