बाल यौन हिंसा अथवा यौन दुर्व्यवहारबारे केही तथ्याङ्क:
विभिन्न अध्ययनअनुसार हरेक १० जना बच्चाहरुमा एक जना बच्चा १८ वर्ष उमेर पुग्नु अगावै यौन हिंसाको शिकार हुन पुग्छन्। जति पनि बच्चाहरु यौन हिंसाको शिकार हुन्छन्, त्यसको २० प्रतिशत ८ वर्ष कम उमेरका हुन्छन्। यौन हिंसाबाट पीडित ६० प्रतिशत बच्चाहरु सोही प्रकरण बारे केही बोल्दैनन्। त्यसैगरी अर्को रोचक तथा- अधिकांश यौन दुर्व्यवहार गर्नेहरु बच्चा र परिवारको लागि परिचित अनुहार नै हुन्छन्। यस्तो अवस्थामा बच्चाहरुलाई यौन हिंसाबाट कसरी सुरक्षित राख्ने?
बालबच्चाहरुलाई यौन हिंसाबाट सुरझित राख्नका लागि सेक्सुअल ग्रुमिंग (यौन ग्रुमिंग) बारेमा ज्ञान
हुनु अत्यावश्यक छ। यौन शिकारी, अपराधी अथवा बाल दुर्व्यवहार गर्नेहरुले कुनै पनि बच्चालाई यौन दुर्व्यवहार गर्नु अगाडि तयारी स्वरुप केही निश्चित व्यवहार देखाउने गर्छन्। त्यसैलाई यौन ग्रुमिंग भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा, यौन दुर्व्यवहारका लागि गरिने पूर्व तयारी नै यौन ग्रुमिंग हो। विभिन्न अध्ययनअनुसार यौन ग्रुमिंग प्रक्रिया निम्न चरणमा पूरा हुने गर्छन्:
पहिलो चरण: एक बच्चा लक्षित गर्नु
यस चरणमा बच्चा छनोट प्रक्रिया सुरुवात हुन्छ। अपराधीहरु निश्चित प्रकारका बच्चालाई लक्षित गर्छन्। नाबालिगहरु सिधा-सादा हुनाले उनीहरुको नजरमा बढी पर्ने गर्छन्। यौन दुर्व्यवहार गर्नेहरुले शारीरिक सुन्दरता, सहज पहुँच र अतिसंवेदनशीलता आधारमा बच्चा छनोट गर्छन्। जुन घरको परिवार कुलतमा फँसेका छन्, जहाँ घरेलु हिंसा अत्याधिक हुन्छ र बच्चाको रेखदेख पनि कम हुन्छ त्यस्ता
घरका बच्चा अधिक जोखिममा हुन्छन्। त्यसैगरी अपराधीहरु कम आत्मबल, कम आत्मविश्वास र असुरक्षित बच्चाहरुलाई नै आफ्नो शिकार बनाउने लक्ष राख्छन्।
दोस्रो चरण: विश्वास जित्नु, पहुँच बढाउनु
यस चरणमा बच्चा तथा परिवारको विश्वास जितेर पहुँच बढाउने प्रयत्न हुन्छ। यौन शिकारीले बच्चाको अवलोकन गर्छ। बच्चाको अवस्था र आवश्यकता बुझ्ने कोसिस गर्छ। यसको लागि विविध प्रश्न गर्छ। साथसाथै बच्चाको विश्वास जित्न केही कार्य गर्छ। जस्तैः उपहार दिने, कसम खाने, बाहिर घुमाउन लैजाने, व्यक्तिगत ध्यान दिने, गोप्य कुरा भन्ने, गेम खेल्ने, व्यक्तिगत जीवन बारेमा चर्चा गर्ने। त्यसैगरी किशोर अवस्थाका बच्चाको लागि चुरोट, रक्सी लगायत लागूऔषधि उपलब्ध गराउने आदि। यदि अभिभावकबाट अवरोध भए यौन शिकारीले उल्टै बच्चालाई दोष लगाउँछ। बच्चाले नाटकबाजी गरेको
वा झुटो बोलेको भनेर तर्क गर्छ। यौन अपराधीले बच्चाको सुरक्षा कवच उतार्न वा विश्वास जित्न सफल भएपछि यसको बदलामा केही चीज अपेक्षा राख्छ। यो प्रक्रिया निर्दोष स्पर्श वा अँगालोबाट सुरु हुन्छ। बच्चालाई के हुँदै छ भन्ने कुरामा कुनै चेतना हुँदैन।
तेस्रो चरण: आवश्यकता परिपूर्ति गर्नु
