इतिहास विषयको परीक्षा चलिरहेको छ ।
प्रमाणपत्र तह द्वितीय खण्ड मानविकीका छात्रछात्राहरू परीक्षा दिइरहेका छन् । सिम्बल नम्बर ०९१६९–७ पनि परीक्षा भवनको पुछारमा आफ्नो निम्ति तोकिएको ठाउँमा बसेर परीक्षा दिइरहेको छ ।

मातृभूमि साप्ताहिक, वर्ष–२, अङ्क –४६ ।

२०४५ साल मङ्सिर ७ गते मङ्गलबार सुविद गुरागाई बाइलाइनमा ‘छापिएको यथार्थभित्र लुकेको परीक्षाको कथा’ आज हुबहु तपाईलाई सुनाउँदै छु ।

ऊ आज एकदम खुसी देखिन्छ ।

प्रश्नपत्रमा सोधिएका सजिला प्रश्नहरू देखेर, ऊ आफ्नो मूल्याङ्कनको सम्भाव्य परिणाम सोचेर खुसी हुन्छ । आज उसको अन्तिम परीक्षा हो । एकपटक मनलाई संवेदनशील बनाउँछ, घोरिन्छ र प्रश्नहरूको उत्तर लेख्न सुरु गर्छ । आज ऊ सम्भाव्य जितको उन्मादमा छ ।

अहिले करिब दुई घण्टा सकिएको छ । सोधिएका पाँच वटा प्रश्नहरूमध्ये चारवटाको उत्तर दिइसकेको छ । समय हेर्छ, अझै एक घण्टा बाँकी छ । फेरि पाँचौँ प्रश्नको उत्तर लेख्न थाल्छ ।

ऊ लेख्दै हुन्छ । अचानक उसलाई अल्छी लागेर आउँछ र हाई गर्छ । हाई गर्ने क्रम रोकिँदैन, दुई–तीन पटक लगातार चल्छ । मानिसले रोगलाई आफ्नो वशमा पार्न सक्ने भए अमर हुन्थ्यो होला । तर त्यसो कहिल्यै हुँदैन । हाम्रो शारीरिक संरचना अनौठोको छ । उसलाई यो हाई गर्ने व्यथाले सताएको करिब एक महिना भइसकेको छ । परीक्षाको तयारी गर्नुेपर्ने भएकाले रोग अस्पतालसम्म लग्न भ्याएको छैन । आज पनि रोगले असमय च्याप्यो ।

केही बेरपछि ऊ शान्त हुन्छ । त्यसैबीच उसले आफूलाई पूर्वावस्थामा ल्याउनुअगावै परीक्षा भवनमा विद्यार्थी गतिविधि हेरिरहेका ‘अब्जर्भर’ले ऊ नजिकै आएर बोलाउँछन् –
‘भाइ !’
‘हजुर सर !’ ऊ कसैले आफूलाई बोलाउँदै छ भनेर प्रत्युत्तर दिन्छ ।
‘यो तरिका भएन भाइ,’ अब्जर्भरको कठोर वाक्य ।

ऊ आफूमाथि भएको अप्रत्यासित शब्द आक्रमणले आत्तिन्छ र ‘मैले बुझिन सर ! के तरीका भएन ?’ भन्छ । ऊ आफूमाथि थोपरिएको दोषको कारण जान्न चाहन्छ ।

‘धेरै डिस्कस नगर्ने भाइ, पाँच वर्षका लागि जाइएला नि !’
‘मैले कुरा अझै बुझिन सर !’ उसको वाक्य कमजोर हुँदै जान्छ । गालाहरू एउटा सम्भाव्य डरले राता हुँदै जान्छन् । उसले केही कुरा बुझिनँ भने पनि उसको मनमा चिसो पसिसकेको छ कि यी महाशय ऊप्रति कस्तो अवधारणा राख्दै छन् ।

वादविवाद त्यत्तिकै हुन्छ । केहीबेरपछि उनी कक्षाको गतिविधि निरीक्षण गरेर बाहिरिन्छन् । सबै शान्त छन् । तर ऊ तिनको गतिविधि हेर्दै छ । उनी बाहिर गएर सुपरिटेन्डन्टलाई भेट्छन् । सुपरिटेन्डन्टबाट केही निर्देशन लिएर फेरि परीक्षा भवनभित्र पस्छन् । र, सिम्बल नम्बर ०९१६९–७ सहित प्रवेश–पत्रबाट उसको नाम टिपेर लैजान्छन् ।

