
सौम्य शैली तर आक्रामक तथा वैचारिक कविताका लागि कवि मञ्जु काँचुली स्थापित नाम हो । उहाँले सुरुमै स्पष्ट गर्नुभयो– ‘खुसी पार्न कविता लेख्दिन, इमान्दार हुनुपर्छ कविता लेखन, इमान्दार नहुनेले कविता नलेखे हुन्छ ।’ आफ्ना यी मान्यतामा चट्टानी अडान राख्नुहुने कवि काँचुली कवितालाई आक्रामक मात्र होइन इमान्दार बनाउनु पर्छ भन्नुहुन्छ । लेखन खासगरी कविता लेखनमा खास उद्देश्य हुँदैन भन्दै उहाँ सोध्नुहुन्छ जीवनको उद्देश्य के हुन्छ ? ‘जीवनजस्तै हो कविता लेखन’ निष्कर्ष सुनाउनु हुन्छ । जीवन र लेखनलाई उस्तै मात्र होइन अन्योन्याश्रित बताउनु हुने उहाँ यी दुईलाई छुट्याएर न जीवन बुझ्न सकिन्छ न कविता लेख्न सकिन्छ भन्नुहुन्छ । भन्नुहुन्छ–जीवन प्राप्ति हो,कविता समर्पण । समर्पण बिना न जीवन सामर्थक न कविता इमान्दार ।

मञ्जु काँचुली
मञ्जु काँचुलीजसको आँगन र आकाश दुबै साहित्यिक थिए । त्यसैले सोध्नु आवश्यक छैन कहिलेबाट लेख्न थाल्नु भयो ? साहित्य पढ्न थाल्नुभयो । घटनाले पुष्टि गर्छ वि.स.२००४ साल माघ १६ मा जन्मनु भएकी उहाँले २०१७ मै नै लक्ष्मी पदक पुरस्कार प्राप्त गर्नुभएको घटनाले सत्य पुष्टि गरिरहेको छ । झण्डै १२–१३ वर्षमै पुरस्कृत हुने प्रतिभा उहाँलाई पारिवारिक वातावरणले नै दिएको हो । मुर्धन्य साहित्यकार भीमनिधि तिवारी र भुवनेश्वरी तिवारीका पुत्रीरत्न मञ्जु काँचुली तिवारी आफ्नाबारेमा पिता नाटककार तथा कवि भीमनिधिसँगको एक घटना स्मरण गर्नुहुन्छ– एकदिन बुवाले मलाई अस्ताउँदै गरेको घामले रङ्गिएको क्षितिज देखाएर सोध्नु भएछ त्यो के हो नानी ? मैले कहिले पूजा गरेको त कहिले आमाले लगाएको लिली (लाली) भनेछु । बुबाले आमालाई बोलाउँदै भन्नु भएछ ‘छोरी काँचु ठूलो कवि हुन्छे । उसले आकाशको यो विम्बलाई जसरी बुझेकी छ त्यसमा कवित्वभाव रहेको छ ।’ यो कुरा मलाई आमाले सुनाउनु भएको हो । मलाई त खास सम्झना पनि छैन । पिता (दाइ) सँग मञ्जुले स्लेटमा लेख्न सिक्नुभयो । उहाँ भन्नुहुन्छ ‘बुबाले कहिल्यै कविता लेख्न सिकाउनु भएन, कविता सिक्ने र सिकाइने विषय पनि होइन’ तर सहमत हुनुहुन्छ घरायसी वातावरणले उहाँलाई लेखनउन्मुख हुन सहयोग भने गरेको हो । बुवासँग उहाँले नेपाली साहित्य, साहित्यकार, सङ्गीत र आधुनिक कलाबारे धेरै जानकारी लिनुभयो । काँचुलीले सङ्गीत र आधुनिक कलाको हल्का अभ्यास गर्नुभयो । त्यसैले कवि काँचुलीका कवितामा सङ्गीत सुन्न सकिन्छ, कला देख्न सकिन्छ । अङ्गे्रजी साहित्यको गहिरो अध्ययनले काँचुलीलाई विश्व साहित्यको अनुभवमा सहजता दियो । उहाँले किट्स, टी.एस. इलिएट, रवर्ट फ्रस्ट, रस्सेल, शेली, काफ्फा, सात्र्र का कवितामार्फत् विश्व कविताको स्वाद प्राप्त गर्नुभयो र नेपाली पाठकलाई ती स्वाद पस्कँदै आउनु भएको छ । यस्तै गोर्की, लियो टाल्स्टाय, ट्यागोर, अमृता प्रितम, रेमन्ड कार्भर, बेल्टी स्टालिङगरका कथाले उहाँका कथालाई समाजमुखी, नारीप्रधान र हल्का विद्रोही बनाउन सहयोग गरे ।