यस चरणमा यौन अपराधीहरुले आफू संवाद र समय बिताउनको निम्ति निकै सुरक्षित र उपयुक्त व्यक्ति रहेको पुष्टि गर्छन्। यतिमात्र होइन, बच्चाको सम्पूर्ण आवश्यकता पूर्ति गरेर आफ्नो महत्व बढाउन समेत सक्षम हुन्छन्। यस क्रममा उनीहरु केही कार्य गर्छन्। जस्तैः मोबाइल दिने, खाना खुवाउने, रेखदेख गर्ने, गाडीमा यात्रा गराउने, पार्टीमा निमन्त्रणा दिने, मित्रवत व्यवहार देखाउने, प्रेम अनुभूति दिलाउने, भावनात्मक सहायता दिने आदि।
चौथो चरण: बच्चालाई अलग गराउनु
यस चरणमा अपराधीहरु बच्चालाई परिवारबाट अलग गराउन उद्धत रहन्छन्। परिवार निकट अपराधीहरुले सहजै बच्चासँग नजिक हुने अवसर पाउँछन्। अध्ययनअनुसार ४१ प्रतिशत अपराधीहरु बच्चाको सुत्ने कोठामा प्रवेश गर्न सक्छन्। यद्यपि परिवार बाहिरका अपराधीहरुले भने सहजै बच्चासँग नजिक हुने अवसर प्राप्त गर्दैनन्। त्यसैले उनीहरु बच्चालाई खाली कक्षा कोठा, लकर कोठा, होटलको कोठा र एकान्त ठाउँमा भेट्न प्रेरित गर्छन्। धेरैजसो अपराधीहरु यस्तो कार्यमा महारत प्राप्त गरेका हुन्छन् जसकारण उनीहरु सजिलै बच्चाको नजिक हुन पुग्छन्। केही उदाहरणहरू: शिक्षक, प्रशिक्षक, गाडी चालक, मनोपरामर्शदाता, समाजसेवी आदि। उनीहरु बच्चालाई भौतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा पनि परिवार र अरु सहयोग नेटवर्कबाट अलग गराउन कठिन मिहिनेत गर्छन्।
त्यसैगरी उनीहरु सम्बन्ध विशेष रहेको र गोप्य राख्न बढी प्राथमिकता दिन्छन्।
पाँचौं चरण: यौन सम्पर्क राख्नु
यस चरणमा यौन अपराधीहरुको मुख्य मनोभावना भनेकै बच्चालाई शारीरिक सम्पर्कमा संलग्न हुन तयार गराउनु हो। यसको लागि उनीहरु बच्चालाई ‘डिसेन्सिटाईजेसन’ को प्रक्रियामा लैजाने कोसिस गर्छन्। मनोविज्ञानमा ‘डिसेन्सिटाईजेसन’ भनेको बच्चालाई असंवेदनशील बनाउने प्रक्रिया हो। बच्चालाई असंवेदनशील बनाउन निम्न तरिकाको प्रयोग हुन्छ।
· यौन, संवेदनशील अंगको विषयमा संवाद गरेर
· अश्लील फोटो र भिडियो सेयर गरेर
· यौन अपराधी र बच्चा नाङ्गै हुने अवस्था सिर्जना गरेर
· निर्दोष स्पर्श गरेर
· अँध्यारोमा लुकामारी खेलेर
· भौतिक खेल खेलेर आदि।
जब बच्चा पूर्ण रुपमा असंवेदनशील हुन्छ, त्यसपछि यौन अपराधीहरुले उपयुक्त समय हेरेर बच्चासँग शारीरिक सम्पर्क राख्ने भोक मेटाउने गर्छन्।
छैठौं चरण: बच्चालाई नियन्त्रणमा राख्नु
यो चरण भनेको यौन दुर्व्यवहार भइसकेपछिको चरण हो। यस चरणमा अपराधीहरुले बच्चालाई निकट भविष्यमा पनि यौन क्रियाकलापमा संलग्न गराउन, बच्चा र परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न धैरै किसिमका भावनात्मक कार्ड (चालबाजी) अंगिकार गर्छन्। केही माथि संक्षेपमा वर्णन गरौँ।
· बच्चालाई नै दोष लगाउनु: अपराधीहरुले बच्चालाई भन्छन्, ‘यो सम्बन्ध तिम्रो चाहना र प्रेरणा कै कारण भएको हो। यसमा तिमी पनि
त सन्तुष्ट भयौ। त्यसैले तिमी नै बढी जिम्मेवार छौ।’
· डर देखाउनु: यदि अभिभावकले थाहा पाए उहाँहरु निकै दुःखी र चिन्तित हुने भनेर अपराधीहरु बच्चालाई डर देखाउने गर्छन्।
· धम्की दिनु: दुर्व्यवहारको रहस्य खोले कसैले नपत्याउने र अन्ततः तिमी नै समस्यामा फँस्छौ भनेर अपराधीहरु बच्चालाई धम्की दिने गर्छन्।
