आधारभूत रूपमा मानिस मानिस नै हो, अनि मात्र नारी र पुरुष, जसको बेग्लाबेग्लै स्वतन्त्र अस्तित्व छ । यो गुढ र सत्य कुरा प्राग्ऐतिहासिक कालदेखि नै ओझेलमा पर्दै आएको छ । विज्ञानको चरम विकासको आजको दिनमा पनि यसलाई जानीजानी अनदेखा गरिरहेको स्थिति छ । यसैले यसलाई पुष्टि गर्ने विचार पटकपटक प्रवाह गरिरहनु परिरहेको छ । त्यसैको अर्को यो वैचारिक श्रृंखला:

जन्मेदेखि मृत्युसम्मको अवधिको जीवनको आयाममा मानिस विभिन्न आकार र अनुभूतिमा गतिशील हुँदै वर्तुल चक्रमा घुमिरहेको हुन्छ । प्रत्येक मानिसको चक्र फरकफरक र आआफ्नो हुन्छ । यही चक्रीय यात्रामा मानिसले बाल्यकाल, किशोर, युवा हुँदै बुढेसकालको जीवनमा थाहै नपाउने गरी प्रवेश गरिरहेको हुन्छ । शारीरिक र मानसिक परिवर्तनसहित ऊ आफ्नो चक्रिय यात्रामा क्रमशः टेक्न पुगेको हुन्छ र त्यही अनुसारकोे सोच र व्यवहार गर्दै बिहान, दिउँसो र बेलुकी अनि रातको समयमा प्रवेश गर्दै ३६५ दिन बिताउने गर्दछ । यही ३६५ दिन बिताएर हरेक वर्षको क्यालेण्डर फेर्दै आफ्नो वसन्तलाई पनि क्रमशः पार गरिरहेको हुन्छ । जीवन यात्राको यही प्रवाहमा विश्वका हरेक मानिस गुज्रिरहेको हुन्छ । सबै मानिसको जीवन भोगाइको यो गतिमा कसैले सहजता वा भनौँ सुख प्राप्त गरेको हुन्छ भने धेरैजसो त असहजतामा वा पीडा र दुःखमा समय कटाइरहेका हुन्छन् । मानिसको असहज भोगाइको निरन्तरताले समाजमा एक किसिमको दुरी सिर्जना गरिदिएको हुन्छ । यो दुरी अलिखित मान्यताका रूपमा व्यवहृत हुँदै क्रमशः समाज र जनजीवनभित्र मान मर्यादाको तहमा स्थापित हुँदै गएको देखिएको छ । त्यही मान्यताले कसैकसैलाई त अत्यन्त पीडाको संघारमा ल्याएर फालिदिएको छ । कालान्तरमा त्यो पीडा घरको संघार, ढोका हुँदै बाटोमा पुगेको छ । मानिसले पाएको पीडासँगसँगै त्यसप्रतिको असन्तुष्टि पनि प्रवाहित भएको देखिन्छ । बाटोमा मिसिएका पीडा र असन्तुष्टिहरू बिस्तारै समयको बहावसँगै समग्रतामा परिणत भई त्यो विरोधको आवाजमा रूपान्तरित हुन पुगेको घटना मानव सभ्यताको इतिहासमा लेखिइसकेको छ । यो पीडा धनीले गरीबलाई, ठूलाले सानालाई, पुरुषले महिलालाई, ठूला जातकाले साना जातका लाई, सेताले कालालाई अमेरिकाले एशियनलाई विभिन्न स्वरूपमा देखिएका छन्। ती विभिन्न खालका असमान व्यवहारप्रतिको असन्तुष्टि विभिन्न कारणले समयको केही कालखण्डमा अन्तरधारमा रूपमा लुक्न वाध्य भएका थिए । समाजका पीडक र पीडितको उपस्थिति स्पष्ट रूपमा देखिएको पाइन्छ । मालिक्याइँको हैसियत लिएर बसेका पीडकले पीडितलाई सहज र मानवीय व्यवहार किन गर्थे र !! यसमा कहीँ कतै सुधार आउनसकेको अवस्थामा विरोधको आवाजले आन्दोलनको स्वरूप लिएको देखिएको छ । आजको २१ औँ शताब्दीसम्म आइपुग्दा पनि यो अवस्थाले झन् विभिन्न स्वरूपमा अनौठो खालको जीवन्तता बोकेर छछल्किरहेका छन् ।

