‘यो संसार एउटा रङ्गमञ्च हो, सबै महिला एवं पुरुष नाटकका पात्रहरू हुन् । मञ्चमा आनाजाना चलिरहन्छ । एउटै व्यक्ति आफ्नो जीवनमा अनेकौँ भूमिकाहरू निभाइरहेको हुन्छ ।’ —विलियम शेक्सपियर

एकैक्षण शेक्सपियरको यो रङ्गमञ्चीय भावलाई किनारमा छोड्दै प्रवेश गरौँ डाक्टरी पेशातर्फ । डाक्टर पदवी आफैँमा एउटा बडो संवेदनशील र उच्चतम मर्यादा बोकेको कर्मको पद हो । जोसुकैले यो पद चाहेर या रहर गरेर प्राप्त गर्ने पनि होइन । तर यसो भन्दै गर्दा हाम्रो देशमा अनेक रूप र रङ भएका डाक्टरहरू सुनिन्छन्, देखिन्छन् र आफ्नै जीवनसँग ठोक्किन आइपुग्छन् ।

कसैकसैलाई त नामका अगाडि डा. जोड्न पाउँनु नै बडो चामत्कारिक पनि लाग्दो हो । यस्तै पात्र सम्झिने क्रममा म मेरा एकदमै निकटतम् एक व्यक्तित्वको कहिलेकाहीँ दर्शन पाउँछु । नाताले उनी मेरा आफन्त पनि पर्छन् । कुनैबेला तिनले एउटा बोर्डिङ स्कूल खोलेका थिए । त्यो पनि विदेशी डोनरका नाममा । सौभाग्यवश नौ र दश कक्षा मैले उनकै विद्यालयमा पढ्ने अवसर पनि पाएको हुँ । त्यतिबेला उनले आफ्नो नामको अगाडि त्यो डा. पद थपेका थिएनन् । म पनि उनलाई आदरणीय गुरुका रूपमा स–सम्मान लिने गर्थेँ । पढाउँदा पनि विविध उखानटुक्का, गीत र कविता जोड्दै बडो आकर्षक ढंगबाट विद्यार्थीहरूलाई आफ्नो कब्जामा लिन्थे उनी ।

मोहनप्रकाश

मैले एसएलसी दिइसकेको केही वर्षपछि उनले आफ्नो नामको अगाडि डा. पदवी थपेछन्, तर त्यो पदवीको भारी बोक्न नसकेर हो या पदवीको घमण्डले हो अथवा अन्य कुनै कारण म भन्न सक्दिनँ, दिन प्रतिदिन आफ्नो निश्चित घेरोबाट ती डाक्टर साब झर्दै र गिर्दै गए । लोभले उनलाई यतिसारो गाँज्यो कि नोटभन्दा पर उनले सोच्नै सकेनन् । त्यो डाक्टर पदलाई समेत धितो राखेर नोटको भकारीमा उनी डुब्दै गए । करोडौँको हाराहारीमा सम्पत्ति पनि जोडे, तर इज्जतमा दिनप्रतिदिन धमिराले गुँड लगाइरह्यो । डाक्टर पदवीले हरेक जसो कार्यक्रमका मञ्चमा विराजमान हुने सौभाग्यसमेत उनको अकर्मण्यले हरेर लग्यो । र, अन्तत्वगोत्वा आफ्नै विद्यार्थीहरूले गरेको कार्यक्रममा समेत उनी सामान्य सहभागीमा मात्र सीमित भए । मञ्चमा विराजमान हुने सौभाग्य उनको सदासदाका लागि अन्त्य भयो । र, कार्यक्रमका आयोजकलाई नै नानाभाँती गाली गरेर कार्यक्रमहरू बिथोल्ने प्रयासमा लाग्न थाले ।

आजका दिनमा बहुसंख्यक डाक्टरसाबहरूको हालत यस्तै छ । नक्कली डाक्टरहरूको यस्तै बिगबिगी छ । वर्षौँदेखि रोगले थलिएर अस्पताल पुग्दा पनि रोग पत्ता लाग्दैन । पत्ता लागेको रोगको डाक्टरले नै लेखिदिएको औषधी खाँदा पनि रोग निको हुनुको सट्टा झन्झन् बल्झिएर विकराल अवस्थामा पुगेको म आफैँ एउटा उदाहरण हुँ । केही महिना अगाडिको मात्र मेरो एउटा भोगाई छ । मेरी श्रीमती तीन महिनादेखि घुँडो दुखेर राजधानीकै एउटा प्रतिष्ठित सरकारी अस्पतालमा पुगेकी थिइन् । डाक्टर साबले सम्पूर्ण जाँच गरेर दिएको औषधि र मल्हम एक महिनासम्म लगातार प्रयोग गर्दा पनि दुखाई जिउँकातिउँ थियो । दुखाई एक मिलिमिटर पनि कम भएन, बरू झन्झन् बल्झिरह्यो । पुनः हामीले अर्को अस्पताल जाने निर्णय गर्यौँ । र, राजधानीकै अर्को एउटा सरकारी अस्पताल पुग्यौँ । तर, घटनाले १८० डिग्री कोल्टे फेर्यो । औषधि प्रयोग गरेको भोलिपल्टै दुखाईले कुलेलम ठोक्यो । तीन दिनमा त उनी दौडन सक्ने भइन् । परिवारमा खुशीको रङ छायो ।

