एक मुठी खुसीका कनिका छन् 

एक अँजुली सपना छन् 

मलाई यतिमै तृप्त छ

मलाई बगैंचाको लालसा छैन 

एक कमल जो मनमै फुल्छ 

यति नै काफी छ ।

-कवि जुनू राना

हङकङेली नेपाली साहित्यको गगनमा ‘रातो नदी’ कवितासंग्रहको लालित्य  बोकेर उदाएकी कवि जुनू रानाको साहित्यिक साधना र लेखनको इतिहास लामै छ ।

विगत डेढ दशकदेखि  उनको लेख/रचनाहरूको जीवन चक्रलाई नियालिरहेको म एक नियमित पाठक हुँ । उनको साहित्यिक विचार, लेखन र प्रस्तुतिको किस्तीलाई दृष्टिगत गर्ने स्वतन्त्र साक्षी पनि हुँ ।

जुनू राना

हिजो सम्मको उनको साहित्यिक यात्राले माथि प्रस्तुत गरिएको कवितांश जस्तै एक मुठी खुसीका कनिका, एक अँजुली सपना र लालसाविहीन दर्पणमा आफूलाई हेरेर हृदयको हिलाम्य पोखरीमा फुलेको कमललाई नै सर्वथा ठान्ने छुट अब कवि जुनूलाई छैन भन्दा अत्युक्ति नहोला । यो हङकङ परिवेशको सन्दर्भ हो । आज आफ्नै कविताको ठेली लिएर प्रचारप्रसार, पाठक र प्रतिक्रियाको निमित्त विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाएकी जुनूलाई विश्वग्रामका नेपाली समाजले कविको एउटा प्रखर उचाइमा राखिसकेको छन् । यसमाथि भर्खरै जसो हङकङ साहित्यिक साझा शृङ्खलाको संयोजकमा चयन भएकी कवि जुनूलाई हङकङको साहित्यिक साझा चौतारीमा बसेर नेतृत्व गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ । यो उनले स्वीकार गरेको पदीय दायित्वको योगफलले पनि उनलाई आँखाले भन्दा विचारले हेर्दैछ दुनियाँले ।

हुन त उनले आफ्नो कहिरनमा “कवि बनूँला भन्ने त्यस्तो महत्त्वाकाङ्क्षा पनि थिएन । राम्रो कविता लेख्छु भन्ने योजना गरेर मेरा कुनै पनि कविता लेखिएका छैनन् ।” सम्म पनि भनेकी छिन् । साहित्यिक नेतृत्वको कुरा त सोचाइको टाँगोले भेटेका पनि थिएनन् शायद । यद्यपि उनका कविताहरू उनले अभिव्यक्त गरेको जस्तो अज्ञाता र अनिश्चितताको बादलभित्र कुहिरोको काग भएर उडिरहेका छैनन् । बरु ‘रातो नदी’का रातो कविताहरू अनेक विषमताका विरुद्ध चेतनाको विकुल फुक्दै विचारको महासागरतर्फ अविराम बगिरहेको पाइन्छ। जसको भाव शून्यतामा मानव सृष्टि अनिश्चित बन्छ ।

‘रातो नदी बनेर म बगिरहेछु

जहाँ म हुनुको अर्थ अलग छ

जुन नदीले सृष्टिको अस्तित्व बोक्दछ ।’

यो गद्यांश पढ्दा सरल लागे पनि यसको भावको सामुद्रिक गहिराइ माछालाई सोधे जस्तै मात्रै हुन्छ ।

रातो नदीमा ६८ थान कविताहरू बगिरहेका छन् । सबैका रङ् रातो नै छ । सबैका जुनून तातो नै छ । उद्देश्य एउटै छ  । विशेष सन्दर्भ र आवाजहरू भने फरक छन् ।

