१. पहिलो लघुकथा
जाँदा र आउँदा
शशीकला शर्मा

शशीकला शर्मा
तीनधारा पाठशालामा छिडीमा बस्ने आइमाईले सानी डेढ बर्ष जतिको छोरीलाईलाई पिटेको देख्दा हिँड्ने बटुवाको पनि छाती रहेन । सबै टक्क अडिएर त्यो दृष्य हेरिरहे । कसैले बुझ्न सकेनन् । छोरीलाई लौ मर् लौ मर् भन्दै भकुरिरहेकी थिई मानौ आइमाईको हृदयबाट मातृत्व भन्ने बस्तु नै शून्य भएजस्तो थियो । छोरी चाहिँ पापाले भन्दै रुँदै कुटने आमासँग टाँसिन्थी । धेरै बेरको लडन्तपछि आमाचाहिँ हुरिँदै भित्र गई र आफ्नो सामाल राख्ने हाँडी झिकेर भैंमा चकनाचुर पारी । अनि दगुर्दै आएर छोरीलाई अँगालो हालेर रुन थाली । दर्शकहरू जिल्ल पर्दै हैन यो आमाईको मगज खुस्केको ता हैन भनेर हिँडे ।
झण्डै घण्टा जति सहरमा काम सकेर आउँदा फेरि त्यै छिंडीबाट टाढैसम्म सुनिने कराएको आवाज आइरहेको थियो । म पनि त्यही ठाउँमा पुगेर फेरि तमासा हेर्न थालेँ । भित्रबाट लोग्नेमान्छे चाहिँ चिच्याइरहेको थियो । “यो राँडीले अझै भात नपकाएकी ए मरी मरी काम गरेर थाहेर थाकेर आयो भान्छा रित्तै, राँडीलाई बिहान त्यसरी पूजा गरेर गएको पनि केही काम लागेन । पख त, तँ राँडीलाई देशै काटेर जान सकिन भने ।”
स्वास्नीचाहिँ गहभरी आँसु लिएर छोरी डोर्याएर ठिङ्ग उभिई राणको पर्खालबाट चियाएर उसको तमासा हेरिरहेका नासपातीलाई हेरिरहेकी थिई ।
(नेपाली लघुकथाको पहिलो नारी हस्ताक्षरको चिनारीमा शशीकला शर्माको नाम प्रष्ट आउँछ । उहाँले वि.सं. २०१९ सालमा “उनको सुरुवाल“ लघुकथा संग्रहको प्रकाशन गर्नु भएको थियो । शशीकला शर्माका लघुकथाहरूले थाहा नपाउँदो गरि राणाकालीन समयको बोध गराउँछ । उहाँ नारीका अन्तर्द्वन्द र संवेदनाहरूमा कलम चलाई सामाजिक यथार्ततामा पुरुषलाई सजग गराउन रुचाउनु हुन्छ । )
२. स्वर्णकालीन लघुकथा
न्याय
विधान आचार्य
एकजनाले मुख थुनेर बेस्सरी टाउकातिरबाट समात्यो, अर्काले दाहिने हात, अर्काले देब्रे हात, दुइटाले एकेक गोडा र यी पाँचको नेताले उसका सबै लुगा छोडाएर सबैभन्दा पहिले आफ्नो कर्तुत सिध्यायो । अनि पालैपालो खनिए । ऊ रगतपच्छे भई । छैटौं मुख थुन्ने नै बाँकी थियो । उसको पालोमा उसलाई हल्लायो, हलचल गरिन ।