यही मेसोमा म अहिले डाक्टर गोविन्द केसीलाई सम्झन्छु । नक्कली डाक्टरको बिगबिगी रहेको हाम्रो देशमा सर्वसुलभ स्वास्थ्य र मेडिकल माफियाहरूको विरुद्ध आफ्नो ज्यान खतरामा राखेर तिनले अहिले १९ औं पटक आमरण अनशन छेडे । तर स्वस्थ्यले साथ नदिएर उनी आफैं अहिले अस्पतालको बेडमा छन् । यस्तै सर्वसुलभ स्वास्थ्यको लागि अनशन गर्दा बारम्बार अस्वस्थ्य सरकारले कागजमा हस्ताक्षर गर्थ्यो । र, माग पूरा भएको ढोंग गर्दै जुस पिलाउँथ्यो, तर यथार्थ भने जस्ताको त्यस्तै । डाक्टरसाब पुनः अनशन बस्थे अकर्मण्य नेताहरू उही पुरानै ढर्रा गर्थे फर्किन्थे, तर गोविन्द केसीलाई उनीहरूको त्यो नक्कली कागजातप्रति पटक्कै विश्वास लाग्दैन थियो । र, पुनः उनको अनशन आजपर्यन्त जारी छ ।

यहाँ बिहान घरबाट निस्केदेखि कामबाट बिदा भएर घर नपुगुन्जेल एउटा नागरिकको दर्जनौं विकृतिसँग जम्काभेट भैरहन्छ । एउटा सर्वसाधरण त दिनमै दर्जनौं पटक अनेकौ ठाउँमा ठगिन्छ, लुटिन्छ र कर्मनिष्ठ हुँदाहुँदै पनि जिन्दगीदेखि हार खाएर कुलतमा फस्छ । एउटै रुटमा कैयौंचोटी बस चढ्ने व्यक्तिलाई समेत बसको कण्डक्टर ठग्नै खोज्छ । त्यही रुटमा एउटाले बीस रुपैयाँ भाडा काट्छ । अर्कोले पच्चिस रुपैयाँ काट्छ । फिर्ता पैसा माग्दा भाडा २२ हो फिर्ता ३ रुपैयाँ खुद्रा छैन भन्छ । जुनसुकै सार्वजनिक यातायातमा चढ्दा पनि यस्तो दिन छैन जहाँ कन्डक्टरको कुनै न कुनै यात्रुसँग झगडा नपरेको होस् । यो त एउटा उदाहरण मात्र हो । बिजुली अड्डा होस् या नगरपालिका, खानेपानी होस् वा यातायात, पैसा तिरेर फिर्ता माग्यो २/४ रुपैयाँ त फिर्तै आउँदैन । माग्यो खुद्रा छैन । कति सजिलो छ, यी अड्डामा जनता लुट्नलाई । ती हजारौं सेवाग्राहीका २/४ रुपैयाँ भेला पार्दा मात्र पनि कति जम्मा हुँदो हो दैनिक ! नियम–कानुन र जवाफदेही कहाँ गयो ? सयौं, हजारौंका त कुरै छाडौं । पैसा–पैसामा लुटतन्त्र र नक्कली कारोबार पाइला–पाइलामा लुकेकै छ । टिकेकै छ । कुनै न कुनै रूपमा मौलाएकै छ ।