कवि जुनूका कविता पूर्व आधुनिक समाजले निर्माण गरेका धार्मिक अग्नि कुण्डमा स्त्री जातिले जल्नुपर्ने निर्मम सामाजिक कानूनको खिलाफमा विस्फोट भएका छन् । धर्मले आदर, सत्कार, सम्मान, सेवा, दया-माया, दान-बलिदान, नैतिकता,प्रे म जस्ता मानवमा हुनुपर्ने अपरिहार्य विषय  सिकाउँछ । तर तिनै कुराहरूलाई सिरोपर गराउने क्रममा बुज्रुगहरूले लैङ्गिक प्राण हिंसा गर्दछन् । जुनूका कविताले त्यो परम्परा अदृश्य रूपमा अझै पनि महिलामाथि लादिएको बाध्यकारी सामाजिक शासन भएको ठहर गर्दछ । र, आधुनिक समाजका यथास्थितिवादी निर्लज्ज टाउकेहरूलाई यस्तो गद्यांशले प्रहार गर्दछ ।

‘युग बदलिन्छ 

सीताहरूको परीक्षा बदलिंदैन

आज पनि सीताहरू जिउँदै झल्दैछन् टोल टोलमा जल्दैछन् 

रातको कालो प्रहरमा चल्दैछन् ।’

दार्शनिक ओशोका अनुसार ‘अज्ञात शान्तिले बस्नु छ भने चुपचाप धर्मलाई मान्नु । तर सत्य जान्नु छ भने धर्मलाई प्रश्न गर्नु।’

‘धर्मको नाममा भएको धर्मले नै मान्छेको जीवनको प्रेम खोसेको छ ।’ यी अभिव्यक्तिसँग जुनूका कविता केही समीप छन् ।

रातो नदीभित्र आफ्ना पूर्वजका फौजी इतिहास र त्यसभित्रका कुटिल चालले सिर्जना गरेका विषयलाई सुन्दर शब्द-शिल्पले उठान गरेको पाइन्छ ।

‘बिक्री भएको छाती 

लाहुरे बन्छ 

मगजभरि थाप्छ ‘वीर गोर्खालीको उपमा’ ।’

यो बाध्यात्मक सामाजिक मनोस्वीकृतिको परम्परा बनिसकेको अत्यन्तै शोषित विषयमा हिजैदेखि आवाज उठाइए पनि खासै परिवर्तनको संकेत देखिएको छैन । गोर्खाली हुनुको कुनै आकर्षण घटेको पनि छैन । यो ‘गोर्खा लाहुरे साहित्य’को रूपमा विकास हुने क्रम छ । जसले आफ्ना आवाजहरू शब्दहरूमार्फत बुलन्द गरी नै रहनेछ । त्यसको एउटा उदाहरण जसको एक छेस्को उदाहरण यो ‘रातो नदी’ पनि हो ।

यो भूगोलमा जुनसुकै सिद्धान्तको कुरा गरे पनि, जुनसुकै मार्गदर्शन पछ्याए पनि, हावापानी, ढुङ्गा-माटो, घाम-छाया, सारा प्रकृति कसैको पेवा होइन भने पनि अब सिमाना र सीमान्तता बिनाको संसार असम्भव छ । मान्छे जहाँ जन्मियो, हुर्क्यो, बढ्यो । त्यो परिवेशलाई कदापि भुल्न सक्दैन । कुनै न कुनै रूपले मानिसले त्यो सम्पूर्णताको स्मरण गर्दछन् । अभिव्यक्त गर्दछन् । कविहरूले त झन् ती स्मृतिहरूलाई यसरी सर्लक्कै शब्दमा उतारिदिन्छन् ।

‘समयले खनेको बाटैबाटो  हिँडेर 

म जहाँ पुगौँ 

कहिले छोड्दैन मलाई 

प्रिय जन्मभूमिको ह्यङओभरले 

बनाइरहन्छ झुम्म !’