· हिंसा बढाउनु: अपराधीहरु शारीरिक बल प्रयोग बढाउँछन्। परिवार खतरामा हुन सक्ने कुरा गर्छन्।
· भ्रम छर्नु: अपराधीहरु बच्चालाई यसो भन्छन्, ‘त्यो सबै अचानक भएको हो। त्यसलाई सामान्य व्यवहारको रुपमा लिनुपर्छ।’
यसरी यौन अपराधीहरु बच्चालाई नियन्त्रणमा राख्न सफल हुन्छन्।
केही सुरक्षा विधि
यौन ग्रुमिंग प्रक्रिया बारेमा हामीले बुझिसकेका छौँ। अब सोही बुझाइको आधारमा सुरक्षा विधि प्रतिपादन गर्न सकिन्छ। क्लिनिकल मनोवैज्ञानिक एलिजावेथ एल. जेगलिक अनुसार बच्चाहरुलाई यौन हिंसाबाट सुरक्षित राख्न निम्न सुझाव, विधि प्रभावकारी हुन सक्छन्:
· बच्चालाई कुनै पनि वयस्क पुरुषसँग एक्लै बाहिर जान, मध्यरातसम्म बाहिर घुम्ने अनुमति नदिनुस्। ती पुरुष साख्य परिवारको सदस्य होइन वा टाढाको नातेदार हो भने झन् धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ। यदि बच्चाले ढिपी कसे साथमा एकभन्दा बढी परिवारको सदस्य, नातेदार वा बच्चाको अरु साथीलाई पनि पठाउनु उपयुक्त रहन्छ।
· अहिले बच्चाहरुलाई पनि फोन चलाउने, सामाजिक सञ्जाल प्रयोग गर्ने सुविधा उपलब्ध छ। यस्तो अवस्थामा उनीहरुले वयस्क पुरुषबाट
व्यक्तिगत म्यासेज वा इमेल प्राप्त गर्नु राम्रो संकेत होइन। यदि कुनै कोच वा शिक्षकले संवादको लागि फोन म्यासेज प्रयोग गर्छन् भने त्यो म्यासेज सम्पूर्ण विध्यार्थी वा अभिभावक समूहमा पनि संचार हुनु आवश्यक छ।
· घरमा गोप्यतालाई प्रोत्साहित नगर्नोस्। रहस्य गुपचुप राख्ने होइन खुलस्त रुपमा प्रस्तुत गर्ने वातावरण सिर्जना गर्नोस्। अपराधी वयस्क पुरुषले बच्चालाई अभिभावकबाट सम्पूर्ण कुरा गोप्य राख्न जोड दिन्छ। यो सरासर गलत हो, अभिभावकले सबै कुराको जानकारी पाउनुपर्छ र जानकारी जस्तो सुकै प्रकृतिको भएपनि कत्तिपनि नरिसाउने कुरा आफ्नो बच्चालाई पूर्ण बुझाउने गर्नोस्।
· जब बच्चाहरु बुझ्ने उमेरका हुन्छन् उनीहरुलाई यौन ग्रुमिंग प्रक्रिया बारेमा ज्ञान दिनुस्। यदि कुनै पुरुषको गतिविधिले असहज महसुस भए
तत्काल प्रतिरोध गर्न र सोही बारे परिवारलाई जस्ताकोतस्तै बताउन भन्नोस्। यस मामिलामा परिवारले सधैँ बच्चाको विश्वास गर्ने, समस्याहरु गम्भीरतापूर्वक लिने र साथ दिने कुरा स्पष्ट राख्नोस्।
· तपाईंको बच्चाप्रति विशेष चासो राख्ने वयस्कहरु देखि सावधान रहनोस्। कोच वा शिक्षकले क्षमतावान् बच्चालाई उपहार, पुरस्कार दिनु गलत होइन। तर त्यो उपहार, पुरस्कार सम्मान स्वरुप दिएको हुनुपर्छ। अरु बच्चाहरुको उपस्थितिमा दिएको हुनुपर्छ।
· तपाईंको बच्चालाई अनावश्यक रुपमा छुने वयस्कहरुप्रति सचेत रहनोस्। केही खेल वा गतिविधिमा प्रशिक्षकले बच्चालाई छुनु आवश्यक पर्छ। यद्यपि बच्चालाई उपयुक्त स्पर्श बारेमा ज्ञान दिनु बुद्धिमानी रहन्छ। यदि कुनै वयस्क व्यक्तिले असहज महसुस हुनेगरी स्पर्श गर्छ र
त्यसो नगर्न अनुरोध गर्दा पनि सुन्दैन भने? यस्तो परिस्थितिमा बच्चालाई आफूले भोग्नु परेको सबै कुरा निर्धक्कसाथ प्रस्ट रुपमा परिवार समक्ष व्यक्त गर्न सहजीकरणको भूमिका खेल्नुस्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।