कविता विधामा नै विद्यावारिधि गर्नु भएका विप्लव ढकालको स्मार्ट पोयम्सको यो सोह्रौँ श्रृड्खला हो । साहित्यपोस्टसँगको सहकार्यमा अघि बढेको यो श्रृड्खलामा नेपाली साहित्यका मानक छोटा कविताहरू प्रस्तुत गरिन्छन् । पुराना र नयाँ कविका लुकेका कवितालाई यसले बढी महत्त्व दिइएने कुरा डा. ढकालले साहित्यपोस्टलाई बताएका छन् । यसपटक डा. विप्लव ढकालले नेपालका मानक कविहरुको कविता प्रस्तुत गरेका छन् । ।
१. विभक्ति
(राजेन्द्र भण्डारी)
म छु ।
तिमी छौ ।
बीचमा ‘लाई’ भइदिएको भए
मलाई तिमी हुनेथियौ ।
अथवा
तिमीलाई म ।
विभक्ति विनाका शब्द भयौँ
तिमी र म ।
कहिले हुनु वाक्य हामी ?
कहिले हुनु काव्य ?
२. कसरी भनूँ
(कृष्ण सेन ‘इच्छुक’)
देशभित्रै भएर पनि निर्वासितजस्तै छु म
घरभित्रै भएर पनि बन्दीजस्तै छु म
खबरहरू पनि प्रतिबन्धित छन् यस घडी
मैलिक हकहरू जस्तै आज निलम्बित छु म
खडेरीले खाएको छ गाउँबस्तीका हरियालीहरू
यो उजाड बस्तीलाई गुलजार प्रदेश कसरी भनूँ ?
३. सपनाको धून
(राजेन्द्र पराजुली)
प्रथम प्रहरको निद्रामा
सानीले पतिलाई हँसमुखा देखी,
आलिङ्गन गरेर कैयौँचोटि
चुम्बन गरी हावामा ।
दोस्रो प्रहरको निद्रामा
सानीले पति घर फर्कने चिठी पाई,
हर्षले विभोर भई गाउँलेलाई
देखाउन हिँडी अचेतनमा ।
तेस्रो प्रहरको निद्रामा
सानीले पतिलाई लडाइँ जितेर फर्केको देखी,
चरण स्पर्श गरेर आँसु खसाली
फूलबुट्टे मरुभूमि छातीमा ।
चौथो प्रहरको निद्रामा
सानीले थाहा पाई—
विधवाहरू ढुङ्गाले हानिरहेथे
उसका सङ्गीतबद्ध चुराहरूमा ।
४. मैनबत्ती
(दुवसु क्षेत्री)
कोर एउटा सलाईको काँटी
र सल्काऊ
मैनबत्ती बालेपछि बल्छ
आफै बल्दैन
बल्छ, बालेपछि पग्लिन्छ,
पग्लेको तरलतामा मौका छोपेर
त्यसलाई उभ्याऊ
आफ्नो खुट्टा भए पनि
आफै उभिन जानेको हुँदैन मैनबत्तीले
अर्काले उभ्याइदिनु पर्छ
आफै उभिँदैन
बल्छ ! बलेपछि घर, संसार, चोटा–कोठा
चारैतिर उज्यालो छर्छ ।
५. मैनाचरी
(खुमनारायण पौडेल)
दिनदिनै मैनाचरी
पिँजडाभित्र
अरूका शब्दहरू भन्छ, रमाउँछ
तर आफ्नो स्वतन्त्रता माग्ने शब्द
उसले कहिले बनाउँछ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।