फ्रान्समा हालै रिलिज भएको ९६ पृष्ठको पुस्तकले त्यहाँ विवाद ल्याएको छ । स्थानीय सरकारले पुस्तकले घृणा फैलाउने उद्देश्यले लेखिएको पुस्तक भएकाले यसलाई प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेपछि पुस्तक विवादमा आएको हो ।
पाउलिन हर्मेन्जले लेखेको Moi les hommes, je les deteste शीर्षकको यो पुस्तक गएको महिना फ्रान्समा रिलिज भइसकेको छ । पुरूषलाई घृणा गर्ने अधिकार महिलासँग भएको धारणा राख्ने पाउलिनको यो पुस्तक प्रतिबन्ध लगाउनका लागि फ्रान्सको लैंगिक समानता मन्त्रालयका सल्लाहकार राल्फ जर्मलीले खुला रूपमा आह्वान गरेपछि विवाद चर्किएको हो ।
‘कुनै पनि समुदायलाई चोट पुर्याउने वा घृणा जनाउन पाइँदैन र त्यसो गर्नु भनेको अपराध हो, त्यसबापत सजाय हुन्छ,’ जर्मलीले स्थानीय अखबारमा भनेका थिए, ‘त्यसैले प्रकाशकलाई यो पुस्तक तुरून्त फिर्ता लिन म आग्रह गर्छु । पछि आर्थिक दण्ड र जरिवानासमेत तिर्नुपर्ने हुनसक्छ ।’
विवाद चर्किएपछि जम्माजम्मी ४५० प्रति प्रकाशित सो पुस्तक हारालुछ भएको थियो । यो पुस्तकको पहिले अर्कै शीर्षक राखिएको थियो । एन अड टु मिसन्ड्रीको नाम परिवर्तन गरेर अब आई हेट मेन शीर्षकमा बेलायतमा समेत प्रकाशनको तयारी भइरहेको छ ।
बेलायती प्रकाशक फोर्थइस्टेटकी सम्पादकीय निर्देशक एना केलीले शीर्षक र पुस्तकको कन्टेन्टमा कुनै सम्झौता नहुने प्रस्ट्याएकी छन् । उनले भनिन्, ‘हामी जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्ने हौँ । तसर्थ जस्तासुकै विवाद आए पनि हामीले पुस्तक प्रकाशनको पक्ष रोक्ने छैनौँ ।’
फ्रान्सेलीबाट अंग्रेजीमा नताशा लेहरेरले अनुवाद गरिरहेकी छन् । २५ वर्षीया लेखिका पाउलिन हुन त आफ्ना पतिसँगै बसिरहेकी छन् तर लोग्नेमान्छे विश्वासिला नहुने भएकाले नै यो निबन्ध प्रकाशन गर्नुपरेको बताएकी छन् । बलात्कारपीडित एउटा संस्थामा लामो समय काम गरेकी उनले सायद त्यही संस्थामा रहँदा जे जस्ता घटना देखिन्, तिनले पुरूषहरू विश्वासलायक नभएको धारणा बनेको हुनसक्ने बताएकी छन् । उनले गार्डियन पत्रिकालाई भनेकी छन्, ‘पुरूषहरूप्रति पूरै विश्वास गर्नुपर्छ भन्ने मान्यता म राख्दिनँ र त्यो लायक पनि छैनन् । हामीलाई त्यो अधिकार पनि छ, हामी उनीहरूलाई मन नपराउन सक्छौँ !’
पुस्तक बजारमा आएपछि लैंगिक समानता मन्त्रालयका सल्लाहकारले धम्कीपूर्ण भाषामा फोन गरेर किताब बन्द गर्न गरेको आग्रहप्रति उनले आश्चर्य व्यक्त गरेकी छन् । जब उनलाई मुद्दा नै हाल्ने धम्की आयो, त्यसपछि उनले यस कुरालाई बाहिर ल्याउनु पर्छ भन्ने सोचिन् । ‘ती सल्लाहकारले आफ्नो मतलबको काम गरून् न !’ उनले भनिन्, ‘उनलाई जाबो यति सानो पुस्तकबाट किन यति ठूलो आतंक सिर्जना भएको हो कुन्नी ?’
पछि मन्त्रालयले भने पुस्तक र लेखिकाका बारेमा प्रतिक्रिया दिन गरेको आग्रहलाई अस्वीकार गरेको छ । पाउलिनलाई सरकारले मुद्दा हाल्यो भने समाजमा घृणा फैलाएको आरोपमा एक वर्षसम्म जेल बस्नुपर्ने हुनसक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।