खेतबारीमा काम नगरे भान्सामा खाना नपाक्ने दिन गए । खेतबारीमा अन्न होइन पैसा फल्छ आजभोलि । अब भकारीमा धान र ढोक्सेमा गहुँ थन्क्याउने दिन गए । जति छन् खेतबारी, तीनै हुन पैसाको भकारी । चामलका पोका पसलबाट सिधै भान्सामा पुग्छन् । न भकारी चाहियो न त ढोक्से नै । टोलका किराना पसलहरूमा किसिम किसिमका चामलका पोकाहरू उपलब्ध हुन्छन् । छानीछानी खान पाइन्छ जिब्रोको स्वाद अनुसार : पोखरेली, बासमती, जिरा मसिनु, मन्सुली, ताइचिन आदि इत्यादि ।” उसले भन्यो ।

म छोटो बिदामा परदेशबाट घरदेश पुगेको छु; ममा जिज्ञासा जागृत भयो, खेतबारीमा काम गर्न नपर्ने भएपछि काँठमा काम चाहिँ के गर्छन् त गाउँलेहरूले आजभोलि ?”

ए दाइ, कहाँ गाउँ छ अब काँठमा ? को छ गाउँले काँठमा ? क्रेटा र टक्सन चढेर हिँड्ने मान्छेहरू गाउँले हुन्छन् ? बाटो पिच, घरमुनिको बाटो ढलान, ढलान गरेको घर । त्यही घरको तीन तलामाथि कौशीमा बसेर दाँत ब्रस गर्छन् काँठका मान्छेहरू । खोइ हिलेबाटो कच्ची घर गाउँ हुनका लागि ? वर्षामा जुत्ता झोलामा हालेर नाङ्गै खुट्टा हिँड्ने दिन गए, अब शहर भइसक्यो हाम्रो काँठ ।”, उसले थप्यो ।

अनि हाम्रो काँठे शहरबासी काम चाहिँ के गर्छन् ? पैसा कसरी फलाउँछन्, भान्सा कसरी चलाउँछन् ?”, मभित्र जागृह जिज्ञासा थप फैलियो ।

काँठमा कामको के दुःख ! पहिलो नम्बरमा त राजनीति नै गर्छन् पाएसम्म । राजनीति सँगसँगै कसै कसैले ठेकेदारी पनि गर्छन्; विकास निर्माणको जो लहर चलेको छ । कसैले ठेकेदारहरूलाई प्रोजेक्ट लेराउन सहयोग गर्छन् । कोही जग्गा प्लटिङको काम गर्छन् । कोही जग्गा खरिद गर्ने ग्राहकहरू बटुल्छन् । त्यसो त रेगुलर काम छैन, फुर्सद पनि छैन काँठतिर आजभोलि । एकाध जागिरेहरू जागिरतिर पनि जान्छन् । काम नै नभएकाहरू त गाडी चढ्ने हो । गाडीभित्रै नाच्दै गाउँदै तीर्थ हिँड्ने हो, कैलाशदेखि कन्याकुमारीसम्म । बिहान मर्नि वाकमा जाने हो, साँझमा इभिनिङ वाकका लागि निक्लिने हो । टोलटोलमै छन् योग केन्द्रहरू ।

अब कसैका घरमा पिँढी छैनन् जहाँ सासू मण्डली बसेर बुहारीहरूका कुरा काटुन् । गाग्री पनि छैनन् पँधेरा पनि छैनन्, बुहारी मण्डली जम्मा भएर सासूहरूलाई मथ्न । जारमै आउँछ पानी घरघरै, युरो गार्ड हालेको छैन भने पनि ।”

मेरो जिज्ञासालाई शान्त पार्न उसले बयान जारी राख्छ, म एक चित्तले सुन्दै छुः

एक कोपी काउलीलाई रुमालले बेरबार गरेर ल्याउने, अनि दुई छाक बनाएर चाडपर्व मनाउने काँठ रहेन अब । असार र मङ्सिरले खेतमा बोलाउने दिन गएको उहिल्यै हो । हिउँद लागेपछि जग्गा दलाल र शहरी साहुहरू खेतको आलीतिर मर्निङ र इभिनिङ वाक गर्न आउँछन् । फुर्सदै हुँदैन अरू बेला त ! पैसा फलेन अनि ?”