जुनसुकै हिसाबले आफ्नो माटो, ममता र अभिभावकीय प्रेमबाट मान्छे अलग्गिए पनि आफ्नो सोचभन्दा महान् र मुटुको स्पन्दनभन्दा प्यारो त्यही आफ्नो जन्मभूमि र परिवेश हो ।

त्यस्तो हुँदैन थियो त बङ्गलादेशमा हिन्दूहरूमाथि गरिएको बर्बरतापूर्ण  हिंसाको विरुद्धमा ‘लज्जा’ उपन्यास लेखेर भारतमा निर्वासित जीवन बिताइरहेकी डा. तस्लीमा नसरिनले आफ्नो देशको बारेमा सयौं कविता लेख्ने थिइनन् । स्विडेनको नागरिकता हुँदाहुँदै पनि आफ्नै देशमा फर्केर सहज जीवन बिताउने बिन्तीपत्र जाहेर गर्ने थिइनन् । दुई दशक बढी हङकङमा जीवन बिताइरहेकी कवि जुनूले पनि आफ्नो माटो र परिवेशको प्रेमिल सुगन्ध मगमगाउने केही कविताहरू ‘रातो नदी’भित्र राखेकी छिन् ।

वास्तवमा कोही सुन्दर भएर प्रेम हुँदैन । जोसँग प्रेम हुन्छ उही सुन्दर हुन्छ भने जस्तै रातो नदीमा एउटा यस्तो कवितांश: छ-

‘प्रेममा थर हुन्न 

मोहमा वर्ग हुन्न 

आसक्तिको सिमाना हुन्न

सिमाना त मान्छेमा मात्रै हुन्छ ।’

कवि जुनूले कवितामा प्रयोग गरेका बिम्ब, प्रतीक र अलङ्कारहरूले हृदयलाई मज्जैले छुन्छ ।

कवि आमा हुनुको गर्वले फूल झैं मुस्कुराउँछिन् । प्रकृतिको रङ्गले रङ्गीन हुन्छिन् । भावनाको आकाशमा हर्षोल्लासको उडान भर्छिन् । तर कर्तव्य सम्झेर आफूलाई रूख बनाउँछिन् ।

तर कर्तव्य सम्झेर आफूलाई रूखको जरा बनाउँछिन् । रूखलाई कर्तव्य निष्ठताको प्रतीक र त्यसका हरेक आयामहरूलाई सन्तान बनाउँछिन् । ‘रातो नदी’मा तैरिरहेका यस्ता केही कविताहरू पढ्दा मन भावुकताले टम्म भरिएर आउँछ । यतिखेर लाग्छ साँच्चै ममता र आसक्तिको कुनै सीमा हुँदैन ।

‘समयको चर्खा घुम्दै गर्दा 

रूखले युग बाँच्नुपर्छ 

उसले बिरुवा हुँदै बोट हुनुपर्छ ।’

यो कविताको टुक्राले त्यो कर्तव्य निष्ठ ममताको वर्णन गर्दछ ।

जुनूका अधिकांश कविताहरूले  पितृसत्तात्मक सत्ताले निर्धारण गरेका मानकहरूको पारम्परिक घेराबन्दीबाट उन्मुक्त मातृत्वको वकालत गरेको देखिन्छ । यस्तै दुनियाँका महिला कविहरूलाई हेर्ने हो भने सोभियत सङ्घकी विश्वप्रसिद्ध कवि मरिना श्वेतायोवालाई लिन सकिन्छ । उनले लेखेका कविताहरू संसारका आधा  महिलाहरूको कविता हो भनिन्छ ।

आफ्नो प्रेमी वा श्रीमानबाट माया/प्रेम, साथ, रोमान्स, विश्वास, सम्मान  जस्ता मनमस्तिष्क र जीवनलाई डोर्‍याइरहने जे जे मनोकाङ्क्षा थियो, उनले  ती केही पनि जिन्दगीमा पाउन सकिनन् । बरु उल्टै जीवनमा भयानक पीडा आइलाग्यो । र, विश्वका नारीहरूले भोग्ने जीवनलाई कवितामा उतारी दुनियाँबाट आफैंले आफैंलाई बिदा गरिन् । तथापि आफ्नो आत्मा र विवेक नहारेसम्म आफ्नो सन्तानलाई अत्यन्तै कृपालु प्रेमले पालनपोषण गरिन् ।

संसारमा उनलाई नपढ्ने शायदै महिला साहित्यकारहरू होलान् ।

त्यस्तै प्रेमको छनक दिने जुनूको यो कवितांश:  –

‘तिमी मेरो अभिमान हौ 

तिमी मेरो स्वाभिमान हौ 

सकसको हदसम्म पुगेर 

आफूलाई रित्याएर 

तिमीलाई 

युगिन प्रेम जो गर्नुछ ।’

फेमिनिस्ट भएर लेख्नु वास्तवमा आवश्यकताभन्दा बढी बाध्यता हो ।

महिलालाई मताधिकारसम्म नदिएको लोक आधुनिक दुनियाँलाई आधुनिक युगले अँगालिसक्दा पनि विभेद र विषमताको मानसिकताले भने जगडी नै राखेको छ । आजको उत्तर आधुनिक युगले पनि त्यो उन्मुक्ति दिन सकेको छैन । यस विषयमा नेपालका धेरै महिला साहित्यकारहरूले कलम चलाएका थिए, चलाइरहेका छन् । सुप्रसिद्ध लेखिका पारिजात, झमक कुमारी घिमिरे, राधा पौडेल र नीलम कार्की ‘निहारिका’ले करीब यस्तै सन्दर्भका पुस्तकबाट मदन पुरस्कार प्राप्त गरेका हुन् । तीमध्ये निलम कार्की निहारिकाको ‘योगमाया’ अत्यन्तै पीडादायी, विद्रोही, कारुणिक र फेमिनिस्ट संघर्ष र आन्दोलित पुस्तक हो । नेपालमा राणाकालदेखि आजसम्मको इतिहासमा फेमिनिस्ट रिभोलुसनको त्यो भन्दा अर्को ठूलो विद्रोह र कारुणिक छैन । ६८ जनाले सामूहिक जल समाधि लिएको त्यो विद्रोह सम्भवतः संसारकै फेमिनिस्टहरूका निम्ति अत्यन्तै दुःखदायी घटना हो । नेपालको राज्य सत्ताको निमित्त लज्जास्पद घटना हो । ‘रातो नदी’का एक कविताका यी हरफहरू त्यो घटनाका प्रतिबिम्ब जस्ता लाग्दछन् ।

‘कसले बनायो 

पुरुषत्वको मानक ?

कसले तय गर्‍यो श्रेष्ठता ?

जातले 

शरीरले 

लिङ्गले 

या रूपले ?’

यस्ता भाव र विचारशील कविता ‘रातो नदी’भित्र अरू पनि छन् ।

लैङ्गिक विभेद, हिंसा, विषमता, अत्याचार र दैनिक रूपमा भइरहने अमानवीय घटना/परिघटनाहरूको विरुद्धमा भारतीय कवि तथा लेखिका शुभद्रा कुमारी चौहान, महाश्वेता देवी, ममता कालियाँ, अल्पना मिश्रा जस्ता भारी व्यक्तित्वहरूले पनि अविराम लेखिरहेका छन् । विडम्बना त्यही देशमा गरीब, दलित परिवारमा जन्मिएकी फुलनदेवीलाई झुठा केसमा फसाएर कारागारमा राखियो । सुरक्षाकर्मीहरूबाटै हरेक रात लामबद्ध बलात्कार गरियो । त्यसैको बदला लिन उनले बन्दुक  उठाइन् । जङ्गल पसिन् । भयानक बदला पनि लिइन् । त्यसपश्चात् आत्मसमर्पण गरिन् । राजनीतिमा प्रवेश गरिन् । सांसद पनि भनिन् । तर पनि उनको जीवन सुरक्षित रहेन । अन्ततः आधा उमेर छँदै गोली हानेर हत्या गरियो ।

फुलनदेवीका बारेमा संसारका महिला मात्र होइन पुरुषहरूले पनि कविता लेखेर हत्या/हिंसाको विरोध गरे । उनको जीवनीमा चलचित्रहरू बन्यो ।

यद्यपि उनको लडाइँ र जीवन उत्सर्गले भारतमा महिलामाथि हुने हिंसामा खास कमी आएन । कवि जुनूले पनि यस्ता दमनको विरुद्धमा निन्दा गर्दै आङ जिरिङ्ग जिरिङ्ग बनाउने केही कविताहरू लेखेकी छन् । जसको एक अंश यस्तो छ –

‘म ज्वालामुखीको लाभा हुँ 

यसै धर्तीको गर्भमा लुकेको 

विस्फोट हुन सक्छु कुनै पनि बेला

म विस्फोट भएँ भने 

ढल्ने छ गर्ल्याम्म पुरुष अहमको पहाड

र, उठ्नेछ मेरो वंश शिखर !’

