पुतली खेल

दुर्गालाल श्रेष्ठ

पहिला–पहिला केटाकेटीहरू सामाजिक विवाहकै देखासिकी गरेर खेलिने दुलहा–दुलहीको खेल खेल्न खूब मन पराउँथे । यसलाई नेवारीमा ‘भ्वय्कासा’ भन्ने गरिन्छ । आँगनमा, कसैको घरको ठूलो कोठामा वा दलानमा दैनिक जस्तै टोलका केटाकेटीहरू जम्मा भई ‘भ्वय्कासा’ खेल्ने गर्थे । भोज भनेर ईंटा, घाँस, बालुवा आदिका परिकार बनाउँथे । केटीहरूले दुलहीलाई सिँगार्थे । दुलहा जन्ती लिएर लिन आउँथे । रात प¥यो भनेर सुत्ने पनि गर्थे । यो दुलहा–दुलहीको कोठा भनेर छुट्याउँथे । केही क्रियाकलाप अश्लीलभैंm पनि देखिए तापनि तर बाल मस्तिष्कमा अश्लीलताको अलिकति पनि छनक हुँदैनथ्यो ।

दुर्गालाल र उनका समवयस्क साथीहरू पाँचसात वर्षको उमेरमा नित्यजस्तै ‘भ्वय्कासा’ खेल्थे । त्यसैले केटाकेटीमा खेलिने ख्यालख्यालको विवाह दुर्गालालको लोकगीतमा पनि झल्केको छ, जस्तै ः

मचाबले भ्वय् धकाः म्हितागु व कासा रे
चागःचा व वाउँगु घाँय्चा हेकथंया घासा रे

(अर्थात्, सानो उमेरमा भोज भनी खेलेको त्यो खेल थियो । सानासाना ढुङ्गा र घाँस, ख्यालख्यालका परिकार थिए ।)

बाल्यकालमा ‘भ्वय्कासा’ खेल्दा दुर्गालाल धेरैजसो दुलहा बन्थे भने उनकै उमेरकी एउटी केटी दुलही भएर खेल्थी । बिर्सिसकेकी त्यस नारीसित बीसतीस वर्षपछि टुँडिखेलमा अचानक उनको भेट भयो । ऊ भद्रकालीबाट महाङ्कालतिर गइरहेकी थिई । उसको हातमा पूजाको थाल पनि थियो । मन्दिरहरूमा पूजा गर्न आएकी हुनुपर्छ । ऊसँग ‘धेरैपछि भेट भयो हगि ?’ भन्दै सामान्य कुराकानी भयो । तर त्यो अधबैंसे आइमाईको सिउँदोमा सिन्दूर थिएन । दुर्गालालले अचम्म मान्दै त्यो कुरा सोधे । उसले उल्टै प्रतिप्रश्न गरी ‘तिमीले अभैm मेरो सिउँदोमा सिंदूर देखेका छैनौ र?’ त्यस वेला दुर्गालाललाई आपूm उभिएको जमिन भासिएको अनुभव भयो । बालककालमा ख्यालख्याल गरी खेलिने त्यो विवाहभोजलाई उसले त्यति धेरै गम्भीरतापूर्वक लिएकी थिई भन्ने कुराको अलिकति पनि भान दुर्गालाललाई थिएन ।

यस कुराले दुर्गालाललाई निक्कै अचम्भित पा¥यो । त्यस्तो ख्यालख्यालको खेललाई पनि जीवनकै अङ्गस्वरूप गम्भीरतापूर्वक लिने त्यस्ती प्रेमिका पनि यस धरतीमा हुन्छेहोली भन्ने अनुमान दुर्गालालले गरेका थिएनन् । यस घटनाले दुर्गालाललाई निक्कै प्रभावित ग¥यो । उनलाई लाग्यो त्यस नारीको हृदय यति साह्रै कवितामय छ कि कवि भए तापनि उनको हृदय त्यति कवितामय छैन । अनि उनले यस विषयमा ‘भ्वय्कासा’ शीर्षकको एउटा लामो कविता नै लेखे, नेपालभाषामा । त्यो नेपालभाषाको दैनिक पत्रिका सन्ध्या टाइम्सकोे अतिरिक्ताङ्कमा (ने.सं. ११२२) छापिएको छ । फेरि पछि नेपालीमा एउटा छोटो कविता लेखेः

शैशव

शैशव सम्झनु हो घर पस्नु
जस्केलो खोली
त्यो संसार, जहाँ छन् दुइटा
पुतलीका टोली

मानिस बोल्छन् किन्तु सुनिन्छ
पुतलीको बोली
पुतली–खेल, मलाई लाग्छ
जीवनमय होली

(कविता स्रोतः शब्द संयोजन २०७१ जेठ (पूर्णांक १२१), पृष्ठ १३)