टोलिया भाइले सम्झायो मलाई काँठको नयाँ अर्थशास्त्र र जीवनशैली । त्यही संवादका क्रममा मैले झट्टै सम्झेँ त्यो पुरानो दिन । म काकाहरूसँग पछि लाग्दै नकटीतिर काउली किन्न गएको थिएँ । भोलिपल्ट माघे सङ्क्रान्ति थियो । त्यतिखेरको हिसाबले काउलीको भाउ सुनेर म झन्डै बेहोस भएको थिएँ । सिधै काठमाडौँ जान्थे नोकटीका काउली । मानौ काँठका गाँउमा कसैको काउली खाने हैसियतै थिएन । त्यसो त गाँउमा तरकारी पसलै थिएनन् । मैले थिमी र सुकुलढोकाका तरकारी पसलहरूमा पनि देख्दैनथे काउली बेच्न राखेको । त्यतिखेरको काउली र अहिले बँदेलको मासु, शायद दुलर्भताको तराजुले जोख्यो भने उस्तै उस्तै होलान् ।

अब त काउली हाम्रो काँठमा तीन तलामाथीको कौशीमै फल्न थाले शोखका हिसाबले तर भान्साको गर्जो टार्न होइन । काउली खान माघे सङ्क्रान्ती कुर्नु पर्दैन, बाह्रै महीना बजारमा काउली मिल्छ । टोलमा कम्तीमा पनि दुईटा मासु पसल भएन भने के टोल ! उहिलेको जस्तो मासु खानका लागि कसले खसी काट्ला भनेर महीनौँ कुर्ने दिन गए । दिनदिनै मासुभात आजभोलि, दशैं दिनदिनै । लौ भन्नुस् त, देश विकास भएको हो कि होइन ? हामी काँठका धनी भएका हौँ कि होइनौँ ? कुन घर छ अब काँठमा सुकेको सागले हिँउदको छाक टार्ने ?”, उसले प्रतिप्रश्न गर्यो ।

कुरो त ठीकै लाग्यो मलाई पनि । हो त, सुकेका सागको लहराहरू झुण्ड्याउने धुरी नै छैनन् कसैका घरमा । जता हेर्यो मासु पसल देखिन्छन् । दिउँसै खुलिरहेका देखिन्छन् लिक्विर सप, किसिम किसिमका देशीविदेशी रक्सीहरूसहित । काँठका सडकहरूमा हेर्योः किसिम किसिमका ब्रान्डका प्राइभेट कारहरूले ढाकेका छन् । सडक किनारामा आधुनिक रेष्टुराहरू सेकुवा किलोमा, रक्सी बजार भाउमा भनेर विज्ञापन गरिरहेका देखिन्छन् ।

ओहो ! देशले त पल्ला नै फेरेछ भनौँ भने राष्ट्र बैङ्क बजारमा तरलता ज्यादा भयो भनेर अरबौँ अरब खिचिरहन्छ हरेक हप्ता । बैङ्कहरू भन्छन्: ऋण लगानी नै भएनगएको उठेन । पहिले पहिले सडक किनारामा किसिम किसिमका उद्योग कलकारखानाहरू चलेको आवाज सुनिन्थ्यो, तर आजभोलि फिटिक्कै केही सुनिँदैन । बेच्नेहरू सडक किनाराभरि सटरमार्टर सपिङ मलहरू खोलेर बसेका छन् । किन्नेहरूसँग पैसा कहाँबाट आउँला म प्रश्नसँगै रुमल्लिएको छु । मैले नबुझेको अर्थशास्त्र पनि यही हो ।

अनि पसलबाट चामल र मासुका पोकाहरू लेराएर खान पैसाचाहिँ कहाँबाट आउँछ नि ?”, मेरो मुख्य प्रश्न त छँदै थियो ।

चार आना फ्याँक्नोस्एक डेढ करोड हातमा लिनोस्बैङ्कमा फिक्स डिपोजिट गर्नोस्, र ब्याजले घर चलाउनोस्सक्की’गो त । बाँकी जग्गा अधियाँमा दिनोस्, गर्छु भन्ने कोही आए । आजभोलि तरकारी लगाउनेहरू आउँछन् । ग्यारेज खोल्नेहरू उत्तिकै भेटिन्छन् । भाडा लगाउँदा पनि अतिरिक्त कमाइ हुन्छ ।”, उसले सिधा जवाफ दियो ।