ऊ परीक्षा दिएर निस्कन्छ ।
बाहिर हल्लीखल्ली छ । आज एक जना विद्यार्थी दुई वर्षका लागि निष्कासित गरियो रे ! ऊ स्तब्ध हुन्छ । को रहेछ त्यो ? कतै मै त हैन ? हुन सक्छ ।

मनमा चिसो पसेर आउँछ । ऊ दौडन्छ क्याम्पस कार्यालयतिर । क्याम्पस प्रमुखलाई सोध्छ । कर्मचारीलाई सोध्छ । उनीहरूको जबाफले चित्त बुझ्दैन । परीक्षा गार्डलाई सोध्छ । चित्त बुझ्दैन । स्वयम् सुपरिटेन्डन्टलाई भेट्छ, जबाफ पाउँछ, ‘हामीलाई थाहा छैन ।’

उसलाई लाग्छ यिनीहरू ढाँटिरहेका छन् । उसलाई षडयन्त्रमा धकेलिरहेका छन् । अनि बिन्ती गर्छ –
‘सर ! आखिर मेरो के दोष छ र ?’
ऊ छटपटिन्छ । रुन मन लाग्छ उसलाई ।
‘त्यो पनि हामीलाई थाहा छैन ।’
ऊ खिन्न हुन्छ ।

चिया पसल । त्यो चिया पसल उसैको हो । आजसम्म यही साधारण चिया पसलले उसलाई पढाउँदै छ । उसकी विधुवा आमा । विद्यालयमा छउञ्जेल उसकी आमाले सत्र जनालाई भनसुन गरेर निःशुल्क पढाएकी हुन् । विद्यालय जीवनमा ऊ जेहेनदार विद्यार्थी थियो र निरपेक्ष गरिब । गरिब त ऊ अहिले पनि छ । छोराबाट आफ्नो भविष्यसम्बन्धी अनेकन आशा राखेर, ऋण गरेर भए पनि छोरालाई क्याम्पसमा पढाउँदै छिन् उसकी आमा ।

यिनै कुराहरू सोच्दै हुन्छ चिया पसलमा बसेर ऊ । आमा ग्राहकलाई चिया बनाएर दिन तल्लीन छिन् ।
‘भाइ !’ अचानक उही पुरानै आवाज, ‘के छ त हालखबर ?’
समय साँझपख । ऊ भस्किन्छ । तन्द्रा भङ्ग हुन्छ ।
अब्जर्भर आफ्ना साथीहरूसहित चिया पसलमा आउँदै गरेको देख्छ ।
‘सर ! साथीहरू भन्दै छन्, तपाईले मलाई दुई वर्षका लागि निष्कासित गरिदिनुभयो रे ! यो के भएको सर ?’ ऊ प्रश्नको उत्तर दिनुको साटो प्रश्न गर्छ ।

‘त्यो हामीलाई थाहा हुन्न भाइ । पछि त्रिविले परीक्षाफल प्रकासित गरेपछि थाहा भइहाल्छ नि !’
‘कस्तो कुरा गर्नुहुन्छ सर ! लेखकलाई आफ्नो कथावस्तु थाहा नभएर कसलाई हुन्छ त ? मेरो गल्ती के थियो सर ? म चुप लागेर लेखिरहेको बेला तपाईले नै त पहिले बोलाउनुभएको हो सर ।’

‘हामी परीक्षा भवनभित्र त्रिविले दिएको अधिकार पालन गर्छौँ र बदमास विद्यार्थीलाई सजाय दिन्छौँ ।’

 