प्रारम्भिक शिक्षा

आजभन्दा आठ दशकअघि पढाइ भनेको अन्त्यन्त सीमित वर्गको मात्र पहुँचको कुरा थियो । ती सीमित भनेको दरबारमा सम्पर्क भएका ठूला भनाउँदा व्यक्तिहरू थिए । तर त्यसै वेला मध्यम वर्गीय समाजमा पनि राणाशासनको विरोधमा पढाउनुपर्छ भन्ने चेतनाको सुरुवात भएको थियो । वातावरण पनि त्यस्तै बनेको थियो । दुर्गालालकै टोल न्हैकंतलामा राणाविरोधी अभियानको गोप्य अखडा थियो । राणाशासनविरोधी राजनीतिक मान्छेहरूले त्यस ठाउँमा विद्यालय खोलेका थिए ।

दुर्गालालका आमाबाबुका चार सन्तान थिए । दुई दाजुहरू र एउटी बहिनीका बीचका तेस्रा सन्तान थिए उनी । दाजुहरूले पढेलेखेका थिएनन् । झन छोरीलाई पढाउने त कुरै भएन । तर नौ–दश वर्षका दुर्गालाल पढ्न जान्थे, तिनै राजनीतिकहरूले चलाएको नाम मात्रको विद्यालयमा । किन हो कुन्नी, उनकी आमाले उनको पढाइलाई विशेष ध्यान दिने गर्थिन् । शायद ठूला छोराहरू नपढीकनै हुर्के, सानोले भए पनि पढोस् भन्ने उनको इच्छा थियो वा हुनसक्छ कान्छो छोरो भएकाले पनि आमाको विशेष माया पाएका थिए वा यस्तै केही थियो । विद्यालय भएकोले त्यहाँ केही–केही पढाइ त हुन्थ्यो तर राजनीतिमा लागेका मानिसले खोलेको त्यो विद्यालयमा गतिलोसँग पढाइ हुनुुभन्दा केटाकेटी जम्मा पार्ने काम मात्र गरिन्थ्यो । त्यो विद्यालय पछि अन्तै सरेकोले उनकी आमाले विशेष न्योहोरा गरी बर्माबाट फर्केका शङ्कर गुर्जू (गुभाजू) कहाँ पढाउन पठाइन् । ती शङ्कर गुर्जूको साँचो नाम संघरत्न शाक्य थियो र उनी त्यस वेला अहिलेका मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरका काकाको घरमा बहालमा बस्थे । उनी त्यहाँ पढ्न जाँदाको पहिलै दिनको घटना साह्रै घतलाग्दो भएछ ।

एउटा अक्षर नचिन्दा

कुरा के भने अगाडि पनि केही पढिसकेका दुर्गालालले आफूलाई निक्कै जान्ने सुन्ने ठानेका रहेछन् । अलिकता आफू अङ्ग्रेजी पढ्नसक्छु भन्ने कुरो झल्काउन उनले सिलोट र नेपाली किताबको माथि बाहिरबाट देखिने गरी अङ्ग्रेजी किताब (फस्ट बुक) बोकेर गएका थिए । शङ्कर गुर्जूले “तिमी कति कक्षामा पढ्ने ?” भनेर सोधे । उनले फूर्तिसाथ “दुई” भनेर भने ।

“ल त ल बेस भयो । दुई कक्षामा पढ्ने रहेछौ । अङ्ग्रेजी पनि सिकेका रहेछौ । म एउटा अक्षर लेख्छु, भन्नु है त !” भनेर गुरुले भने ।

उनले पनि गुरुले सिलोटमा अक्षर कोर्नासाथ भने “कु” । गुरुले “ए, राम्रोसित हेरेर भन” भने । शङ्का लागेर लहरै भित्तामा अडेस लागेर पढिरहेका विद्यार्थीहरू पनि हेर्न आए । हेरेर सबैजना हाँस्न थाले । उनले फेरि फूर्तिसाथ “कु” भने । विद्यार्थीहरू झन् गललल हाँसे । वास्तवमा गुरुले लेखेको त्यो अक्षर थियो “कृ” ।

