साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उज्यालो हुनुअघि

–६

Chovar Blues Mobile Size

 

 

‘हैन आज कान्छी भाउजू नि बनाँ आकी के उदेक हो ! हैन भोलि घाम काँट उदाउलान् । त्यै नि एक्लै . हरि ! हरि ! के देख्न’ पर्या हो’, सानी गाउँको नेप्टे घर्तीले उध्याउँदा उध्याउँदैको ख’र्पा बीचैमा रोकेर भन्यो ।

‘यी ! के हेपेर बोल्या ए ठूले । हाम्रा पालाँ दिनाँ तीन खेप नि दाउरा ओसारियो भरेङ खोलाँट । ऐले त च्याउँम्याउँ भए । कान्छा दाइले नि घरकै वस्तुभाउ हेर, केटाकेटी हेर भनेर पो यो बनाँ नौली जस्तो लाग्यो तिम्लाई । आज नि किन जा भन्थे र बैनी आाकी रच हाम्लाई भेट्न । उसैलाई वन देखाइदे चुत्रो नि ख्वा भनेर लिएर आकी । वन भए नि तलतल चुत्रो सिद्धिने बेला त्यसै भयो । आजकाल त झन दुनियाँले फाँडी फाँडीकन वनै रइन्च । त्यसै भएर पो यति टाढा आकी ठूले’, रतेल्नी कान्छीले भनी ।

‘खै त बैनी ? अनि बैनीको घर कहाँ हो नि ?’

‘आउँदे छ । देश बसेकी । उकालो हिड्दा उमर्को लाग्छ भनेर पटक्कै हिँड्दिन् । बसी बसी आकी छ । घर डाँडापारि डोकेभार हो । के भन्नु र ठूले, मान्छे राम्रो भए नि कर्म राम्रो हुँदो रैनच के लाग्यो । अछाममा बगानाँ पाले भका खाइहाल्दा ज्वाइँ थिए । बैनीलाई नि हुइँ लगेका । प्वाक्क साउना त ज्वाइँ एकै रातको बेथाले हुइँ खसेचन् । बैनी गर्हुङजीउकी रैछ । परदेशमा अन्दरो बन्दरो कोई नाइँ । ज्वाइँकै साथी वै काम गर्ने राइनासको एउटा सार्की दयावन्त रचन् र सपै हेरविचार गरी आफ्ना बालबच्चासँगै दशैँमा आउँदा माइताँ ल्याएर छोड्दिएचन् । कर्म नि कस्तो फेरि । पींडो ख्वाउने औँसीको पाँच दिन अघि छोरो नि जन्मेच । हाम्रा बाआमाले मलाई छोरो पाकी हर्कको खबर नि पठाए । तर न्वारन नि सिद्धियो बच्चालाई नि नेपाले द्यौता लाको भन्थे रे, खसेछ । ज्वाइँले राम्रै कमारछन । आः कानाँ झलझल गर्ने सुन । हाताँ चाँदीका खदुवा बाला । घाँटीमा पटनाका माला । मखमलका चोला । गउन फरिया । दिनसम्म पो द्यारचन् । तिमी आफ्ना भाइजस्तालाई के नभन्नु छ र ठूले । नकत्तै पनि तीन हजार रच बैनीसँग । बैनीका धन खान वल्लोपल्लो डाँडाका मात्र हुन् र कुछाँ गोर्खादेखिका सार्कीहरु आउन लाग्या छन् रे दिनका दुई तीनवटा गरेर । बैनीलाई चाहिँ मन पर्दो रइन्च कुनै मोरा नि । वाक्क भएर एक महिना जति दिदीकाँ बस्छु भनेर माघे संक्रान्ती मान्न संक्रान्ती कै बेलुका आकी ।’