उनले कवितामा उठाएकी वंशधिकारको मुद्दा हिजैबाट नेपालमा एउटा तातो बहसको विषय भइरहेको देखिन्छ । यस्तो लाग्छ यो बहस अन्तहिन छ ।

महिला हिंसा कुनै राज्य र शासकले मात्रै गरेका होइनन् । यसका अनेकौं कारणहरू छन् । तीमध्ये नेपालमा हिन्दू धर्मलाई राष्ट्रिय धर्म र सबै रैतीका जातजातिले अनिवार्य मान्नैपर्ने जबरजस्त शासकीय हुकुम(नियम) लागू गरिएपछि महिला मात्र होइन वैश्य र शुद्रमा विभाजन गरिएका जातिको जीवन नारकीय बन्यो । त्यसको मुख्य कारक थियो धार्मिक ग्रन्थ भनिएका मनु स्मृति । यो ग्रन्थ सबैभन्दा धेरै विवादास्पद ग्रन्थ पनि हो । डा. भीमराव अम्बेडकरले भारतमा ठूलो सङ्घर्षको दौरान मनुस्मृति जलाएका थिए ।

वास्तवमा मनुस्मृति धार्मिक ग्रन्थको नाममा ल्याइएको एकल ब्राह्मणवादी अराजनैतिक सोच थियो । कुटिलता थियो । त्यो विशेष गरेर शुद्रहरूमाथि गरिने चरम विभेदको पराकाष्टको थियो । त्यस्तो भयङ्कर विषयमा पनि जुनूले मुटु दरो पारेर कविता लेखेकी छिन् ।

‘जबदेखि सुरु भयो मनुस्मृति शासन 

तब टुँडालमा खोपिएका नग्नतासँगै वैधानिक बने वि

भेद र विषमता चलाइयो अमुक विधि-विधान 

तबदेखि नै कोरियो समाजमा विभेदी  रेखा’

यी गद्यांशहरू जति सजिलो गरी पढिन्छ । त्यसको हजारौं गुणा अप्ठ्यारो महसूस हुन्छ । ती आततायी इतिहासका प्रतिछायाहरू अझै पनि बाँकी रहेको कारण केही सचेत जुनूहरूले यस्ता कविताहरू लेखिरहनु परेको छ ।

‘रातो नदी’भित्र मातृत्त्व, विभेद, विषमता र संघर्षका कविताहरूसँगै प्रेमका केही कविताहरू पनि छन् । यस प्रसङ्गमा  विश्व प्रसिद्ध फ्रेन्च महिला दार्शनिक तथा कवि सिमोन द वुआलाई जोड्दा फेमिनिस्ट लेखनको उत्कृष्टतामा ‘रातो नदी’को अस्तित्व अझ स्पष्ट हुने लाग्यो । आजभन्दा तीन दशक अगाडि प्रकाशित भएको सिमोन द वुआको अस्तित्ववादी पुस्तक ‘सेकेन्ड सेक्स’को ख्यातिबाट नै फेमिनिज्मको संसारमा विस्तार भएको मानिन्छ । उनले तत्कालीन समयका धुरन्धर लेखक ज्यां पउल सार्टरसँग गहिरो प्रेम सम्बन्ध राखेर सँगै बसिन् । एकार्काको अस्तित्व स्वीकार गर्ने शर्तसहित बसेका यी महान् लेखक/लेखिकाको शवदहन पनि एकै ठाउँ गरिएको थियो । आजको लिभिङ टुगेदर पनि त्यहीँबाट शुरू भएको बुझिन्छ । त्यो समयमा एउटी महिला लेखिकाले त्यसो गर्नु पनि समाजविरुद्धको साहसिक निर्णय नै थियो । उनै दार्शनिक कवि सिमोनको फेमिनिस्ट लेखन र प्रेमसँग मेल खाने कवि जुनू यो कवितांश :

