
म त च्यातिएछु !
म च्यातिएको हुँ कि मेरो प्रमाणपत्र च्यातिएको हो ? खैर, जे च्यातिए पनि च्यातियो । आखिर म च्यातिनु भनेकै प्रमाणपत्र च्यातिनु वा प्रमाणपत्र च्यातिनु भनेकै म च्यातिनु रहेछ।
म च्यातिनुको पिडा बाँचिरहेछु । प्रमाणपत्र नै प्रमाणपत्र बिछ्याइएको बाटोमा टेकेर, प्रमाणपत्र च्यापेर, प्रमाणपत्र पाएर प्रमाणपत्रधारी बन्नको लागि दौडिनुपर्ने समाजको मान्छे म । प्रमाणपत्र नै च्यातियो । प्रमाणपत्रसँगै म च्यातिए । मसँगै अरू के के च्यातिए ? मलाई जान्नु छैन।
प्रमाणपत्रको समाजमा, प्रमाणपत्र च्यापेर म आफूलाई आफैँमा कसरी अनुवाद गर्न सकुँला ? वा कसैले अनुवाद गरिदेला कि भनेर कतिन्जेल ढुकेर बस्ने ? उसै पनि प्रमाणपत्रहरूको अगाडि म अन्तर्मुखी, कमजोर, प्रमाणपत्र च्याप्नै सर्माउने म बबुरो कसरी प्रमाणपत्रधारी बन्न लायकको थिएँ र ? जे पर्ला त्यही टर्ला भनेर आफैँले ध्वार्रै पारेर च्यातिदिएँ ।
ध्वार्रैको आवाज कति मीठो !
च्यातियो प्रमाणपत्र। अहिले प्रमाणपत्रहिन भएको छु म ।
यो समाज प्रमाणपत्रको क्यानभासभित्र सजिएको एउटा चित्र । चित्र कहिले पनि वृतचित्र हुन सकेको छैन । चुपचाप छ । शान्त र निर्जीव छ । प्रमाणपत्रको क्यानभासभित्रको शान्त, स्निग्ध, सौम्य तर निर्जीव चित्रबाट चलायमान हुन खोज्नेहरू झनै चुपाचाप छन् । तिनलाई देखेर सधैँ एउटा गीत सम्झनामा आउँछ, “रहर गर्नु मात्रै पनि होइन रहेछ जीवन ……. ।”
[bs-quote quote=”(कु)समयमा बाँदरबाट विकास भएर मान्छेहरू किन मान्छे बने ? मलाई त अचम्म लाग्छ । मान्छेहरू मान्छे बन्नेबेला भइसकेको थिएन । अझै भैसकेको छैन ।” style=”style-2″ align=”right” color=”#6ad61d” author_name=”केशव गजुरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/10/IMG-c5fbbd724182bc47d42e6f4c472d6fb1-V-01.jpeg”][/bs-quote]
म त नितान्त चलायमान बन्न चाहने पागल कसरी निर्जीव चित्र बनेर क्यानभासभित्र गुम्सिन सक्थें र ? त्यसैले घाम उठ्नुभन्दा अगाडि नै उठेर प्रमाणपत्र ध्वार्रै पारेर च्यातिदिएँ ।
निस्सार जिन्दगीले दिएको यो भौतिक शरीर प्रमाणपत्रबिना पनि त हिँड्न सक्दो रहेछ नि भन्ने लाग्यो, जब म पशुपति पुगें । आर्य घाट खाली थियो । एउटै पनि लास जलेको थिएन । कालले पनि छुट्टी लिएर बसे जस्तो ।
“किन यहाँ बस्नु भएको ?”, म झस्किएँ ।
“खै, लाइटर पाउनँ ।” एउटा अधबैँसे पुरुष मेरो छेउमा आएर थचक्क बस्यो । मैले लाइटर दिएँ। ऊ चुरोटको धुवाँ फाल्दै हाँस्यो र भन्यो, “अब यस्तोबेला त लास आइदे नि हुनी जस्तो लाग्नी रैछ ।” ऊ घाटतिर हेर्दै बोलिरहेको थियो ।
“लास नआएकै राम्रो हैन र ? मान्छे नमरेको त जाती नै हो नि !” म उसको मुखमा हेर्दै बोल्छु ।
ऊ भन्छ, “मान्छे नमरेको राम्रो हो । तर अरु नमरे आफैँ मरिन्छ ।” उपहासको हाँसो हाँस्छ र थप्छ, “लास पोल्न नपाए पछि कमाइ हुँदैन । भरे के खानु ? आफू बाँच्नलाई पनि अरूको लास पोल्न पाए हु नि जस्तो लाग्ने !” फेरि बेसुरमा हाँस्न थाल्छ ।
“हजुर कताको नि ?” मतिर नजर लाउँदै सोध्छ । उसको व्यवहारले मलाई थाहा भइसकेको छ, उसले पिएको छ । स्वास ह्वास्स आयो । मैले नाक थुनेँ । उसले थाहा पायो । केही सचेत भएर थोरै पर्तिर सर्यो ।
“तपाईँ सधैं यहाँ आएर यसैगरी बसिरहनुहुन्छ । म साह्रै अचम्मित हुन्छु ।”, मलाई उसको कुरामा खास चासो छैन । तर उसले यो कुरा बुझेको छैन ।
म चुरोट तान्दै घाट नियाल्नमै तल्लीन छु । केही छिनको मौनता तोड्दै फेरि उसैले मुख खोल्यो, “किन बोल्नुहुन्न तपाईं ?”