निरन्तर लेखन उहाँको जीवन नै हो । जीवनका अन्य दैनिक क्रियाकपाल जस्तै हो लेखन उहाँलाई । नवकुञ्जको वर्ष १ अङ्क १ जेठ २०२२ मा पहिलो कविता प्रकाशन गरेर सार्वजनिक हुुनभएकी कवि काँचुली त्यसअघि नै विभिन्न कार्यक्रममा कविता वाचन गरेका दिन सम्झनु हुन्छ । पारिवारिक वातावरण र निरन्तर साधनाको संयोजनले आफ्नो उचाइ निर्धारण गरेको बताउनु हुने उहाँ अहिले पनि लेख्न र पढ्न मै आफ्ना अधिकांश समय सक्नुहुन्छ । कविता र कथामा विशिष्ट पहिचान बनाउनु भएकी सर्जक काँचुलीले दर्जनौँ कृतिमार्फत् नेपाली साहित्य भण्डार भर्नु भएको छ । यस्तै किरणका छालहरू(२०३२), मेरो जीवन मेरो जगत (२०५३) पलकभित्र पलकबाहिर (२०५७) आत्मप्रतीत (२०६१), टु सिष्टर्स (अङ्ग्रेजी २०५४) र अक्षर ब्रह्म (२०७४) जस्ता कविता सङ्ग्रहले नेपाली काव्यकायलाई आकारमात्र दिएका छैनन् । अस्तित्व पनि दिएका छन् । भिन्न प्रसङ्गमा ‘म पूरा, तिमी आधा’ कवितामा कवि काँचुलीले व्याख्या गर्नुभएको ‘आकार र अस्तित्व’ लाई उहाँको लेखनमा पनि प्रतीकात्मक बनाउन सकिन्छ, अर्थात् काँचुलीको लेखन आकार मात्र होइनन्, सङ्ख्या मात्र होइनन्, अस्तित्व पनि हुन् । पृथक पहिचान पनि हुन्, त्यसैले स्वीकार गर्नुपर्छ उहाँका कृतिले नेपाली साहित्यिक भण्डार भरेका मात्र छैनन् । रङाएका छन्, सजाएका छन् र त अस्तित्व देखाएका छन् । आकार मात्र होइनन् ती । सङ्ख्या मात्र पनि होइनन् ।
‘लेखनमा इमान्दार नभई कविता लेख्नुको अर्थ छैन, म कसैलाई खुसी पार्न लेख्दिन तर मेरा कविताले कसैलाई खुसी बनायो, समाज तथा व्यक्ति सुधार, संस्कृति परिमार्जन गर्न स्थापित सोचमा बदलाव ल्याउन सके भने म सफल भएँ । ’
डिल्लीबजार चारखाल(जन्मघर) को चौबाटौ जस्तै चौमुखी प्रतिभाकी धनी सर्जक काँचुलीको अर्को एउटा बाटो र पाटो हो कथाकारिता । केही माया केही परिधि (२०४५), मञ्जु काँचुलीका कथा (२०५३), विश्वामित्रको सुहागरात (२०६२), बेनामका मानिसहरू(२०६४), भातको सपना (२०६९), युद्ध, प्रेम र सुपर इगो (प्रेसमा), चन्द्रमामा हनिमुन (२०७४) कथा सङ्ग्रहमा काँचुलीले आख्यान लेखनमा पनि आफूलाई काँचजस्तै टलक्क र उज्ज्वल बनाउनु भएको छ । उपन्यासको संयुक्त लेखनमा उहाँले ‘आकाश विभाजित’ देख्नुभयो र प्रकाशित गर्नुभयो– ‘आकाश विभाजित छ’ (२०३२) । यस्तै होम (अङ्ग्रेजी अन्तर्राष्ट्रिय लेखन (२०६२), प्रकाशन गर्नुभएकी उहाँले ‘हाम्रा सवालः दाइदाइको सवाल’ वार्तालाप सङ्ग्रह (संयुक्त २०५०) पनि प्रकाशन गर्नुभएको छ । जसमा दाइसँगका अनुभव र अनुभूति छन् । स्थापित सर्जक दिदी डा. बेञ्जु शर्मा र मञ्जुले पिता भीमनिधि तिवारीलाई दाइ भन्नुहुन्थ्यो र उहाँसँगैको वार्तालापलाई सर्जक काँचुलीले कृतिको आकार दिनुभयो । तिवारी नाट्य साहित्यको विश्लेषणात्मक अध्ययन (संयुक्त २०५४) को सम्पादन गर्नुभएकी उहाँसँग दर्जनौं शोधपत्र लेखन तथा थुप्रै पुस्तक सम्पादनको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा प्रथम श्रेणीमा प्रथम उहाँले क्लिनिकल साइकोलोजी, एमएड (अङ्ग्रेजी) र अमेरिकाको आयोआ युनिभर्सिटीबाट ग्राजुएशन अन क्रिएटिभ राइटिङ गर्नुभएको छ ।
लेखन स्वतन्त्रता उहाँको विशिष्ट विश्वास हो, बाटो हो । यसका लागि राजनीतिक स्वतन्त्रता आवश्यक देख्नुहुने सर्जक काँचुली राजनीतिक परिवर्तनको माग गर्दै ‘स्रष्टा विद्रोह’को अग्रस्थानमा पाइनु हुन्छ, ‘बोल्न देऊ, लेख्न देऊ’ भन्दै मुखमा कालोपट्टी बाँधेर । राजनीतिक चेतना र वैकल्प्य विचारले उहाँलाई थप फराकिलो बनाएको छ । चौडा बनाएको छ र त पङ्क्तिकारको पहिलो प्रश्नमै भन्नुभयो– ‘लेखनमा इमान्दार नभई कविता लेख्नुको अर्थ छैन, म कसैलाई खुसी पार्न लेख्दिन तर मेरा कविताले कसैलाई खुसी बनायो, समाज तथा व्यक्ति सुधार, संस्कृति परिमार्जन गर्न स्थापित सोचमा बदलाव ल्याउन सके भने म सफल भएँ । ’
वर्तमान नेपाली साहित्य, साहित्यकार तथा लेखन प्रवृत्तिमा सर्जक काँचुली आशावादी हुनुहुन्छ । उहाँले नयाँ पुस्तामा राम्रा लेखक, कवि, कथाकार तथा उपन्यासकार देख्नुभएको छ तर सरकार र सम्बद्ध निकायले प्रतिभाको संरक्षण गर्न नसकेकामा उहाँको गुनासो छ । साहित्यकारले पाउनु पर्ने अवसर गैर साहित्यकारले पाएका मात्र छैनन् सबैतिर आफ्ना मान्छे भर्ने, प्रतिभा, ज्येष्ठता, योगदानको कदर नगर्ने प्रवृत्तिले राम्रो लेख्नेहरू पछाडि परेका उहाँको अभुवभ छ । सर्जक काँचुली भन्नुहुन्छ– ‘थोरै योगदान, कमजोर लेखन तर बेजोड विज्ञापन र व्यक्तिगत सम्पर्कका कारण साहित्यिक क्षेत्र पनि प्रभावित रहेको छ ।’ यस्तो प्रवृत्तिले गुणात्मक लेखन, लेखन साधना र इमान्दार लेखकलाई ओझल गर्ने गरेकामा सर्जक काँचुली चिन्तित हुनुहुन्छ ।
लेखन तथा पुरस्कार÷सम्मानलाई सर्जक काँचुली फरक ढङ्गले व्याख्या गर्नुहुन्छ । उहाँको विचारमा पुरस्कार संयोग हो जबकि लेखन समर्पण । ‘पुरस्कार तथा प्राप्तिको दौडमा कहिल्यै सहभागी भइन, मलाई पढ्न र लेख्न नै फुर्सद छैन, कहाँ गर्नु दौडधुप’ भन्नुहुने उहाँले तर दर्जनौं पुरस्कार, सम्मान तथा प्रशंसा पाउनु भएको छ । ‘यी सब संयोग हुन्’ उहाँ भन्नुहुन्छ । १२ वर्षकै उमेरमा उहाँले लक्ष्मी पदक (२०१७) प्राप्त गर्नुभयो । गुरुवाचार्य कथा पुरस्कार (२०३१), रत्नश्री स्वर्ण पदक (२०३६), व्यथित काव्य पुरस्कार (२०५०), लेडी अफ द मन्थ (नारी मञ्चबाट २०५०), सर्वश्रेष्ठ साहित्यकार (२०५२), दीपा–जनमत पुरस्कार(२०५३), महेन्द्रसिंह कार्की पुरस्कार(२०५४), गोपालप्रसाद सम्मान (२०५८) अन्तर्राष्ट्रिय लेखक सम्मान (अमेरिका÷२०६२), पारिजात मितेरी साहित्य सम्मान (२०६६), साहित्यको लोकतान्त्रिक अभियन्ता तथा उत्कृष्ट साहित्यकार अभिनन्दन पत्र (२०६९), बासुशशी स्मृति पुरस्कार (२०५८), देवकोटा काव्य पुरस्कार (२०७०), जनआन्दोलन स्रष्टा सम्मान (२०६८), महानन्द स्मृति सम्मान (२०७२), शंकर कोइराला स्मृति पुरस्कार (२०७२), विश्वनारी नेपाली साहित्य सम्मान (२०७१), लायन्स क्लव विद्वत् सम्मान (२०७४), विश्व साहित्य पदक (२०७१), पीपीईएचएसएस साहित्य सम्मान (२०६७), कृष्ण भूषण सिर्जना पुरस्कार (२०७३), लीलाध्वज स्रष्टा सम्मान (२०७४), वैजयन्ती स्रष्टा सम्मान(२०७३), साहित्यिक सम्मान दुबही (२०७४), बानेश्वर सर्जक सम्मान (२०७५) लगायतका सम्मान, पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएकी प्राज्ञ मञ्जु काँचुली नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विद्वत्वृत्ति प्राप्त गरी विभिन्न शोध, अनुसन्धानमा संलग्न उहाँको अर्को एउटा बाटो प्राध्यापन, अध्ययन’अनुसन्धान, परामर्श हो तथा सामाजिक कार्य हो । लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राध्यापनमा संलग्न उहाँले चीन, अमेरिकामा रहेर पनि यस्ता काम गर्नुभएको छ । एसियन कवि सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै बङ्गलादेशमा आयोजित कवि सम्मेलनमा सहभागी भएका दिन उहाँको स्मरणमा ताजै छ । सशक्त लेखनका कारण मञ्जु काँचुलीलाई नचिन्नेहरू पनि उहाँका कविता र कथाले उहाँबारे एकप्रकारको अनुभूति बनाउँछन् । ‘मैले त्यति नजिकबाट चिन्न पाएको छैन उनलाई तर कविता र कथामा म उनलाई मन पराएर पढिरहने गर्छु’ दीपा–जनमत पुरस्कार (२०५३) प्रदान गरिएको सन्दर्भमा साहित्य साधक मोहन दुवाल सम्झनु काँचुलीलाई हुन्छ ।
आफ्नै आँखामा
(मञ्जु काँचुली तिवारीको आखाँमा कवि मञ्जु काँचुली)
म पूरा, तिमी आधा
मञ्जु काँचुली तिवारी
तिमी– मेरो आकाशको घडामा तैरिने एकटुक्रा अस्थिर बादल
मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा निर्निमेष छाल
तिमी– अस्तित्वको एक क्षणिक रूप
म– अस्तित्वकी शाश्वत स्वरूप
म (आकाश) नहुँदा तिमी बादल विचलित हुन्छौ
म (पानी) नहुँदा तिमी लहर सृष्टिअघि नै बिसर्जित हुन्छौँ
मेरो अस्तित्वमा तिमी निर्लिप्त हुन्छौ र हराउँछौ