पुनः जोडौं यहाँ डाक्टर केसीलाई । उनका सन्तान छैनन् । डाक्टर साबको जागिरबाट आएको तलब समेत बिरामी या आपतविपद् र महामारीमा परेका सर्वसाधरणलाई औषधि बाँडेर सिध्याउँछन् । गरिबका छोराछोरीलाई डाक्टर बनाउने सपना बुन्छन् । त्यसैका लागि अनशन बस्छन् । जनताको दुईतिहाई मत पाएको सर्वहारा वर्गको नेतृत्व गर्ने सरकार उनलाई अनशन तोड्न धम्की दिन्छ । नमाने प्रहरीले लाडीचार्ज गर्छ । मन्त्रीहरू उनलाई झुटको पुलिन्दा मान्छन् । र, सरकार भन्छ– ‘तिमीहरूजस्ताको माग पूरा गरेर के हुन्छ ? बरू राष्ट्रवादका नाममा जालझेली सपना मात्र बाँडे अर्कोचोटी पनि दुईतिहाई मत पाउने सम्भावना छ । आखिर नेपाली जनतालाई सपना बाँडे पुगिहाल्छ । बिजुलीका पोल र घरका छानाछानामा होर्डिङबोर्डबाटै हामी नयाँयुगको सुरुवात गर्न सक्छौँ ।’

तर, यस्ता धम्कीबाट डाक्टर केसी के हच्कन्थे ! न त उनीसँग कुनै नक्कली सर्टिफिकेट छ । न आफ्नो कर्मबाट कसैलाई ठग्ने सोच या कुनै आलिशान महलमा सुस्ताउने अभिप्सा छ । छ त सिर्फ एउटा कोठा र हिँड्न साथ दिने एकजोर गोल्डस्टार जुत्ता । आफ्नो मार्ग नै धरातल हो भने धूलोसँग के को डर ? डाक्टर केसी बधाई छ तपाईंलाई ! आफ्नो जुत्ता फाटुन्जेल रगड्नुस् । तपाईंको मार्गमा तीन करोड नेपाली आउने छन् । अब धरातल भुलेर सपनाको खेती गर्नेहरूका पछाडि छ भने सिर्फ धङ्धङी बाँकी छ । डाक्टर पदको भारी बोक्न नसक्ने नक्कली डाक्टरहरूको बोझजस्तै त्यो धङ्धङी समयले नै स्खलित गर्ने छ । नक्कली पदवी र हावामा कावा खानेहरूलाई पाता कस्ने सचेत युवा जमात तयार भैसकेको छ । यिनले हरेक सत्यपथलाई साथ दिने छन् ।

शेक्सपियरले भनेको शब्दावली पुनः यहाँनेर जोड्नु उपयुक्त होला– ‘संसार रङ्गमञ्च हो, हामी सबै त्यसका पात्र…।’ अनेक किसिमका पात्रहरूसँग जम्काभेट गर्नु नै छ । भोग्नै छ । लड्नै छ । भिड्नै छ । करिबन एक वर्षअघि राजधानीको शिल्पी थिएटरमा कुमार नगरकोटीकृत ‘बाथटव’ नामक नाटक मञ्चन भएको थियो, जसमा सिरियलकिलर नामको एउटा पात्रको संवाद थियो– ‘तिम्रो टाउकोमाथि शून्यवादको चिहान छ । र, पैतालामुनि छ अस्तित्ववादको चिहान । बिस्तारै–बिस्तारै अलि समालेर पाइला चाल अनिद्रा (जनता) । किनभने यहाँ साम्यवादको चिहान छ । र, त्यहाँ छ अधिनायकवादको चिहान । ऊ त्यो पर्खालबाहिर पुँजीवादको चिहान छ । अनि ल्याम्पपोष्टमुनि छ औपनिवेशवादको चिहान । आँखा खोली हेर त अनिन्द्रा ! तिमी वरिपरि कति धेरै चिहान छ । गन्दै जाऊ र गुन्दै जाऊ अनिन्द्रा । हामीले कति धेरै चिहान खनेका छौं ।’
‘बाथटव’ नाटकमा जम्मा तीन पात्र मात्र थिए । निशब्दसमशेर, सिरियलकिलर र अनिद्रा । निशब्दसमशेर प्रख्यात लेखक थिए तर स्वभाव शासकको जस्तो थियो । सिरियलकिलर अनिद्राको प्रेमी थियो तर विद्रोही स्वभावको थियो भने अनिद्रा निशब्दसम्शेरकी टाइपिस्ट र सिरियलकिलरकी प्रेमिका थिई तर स्वभाव एउटा नागरिकको जस्तो, एउटी सचेत यौवना । निशब्दसम्शेर अनिद्रालाई हातखुट्टा सिक्रीले बाँधेर राख्थ्यो । सिरियलकिलर वास्तवमा कथाको पात्र थियो । ऊ एकदिन अचानक निशब्दसम्शेरको कथाबाट विद्रोह गरेर फुत्त उसकै अगाडि निस्किन्छ । उसको विद्रोही स्वभावबाट प्रभावित भएर अनिद्रा प्रेममा पर्छे । अन्ततः सिरियलकिलर प्रधानमन्त्रीको अधिनायकवाद खप्न नसकेर उसको हत्या गर्न निस्किन्छ । र, यता अनिद्राले निशब्दसम्शेरको टाउकोमा गोलीले छेड्छे उता सिरियलकिलरले प्रधानमन्त्रीको । यसरी सिरियलकिलर अर्थात् एउटा विद्रोही युवा र अनिद्रा अर्थात यौवना नागरिकको एकाकार हुन्छ ।

