साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको सातौँ संस्करणमा महान् त्यागी, गोपीराम भण्डारी, रबिन्द्र कार्की सर्वोत्कृष्ट भएका छन् । साप्ताहिक रूपमा सञ्चालन हुने यो खुला प्रतियोगिताको अघिल्लो अङ्कमा चूडा निर्भीक, मायाकुमारी रिजाल र केदार राना सर्वोत्कृष्ट भएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको पाँच सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका १४ मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने महान् त्यागी, गोपीराम भण्डारी, रबिन्द्र कार्कीका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

उत्कृष्ट छान्ने क्रममा केही अङ्कले वी एस निरव, रबीना मैनाली, शिव कोइराला परेका हुन् । होनाहार मुक्तककारहरू पछि पर्दा निर्णायक मण्डललाई निर्णय गर्न गाह्रो भएको मुक्तक सम्पादक निसा केसीले बताएकी छन् ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी  र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।

प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने , “तोकिएको नियममा रहेर ११ मुक्तक प्राप्त भएका थिए । केही मुक्तकहरू नियमबाहिर रहेर पनि प्राप्त भएका थिए । नियमविपरीत रहेर इमेल तथा साहित्यपोस्टको फेसबुक पेजमा आएका मुक्तक असाध्यै राम्रा भए पनि प्रतिस्पर्धामा समावेश भएनन् ।”

अँध्यारो, कुलमान र उज्यालो गरी तीनवटा विषय दिएर मुक्तककारहरूलाई मुक्तक आह्वान गरिएको थियो । मुक्तक प्रतियोगितामा भाग लिन तोकिएको विषयमा केन्द्रित रहेर त्यही पेजको तल मुक्तक राख्नुपर्ने नियम बनाइएको छ ।

५० साता चल्ने यो प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ ।

अर्को साताको मुक्तक प्रतियोगिता भोलि अर्थात् बुधबारबाट सुरु हुने साहित्यपोस्टले जनाएको छ । नयाँ तीन विषय पनि समाचारसँगै घोषणा गरिनेछ ।

विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।