‘भो–भो धेर साहित्य छाँट्नुपर्दैन । तिम्रो कुरा गराइ नै त्यस्तै छ । आज बिहान परीक्षा भवनमा तिमीले मसँग डिस्कस गर्दा मेरो इज्जत कति रह्यो र ! मेरो आत्म–सम्मानमा चोट पुगेन त ? मैले तरिका भएन भन्दा चुप लागेर लेखेको भए भइहाल्थ्यो नि !’
‘चुप कसरी लाग्ने सर ? मैले गल्ती नै नगरेपछि,’ ऊ प्रतिवाद गर्छ । ऊ विश्वस्त थियो, उसले केही गल्ती गरेकै छैन ।
‘त्यो त ठिकै छ । तर तिमीजस्तै सबैले मसँग डिस्कस गरेको भए के हुन्थ्यो थाहा छ ? परीक्षाको वातावरण भङ्ग हुँदैनथ्यो ?’
‘तपाई वातावरणको दाबी गर्नुहुन्छ सर ! वातावरण कसका निम्ति ?’
‘विद्यार्थीका निम्ति ।’
‘विद्यार्थीका निम्ति हो भने परीक्षा हलको नजिकैबाट कुद्ने थोत्रा बस, ट्र्याक्टरले के वातावरण खलबल्याउँदैनन् ?’
‘जेसुुकै होस् त्यो हामीलाई मतलब छैन ।’
‘त्यसो भए सर म निष्कासन भएँ त ?’
‘त्यो हामीलाई थाहा छैन । भनिहालेँ नि त्यो पछि थाहा हुन्छ ।’
‘त्यसो भए ठिकै छ सर ! मेरो दुई वर्षको मेहनतसहित मेरो जिन्दगी बिगार्न आँट्नुभएछ । राम्रै हो सर ! मलाई आफ्नो दुई वर्ष बिग्रेकोमा पिर छैन । तर अनाहकमा विद्यार्थीहरूमाथि गरिने अत्याचारको म पछिसम्म नै विरोध गर्नेछु । हाम्रा पनि आफ्ना मान्छे होलान्,’ बोल्दाबोल्दै उसको स्वर रुञ्चे हुन्छ ।

‘हामी परीक्षा भवनभित्र त्रिविले दिएको अधिकार पालन गर्छौँ र बदमास विद्यार्थीलाई सजाय दिन्छौँ ।’
ऊ निरुत्तरित भयो । आफूमाथि बदमास शब्दको प्रयोग गर्दा बदमास कस्तालाई भन्छन्, उसले जान्न सकेन ।
अब्जर्भर र अरू सरहरू चिया खाए, गए ।

शैक्षिक भ्रमणमा जाँदा उद्धव श्रेष्ठ सरको साथीका रूपमा चिनेकाले मन जितेर त्यति बोलियो ती अब्जर्भर मदन खनालसँग । तर उनले मनभन्दा पनि हैसियत देखाए आफ्नो ।
ठिकै छ, कथाले जे माग्छ, त्यो हुन्छ भएरै छोड्छ । यस्तै सोच्दै ऊ टोलाइरह्यो ।

त्रिवि अतिरिक्त क्रियाकलाप निर्देशनालय । निर्देशकको कार्यालय कोठा ।
ऊ आफ्नो व्यथा पोख्न गाउँबाट राजधानी आएको छ । साथीभाइहरूसँग आउने भाडासमेत खोजमेल गरेर । उसलाई पूरा विश्वास छ, उसको समस्यालाई यहाँकाले बुझिदिनेछन् ।

‘सर, म सुनसरीबाट आएको । मेरो एउटा ठुलो समस्या छ सर ! मैले उताबाट चिठी पनि लेखाएर ल्याएको छु ।’
‘खै चिठी दिनुस् त ।’
उसले चिठी झिकेर दियो । चिठी दिइसकेपछि –
‘बस न भाइ ! के छ समस्या नढाँटिकन भन ।’
उसले आज्ञा पायो र बेलिबिस्तार लायो । ‘क’देखि ‘ज्ञ’सम्म । एकरति नढाँटी समस्या सुनाइसकेपछि –
‘केही हुँदैन भाइ ! नआत्तिनु । मैले समस्या बुझेँ । परीक्षा हलमा यस्ता वादविवादहरू प्रायः परी नै रहन्छन् । फेरि अब्जर्भरलाई विद्यार्थी निष्कासन गर्ने अधिकार नै हुँदैन ।’

‘तैपनि सर मलाई त डर लागिरहेको छ । मलाई षडयन्त्रमा फसाइँदै छ । कृपया बचाइदिनु प¥यो सर ! म ठुलो आशा लिएर आएको तपाईलाई भेट्न ।’

‘भनिहालेँ नि केही हुँदैन भनेर । नआत्तिनु । तिम्रो नाम र ठेगाना टिपाऊ । केही भएछ भने म मिलाइदिन्छु ।’