विधान आचार्य
यो मरिसकी, म लाशसित गर्दिनँ । ऊ पछि हट्यो ।
यसले नगरे भोलि हामीलाई पोल्नसक्छ । यसलाई छोड्नुहुन्न । पाँचजनाको मत मिल्यो, क्षणभरिमा दुई शरीर निर्जीव लडाइए ।
पाँचौ पश्चातापमा थियो । यसले त गरेको पनि थिएन, बरू हामीलाई सघाएकै थियो, यसलाई मार्नु गलत भयो । अरू चारजना मुखामुख गरे । विपरीत सोचको पाँचौ किन बाँच्ने ? अर्को क्षण तीन शरीरहरू ढालियो । कोही कसैले पनि आफू पोलिनसक्ने प्रमाण या सुराक राख्न चाहन्नथ्यो ।
अलि अगाडि पुगेपछि चौथोले गोजी छाम्यो, भन्यो – मोबाइल पाचौंलाई राख्नदिएको थिएँ उसको गोजीमा छुट्यो । जाम् न फर्केर, एक्लै डरलाग्छ । यो काँतरले हामीलाई पनि फँसाउनसक्छ!! हेर्दाहेर्दै साथीहरूकै धारिला हतियार चौथो साथीमाथि चले, चार शरीर बारीका जङ्गलतिरका पाटामा निर्जीव लडे ।
तेस्रोको उतिबेलै फोन आयो – स्वाभाविक उत्तर दियो म यहाँ, यी यी सित छु । साथी बिच्किए– किन भनिस् ? भोलि छानबिनमा कोको साथी थिए, कहाँ हो, आदि अनेक हुनसक्छ । कहाँ छ भन्ने कुरा किन चाहियो ? फरक्क फर्केको मात्र थियो, दोस्रो साथीका हतियारले तेस्रोका आन्द्रा बाहिर निकाले । पाँच शरीरहरू ढले ।
बाँकी रहे दुई । पहिलोले दोस्रोलाई सोध्यो किन के भयो र तेस्रो लाई मारिहालेको ? दोस्रो अब शङ्कामा डुब्नथाल्यो । तँ ममाथि शङ्का गर्ने ? दुई भर्खरैसम्म मिलिरहेका साथी अब एकआपसमा शत्रु भए । बारीको बारको घोँचो लिएर चुच्चो तिरबाट एक अर्कालाई प्रहार गरे । दुवैका छाती छेँडदै दुवै घोंचा वारपार भए । सबै छका छ सोत्य्रान भए ।
ऐय्या ! वेदनाले छटपटिएर बेहोसीबाट बिउँझिदा सानीले आफ्नो अस्मितामाथि खेलबाड गर्ने छ जना नै बारीमा निर्जीव लडेका पाई ।
दगुर्दै आएका एक जत्था पुलिसले उसलाई समाएर लगे । अहिले ऊ छ जनाको हत्याको सजाय भोग्दै जेलमा मृत्यु कुरिरहेकी छे ।
भेटने हो सानीलाई ?
(०३० को दशक नेपाली साहित्यको स्वर्णकाल मानिन्छ । यही कालमा नेपाली लघुकथाले पनि आफूलाई कसी लगाई नेपाली साहित्यमा लघुकथालाई स्थापित बनाउने काम गरेको छ ।
२०३० देखि नै स्रष्टा विधान आचार्यले नेपाली साहित्यमा दमदार उपस्थिति जनाउनु भएको छ । बहुमुखी प्रतिभाको धनि स्रष्टा आचार्यको लेखनीमा नेपाली लघुकथाले नयाँ र विशिष्ट रूप धारण गरेको छ । उहाँका हरेक लघुकथाको पात्र र शब्दहरूले पाठकलाई चलचित्रले झै संगसंगै डोर्याउँदै लैजान्छन् । उहाँ कुसल कवि पनि हुनुहुन्छ । लघुकथामा पनि कविताको मुर्छनाहरू छोड्न रुचाउनु हुन्छ ।
२०६६ सालमा उहाँको “कमाई” लघुकथा संग्रह प्रकाशनमा आएको छ । सर्वाधिक पाठक संख्या भएको “लघुकथा कुनो” फेसबुक पेजको उहाँ एक योजनाकार पनि हुनुहुन्छ ।)
३. मलाई मन परेको लघुकथा
लाचारी
रासा
अचानक हिँडिरहेको बाटो टक्क रोकियो । गन्तव्य ओझेल पर्यो । अन्धकार व्याप्त । यहीँनेर भेटिए – ईश्वर ।
’ उता नजाओ ! ’ – ईश्वरले सावधानीपूर्वक भने ।

रासा
’ किन ? ’ – बटुवाहरूले सोधे ।
’ अशान्ति छ त्यहाँ । ज्यान जाला अनाहकमा । ’
ईश्वरको जवाफमा बटुवाहरू अवाक रहे । पछि सुस्तरी बोले ‘ शान्ति स्थापना गर्ने जिम्मा हजुरको होइन र ?’
ईश्वर निरुत्तर । किंकर्तव्यविमूढ सबै ।
मौनता । मौनताको लामो श्रृङखला ।
(रासा अन्तर्मूखी स्वभावभएको स्रष्टा हुनुहुन्छ । उहाँ ०४० को दशकको सुरुवाती समयदेखि नै नेपाली साहित्यमा कविता, गजल र लघुकथाको माघ्यमबाट प्रकट हुनु भएको हो । उहाँ लेखनमा कलात्मकताको पक्षधर हुनुहुन्छ । थोरै शब्दमा गहनभाव सहीत विशिष्ट प्रस्तुति दिनु रासाको क्षमता हो । यस लघुकथामा पनि उहाँले सटिक शब्दहरूको प्रयोगमा श्वैरकल्पनाको माध्यमबाट वर्तमान समय र समाजको प्रष्ट चित्रण गर्नु भएको छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