समयले पीडितलाई तिमी भिन्न हौ तर असमान होइनौ । यो भिन्नता प्राकृतिक रूपमा तिमीले प्राप्त गरेको सम्पदा हो, शक्ति हो, अनि तिम्रो आफ्नै सामथ्र्य र विशेषता हो । तर आफूलाई अस्तित्ववान र क्षमतावान बनाउने त्यो भिन्नतामाथि असमान व्यवहार हुँदै आएको छ । यसले गर्दा तिमी, तिम्रो घरपरिवारदेखि समाज अनि विराट विश्वको विभिन्न परिवेशमा अपहेलित र पीडित भएका छौ भन्ने चेतनाको विकाश गराइदिएको छ । यही चेतनाबाट पीडितवर्गले आआफ्नो पीडालाई चिरफार गर्दै त्यसको कारक तत्वलाई पत्ता लगाएर त्यहीँ नै समस्याको समाधान खोज्नका लागि अगाडि बढिरहेको देखिन्छ । यही विन्दुमा टेकेर घरपरिवारदेखि समाजका हरेक तप्कामा विचार विमर्श र बहसको वातावरण सिर्जना हुँदै आएको छ । यसबाट हिजोका आवाजविहिनहरू आज आवाज लिएर रुपान्तरित भइरहेको छ ।

प्रा.डा. सावित्री कक्षपती

भिन्नता र असमानतामा फरक छ । भिन्नता बोधले सहिष्णुता र सद्भाव जन्माउँछ भने असमानताले असहिष्णु र वैरभाव जन्माउँछ । वास्तवमा सृष्टिको यो तरंगमा समान हैसियत र प्रक्रियामा जन्मेका छोरी वा नारी र छोरा वा पुरुष भिन्न हुन् तर असमान होइनन् । अर्थात नारी र पुरुष भिन्न हुन्, असमान होइनन् । यही भाव र संवेदनाको जीवन्ततामा जीवनलाई हिँडाउन पाए जीवन कति श्रेष्ठ र सन्तुलित हुने थियो होला !! तर जति संझाउन खोजे पनि र जति मेहनत गरे पनि यो स्थितिमा खासै परिवर्तन भएको देखिएको छैन । अर्थात् घरपरिवारदेखि समाजका विभिन्न तप्कामा नारी र पुरुषको सम्बन्धमा भिन्नताको व्यवहार होइन, असमानताको व्यवहार हुँदै र गरिँदै आएको छ ।

यो व्यवहार एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै आइरहेको छ । यसरी मानवीय सम्यतामा यस्तो एउटा प्राक्कल्पनालाई शक्तिशाली बनाएर यसको स्थापनाका लागि विभिन्न आचारसंहिता निर्माण गरेर यसको प्रयोग गरिँदै आएको छ ।

नारी र नारीबीचको एकअर्काको व्यक्तित्व फरक हो र पुरुष र पुरुषबीचको एकअर्काको व्यक्तित्व पनि फरक हो । यस्तै नारी र पुरुष पनि फरक हुन् । अर्थात् नारी र पुरुष भिन्न हुन्, तर असमान होइनन् । प्रकृतिले ती दुवै नारी र पुरुषलाई जन्मेदेखि मृत्युसम्म सबै कुरा कहीँ कतै भेदभाव नगरिकन बडो सन्तुलनमा प्रदान गरिरहेको छ । त्यहाँ कतै पनि असमान व्यवहार देखिँदैन । तर मानिसले भिन्नताको महत्वलाई बुभ्mपचाएर सबभन्दा पहिले आफ्नै परिवारभित्र नारी र पुरुषबीच असमान व्यवहार गर्दै आइरहेको देखिन्छ । यसलाई पुष्टि गर्नका लागि नारीलाई शारीरिक रूपमा कमजोर देखाइएको छ, अथवा बनाइएको छ भने पुरुषलाई बहादुर र शक्तिशाली बनाएर प्रस्तुत गर्दै त्यसलाई प्रमाणित गर्ने परिवेश र अवसर निर्माण गरिदिएको छ । यो व्यवहार एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै आइरहेको छ । यसरी मानवीय सम्यतामा यस्तो एउटा प्राक्कल्पनालाई शक्तिशाली बनाएर यसको स्थापनाका लागि विभिन्न आचारसंहिता निर्माण गरेर यसको प्रयोग गरिँदै आएको छ । यसबाट परिवार वा समाजको एउटा पुरै वर्ग अन्यायमा पर्न गएको देखिएको छ ।