मेरो उचाइको शिखरमा तिम्रो आरोहणको अन्त्य हुन्छ
तिम्रो नदीको लक्ष्य मेरो महासागर भेटेर टुङ्गिन्छ ।
म पूर्ण, तिमी स्थायी
तिमी अधुरो, तिमी आधा
म स्थिति अन्तज्र्ञान, तिमी अस्थिर तर्कविशेष
म संरचित शान्तिको पूर्ण कलश
तिमी अनियन्त्रित बेचैनीको आधा गाग्रो
शरीरको धरातलले मात्र विभाजन गर्दैन भने
आऊ अस्तित्वका सबै आयामहरू बाडौँ परस्परमा
फेदीदेखि पुष्पकोशसम्म, पाइतलाको जगदेखि मस्तिष्को छतसम्म
अनिमात्र बराबर
नत्र सँधै म पूरा, तिमी आधा
तिमी मेरो सिर्जना मै हराउँछौ
अहो ! मबिना अधुरो तिम्रो संसार
अहो ! मसहित मधुर तिम्रो संसार
मेरो आसपास घुमिरहने तिमी–ग्रह
म पूर्ण नक्षत्र
मेरो पूर्णतामा स्थायित्व छ
तिम्रो अपूर्णतामा मात्र अस्थायित्व छ
तिम्रा लागि म जीवनको परम रहश्य हुन सकुँला–कहिले काहीँ
तिम्रै शब्दमा ‘स्त्रैण रहस्य’ हुँला, ‘अतार्किक चिन्तन’ हुँला
तर मेरो त्यस्तो गणितीय हिसाब हुँदैन कहिल्यै
म साहू होइन, मात्र किसान, लहलह सरल हृदयभरि धान
एउटा नयाँ सभ्यता मेरो हृदयबाटै सुरु हुँदैछ सायद
त्यो हारेर मात्र पाइने नारीको जित होइन– पुरातन
त्यो धुलोमा फालिएको अपमानित अस्तित्व होइन– प्राचीन
नयाँ संस्कृतिको आधार मेरो पाइलाले सुरु गर्दैछ
प्रेम, सहानुभूति र दयाको संस्कृति रही नै रहनेछ
जित–हारको होइन
त्यो मेटिनेछ
जिन्दगीका लागि
त्यो साँचिनेछ
आखिर शान्तिले बाँच्ने निष्ठाका लागि
हर चीज बराबरका लागि
अग्निकाण्डमा होमिएका प्राणहरू
कयौंबाजि युद्धमा मरेका मनहरू
भाइ, छोरा, बाबु र पतिका लागि मरिमेटेका त्राणहरूमा !
शक्ति र आवाजको उपयोग गरुँला, त्यो बेग्लै कुरा
प्रेमका सीमा हुँदैन रे, हिंसाको रेखा म नमानुँला
त्यो बेग्लै कुरा
आऊ तिमी आउनु छ भने मेरी छोरीका लागि अर्कै सक्कली अनुहार लिएर
फैलिएर मनको आकार र आयतनमा, पोखरीबाट महासागरमा
धूलोको एक कणबाट अपार धरतीसम्म
नसाको जरादेखि रुखको सम्पूर्णतासम्म
पूर्ण भएको हेर्न चाहन्छु म तिमीलाई
आकारदेखि अस्तित्वसम्म
नत्र जन्म–जन्मसम्म म सधैँ पूरा
तिमी सधैँ आधा
हामीले यो स्तम्भको नाम ‘त्रिभुवन‘ राखेका छौँ । साहित्यमा त्रिभुवनको अर्थ हुन्छ, सर्जक, सिर्जना र पाठक । संयोगले यो स्तम्भका लेखकको नाम पनि त्रिभुवन नै छ । यो स्तम्भमा हामीले प्रचारबाट टाढा रहेर निरन्तर साधना गर्ने सर्जकलाई उहाँको आफ्नै जीवनमाथि कविता लेख्न लगाएका छौँ भने उहाँको त्रिभुवन जीवनको बारेमा सर्जक एवं पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई उहाँको जीवनमाथि टिप्पणी गर्न अनुरोध गरेका छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ कार्तिक २०८२, शनिबार 