जग्गा हुनेले त जग्गा बेच्ने अनि नहुनेले ?”, मेरो जिज्ञासा झन् बढ्यो ।

लौ दाजु, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ ? अलिअलि जग्गा त अहिलेसम्म सबैसँग छ हाम्रो काँठमा । त्यसदेखि बाहेक राजनीति गर्नेले त्यतैबाट योजनाहरूको बजेटबाट छोयाँफोयाँ निकाल्छ । जग्गा दलाली गर्नेको कुरै भएनपैसाको बोटै त्यही भो । जागिरेले के गर्छ, उसैलाई थाहा छ ।”, उसले थप्यो ।

पितापुर्खाले छोडेर गएको अचल सम्पत्ति बेचेर खानु त राम्रो होइन नि ! उद्यम गर्नु पर्‍योकाम गरेर कमाएर पो खानु पर्‍यो । ल भाइ, यी सबै कुराहरू त भए तर काँठमा जग्गाजमीन सकिएपछि वा बाउपुस्ताहरूले सबै बेचेर खाएपछि भोलिका सन्तानले के बेचेर खालान् ?”, प्रश्नहरूको सिलसिला रोकिएन ।

मान्छे मरेपछि कहाँ जान्छके खान्छ ?, यस्ता प्रश्नहरू त नसोध्नोस् दाइ । होला नि केही न केही जोगाड त्यो पिँढीलाई पनि । आउला नि खाने बाटो केही न केही । आधा त विदेशै पसिसक्लान्बाँकी रहेका आधाले केही न केही गर्लान् भनेर बुझौँ न हामी ।” उसको बिनदास जवाफ दियो ।

कुरो सिधा थियो । यसरी खेतबारी नै खोस्रिन छोडेपछि काँठ के काँठ रह्यो त ? भनेपछि काँठ अब धनी काँठ भएछ । मैले मनमनै अनुमान गरेँ ।

काँठको सौन्दर्य भनेकै काँठे जीवनशैली हो । काँठे जीवनमा डेराको अस्तित्व छैन । थोरै मात्रै काँठेहरूले शहर वा नगरमा डेरा लिएर बस्छन्, पढ्ने र जागिर खाने बहानामा । नत्र भने जस्तोसुकै दिन होस्बिहानै घरबाट निक्लिनु र जतिसुकै ढिला होस्, साँझमा घरै पुग्नु काँठे दैनिकी हो । हरेक घरमा जागिरे भेटिन्छन्पदका कुरा छोडौँ । हरेक घरमा  कोदालोकोदालीचाँदेकुटो सबै सामाग्रीहरू भेटिन्छन् । खेतीको मौसममा खेतबारीमा काम गर्नु सामान्य दिनचर्या हो । चिया पसलहरूको कुनोमा बसेर पत्ती फिट्नुचियासँगै गफका पहाड खोस्रिनु आदि काँठका सामान्य परम्परा हुन् । धनी पनि भेटिँदैनन् काँठमा, र गरीब पनि छैनन् । यी भए पुराना कुरा । आजको दिनमा काँठको मुहार फेरियोकाँठ फेरियो ।

उहिले काँठमा जागिरेसँग हुन्थ्यो अलिअलि पैसा । पैसा हुन्जेल फुरफुर पनि उत्तिकै हुन्थ्यो । चियाखाजा पसल देख्यो कि फुत्त पस्ने बानी पनि काँठेकै हुन्थ्यो । चुरोट सुपारीको खहरे चल्थ्यो कतिपय जागिरेलाईमुख खाली नै नराख्ने । तलब आएको पहिलो हप्ताको फुरफुर दोस्रो हप्तासम्म पनि चल्थ्यो । फारो गर्न सक्नेको तेस्रो हप्तासम्म पनि जारी रहन्थ्यो । चौथो हप्ता पुग्दा अत्यधिक जागिरेको टोपीले निधार छोप्ने हैन, गर्दनतिर लेप्सिन पुग्थ्यो । तलब नआउन्जेल उसको अर्थशास्त्र उधारोमा चल्न थाल्थ्यो । मानौँ जागिरउधारो र जिन्दगीले एकापसमा मित लगाएका थिए, कहिल्यै नछुटिने गरी ।