नारीलाई भारी र गरुंगो काम गर्न नसक्ने कमजोर भनेर व्याख्या गरिएको छ भने पुरुषलाई यो काम गर्नसक्ने बलियो भनेर व्याख्या गरिएको छ । शक्तिको मापदण्डमा यदि कसैलाई शक्तिशाली र कसैलाई कमजोर भनेर व्याख्या गरिने हो भने के नारी साँच्ची कै कमजोर हो त ? जिज्ञासा कठोर बनेर उठिदिन्छ । वास्तवमा शक्तिको आधारमा नारी र पुरुषबीच तुलना नै गर्ने हो भने पुरुषभन्दा नारी शक्तिशाली देखिन्छ । हो, नारीले पुरुषले जस्तै बाहिरी वा शारीरिक रूपमा भारी काम गर्न सक्दैन । तर उसले एउटा जीवलाई आफ्नो शरीरभित्र ९ महिनासम्म राखेर त्यसलाई सग्लो मानिसको रूपमा हुर्काएर आफ्नो शरीरका हजारौँ नशा छिनाल्दै स्वस्थ्य बच्चालाई पृथ्वीमा अवतरण गराउन सक्षम छिन् । गर्भावस्थाको पीडा ! अनि जन्माउनुको पीडा !! अनि हुर्काउनुको पीडा !!! यो कस्तो शक्ति होला !! अब यो मापदण्डमा मानिस बलियो वा कमजोर छ भन्ने कुरालाई नाप्ने हो भने कस्तो नतिजा निस्कछ होला । पुरातनवादी मान्यताले नारीको यही शक्तिलाई ओझेलमा राखेर आफूले स्थापित गरेको कुरालाई मात्र व्यवहारमा प्रयोग गरिरहँदा लुकिराखेको नारी शक्तिको यो तथ्य सल्बलाउन थालेको हो ।

यस्तै उदाहरणलागि यहाँ अर्को कुरा पनि देखाउनु पर्ने हुन्छ । त्यो के हो भने पुरुष आफ्नो शरीरमा एउटा सानो घाउ भएर निस्केको रगत देखेर निकै नै आत्तिने गर्दछ । त्यतिबेला ऐया र आत्थाको सीमा बेहिसाब भइदिन्छ । उसको शरीरबाट एक थोपा पनि रगत बगेको ऊ हेर्न र कल्पना पनि गर्न सक्दैन । कथंकदाचित शरीरको कुनै पनि ठाउँमा सानो घाउ भइहाल्यो भयो भने उसले शरीरलाई यति जतन गर्छ, आफूलाई यति स्याहार्छ मानौँ ठूलै दुर्घटना भएको हो । तर नारी आफ्नो बाल्यावस्थाबाट भर्खरै किशोरावस्थामा प्रवेश गर्नै लाग्दाको ९ वर्षतिरको कलिलो उमेरदेखि नै आफ्नो शरीरबाट एक थोपा होइन, थोपाको असंख्य असंख्य अंश बढी रगत निसृत भएको अनुभव गर्ने गर्दछिन् । अनि जानेर नजानेर त्यसको व्यवस्थापन पनि गर्दछिन् । यो पक्कै पनि सहज विषय होइन भर्खर बाल्यावस्थाबाट किशोर अवस्थामा प्रवेश गरेकी बालिकाका लागि । यो उनको लागि त्यस्तो बाध्यात्मक परिस्थिति बनिदिन्छ, त्यसबाट उम्कनका लागि कसैले पनि केही गर्न सक्दैन । धन, सम्पत्ति ज्ञान, सीप अहँ केही काम लाग्दैन त्यस बालिकाको पीडा र असहजता हटाउनका लागि । तर यस्तो बाध्यात्मक र असहज परिस्थितिलाई सहजता र असहजताका बीच जसरीतसरी नियंत्रणमा लिने गर्दछिन् । जीवनको पूर्वसन्ध्यामा भोग्नु परेको यस्तो वाध्यात्मक स्थितिले पछि गएर उनलाई आफ्नो शारीरिक अवस्थालाई व्यवस्थापन गर्न सिपालु बनाइदिएको छ । कालान्तरमा उनलाई शारीरिक रूपमा पुरुषभन्दा कमजोर देखाइए पनि यही सीपले उनलाई मानसिक रूपमा पुरुषभन्दा बलियो मनोबल लिएर उभ्याइदिएको हुन्छ । फलस्वरूप आफूमाथि आइपरिरहेको जस्तोसुकै प्रतिकूल स्थितिमा पनि सकेसम्म कमजोर नभइकन उनले पारिवारिक प्रेम, सद्भाव र शान्तिलाई यथावत राख्ने कसरत आजीवन गरिरहेकी हुन्छिन् ।