आज असोज ९ गते ।
परीक्षाफल प्रकासित भएको दिन । मन खुसी छ । उसको परीक्षाफल निश्चय नै राम्रो हुन्छ । अस्ति आएदेखि ऊ यतै काठमाडौँमा छ । दुःख सहेर पनि रोजगारको आशामा ।
ऊ परीक्षाफल बुझ्न परीक्षा नियन्त्रक कार्यालय, जमल आइपुग्यो । भित्तामा परीक्षाफल थियो । ऊ एकछिन त शून्य भयो । केही निर्णय नै लिन सकेन । परीक्षाफलमा निम्न विद्यार्थीहरूले परीक्षा भवनमा अनैतिक कार्य गरेकाले निजहरूको सम्पूर्ण परीक्षा रद्द गरी आगामी वर्ष त्रिविअन्तर्गतका क्याम्पसमा दर्ता नलिने भनी लेखिएको ठिक मुन्तिर सात वटा सिम्बल नम्बरहरू लहरै थिए । त्यसैको तेस्रो क्रममा उसको सिम्बल नम्बर थियो ।

उसलाई भाउन्न छुटेर आयो ।

रुन मन लाग्यो । सकेन । उसका वरिपरि विधुवा आमाका सपनाहरू घुमे । तिनीहरूले जिस्क्याए । उसले मनमनै सोच्यो, ‘रानीपोखरीले यतिबेला मलाई शान्ति दिनसक्छ ।’
‘धत् ! आत्महत्या गर्नु लाछीहरूको काम हो,’ मनले मानेन ।
यसअघि उसले नसोचेको होइन । तर अब कसैलाई भेट्नु बेकार थियो । नेपालका यस्ता बहादुरहरूले अब केही लछारपाटो लाग्दैन, उसलाई लाग्यो ।

ऊ आफूमाथि खसेको पहाड चुपचाप सहने निष्कर्षमा पुग्यो ।

तिथिमितिसहित तपाईले यो जुन कथा सुन्नुभयो, यसको सेरोफेरोमा मेरो आशा निकै शिथिल भइसकेको थियो । अब के गर्ने ?
मरता क्या न करता । डुबतेको तिनकेका सहारा । जिसका कोही नही होता, खुदा होता है । मायाले संसार थेग्दैन । नानाथरी विचारका पानीफोकाहरू भुक्क फुल्दै, फ्याट्ट फुटेदै गरिरहेका थिए ।
२०४५ कात्तिक ५ गते आइतबार ।

पञ्चायत उत्कर्षका दिनहरू थिए । पञ्चहरू जति थेत्तरा भए पनि राजासँग चाहिँ डराउँथे । राजाले भनेको मान्थे ।
कसैलाई निकै अन्याय भयो भने अन्यायमा परेकाहरूले बिन्तीपत्र हाल्थे । बिन्तीपत्र राजाका कर्मचारीले पढ्थे । सुनुवाइका लागि तत्काल निर्देशन दिन्थे । त्यसको जानकारी हुलाकबाटै घरमा आइपुग्थ्यो । केही काम पनि हुन्थ्यो । कामै भएन भने पनि कम से कम कसैले त सुन्यो आफ्नो पीडा भन्ने आनन्दानुभूति हुन्थ्यो ।

दसैँको सेरोफेरोमा मैले पनि दरवारमा बिन्तीपत्र हाल्ने निर्णय गरेँ । साथीहरू महेश पोखरेल, हरिकृष्ण पोखरेल र म राजा वीरेन्द्रको हातबाट दसैँको टीका लगाउन बिहानै लैनचौरको लाइनमा मिसियौँ । बिहान पाँच बजे लाइन लागेको राति आठ बजेतिर बल्ल पालो आयो । मैले आफ्नो भएभरको बेलिबिस्तार लेखेर खामबन्दी गरेको बिन्तीपत्र गोजीमा बोकिराखेको थिएँ ।

टीका लगाइदिँदै गर्दा मैले अचानक गोजीबाट खाम निकालेँ र राजातिर बढाएँ । एडिसिहरू अचानक सचेत भए । उनीहरूले मेरो हातमा अचानक देखिएको खाम खोस्न लाग्दै थिए, राजा आफैँले एक स्टेप अघि सरेर मेरो हातबाट खाम लिए र एडिसिलाई दिए ।
त्यहीबेला क्लिक, क्लिक, क्लिक । आँखाभरी बिजुली चम्केजस्तो भयो । दरबारको कुनै कर्मचारीले मलाई धकेलेर अगाडि बढाइसकेका थिए । फर्केर हेरेँ, राजा मुसुमुसु हाँसिरहेका थिए ।