विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभिड १९ ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठीक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्धखुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छन् । चियाको चुस्की घुटुक्क निलेर म एक तमासले हेरिरहन्छु । कोठाभरी एकछिन आफ्ना पखेटा फटफटाएपछि कुनै वास्तुविद्ले छनोट गरे झैँ ईशान्य कोणमा पुगेर उनीहरू चिरबिराउँछन् र एकैछिनमा ओझेल पर्छन् ।

चिया पिईवरी म पत्रिकामा आँखा पुर्याउन मात्र के भ्याएको थिएँ, यस्तैमा ती दुई आत्मा अघिकै बाटो चुच्चोमा अलिकति लेसिलो हिलो माटो लिएर आउँछन् । सानो चुच्चो, बाटुला आँखा, खैरो कालो सुलुत्त परेको जीउ, कालो चिल्लो भुवाभित्र सेतो कमेरे पेट, गुलेली आकारको पुच्छर । आहा ! हेर्दै लोभलाग्दो चरा । लच्छिनको बत्ती । झट्ट हेर्दा भँगेरो जत्रै देखिने गौँथली आकाशमा धेरैबेरसम्म उडिरहन सक्छ । गौँथली मलाई अति मन पर्छ । यति मन पर्छ कि सायद त्यति अरू कुनै चरा पनि मन पर्दैन । पालैपालो उनीहरूको आउने जाने क्रम अविराम चलिरहन्छ । मानौँ यो अवधिमा पनि निर्माणको काममाथि सरकारले कुनै अवरोध नगरी निर्बाध गर्न दिइरहेको छ । माथिबाट आकाशवाणी आउँछ – “बाबु ! एकछिन यता आऊ त ।”

झटितीमाथि हेरेँ – आमा ।

[bs-quote quote=”थकान भन्ने शब्द मान्छेको शब्दकोशमा मात्र भएजस्तो । उनीहरू कहिले कहिले चिबे, भँगेराजस्ता वर्ग शत्रुको घेरामा पनि पर्थे । तर, कसो कसो उम्कन्थे पनि ।” style=”style-2″ align=”right” color=”#dd8d16″ author_name=”बी एस नीरव” author_job=”लेखक” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/10/phtt.jpg”][/bs-quote]

आकाशको उत्तरतिर एक दुई डफ्फा बिरालुबुट्टे बादलका केही दलहरू भर्खरै विद्यालयबाट छुटेका विद्यार्थी झैँ दौडिरहेका थिए । हरिया मकैले धानचामल मुखमा लिएर बसेका । बिहानी पखको शीतल हावा विस्तारै चलिरहेको थियो । सूर्यले दुर्लुङको डाँडामाथिबाट धर्तीको सुन्दरता पान गरिरहेको थियो । रेडियोमा सुमधुर गीत गुन्जिरहेको थियो । गौँथलीको जोडी मनमा दृढ सङ्कल्प लिएर नवगृह निर्माणमा तल्लीन देखिन्थ्यो । तन, मन र वचन लगाएका उनीहरूले आधाआधी जति गुँड सक्न बाकीँ थियो । कहिले चारा खोज्थे त कहिले माटो बोक्थे । थकान भन्ने शब्द मान्छेको शब्दकोशमा मात्र भएजस्तो । उनीहरू कहिले कहिले चिबे, भँगेराजस्ता वर्ग शत्रुको घेरामा पनि पर्थे । तर, कसो कसो उम्कन्थे पनि ।

घर बनाउने काममा पोथी गौँथली बढी सक्रिय देखिएकी थिई । सायद घरको जिम्मेवारी पुरुषभन्दा पनि महिलामा हुने मानवीय चरित्र जस्तै । पुरुषवाद प्रकृतिको प्राणी जगत्मा मात्र नभई कण कणमा व्याप्त छ जस्तो । करिब एक सप्ताहसम्म दुवै मिलेर यही प्रक्रिया निरन्तर देहोर्याइरहे । कुमालेको चक्र जस्तै ।