जवाफमा म फिस्स हाँसें । म बोल्न नचाहेको कुरा सायद उसले बुझ्यो । ऊ पनि फिस्स हाँस्यो। फेरि मौनता सुरु भयो ।
ऊ चुरोट तान्दै घाटतिर हेरेर टोलाइरहेको छ । त्यो हाम्रो सन्नाहटलाई चिर्दै एउटा रंगीन झकिझकाउ सववहान झण्डा ओडेर आयो । उसको मुखमा हेरेँ, ऊ खुसी छ । जुरुक्क उठ्यो र घाटतिर लाग्यो ।
म हेरिरहेको छु, हेर्दाहेर्दै उसले एउटा चिता तयार पार्यो । चितामाथि लास राखियो र त्यसमाथि एउटा ठूलो झण्डा ओडाइयो । दागबत्ती तयार गर्यो र एकपटक आकाशपट्टि हेर्दै ठूलो आवाजमा हाँस्यो । सबै छक्क परे । वरिपरि सन्नाटा, केवल उसको हाँसो मात्र आर्यघाटमा गुञ्जियो ।
म आश्चर्यका धर्सा मिश्रित हेराइले आर्यघाटतिर मग्न छु । उसले दागबत्ती सल्कायो र छेउको एउटा ठिटोको हातमा समातेर चिता सल्कायो । चिता बल्दै गयो । उसको मुहार बादल फाटेको आकाश जस्तै हुँदै गयो । चितालाई ओल्टाइपल्टाई गर्न थाल्यो । एकैछिनमा चिता बलेर सकियो र आर्यघाट पुनः खालि भयो।
म उही ठाउँमा बसिरहेको थिएँ । ऊ पुनः म भएतिर आयो ।
“एउटा लास जलाउँदा कति पाउनुहुन्छ ?”
“त्यै चार पाँच सय । तर आज दुई सय मात्र पाएँ ।”
“तलब आउँदैन र ?”
“आउँछ । तर मेरो हातसम्म आइपुग्दा आधी हुन्छ ।”
उसले हाँस्दै लाइटर माग्यो । चुरोट सल्कायो ।
“अघिको हाँसो त्यही दुई सयको हो त्यसो भए ?”
उ फेरी हाँस्न थाल्यो, “त्यो ! त्यो त नेतालाई पोल्न पाएको खुसी हो ।”
“कुन पार्टीको नेताको लास रहेछ ?”
“खै मलाई थाहा भएन पार्टीसार्टी, तर देशका ठूला नेताको हो ।” ऊ भन्दै गयो, “नेतालाई पोल्दा खै कुन्नि किन मलाई औधी मज्जा लाग्छ ।”
ऊ फेरि चुरोट तान्दै घाटतिरै हेर्न थाल्यो । लाग्यो, ऊ आज जिन्दगीमै पहिलो पटक खुसी भएको छ ।
“कति उमेर पुग्नु भयो ?”
“पैँसठ्ठी ।”
कोही काल आएर मर्छन त कोहि अकालमै मर्छन् । हुन त अकालमा मर्ने पनि काल आएरै मर्छन् । तर उनीहरूको काल अकालमा आउँछ । एउटा मृतकायालाई निर्ममतापूर्वक जलाउनु उसको पेसा हो । पेसा नै उसको धर्म । उसले भन्यो, “मैले आजसम्म धनीलाई पनि पोलेँ, गरिबलाई पनि पोलेँ । जनतालाई पनि पोलेँ, शासकलाई पनि पोलेँ । तर खै आफूलाई कस्ले पोल्ने हो थाहा छैन ।” आफ्नो शरीरलाई घुरेर हेर्न थाल्यो ।
“तपाईंका सन्तान छैनन् र ?”