sagarmani mobile size

रंतेल्नी कान्छी बोल्दै थिई । झिगानोको झ्वाम्म परेको बूटाको आडबाट एउटी लाहुर्नी झ्वास्ंस निस्केकी देख्यो नेप्टेले । पहिले त लुगा र सुनका रातो पहेँलो रङले टपक्क टिपेजस्तो लाग्यो त्यो घाममा उसका आँखा । तर रंतेल्नी कान्छीले ‘उ क्या यै हो नि बैनी, ठूले ! हैन धेरै नै धकारो लाग्यो कि क्या हो नानी’ भनेपछि समाल्यो आँफूले आफँैलाई । बीस बाइसै उमेरकी गोरी, मझैँला कदकी । ठूला आँखा । सुलुक्क परेको नाक । निदार मुखको हिसाबमा केही सानो भए पनि सानो नदेखिने । अगाडि निदार छोपेर बसेका अलख देख्दा त पहेँलो प्याउली फूललाई छोप्ने काला भमरा पखेटा जस्तो पो लाग्यो त । त्यो मखमलको कालो सिलबिल गर्ने चोलो, त्यो रातो गहुनको बुट्टे घलेक । त्यःतै ठूलो बुट्टा भएको गहुनको रातो छिरबिरे फरिया । कानमा पहेँला टल्किने ती ठूला सुन । नाकको ठूलो बुट्टेदार बुलाकी । ती सेता हातका बाघमुखे चाँदीका बाला । यो सबैले सिँगारिएकी लाहुर्नी, ओहो ! नेप्टेले यसो वनतिर हेर्यो । एकै छिनमा सधैँ देखेको वन कति रमाइलो लागेजःतो लाग्यो । एरेलुको काँडा वनैलाई सेतो पारेर त्यसरी नै फुलेको थियो । अलि माथि गुँरास त्यसरी नै फुलेका थिए । चराहरुको चरचर चिरचिर त्यःतै नै थियो । नयाँ त केहि पनि थिएन । तैपनि लाहुर्नी एउटी देखिनासाथ त्यो वनै त्यस्तो उज्यालो भएजस्तो लाग्यो उसको मनमा । कति क्वाक्वार्ती हेर्न मन लागेको लाहुर्नीको मुखमा उसलाई ।

रंतेल्नी कान्छीले के भन्ठानीहोलिन् आफूलाई, जस्तो पनि लाग्यो मनमनै बोल्न खोजेको थियो ।तर वाक्य भने घाँटीबाट फुट्दै फुटेन । झन् उल्टो कता कता कम्प छुट्ला जस्तो पो लाग्यो । यसैले जुरुक्क उठेर ‘अब कान्छी भाउजुहरु कता जानी हो त चुत्रो खान’, भन्यो । रंतेल्नी कान्छीले भनी, ‘यो हिउँदाँ त आजै हो पैले आकी । तिमारु त सधैँ आउने थाहा होला नि चुत्रो कता पाइन्छ भन्ने । देखाइद्यौ न बरु । हामी दुइटी दिदीबहिनी मात्र छौँ आइमाई । जाओ त भैगो भने यसका भिनाजुले अबेला भो छापस्वाँरे ठिटा हिडिसक्याथे सपै । वल्लोपल्लो गाउँले लोग्नेमान्छे भेटिहालौला नि । भोलि फेरि बादल लाग्योभने आउनै सकिन्न भनेर हिँडिहालेका । अबेला हुन्छ भनेर म अलि छिटो हिड्छु भन्छु । उ चाहिँ उमर्को लाग्यो भन्छे । हेर न आधा दिन ढल्किहाल्यो । ’

नेप्टेलाई पुनस्को धर्मले आज घरबाट हिँड्दा ढीलो भएजस्तो लाग्यो । नत्र कतिका ठिटा साथी हुन्थे । उसले धोको फेरेर लाहुर्नीसँग कुरा गर्न पाउने थिएन । भित्रदेखिको खुशी मनमा निकाल्दै भन्यो, ‘आच्या ! के कुरा गरेकी भाउजूले म भएपछि को चाहियो र केको डर राम्रो चुत्रो त भालूखर्कको छेउतिर छ तल तल त अलि सुकिसक्यो । उकालो जाँदा अलि बेर त लाग्ने नै भयो । तर ह्वाँ पुगेपछि बैरालै छ नि । म नि टिपिदिउँला नि । मस्यौरा पार्न पनिटिप्ने विचार छ कि ? डाली देख्छु नि हाताँ । ’