‘मैले आफैंले कोरेको भाग्य रेखामा 

तिम्रो बाहेक अरूको नाम छैन ।’

फेमिनिस्ट विचारधारामा अधिकतम बगिरहेको देखिने ‘रातो नदी’मा पुरुषको अस्तित्व बत्ती बालेरै खोज्नुपर्छ कि भन्ने लागिरहेको बेला एउटा  पुरुष(बाउ)को कविताले राहत दिन्छ ।

त्यो कवितांश: यस्तो छ –

‘हरदिन बाबाकै पर्खाइ रहन्थ्यो

जब यी पाइला तंग्रिएका थिएनन् 

जब बोलीहरू प्रष्ट थिएनन्’

यसरी बाल्यकालमा हरेक बच्चाले चाहने बाउको आँटिलो साथ र काँधलाई ‘रातो नदी’ले स्थान दिएको छ ।

समग्रमा कवि जुनूको ‘रातो नदी’ले पुरुषप्रधान समाजमा महिलाको अनुभव, शोषण, असमानता,विभेद,हिंसा जस्ता विषयहरूको विरुद्धमा बुलन्द आवाज निकालेको छ । तथाकथित धार्मिक नियम/कानून र सामाजिक बाहुबलको आडमा महिला दलित र सीमान्तकृत वर्गलाई  गरिने उपेक्षाका बारेमा पनि कविता सशक्त रूपमा बोलेको छ ।

कविताहरूका भाषाहरू क्लिष्ट छैनन् । कुनै आञ्चलिक शब्दहरू मिसाइएका  छैनन् । शिल्प-शैलीको उचाइ मध्यम छ । कवितामा प्रयोग भएका बिम्ब, प्रतिक र त्यसले प्रदान गरेका अलङ्कारहरू अर्थपूर्ण छन् । भावशील छन् ।

‘रातो नदी’भित्र कवि स्वयंले लामो समयदेखि व्यतित गरिरहेको हङकङेली जीवनलाई खास स्थान दिएको नलाग्न सक्छ । कविताहरू लोक आधुनिक मूल्य-मान्यता र संस्कारबाट मात्रै सिर्जित भएको भान हुन्छ । अधिकांश कविताका विषयहरूको सारांश एउटै भए जस्तो पाठकलाई लाग्न सक्दछ ।

कविताहरू पढ्दै जाँदा कविको स्वविवेकको कुनै नवीनतम सोचको मन्थनबाट भन्दा पनि आफ्नै धरातलमा भइरहेको व्यथिति र विसङ्गतिहरूका विरुद्धमा थपिएका अर्को आँटिलो स्वर रहेछ भन्ने महसूस हुन्छ । केही कविताहरूको शीर्षकलाई पुष्टि गर्नको निमित्त कविले धेरै वटा बिम्ब प्रतीकहरू खेलाएको पाइन्छ, जसले कविताको स्वरूप महावाणी जस्तो स्वतः लाग्दछ । केही कविताहरूका यस्ता सामान्य तत्त्वहरूले कविता संग्रहलाई कुनै प्रकारको असभनीय बनाएको चाहिँ छैन । त्यस्ता कुराहरूलाई छोड्ने हो भने कविको पहिलो कविता संग्रह ‘रातो नदी’ले नेपाली डायस्पोरिक साहित्यबाट विचारवादी नेतृत्वको सर्वोच्चतामा निःसङ्कोच उभिने हैसियत बोकेको छ ।

यस्तो साहसिलो आवाजको बुलन्दित कविता लेख्ने बौद्धिकता र क्षमतामा कवि जुनूको बढोत्तरी होस् । शुभकामना ।

शाम शुई पो, हङकङ ।