ट्रासी ओकिन्स यतिबेला ३९ वर्षकी भइन् । बालापनमा उनी लेखक बन्ने सपना पाल्थिन् तर त्यो सपना पूरा हुन निकै समय लाग्यो र कोमाबाट उठ्नु पर्यो ।

सन् २००८ मा उनी एउटा दुर्घटनामा परिन् र कोमामा गइन् । करिब दुई महिना कोमामा पुगेपछि उनको होश फर्कियो । खासमा उनलाई लक्ड इन सिन्ड्रोम थियो । यो सिन्ड्रोम निकै दुर्लभ रोग हो । यो रोग भएका मानिसको शरीर पूरै शून्य हुन्छ । हिँडडुल गर्न कठिन हुन्छ । एकै ठाउँमा उनीहरू जम्छन् ।

उनी कोमाबाट उठेर फर्केपछि र रोगको पहिचान भएपछि उनले धेरै कुरा खोजिन् । यस रोगबाट उन्मुक्ति पाउनका लागि अनेक उपाय रोजिन् तर उनको केही लागेन । सबै उपायले उनलाई नकारात्मक परिणाम नै देखाइरहेको थियो । आखिरमा जीवनभर रोगसँगै जुझ्दै अघि बढ्नु परेपछि उनले आफ्नो बच्चै बेलादेखिको सपना पूरा गर्ने सोचिन् ।

र, अन्ततः उनी लेखकका रूपमा परिचित भइन् । त्यसो त उनी लेखकका रूपमा उदाउन ६ वर्ष नै लाग्यो । रोचक कुरा त के छ भने उनले यो पुस्तक एउटा विशेष किसिमले डिजाइन गरिएको ट्याब्लेटमा लेखेकी हुन् । यो ट्याब्लेटले उनको आँखाको नानीको संकेतलाई रिड गरेर शब्द छनोट गर्थ्यो र ती शब्दहरू जम्मा गरेर ट्रासीले यो पुस्तक लेख्न सकेकी हुन् । यसलाई आई गेज्ड टेक्नोलजीका रूपमा प्रचलित छ । यही प्रविधिको सदुपयोग गरेर प्रख्यात वैज्ञानिक स्टेफन हकिङले संवाद गर्ने गर्थे । हकिङको प्रविधि भने निकै महँगो हो ।

ट्रासी ओकिन्स

उनका ६५ वर्षे पिता जोनले टाइम्स पत्रिकालाई भने, ‘बच्चादेखि नै ऊ लेखक बन्न चाहन्थी । सुनाइरहन्थी । एक पटक उसको स्कुलमा कुनै लेखक आएको थियो र लेखकले उसलाई लेखक बन्नका लागि शुभकामनासमेत दिएको थियो तर उसको दुर्घटना र लामो बिरामीपछि आँखाको भाकाले किताब लेख्ली भन्ने चाहिँ लागेको थिएन ।’

छोरी ट्रासीलाई जब यस किसिमको रोग लाग्यो, कोमाबाट उठेपछि बुवा जोनलाई ट्रासीले धेरै पटक इच्छामृत्युको कामना गरेकी थिइन् । हाडमासुको थुप्रो मात्र भएर उनलाई बाँच्न मन थिएन । यतिबेला भने उनको इच्छाशक्तिका कारण जिउलाई दायाँबायाँसम्म हल्लाउन सक्ने भएकी छन् । उनी ह्विलचेयरमा हिँड्न सक्ने भएकी छन् । उनको चल्न सक्ने अंग भनेको मुख मात्र भएपछि उनले मुखको प्रयोग गरेर चित्रकलासमेत बनाउन थालेकी छन् ।

उनको प्रथम पुस्तक ‘आम् ग्लाड यु डिन्ट डाई मम्मी’ प्रकाशन भइसकेपछि अब उनको दोस्रो पुस्तकको तयारी चलिरहेको छ ।

त्यसो त नेपालमा पनि अपांगता भएका दुई चर्चित लेखक छन्, पारिजात र झमक घिमिरे । दुवैको तीव्र इच्छाशक्तिका कारण उनीहरू चर्चितसमेत बने भने उत्तिकै महत्त्वपूर्ण कृति समाजलाई दिएका छन् । यस्तै उदाहरण क्रिस्टी ब्राउनको पनि लिन सकिन्छ । आइरिस लेखक तथा चित्रकार क्रिस्टीलाई सेरेब्रल पाल्सी थियो । उनले आफ्नो गोडालाई भरपूर उपयोग गरेर लेखे । उनको ‘माई लेफ्ट फुट’ भन्ने आत्मकथा १९५४ मा प्रकाशित भएको थियो भने त्यसलाई १९८९ मा अस्कर विजेता सिनेमा समेत बनाइएको थियो ।