‘सके टिप्ने भनेर ल्याको नि । तिमी हामीसँग चुत्रोमा लागेपछि घाँस के गर्छौ नि ठूले ? भरे वस्तु भोकै हुनन् नि ।’

‘छ्याः त्यो जाबो एक भारी घाँसको के कुरा गर्या कान्छी भाउजु ! तिमारु चुत्रो टिप्दाटिप्दै तीँ बाँझा रुखाँ चढ्चु, झार्चु कति बेर लाग्छ र ।’

‘यी ठूलेका जहानै यस्तै छन् नानी ! अर्काका लागी मरिमेट्छन् । आमा द्यौता छन् द्यौता । त्यस्तो आमाको छोरा किन यस्तो नहुन् त ।’
‘विचरा ! आफ्नो काम मारेर हामीसँग चुत्रो टिप्न जान लाग्नु भो । धन्नै हो । उहाँले घाँस झार्नुहुन्च बटुल्दिउँला । अनि त छिटै हुन्छ नि । उहाँ जस्तो मर्द साथी भएपछि त घर पुग्दा साँझसाँझ परे नि केको डर भो र हैन दिदी’, लाहुर्नीले हँसिलो मुख लगाउँदै आफ्नी दिदी र नेप्टेको मुखमा पालैपालो हेर्दै भनी ।

‘बिचरा, धन्नै हो’ भन्ने शब्दका साथै ‘घाँस बटुल्दिने’ साँझपर्ने आदि कुरा सुन्न पायो नेप्टेले । आशै नगरेको कुरा सुन्न पायो त्यो पनि त्यो विधि माया देखाएर । उसको रगतै सन्न भयो । कता कता भित्रदेखि नै काउकुती लागेजस्तो थर् थर् काम्न मन लागेजस्तो, काँमी काँमी पनि फेरि नाँचौँ नाचौँ जस्तो लाग्यो । ‘मिश्री जस्तो गुलियो वचन फेरि त्यस्तै आवाज पनि’, उसले मनमनै भन्यो । भन्न बेर न मुसुमुसु हाँसु हाँसूँ लाग्न बेर । अनि त माया लाग्दी तरुनीसँग बोल्दा कर्के नजर लगाएर मुसुमुसु हाँसेर बोल्नुपर्छ भनी साथीहरुले भनेको याद पनि आयो । तर कान्छी रंतेल्नी साथै छ । उसका अगाडि, भाउजू अगाडि, लाहुर्नीको दिदीको अगाडि त्यसरी नै बोल्ने कि नबोल्ने । फेरि हडबडायो । कताकता टाउको तातेजस्तो लाग्यो । खुट्टा ज्यादै कामेजस्तो लाग्यो । त्यसैले वनतिर हेरेर भन्यो, ‘जाऊँ गैहालौँ भरे अबेर हुन्छ । लाहुर्नी हिड्न सक्नुहुन्न क्यारे !’

‘अघि त्यस्तो खुशी पार्ने पनि यै मन, ऐले यस्तो उराठ पार्ने पनि यै मन मोरो’ भन्ने लागी आफ्नै मनसँग रिस उठ्यो ।

 