प्रत्येक महिनामा हुने झन्झटिलो रक्तस्राव, पीडा र त्यसको व्यवस्थापनले थाहै नपाइकन उनको प्रतिरोधक क्षमतामा बृद्धि भइरहेको हुन्छ । उनको पीडा चाहे त्यो शारीरिक होस् वा मानसिक यो प्रतिरोधक क्षमता नै उनको आजीवन मनोबल बनेर उनको जीवनलाई सुरक्षा दिइरहेको हुन्छ ।

पुरुषबाट नारी संवेदनामाथि न्याय हुन सक्दैन भन्ने खालका अभिव्यक्ति बाहिरिएको देखिएको छ । यसबाट वास्तविक समस्याको वास्तविक समाधान होला र ?

जीवनमा आइपर्ने शारीरिक र मानसिक पीडामाथिको पीडालाई सकेसम्म सहेर बस्ने बानी उनमा परिसकेको हुन्छ । नारीको यो शक्तिलाई पुरुषसँग तुलना गर्दा कस्तो होला ? नारीमाथि भइरहेको असमान व्यवहारले यही प्रश्न उठाइदिएको छ । यो वास्तवमा उठाउन नमिल्ने प्रश्न हो । तर नचाहिने कुरामा टेकेर आफूमाथि भएको असमान व्यवहारबाट हैरानी खेपेका नारीले पनि अब यही नचाहिने कुरामा टेक्नु पर्ने स्थिति देखिएको छ । र नारीको संवेदना पुरुषले बुझ्नै सक्दैन । पुरुषबाट नारी संवेदनामाथि न्याय हुन सक्दैन भन्ने खालका अभिव्यक्ति बाहिरिएको देखिएको छ । यसबाट वास्तविक समस्याको वास्तविक समाधान होला र ? अथवा यसले समस्यालाई झन् फुकाउनै नसकिने जालोभित्र पठाइ दिने हो ? गंभीर चिन्तनको विषय बनेको छ ।

आआफ्नो सक्षमता र सामथ्र्य लिएर अस्तित्वमा रहेका नारी र पुरुष एकअर्कालाई सापेक्षिक रूपमा उभ्याएर तुलना गर्नै मिल्दैन । यी दुवै अतुलनीय छन्, एकअर्काका परिपूरक । जतिसुकै यसको महत्व बुझाउन खोजिए पनि प्राग्ऐतिहासिक कालदेखि नै नारीलाई पुरुषको शक्तिशाली व्यक्तित्वको सापेक्षतामा सँधैसँधै तुलना मात्र गरेर जानीजानी योजनावद्ध रूपमा उनलाई होच्याउने काम र व्यवहार विभिन्न स्वरूपहरूमा भइरहेको छ, भई नै रहेको छ ।