मिहिन माटाले निकै कलात्मक रूपमा सिप्रिङ आकृतिको सुन्दर घर बनाएपछि उनीहरू निकै खुसी देखिएका थिए । घर पूरा भएपछि उनीहरूको रहर पुग्दै थियो । अब उनीहरूले कहिले पहरा कहिले अर्कैको छत त कहिले भत्केका घरको पानी चुहिने दलिन कुर्नु नपर्ने भयो । एक दिन घनघोर झरी पर्दा दुवै निथ्रुक्क भिजेको उनीहरूका मानसपटलमा अझ ताजै थियो ।

जिन्दगीको सपना एउटा राम्रो घर । सानो संसार । त्यही संसारमा एक दुई खुसी भए अरू के चाहियो र ! घर सम्पन्न भएको उपलक्ष्यमा होला सायद भाले भुर्र उड्यो र हेर्दाहेर्दे चुच्चोमा एउटा फूल च्यापेर आयो । आफ्नी राधालाई प्रेमको सौगात थमायो । उसले पनि आफ्ना प्राणवल्लभलाई तातो मुटु सुम्पी । फूलभन्दा ठूलो हार र मुटुभन्दा सुन्दर उपहार केही हुँदैन जस्तो लाग्यो । मान्छेमा हराउँदै गएको संवेदना चरामा देखेपछि अनायासै आँखाबाट दुई थोपा संवेग खस्न पुगेछ । उनीहरूको पनि दुःखमा रुने र सुखमा रम्ने मन हुँदो रहेछ । धन नभएर होइन । धन नभए पनि ठूलो मन नभएको प्राणी निर्धन हुँदो रहेछ । अनन्त खुसीको सर्म्पण गर्दै एकैछिन उनीहरू जिन्दगीको चरम खुसीमा निर्लिप्त भए । दुई छाया विस्तारै एउटै छायामा एकाकार हुँदै गए ।

उत्तरतिर एकाएक कालो बादल उठ्छ, अनि मडारिन थाल्दछ । नीलो आकाशको सुन्दरता पिएर पनि कालो आकाश औँशी जस्तै कालै थियो । पानी नै नपर्दै एक्कासि सबैका आँखा बन्द गराउँदै बिजुली चम्कन्छ । कानै फुट्ने गरी टचङ्ग गर्छ । धर्ती आकाश थर्कमान् हुन्छन् । मेरो आङ जिरिङ्ग हुन्छ । यस्तैमा एक जोडी भँगेराको भिलेन शैलीमा इन्ट्री हुन्छ । आखिर शत्रु कसको हुँदैन र ? उनीहरूलाई पनि शत्रुको कुदृष्टि राहु बनेर आइलाग्यो । कामुक चरा भँगेराले गौँथलीलाई युद्धको हबाला दिँदै लखेट्छन् । गौप्राणी उनीहरू कुनै प्रतिवाद गर्दैनन् । दुवै जोडी तितरबितर भएर बाहिरिन्छन् । म भने आफैँभित्र गहिरिन्छु ।

सानै हुँदादेखि प्रायः गौँथलीको गुँड घरमा भइरहने हुँदा म गौँथलीसँग चिरपरिचित थिएँ । त्यतिबेला आमा भन्नुहुन्थ्यो – “बाबु, गौँथली त लच्छिनको चरा हो । यसलाई सधैँ माया गर्नू । गौँथली हुने घरमा सधैँ लक्ष्मीको बास हुन्छ ।”