‘केको लाहुर्नी, केको तपैँ भनेको ठूले । कान्छी भन, तिमी भनन । तिमीभन्दा एक वर्ष कान्छी नै छ क्यार । हाम्रा बाआमाकी कान्छी नै छोरी हो । तिमी एकबीसे तीन भयौ क्यार हैन ? हाम्रा गाउँका दंगी ठूल्या भाइ र तिमी यौटै मैनाका रे । अस्ति जस्तै लाग्छ । यस्ता तन्नेरी भइसक्यौ । हाम्री कान्छी, तिम्रा कान्छा दाइसँग मेरो बिहे भएर डोली चढ्दा, ‘दिदीसँग म नि चढ्छु’ भनेर रोकी । चार पुगेर पाँच छोएकी मात्र थी । आफूलाई हिजा कुरो जस्तो लाग्छ । हुक्यौँला ठिटा ठिटी कति चाँडो हेर्दै डरलाग्दा हुन्चन’ रंतेल्नी कान्छीले अतीतलाई र वर्तमानलाई संझनाको एउटै धागोमा एकैसासमा उन्दै भनी ।

नेप्टेले मुसुक्क हाँसेर रंतेल्नी कान्छीको मुखमा हेर्यो । उसले तत्कालै देख्यो, लाहुर्नी पनि त्यसरी नै दिदीको मुखमा हेर्न लागेकी । बीचमा आफ्नो आँखा लाहुर्नीसँग जुध्यो, चार आँखा भए । उसलाई लाहुर्नीका काला नानी मुसुमुसु हाँस्दै आफ्नो मुटुभित्र नाचेजस्तो लाग्यो । अनौठो सुखको अनुभव भयो । चट्चटी पसीना आएजस्तो लाग्यो । छिनभर अघिको मर्द आफ्नो हातखुट्टा चल्नै नसक्ने भएर गलेजस्तो लाग्यो । तर पनि कताकता होशले नछोडेजस्तो लाग्यो र टप्प सुकेजस्तो घाँटीबाट बलै भन्यो –

‘हाम्री आमा तिमारुको नाम लियो कि तिम्रो बिहे जस्तो तिमारुका जान बर्गाँ यो सेरोफेरो कसैको जान्या छैन भन्चिन् । तिम्रा ससुरालाई सार्कीका थकाली भन्थे रे । एक हल गोरु चरपाँचओटा भैँसी, पाँच छ ओटा गाई थिए रे । अन्न नि आफ्नो र अधिया रगरेर बैरालै हुन्थ्यो रे उता तिम्रा बूढा ससुरा बूढाले जात ल्याउने तिर्जा नेपालबाट ल्याएर त्यो उठाएर गडैत – धान राख्या रे । तिम्रा ससुरा बूढा यौटै छोरा रे । यो वरपरका जम्मै विष्ट तिम्रै ससुराछेउ आउँथे रे हर्ज गर्ज टार्न । साहू रंतेल भनेछि यो उत्तर फेरो नचिन्ने क्वै थिएनन् रे । कताकता तिम्रा जेठाजुले गर्दा यो सपै सिरिखुरी भाको रे पछि ।’

ज्येठाको नाम नेप्टेले लिनासाथ छिनभर अघिको हँसिलो रंतेल्नी कान्छीको मुख रिस र घृणले कालो भो । निधारमा तीनओटा गाँठा पार्दै उसले भनी, ‘छि छिः काँट सम्झिए नि त्यस्ता उपध्या«का कुरा । ती उपध्या« नभाका भए बूढा ससुरा र ससुराले कमाका चंचलासिरी अन्त जान्थ्यो र । आज हाम्ले किन यसरी बिहान खायो साँझ के खाउँ, साँझ खायो बिहान के खाउँ, कसरी हर छोपौँ भन्नु पथ्र्यो र । नौताल बाजा ठोकेर नौबीसे जन्तीले ल्याका यै आँखाले त्यो चंचलासिरी नि देख्यो । यै आँखाले आज अधिया बाख्रा चितुवाले खाएर भन्न जाँदा नपत्याएर भनेका वाण सुन्न नसकी धरधर रोएर नि बिताउन पर्यो । हाम्रा बाआमाका दुइटै छोरीको कर्म पैले देख्दा राम्रो पछिभने दुः खी रच क्यारे ठूले ।’