आफू “कृ” एउटा अक्षर पनि नचिन्ने, तर गुरुको अगाडि कक्षा दुईमा पढ्ने भनेको, साथै सबै साथीहरू हाँसेको सम्झँदै–सम्झँदै उनको मन रोयो । त्यो विद्यार्थीहरूको हुलमा सबभन्दा ढाडे पनि उनी नै थिए, सबभन्दा नजान्ने पनि उनी नै । उनले त्यति वेला नै आत्मग्लानि महसुस गरिसकेका थिए । यो घटनाले उनलाई भित्रसम्म घोच्यो । अपमान भन्ने कुरा उनले जिन्दगीमा पहिलोपल्ट महसुस गरे । त्यसपछि उनी लगनशील भएर पढ्दै गए । रातमा निद्रा पनि भनेनन् । बिहान चार बजे नै उनी उठ्थे । घरनजिकै बहालमा सरस्वतीको प्रतिमा थियो । उनी सरस्वतीको मुख धोइदिन्थे, पानीले मूर्ति पखाल्थे । अनि त्यो चकमन्न रातमा सरस्वतीको अगाडि बसेर उनले दिनभर आफूले पढेका सबै कुरा सरस्वतीलाई आँखा चिम्लेर सुनाउँथे । यसो गर्दा उनलाई निकै आनन्द आउँथ्यो । त्यसपछि त उनले छ महिनामा नै सबैलाई उछिनिहाले !

शङ्कर गुर्जू “किताबमा जस्तै लेख्नू, अशुद्ध नलेख्नू” भन्थे । गुर्जू आफैँ पनि मोतीदानाजस्तै सुन्दर अक्षर लेख्थे । दुर्गालालले पनि आफ्नो अक्षर किताबको जस्तै शुद्ध र गुर्जूको जस्तै सुन्दर पार्ने प्रयास गर्थे । यसले गर्दा उनको शुद्ध र सुन्दर लेख्ने बानी नै बस्यो । त्यसैले होला अहिलेको बुढेसकालमा पनि उनको अक्षर छापाजस्तै सुन्दर छ ।

उनले एक सालजति मात्रै शङ्कर गुर्जूकोमा पढेका थिए । तर शङ्कर गुर्जूको प्रभाव उनमा निकै गहिरो रह्यो । गुर्जू आफैं पनि धेरै जानेको मान्छे त थिएनन् । तर उनी किताबमा जताजता फर्काएर (ह्रस्वदीर्घ) लेखिएको हुन्छ त्यतै–त्यतै फर्काएर लेख्न भन्थे । वास्तवमा गुर्जूलाई ह्रस्वदीर्घ पनि भन्न आउँदैनथ्यो । तर यसले शिष्य दुर्गालाललाई जीवनपर्यन्त शुद्ध लेख्नमा मद्दत गर्यो ।

कागको बथानमा बकुल्लो

त्यसपछि २००३ सालतिर दुर्गालालले तत्कालीन काठमाडौंका धेरैजसो घरानियाँहरू पढ्ने पद्मोदय माध्यमिक विद्यालयमा पढे । पद्मोदय माध्यमिक विद्यालय यसरी उनको पहिलो औपचारिक पाठशाला भयो । त्यहाँ उनलाई न्हैकंतलाका गौरीप्रसाद राजभण्डारी (जो विद्यालयका संस्थापकमध्ये पनि थिए) ले निःशुल्क भर्ना गरिदिएका थिए । पद्मोदय विद्यालयमा त राणाका छोराहरू, उनीहरूका भारदारका छोराहरू र राणाका दरबारमा पुरोहित काम गर्नेका छोराहरू मात्र पढ्ने गर्थे । उनको त सुरुवाल नै ठाउँ ठाउँमा टालिएको हुन्थ्यो । त्यस बेलासम्म पनि उनको खुट्टामा जुत्ता थिएन । त्यसैले उनी अरू विद्यार्थीहरूका बीचमा अलग्गै देखिन्थे । कसैले उनलाई होच्याएर केही नभने पनि उनीहरूको हेराइबाट नै उनले आफू अरूभन्दा निकै तल रहेको चाल पाउँथे । तर सबै कुरा थाहा पाएर पनि त्यसमा उनले गर्न नै के सक्थे र ? उनले देखावटी कुरामा अरूसँग प्रतिस्पर्धा गरेर जित्न सक्ने त थिएनन् नै । बरु उनले आफूले सक्ने कुरामा राम्रो गर्ने कोसिस गर्न खोजे ।

त्यो विद्यालयमा मङ्गलाचरण गाउने चलन थियो — “सरस्वतीका कुमार हामी, सरस्वतीको पुकार गर्छौं” भन्ने लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविता गाइन्थ्यो । जीउमा राम्रो लुगा नभए पनि, खुट्टामा जुत्ता नभए पनि गाउनमा उनी राम्रा थिए । त्यसैले विद्यालय सुरु हुँदा सबैको अगाडि उभ्याएर उनलाई यो गीत गाउन लगाइन्थ्यो । गीत राम्रो गाउने भएकोले उनलाई शिक्षकहरूले मन पराउन थाले । शङ्कर गुर्जूसित पढ्दै नै उनले राम्रो अक्षर लेख्ने अभ्यास गरिसकेका थिए । उनको मोतीदानाजस्ता अक्षर देखाउन उनको कापी विद्यालयका सबै कक्षामा घुमाउन लगिन्थ्यो ।