Chovar Blues Mobile Size

महेश आचार्य पछिल्लो युवा पुस्ताका चर्चित चित्रकार हुन् । स्याङ्जाको चापाकोटमा जन्मिएका आचार्यले २५ वर्षदेखि राजधानीलाई कर्मथलो बनाएर व्यावसायिक कलामा जमिरहेका छन् ।

पोखरामा बसेर कानुन विषय अध्ययन गरिरहेका आचार्यले चित्रकलामा नाम र दाम दुवै कमाउन सकिएला भन्ने सोचेका थिएनन् । स्कुल पढ्दादेखि नै उनी चित्र कोर्न मन पराउँथे ।

‘स्कुल लेभलमा हुने विभिन्न चित्रकला प्रतियोगितामा भाग लिएर मैले सानैमा पनि पुस्कार जित्ने गरेको थिएँ,’ उनी भन्छन्, ‘स्कुलमा हुँदा म बुद्ध र अन्य विषयमा चित्र कोर्ने गर्थें । चित्रकला प्रतियोगिता हुँदा म जहिले प्रथम वा द्वितीय भएर थुप्रै पुरस्कारहरु पनि पाएको थिएँ ।’

महेश आचार्य

२०४८ सालमा उनी क्याम्पस पढ्न पोखरा गए । उनी त्यहाँ कानुन विषय अध्ययनका लागि भर्ना समेत भए । त्यसबेला पनि उनी आफूलाई मनपर्ने विषयवस्तुका चित्र कोरिरहन्थे । पोखरामै हुँदा उनको भेट चित्रकार बुद्धि गुरुङ र वाई. सी. भुर्तेलसँग भयो । त्यहाँ उनले उनीहरुका चित्रहरु देखेका थिए । उनले पनि चित्र कोरेर उनीहरुलाई देखाए ।

‘तिम्रो चित्र निकै राम्रो छ, तिमीले चित्रकलामा राम्रो गर्न सक्छौ भनेर सरहरुले भन्नुभयो,’ उनले भने, ‘उहाँहरुको प्रेरणाले त्यसपछि मैले चित्र कोर्ने कामलाई पनि निरन्तरता दिन थालेँ ।’

२०५० सालमा उनी अध्ययनका लागि काठमाडौँ गए । उनले त्यहाँ ललितकलाका बारेमा थाहा पाए र ललितकला क्याम्पसमा फाइन आर्ट पढ्न भर्ना भए । उनी भन्छन्, ‘मैले चित्रकला र कानुन विषय पढाइ दुवैलाई निरन्तरता दिएँ ।’

काठमाडौँ आइसकेपछि पढाइसँगै उनी व्यावसायिक रुपमा चित्रहरु कोर्न थाले र आफ्ना चित्रहरु बेच्न थाले ।

‘मैले विभिन्न पसलहरुमा लगेर आफ्ना चित्रहरु देखाउँथे । चित्र राम्रो लाग्यो भने पसलेहरुले चित्र किनिदिन्थे,’ उनले भने, ‘त्यतिबेला चित्र दुई सय, पाँच सय र हजारदेखि पन्ध्र सयसम्ममा बिक्री हुन्थ्यो, त्यो समय त्यो मूल्य चित्रमा पाउनु चानेचुने कुरा थिएन ।’

त्यही चित्र बेचेको पैसाबाट उनी आफ्नो खर्च चलाउँथे । उनी कानुन विषयको पढाइ पूरा गरेर केही समय वकिल भएर काम पनि गरे तर उनी त्यो पेसाबाट सन्तुष्ट हुन सकेनन् र उनी चित्रकारितातर्फ पुनः फर्किए । उनले ललितकला पढ्दै गर्दा ठमेलमा मिथिला पौभा चित्रकला प्रदर्शनी गरेका थिए ।

आचार्यलाई प्रायः नेपालका सम्पदाहरुलाई क्यानभासमा उतार्न मन पर्छ । उनी भन्छन्, ‘मलाई नेपालका प्राकृतिक, सांस्कृतिक सम्पदाहरुले निकै मन छुन्छ । मैले तिनै प्राकृतिक र सांस्कृतिक विषयवस्तुलाई आफ्ना चित्रमा उतार्ने गर्छु ।’

उनलाई काठमाडौँको नेवारी संस्कृतिलाई चित्रमा उतार्न मन पर्छ । उनी नेवारी संस्कृति, भेषभूष र नेवारी वस्तीको चित्रहरु पनि कोर्ने गर्दछन् । उनलाई ल्याण्डस्केप चित्रहरु बढी कोर्न मन पर्छ ।

चित्रबारे बयान गर्दे आचार्य भन्छन्, ‘चित्र भनेको मान्छे दुःखी बनाउने हुनुहुँदैन, चित्र भनेको मनोरञ्जनात्मक हुनुपर्छ । जुन चित्र देख्नासाथ मानिहरुको अनुहारमा खुशी छचल्कियोस् ।’

आचार्यले उच्च हिमाली जिल्लामा पाइने भोजपत्रका पत्रहरुमा पनि चित्र कोरेको बताए । सो चित्र प्रदर्शनी स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । भोजपत्रमा कोरेको चित्रले अन्तर्राष्ट्रिय पुरस्कार पनि जित्न सफल भएको थियो ।

उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक तथा एकल चित्रकला प्रदर्शनीमा भाग लिइसकेका छन् र थुप्रै अवार्ड तथा पुरस्कारहरु पनि पाइसकेका छन् । पहिलो अवार्ड भारतको सिमलामा अन्तर्राष्ट्रिय कला महोत्सवमा प्राप्त गरेका थिए । त्यस्तै मुम्बईमा पनि अवार्ड प्राप्त गर्न उनी सफल भए । अमेरिका, चीन, भारत, बाङ्गलादेश, उत्तर र दक्षिण कोरियाजस्ता देशहरुमा भएका एकल तथा सामूहिक कला प्रदर्शनी तथा कार्यशालामा उनले भाग लिइसकेका छन् ।

उनका केही चित्रहरु कोरियाको राजधानी सउलमा रहेको माउन्टेन म्युजियममा पनि सुरक्षित राखिएका छन् ।

चित्रकलाका साथसाथै आचार्यले १८ वर्षदेखि अध्यापन पनि गराउँदै आएका छन् । अहिले उनले काठमाडौँमै व्यावसायिक रुपमा आकृति आर्ट ग्यालरी चलाउँदै आएका छन् । उनी भन्छन्, ‘म यो चित्रकारिताको पेसाबाट निकै सन्तुष्ट छु । यो पेसाले नै मलाई मान, सम्मान र धन सबै दिइरहेको छ ।’

उनी आफ्ना चित्रहरुमा वाटर कलर र एक्रेलिक कलरको बढी प्रयोग गर्ने गर्दछन् । चित्रकलालाई नै मुख्य पेसा बनाएका उनले आफ्ना चित्रहरु एक हजारदेखि तीन लाखसम्म बेच्ने गरेका छन् ।