यही महान् गीता वचन मेरा अन्तर्हृदयमा यसरी गढेको थियो कि जुन निकाल्नु असम्भव प्रायः थियो । गौँथली खै के चिर्बिराउँदै थिए । घरिघरि अज्ञात शङ्काको नजर यताउति डुलाउँथे । फाट्टफुट्ट उड्दै उनीहरू कनिका टिपिरहेका थिए । म उनीहरूको प्राणीसुलभ क्रियाकलाप हेरेर अपूर्व आनन्द लिइरहेको थिएँ । हेर्दाहेर्दै केही भँगेराहरू आतङ्ककारीको उन्माद बोकेर आए । कठोर चुच्चाले गौँथलीका टाउकामा ठुङ्ग्दै अवतरण गरे अनि उनीहरूले चरिरहेको चारोमा साम्राज्य जमाए ।

उनीहरूलाई के थाहा, चरामा पनि डार्विनको सर्भाइभल अफ फिटेस्ट लागु हुन्छ भनेर । यो संसार टठ्याइँ, बठ्याइँ र फट्याइँको हो भन्ने उनीहरूले बुझ्न सकेनन् । ती भँगेराको अत्याचार त्यत्तिमा मात्र रोकिएन । फेरि आज अर्को एक जोडी साथी बोकेर समूह भीडन्तका लागि आए । उनीहरू निर्णायक युद्धका लागि आएका थिए । भँगेरको विस्तारवाद र साम्राज्यवादी नीति खेप्ने उनीहरू मात्रै थिएनन् । युद्धको जोशमा होस गुमाएका भँगेरा सिधै गौँथलीको गुँडमा पुगे अनि सुरु गरे आफ्नो निर्दयी हर्कत । उनीहरूको क्रूर आक्रमणमा गौँथलीले भाग नै लिएनन् । यति हुँदाहुँदै पनि गौँथलीका एक दुई भुत्ला उनीहरूले लुछ्न भ्याइसकेछन् ।

धर्तीले हिटलरमात्र कहाँ जन्माउँछ र ? अहिंसाको मार्गमा चल्ने महामानव बुद्ध पनि त बनाउँछ । हिंसामा भाग नलिएर उनीहरूले देखाएको बुद्ध दर्शन भँगेराले बुझ्न सक्ने सामथ्र्य राखेन । यसो बाहिरतिर हेरेको पल्लो घरको घरपट्टिले पेटीमा बसेको विचरा माग्नेलाई हकार्दै थियो । लछार्दै थियो । पछार्दै थियो ।

“जा, गइहाल । फोहोरी थाङ्ने ।”, मान्छेको यही अधिनायकवादी चरित्र भँगेरमा सरेको हुन सक्छ ।

त्यसपछि मेरा आर्दश पात्र दुई चार दिनका पाहुना गौँथली कहाँ गए होलान् ? के गर्दै होलान् ? उनीहरूको न्याय कसले गरिदिन सक्छ ? उनीहरूका कलिला रहरहरू कर्कलाको पानी बने । अज्ञात गन्तव्यको यात्रा कहाँ टुङ्गियो होला ? म हेर्छु, आज पनि गुँड उस्तै छ । त्यसको चहक र महक उस्तै छ । कतैबाट फेरि आउँछन् कि भनेर म बेलाबेलामा हेरिरहन्छु । एउटै उत्तर निराशा मात्र हात लाग्छ ।

त्यस गुँडमा गौँथलीको जीवन अझै बाँचेको छ । उनीहरूको तातो याद बोकेर गुँड अझै बाँचिरहेको छ । तर, त्यसको माली भने तिनै युद्धपिपासु शोषक भँगेरा छन् । गौँथलीको गुँडमा भँगेराको राज चलेको छ । उनीहरूले गौँथलीलाई लखेटे तैपनि आजसम्म म त्यो गुँडलाई भँगेरको नभनेर गौँथलीकै गुँड भनिरहेको छु । त्यो कहिल्यै भँगेराको गुँड हुन सकेन । आखिर गौँथलीकै गुँड रह्यो । किनकि, व्यक्ति समाप्त भए पनि उसको सिर्जनामा व्यक्तित्व रहिरहन्छ । कहिल्यै समाप्त हुँदैन ।