नारीको महत्वलाई पैसासँग पनि गाँस्ने गरिएको छ । उसले पैसा कमाएर ल्याउँदैन । उनी त गृहणी हो । आम नारीहरूलाई यसरी नै परिभाषित गरिएको छ । पुरुषले परिवारको पालनपोषणका लागि बाहिरबाट पैसा कमाएर ल्याउने गर्दछ । यसैले ऊ नारीभन्दा श्रेष्ठ र पुरुषार्थी मानिएको छ । समाजले मानिसको विवेक र शक्तिलाई सँधैसँधै पैसामा तौलिने गरेको छ । पैसाको यो गणितीय हिसाबकिताबले जीवनव्यवहारलाई नै पैसाको गणितीय स्वरूप प्रदान गर्न प्रवृत्त रहेको देखिएको छ । नारी पुरुषलाई तुलना गर्ने यो फेरि अर्को खतरनाक मापदण्ड बन्न पुगेको छ । वास्तवमा नोकरी गर्नु, अफिस चलाउनु, दुकान चलाउनु र त्यसको हिसाबकिताब गर्नु जीवनको साधन खोज्नु मात्र हो । यो जीवनको साध्य हुँदै होइन । पैसाले बनेको सिमेन्ट, छडआदिले बनेको घर भन्ने गरिएको ठाउँलाई वास्तविक घर बनाउन प्रयोग भएका नारीका सीप र चिन्तनको हिसाबकिताब यहाँनिर पटक्कै गरिएको देखिँदैन । गणितीय विज्ञानले परिभाषित गर्न नसकेको यो सुन्दर व्यवहारलाई अत्यन्त असुन्दर परिभाषभित्र बाँधिदिएको छ ।
साँच्चै भन्ने हो भने अफिस वा दुकानबाट कमाएर ल्याएको हिसाबकिताबमा नारी बेहिसाब जीवन बाँचेकी हुन्छिन् । सिमेन्ट, छडआदिले बनेको घर भन्ने गरिएको ठाउँलाई प्रेमपूर्ण वातावरण दिएर वास्तविक घर बनाएकी हुन्छिन् । नारीको हार्दिकतापूर्ण भावना र अनुभूतिपूर्ण संवेदनशील व्यवहारले गर्दा घरले घर भन्ने कुराको महत्व पाएको हुन्छ । तर यसको मूल्यांकन आज पर्यन्त पनि हुन सकेको अवस्था देखिँदैन । यस्तो अत्यन्त मूल्यवान जिम्मेवारीलाई पैसामा तौलिएर नारीमाथि गरिएको दुव्र्यवहार सही नसक्नुको बनेको छ । पुरुषले कमाएर ल्याएको वस्तुलाई नारीले जतन गरी फारो हुने गरी राखिदिएकी हुन्छिन् । बाहिरबाट कमाएर ल्याउनु पुरुषको क्षमता र विशेषता हो भने त्यसलाई जतन गरेर राख्नु अनि फारो हुने गरी व्यवहार गर्नु नारीको क्षमता र विशेषता हो । नारी र पुरुषको यी दुवै भिन्नभिन्न व्यक्तित्वलाई मानिदिएर व्यवहार गरिदिएको भए समाज कति सभ्य र सुन्दर हुने थियो होला । तर परिस्थिति यसको विपरीत रहेको छ । नारीमाथि गरिने भेदभावपूर्ण व्यवहारको निरन्तरता र यसमाथि भइरहेको चिन्तनले अमानवीय रूपमा गहिराइ लिँदै गइरहेको छ । नारीलाई हेर्ने र व्यवहार गरिने चिन्तनमा परिवर्तन हुनै नसकेको यो स्थितिबाट पितृसत्तात्मक सोचको निर्माण भई यसैको अनुकूलतामा सम्पूर्ण परिवेश र कानून निर्माण हुने गरेको देखिएको छ ।

बिरालोलाई पनि कहीँ कतै निकास नदिइकन थुनिरह्यो भने ऊ आक्रामक बनेर आफू स्वतन्त्र बन्ने बाटोको खोजीमा विभिन्न उपायको खोजी गर्ने गर्दछ । यो प्रयासमा असफल भए पछि वा भनौँ उसले निकास नभेटेपछि ऊ आफू त्यहाँबाट निस्कनका लागि आक्रामक बन्दछ र चिथोर्न जान्छ । त्यस्तै समाजको एउटा वर्ग सँधै पीडित बनेर रहिरहनु परेको अवस्थामा त्यसको निकासका लागि विरोधका आवाज विभिन्न शैलीमा प्रवाहित भएर उठिरहेको छ, उठिरहेको छ । यसरी समाजमा प्रभावित रहेका पीडितको आफूलाई असहज भएको पीडाको आवाजको निरन्तर प्रवाहलाई अब कसरी रोक्न सकिन्छ ? किनभने समाजको यस्तो विसंगत स्थितिलाई यसले टुलुटुलु हेरेर बस्न सकिँदैन । समाजको हरेक तप्काको परिवेश र परिस्थितिसँग व्यक्ति निरपेक्ष रहन सक्दैन । यदि यो स्थितिबाट निरपेक्ष रही विचार विमर्श वा बहस गर्दै तत्कालिन समयको भोगाइको सत्यतथ्यलालाई दस्तावेजको रूपमा इमान्दारिताका कहिँकतै अभिव्यक्त गर्दा कसरी होच्याइएर भनिने नारीवादी भइन्छ ? बरु त्यस्ता अभियन्तालाई आवाजविहिनहरूको आवाजलाई निडरताका साथ उठाउने र तिनको प्रतिनिधित्व गर्ने एउटा स्पष्टवक्ता सिपाही भन्नुपर्छ । यदि यस कुरामा अझै पनि चित्त बुझ्न सकेन भने तपाइँकी सानी हिस्सि परेकी छुनुमुने, टुकुटुक हिँड्न सिकिरहेकी बहिनी, छोरी, नातिनीको जीवनको गतिशीलता र त्यसले ल्याउँदै गरेको परिवर्तनलाई सूक्ष्मरूपमा हेर्ने थालनी गर्ने हो कि !!