“तीस वर्षको एउटा छोरो छ ।” उसको मुहारमा अचानक कालो बादल लाग्यो । ऊ कड्किन थाल्यो, “यहीँ पर सुकुम्बासी टोलमा बस्छन् आमा छोरा । कति हाड र छाला घोटेर पढाएँ । हुर्काएँ । गतिछाडा भएर निस्कियो साला ट्यापे ! यस्ता बाउ आमाका रगत चुसेर रुवाउनी पातकीहरूलाई पाए त जिउँदै पोल्थें । अहिले अस्पतालमा छ भन्ने सुन्या छु ।”, चुरोट भुइँमा झोसेर निभायो ।
उसको छोरा जस्तै बिग्रेका ट्यापेहरूलाई पाए जिउँदै पोल्छु भन्दै छ ऊ सायद ।
“यो दुई दिनको जिन्दगी पनि केई होइन रहेछ हजुर !”, चुरोट झिकेर फेरि लाइटर माग्यो । “जिन्दगी तपाईंलाई कति दिनको लाग्छ ? मान्छेहरू त दुई दिनको भन्छन् ?”
उसले सोध्यो । म उठेर चुपचाप हिडें ।
आफूभित्र आफूसँगै हाँस्न नपाउनु वा मसँग हाँस्ने अधिकार नहुनु एकदमै डरलाग्दो बन्देज हो । आफूभित्र आफैं हाँस्न नपाउनु वा हाँस्ने अधिकार नै नहुनु भनेको मानसिक अवसान पो हो कि ? त्यसो भए के म आफ्नो मृत्यु खोजिरहेको छु ? हो, म यस्ता तुवाँलोभित्र लुकेका उत्तरहरू खोज्न कठिन हुने प्रश्नहरूको पनि अवसान खोजिरहेको छु। मैले आफूलाई बन्देजहरूबाट मुक्त गराउनु छ । तर प्रमाणपत्र मेरो वाधक बनिरहेको थियो । प्रमाणपत्र सबैको लागि वाधक हुन्छ। मानिसका वैयक्तिक विकास र स्वतन्त्रताको वाधक बन्छ प्रमाणपत्र । मैले च्यातेर राम्रै गरेछु ।
म पशुपतिको डाँडामा उभिरहेको छु । घन्ट बजिरहेको आवाज कानमा ठोकिरहेको छ । जो पनि आउँछन्, घन्ट बजाउछन् । त्यो मन्दिरभित्र ईश्वर छ कि अरु नै केही छ ? मलाई थाहा छैन । तर जे छ त्यसलाई साह्रै कर्कश लागिरहेको छ त्यो घन्टीको आवाज ।
मेरो हातमा भएको दुईवटा बिस्कुट मैले बाँदरलाई दिएँ । अलि पर लगेर मलाई हेर्दै खान थाल्यो । हामी यही बाँदरको मुर्त स्वरूप हौँ । यही बाँदरको विकसित रूप मान्छे । तर कति फरक छ यो बाँदर र मान्छेमा ! बाँदरको कुनै धर्म छैन । न कुनै जात । यसको त एउटै नाम छ, बाँदर ।
बाँदर बिस्कुट सकेर फेरि म भएतिर लम्कियो । मैले हातको खालि प्लास्टिक फालिदिएँ । त्यसलाई टिपेर च्यात्दै दौडिएर रूखमा गयो र जिउ कनाउन थाल्यो ।
बाँदर विकासित भएर मान्छे नबनेको भए धर्म र जातबीच लडाइँ हुने थिएन । मान्छे बाँदर नै रहिरहनु पर्ने थियो । मान्छे मान्छे हुनु एउटा रोग भएको छ ।
बाँदर मान्छेको बिम्ब हुँदै होइन । बरु मान्छे चै बाँदरको बिम्ब हो । मेरा अनुहारका यी निश्सारता चोरेर बाँदर मुसुक्क मुस्कुराइरहेछ । म लजालु प्रेमिकाले प्रेमीसामु आफ्नो नजर लुकाएसरी लुकाइरहेको छु आफ्नो अनुहार ।
(कु)समयमा बाँदरबाट विकास भएर मान्छेहरू किन मान्छे बने ? मलाई त अचम्म लाग्छ । मान्छेहरू मान्छे बन्नेबेला भइसकेको थिएन । अझै भैसकेको छैन ।
बाँदर बाँदरहरूसँग उफ्रिन थाल्यो । बाँदरहरूको पनि आफ्नै पहिचान र अस्तित्व छ । यहाँ मान्छेहरू बाँदरमा अनुवाद हुँदै जानु र बाँदरहरू मान्छेमा अनुवाद हुँदै जानु एउटा गज्जबको संकेत पाउछु म त ।
मन्दिरबाट फेरि घन्ट बजेको आवाज आउँछ । म झस्किन्छु । बाँदर पनि म जस्तै लाग्छ । म पनि बाँदर जस्तै लाग्छु । त्योसँग पनि प्रमाणपत्र छैन । मैले पनि प्रमाणपत्र च्यातें ।
आर्याघाटबाट धुवाँको मुस्लो आउँछ । जसले जतिसुकै प्रमाणपत्र पाए पनि त्यसको के काम र भन्या ? जिन्दगीको विश्वविद्यालयमा कति फेल होलान् कति पास होलान्, तर ती सबैले पाउने भनेको त एउटै मृत्युको प्रमाणपत्र नै हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










