एक दिन बिहानै किल्लामा बडो खैलाबैला भयो ।
“खै धाराबाट थोपो पानी चुहिँदैन त..” कोही भन्दै थियो । कोही बाँसको धारालाई ट्वाक ट्वाक हिर्काउँदै थिए ।
“कतै पानीको मुहानै त बन्द गरी दिएनन् वैरीले…” कसैले शंका गर्यो ।
“हैन त्यतिसम्म अधम त नहोलान् हौ फिरंगीहरू, पानी त शत्रुलाई पनि पिलाउनु भन्छन् त ।” दुर्गाले भनिन् ।
“भो… छोड्दे त्यस्ता कुरा यिनको मनमा के को पाप, के को धर्म ?” नजिकैकी अर्की महिलाले उत्तर दिइन् ।
“लौ त्यसै हो भने त गाह्रै पो पर्ला जस्तो छ त ।” कसैले भन्यो ।
“अब… जसो पर्ला त्यसै टर्ला ।” दुर्गाले भनिन् ।
“लौ बरु छिट्टो यो खबर साहेबसम्म पुर्याउनुपर्ला ।”
उत्तिखेरै दुई कलिला ठिटाहरू खबर लिएर किल्लाभित्र दौडिए ।
छलकपटको नीति अपनाउँदै अंग्रेजहरूले विभिन्न प्रलोभनहरू दिई केही स्थानीयबाट किल्लाभित्र जाने पानीको मुहान पत्ता लगाएका थिए । त्यसो त नेपालीहरू आत्मसमर्पण गर्न आउने छाँट नदेखिँदा बलभद्रलाई समेत लोभ्याउन भ्याए । अंग्रेजहरूले उनलाई पश्चिम गढवालको गभर्नर बनाइदिने प्रलोभन दिएका थिए । बलभद्रजस्ता नीतिवान देशभक्त सामु गढवालको गभर्नर पदले के हैसियत राख्थ्यो र !
त्यसको जवाफमा बलभद्रले अट्टहास गरी भनेका थिए, “पश्चिम गढवालको गभर्नर त के तीन त्रिलोक, चौध भुवनको अधिपति बनाइदिए पनि मबाट मातृभूमिप्रति गद्दारी हुने छैन ।”
रासन र मद्दत त किल्लाभित्र जान रोकेकै थिए । किल्लातर्फ जाने पानीको एकमात्र स्रोत समेत वैरीहरूले रोकिदिए ।
त्यसै दिन वैरी सेनाले टाढासम्म मार हान्न सक्ने तोप ल्याई किल्लाको उत्तर र दक्षिण दिशातर्फ राख्न पनि भ्याएका थिए । त्यसको प्रतिरोध गर्न गएका तीन वीर नेपालीहरू तोपले उडाइए । वैरी सेना पूरै शक्तिका साथ भिडेको थियो ।
लगातारको तोप प्रहारबाट किल्लाको उत्तर र पूर्वतर्फको पर्खाल भत्कियो । जगेडा राखिएको पानीको घ्याप्पा फुटी पानीको आहाल बन्यो । नेपाली पक्षका लागि परिस्थिति झन् झन् कठीन बन्दै थियो । तर नेपाली पक्षले हिम्मत हारेको थिएन । त्यस्तो कठीन क्षणमा पनि रत्तिभर नअत्तालिई, के महिला के केटाकेटी, प्रतिकारमा डटिरहे ।
………………
रातको समयमा किल्लाभित्र केही गोप्य छलफल भइरहेको थियो । त्यहाँ तीनचार जना ठिटाहरू, बैकुण्ठ, दुर्गा र नाथु माझी थिए । उनीहरूबीच लामै छलफल भए पनि छलपल के विषयमा भएको हो सो भने बुझ्न सकिएको थिएन । कुनै विषयमा सहमति हुँदै थियो क्यारे !