सत्याग्रहीसँग कलाकार

सोलिडारिटी फर डा.केसी अलायन्सले यही असोज १४ गते बेलुका ४ बजे पाटन दरबार स्क्वायरमा ‘सत्याग्रहीसँग कलाकार’ शीर्षकमा एउटा कार्यक्रम आयोजना गर्याे । उक्त कार्यक्रमको संयोजक प्रितम सुवेदीले कार्यक्रम र डा. गोविन्द केसीका मागका बारेमा उपस्थित दर्शकलाई जानकारी दिएका थए भने अधिवक्ता तथा अभियान्ता ओमप्रकाश अर्यालले डा. केसीको अभियानका बारेमा थप चर्चा गरेका थिए । त्यसपछिको प्रस्तुति थियो शिल्पी थिएटरका कलाकारहरूको– सत्ताको अश्लीलता !

एकाएक पाटन दरबार स्क्वायरमा तबलाको ताल गुञ्जन थाल्छ । संगीत संयोजन गर्दै थिइन्, शिल्पीकै कलाकार पवित्रा खड्का । उक्त तबलाको तालसँगै दौरासुरुवाल र ढाका टोपी लगाएका एक कलाकार र टाइसुटमा सजिएका अर्का एक कलाकार मञ्चभित्र छिर्छन् । मञ्चमा रहेको एउटा कार्टनभित्रबाट डोरीले बुनिएका मानिसका खुट्टाहरू निकाल्दै ती दुई कलाकार एउटा गोलाकार आकृतिको निर्माण गर्छन् । र, बिस्तारै मञ्चमाथिको डबलीमा राखिएका दुई कुर्सीमा आमने सामने भएर बस्छन् । उनीहरू बिस्तारै कुर्सी साटासाट गर्छन्, मानौं त्यहाँ दुई कमरेडहरू कुर्सीको खेलमै रमाइरहेका छन् । ती दुवै शिल्पीकै कलाकारहरू मोहनप्रकाश र गोविन्द ओली थिए । उक्त खेल चलिरहेकै हुन्छ पृष्ठभूमिमा । त्यसपछिको प्रवेश हुन्छ चित्रकार रवीन्द्र श्रेष्ठको । उनी मञ्चमा फैलाइएको कालो कपडामाथि विभिन्न रङहरू पोख्न थाल्छन् । सङ्गीत चलिरहेकै हुन्छ । त्यससँगै मञ्चमा प्रवेश हुन्छ शिल्पीकै कला निर्देशक घिमिरे युवराजको । प्रतिस्थापन कलाको रूपमा मञ्चमा पोखिएको रङमा लतपतिदै उनी आफैं अभिनयमा पोखिन्छन् । पृष्ठभूमिमा सङ्गीतसँगै वाचन हुँअदैछ, उनकै कविता सिर्जनाः

…आम नागरिक पुग्ने सरकारी विद्यालय हेर
सरकारी अस्पताल हेर
र शासकका परिवार जाने अस्पताल हेर
शासकका सन्तान जाने विद्यालय हेर

हरेक क्षण विवेद, हिंसा, बलात्कार र हत्याको योजनाबद्ध षडयन्त्र चलिरहेको छ
यो सबै भयावहका चेपमा बसेर
शासकहरू विलासी जीवन बाँचिरहेका छन्
यस्तो लाग्छ, हरेक दिन बलात्कार भएकी र हत्या भएकी बालिकाको नाममा
शासकहरू क्यबिनेटको मिटिङसँगै उत्सवको आयोजना गर्दैछन्
उपचार नपाएर मरिरहेका सुत्केरी
जन्मन नसकेर मरेका ती कलिला शरीरहरूका नाममा
हेलिकप्टरबाट पुष्प वृष्टि गर्दै भोजको आयोजना गर्दैछन्

यो घिनलाग्दो समयमा मलाई केही रुच्दैन अचेल
हप्तौँ भयो मैले केही नखाएको
म जस्तै हाडमासुले बनेका सारा मानिसहरू
–जो खान पाएका छैनन्
–जो उपचार पाएका छैनन्
–जो शिक्षा पाएका छैनन्
–आङ ढाक्ने कपडा पाएका छैनन्…