रंतेल्नी कान्छीको कुरा र अनुहारले गर्दा लाहुर्नीको मुख अँध्यारो भयो । नेप्टेलाई छिनभरमै भित्र मुटुमा गाँठो पर्यो । आफूले गर्दा यस्तो हाँसीखुशी भएका दिदीबैनी त्यस्ता मुख लगाउने भए भन्ने पर्यो । उसले त रंतेल्नी कान्छीको चहलपहलका कुरा सम्झाएर फेरि चहलपहल त्यस्तै हुन्छ भन्न पो खोजेथ्यो । शुभाशीक पो दिन खोज्याथ्यो । ‘कताबाट त्यो जेठाजुको नाम लिन पुगेँ होला’ भन्ने लाग्यो ।

लाहुर्नी कान्छीले ‘कस्तो कुरा नि गर्न नजान्ने रच । रङ्गमा भङ्ग पार्यो’ भन्ली भन्ने सम्झँदा त ज्यूँदै मरेजस्तो लाग्यो । यो नराम्रो अवस्था हटाउन के बोल्ने होला भनि सम्झन थाल्यो । केही सुझेन । झलक्क दंगी ठूले सम्झ्यो । उ कसरी गफ गर्छ, कसरी मरीमरी हँसाउन जान्दछ भन्ने सम्झनासाथ आफूलाई धिकार्न थाल्यो । साथै दंगी ठूलेलाई पैली स्वास्नीबाट जायजन्म नभएकाले दोस्री ल्याउन खोज्याछ भन्ने कुरा सम्झ्यो । यो सम्झनाले झन सारा चीसो भयो लाहुर्नी कान्छी उसको गफले रद्द हुन सक्छे भन्ने सम्झेर । उसलाई निराशा लाग्यो मनभित्र एक कुराले अर्को कुरालाई तानेर ल्याई आफूलाई उराठ पारेको देख्दा । ‘अघि त्यस्तो खुशी पार्ने पनि यै मन, ऐले यस्तो उराठ पार्ने पनि यै मन मोरो’ भन्ने लागी आफ्नै मनसँग रिस उठ्यो ।

उसको यो तान्द्रालाई लाहुर्नी कान्छीको ‘हिँड्नोस् हिँड्नोस् ठूल्दाइकिन अघि नलाग्नु भाको । छिः है दिदी पनि के के सम्भलेर उराठ पार्ने’ वाक्यले व्यूँझाइदियो । नेप्टे डरलाग्दो सपना देख्ता छियाछिया भएको हृदय लिएको मानिस सुखपूर्ण समाचारको आवाजले व्यूँझदाखेरिको हालतमा पुग्यो ।

उसले ‘किच्च’ हाँसेर भन्यो, ‘हैन हैन भाउजू ! नानी अगाडि हिड्ने नि । म त्यै साराँ हिड्चु । मै अगाडि लागेँभने त मेरा खुट्टा त जति अड्याए नि अड्दैनन् ।

‘तपैँ छिटो हिँड्नुभो, बूटाको ओजेलाँ पर्नुभो भने एक्लै डर हुन्छ भनेर हामी नि छिटो छिटो खुट्टा चालौँला । यतिबेला भैसक्यो नत्र । कसरी घाम छँदैँ मानीखोला तरिएला र भरे’ लाहुर्नी कान्छीले भनी ।

‘चरीको खुट्दा देखेर जानीसकिया च । मेरा पाइला त पछ्याउन नसक्नेले ठूल्या पाइला पछ्याउँचेस भनेर पत्याउँला । भो तिमी नै पछि बस ठूले । मेरा साराँ कान्छी हिँडोस् । हामी दुई जनाको च्यापाँ परेछि बलै नि यसलाई भालूखर्क पुर्याउँला दुई घरीमा त, अघिको अँध्यारो चेहराबाट पन्छाएर रंतेल्नी कान्छीले भनी ।

 

प्रतिक्रिया
Loading...