केही समयपछि शायद सहमति जुट्यो । बैकुण्ठ र एउटा ठिटोले मुण्टो हल्लाउँदै केही भने । ठिटाचाहिँलाई दुर्गाले केही सम्झाइन् । उसको गाला मुसारिन् । ठिटो मुस्कायो । नाथु माझीले केटाहरूलाई केही सम्झाएझैँ गरे ।
रात अलि छिप्पिएपछि किल्लाको पछाडिबाट बैकुण्ठ र ठिटो निस्किएका देखिए । अगाडि लागेको ठिटोले धिपधिपे कुप्पी बोकेको थियो । त्यसले थोरै अगाडिको बाटो देखिन्थ्यो । बैकुण्ठ र ठिटो अगाडि बढ्दै गए । ठाउँ ठाउँमा उनीहरू रोकिन्थे । छलिन्थे । सासैले केही कुरा गर्थे । साउती मार्थे । कतै टाढा नियाल्थे । फेरि अगाडि बढ्थे, रोकिन्थे । यसरी ठाउँ ठाउँमा रोकिँदै, छलिँदै उनीहरू अबेरमात्र पानीको मुहानछेउ पुगे ।
“निर्दयी फिरंगीहरूले पानीको मुहानै पो नष्ट गरिदिएछन् त !”, बैकुण्ठ बरबरायो । कुप्पीको मधुरो उज्यालोमा ऊ पानीको मुहान हेर्दै थियो ।
“अँ… अब के गर्ने दाजी ?”, ठिटोले सोध्यो ।
“हेरौं के गर्न सकिन्छ ।”, यति भन्दै बैकुण्ठले कुप्पी ठिटोलाई नै थमायो । कुप्पीको उज्यालोमा ठिटाको लाल अनुहार झनै लाल देखिन्थ्यो । ठिटो कलिलो थियो । दश एघार वर्षभन्दा बढीको नहुँदो हो ।
“अलि यता उज्यालो देखाऊ त गोपाल ।”, बैकुण्ठ भत्किएको मुहानतिर निहुरिएको थियो । गोपालले कुप्पी तलतिर ढल्कायो । कुप्पी झिलिप्प गरेर गाढा प्रकाशसहित चम्कियो । सँगै ठिटाको आवाज सुनियो, आथ्था… ।
कुप्पी ढल्काउदा तातो तेल पोखिएको हुँदो हो वा के हो, गोपालको हात पोलिएछ ।
“ए…बिस्तारै ।” बैकुण्ठको आवाजसँगै ड्याम्म गोली पड्केको आवाज आयो । ऊ पानीले भिज्यो । लछप्पै ।
गोली बैकुण्ठको कानैमा पड्किएजस्तै सुनिएको थियो । उसका कान टिनिनी… बजे । आँखाअगाडि गाढा रातो उज्यालो फैलिएर केहीबेरका लागि । उसका आँखा तिरमिर भए । उसले केही देखेन । तर अनुभव गर्यो, उसको टाउको, कान, गाला, गर्धन र छातीको बाटो हुँदै पानी बग्दै छ । उसको गालाबाट झर्दै गरेको त्यो पानी सामान्य पानी थिएन, बाक्लो र तातो थियो ।
पानीबाट आलो रगतको गन्ध आयो । त्यो पानी थिएन । त्यो पानीभन्दा गाढा, धेरै गाढा रगत थियो । पातलो पानीको खोजीमा बगेको गाढा रगत । हुन त त्यो रगतमात्र होइन, त्यो पानी पनि उनीहरूकै थियो । तर पापी वैरीहरूले उनीहरूकै पानी, उनीहरूले नै नपाउने गरी थुनिदिएका थिए ।
ऊसँगै आएको कलिलो ठिटो गोपालको कन्चटमा गोली लागेको बैकुण्ठले तब मात्र थाहा पायो जब ठिटो भुइँमा लम्पसार पर्यो । अनि उसले थाहा पायो, उसलाई लछप्पै भिजाउने पानी थिएन । त्यो थियो बालक गोपालको रगत ।
माया, डर र आक्रोसले थररर्… बैकुण्ठ काम्यो ।
उसले सम्हालिँदै गोपाललाई उठाउन खोज्यो, “गोपाल…गोपाल….!”
तर ऊ मरिसकेको थियो ।
होइन… ऊ मरेको थिएन । ऊ देशका लागि शहीद भएको थियो । ऊ त कहिल्यै नमर्ने गरी अमर पो भइसकेको थियो ।
फेरि गोली पड्कियो । ड्याम्म ।
बैकुण्ठ बेतोडले दौडियो । कयौँ गोलीहरू उसको छाती छेउबाट गए । कानै छेउबाट बतासिए । कयौँ उसका भागका गोलीहरू रूखले थापे, कति चट्टानले । किल्ला पुग्नुअगाडि भने उसको गोली थाप्ने कोही भएनन् । ऊ भुइँमा पसारियो । उसको बाँया घुँडामा गोली लागिसकेको थियो ।
तर कसो कसो ऊ किल्लाभित्र छिर्यो ।
(लेखक पोखरेलको प्रकाशोन्मुख किशोर उपन्यास ‘निर्भय‘बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 