काँठतिरका गाउँहरूमा आर्थिकोपार्जनका बलिया ढोकाहरू खासै थिएनन् । जागिरबाहेक कृषि उत्पादन नै थियो आर्थिक श्रोत । धान बेच्थे र दशैं तिहार जस्ता चाडपर्वको गर्जो टार्थे । छोराछोरीको बिहे व्रतबन्ध पनि कृषि उत्पादनको बिक्रीबाट आएको पैसाले नै पुर्‍याउँथे । भात र ढिँडो मिलाएर भान्सा चलाउँथे । तरकारी किन्ने र बेच्ने भन्ने त चलनै थिएन । तरकारी पसल देख्न थिमी र भक्तपुरको सुकुलढोका नै पुग्नु पर्थ्यो । त्यहाँ पनि एउटा दुइटा मात्रै थिए तरकारी पसलहरू । साग सुकाएर राख्नेमुलाका चाना काटेर सुकाउनेपाकेको फर्सीलाई पालीमा राख्नेमस्यौरा बनाउनेगुन्द्रुक हाल्ने जस्ता काम गरेर तरकारी नफल्ने मौसममा तरकारीको जोहो गर्थे काँठका भान्साहरूले । आलु र सुकेको प्याजको गाँठा पनि तरकारीको राम्रै परिकार थियो त्यस बखत ।

काँठको विशेषता थियो “विश्वास” । भक्तपुरको सुकुल ढोकाका व्यापारीहरूले उधारो खाता नै खोलेका हुन्थे काँठे ग्राहकहरूका लागि । ती व्यापारीहरू कहिल्यै काँठमा पसेनन् उधारो उठाउन । समयमै चुक्ता गर्थे काँठका मान्छेहरू । लाग्दैन, आजका दिनमा पनि त्यो “विश्वास” कायमै छ । त्यही विश्वास कायमै हुँदो हो त सहकारीहरू किन लछारिन्थे ?

कमाइको कुरा गर्दा कोही कोही आफ्नो खेतबारीमा काम सकेर ज्याला गर्थे अरूको खेतबारीमा । आर्मीमा थिए धेरै जागिरेहरू, थोरै मात्रै सिभिलतिर । आर्मी प्रहरीतिर जागिर भएकाहरू उतै भुँडी भर्थे, बिहान बेलुका । अत्यधिक जागिरेहरूको महिनावारी महीनाको वारि नै सकिने, पारि पैसाको धौधौ नै थियो । धन्न सरकारले दशैंमा दशैं खर्च दिन्थ्यो एक महीनाको अतिरिक्त तलब, र दशैं राम्रैसँग मान्थे । भ्रष्टाचारका कुराहरू त्यत्ति सारो सुनिँदैनथ्यो । छोराछोरीलाई आफ्नै खर्चमा विदेश पढ्न पठाउने हैसियत शून्यप्रायः थियो । आकाशको तारो नै झार्ने खालका केही मिहिनेती विद्यार्थीहरूले सरकारले उपलब्ध गराएको विदेशी छात्रवृत्तिमा हवाइजहाज चढ्थे, र धेरैजसो देशमै फर्किन्थे कामका लागि । थोरै मात्रै उतै हराउँथे ।

आर्थिक अवस्थाको हिसाबले हेर्दा काँठमा कोही ज्यादै गरीब पनि थिएनन्, र कोही ज्यादै धनी पनि । काँठको आर्थिक हिसाबले औसत लाग्थ्यो । मनग्गे पैसा पनि थिएन, र गरीबीकै कारण चुल्हो नबलेको पनि कसैलाई थाहा छैन । पैसा हुनेका पनि खर्च गर्ने बाटो त्यत्ति धेरै थिएनन् । सुन वा जग्गा जोड्नेबाहेक अरू गतिला खर्चका शीर्षक नै थिएनन् । एक जोर घर बस्दा लाउने र अर्को जोर अफिस जाँदा लाउने भयो भने लुगाका कुरा सकिन्थे । फेशनको कुरै थिएन ।

पहिले पहिले जग्गाजमीनको खरिद बिक्री हुँदै नभएको होइन, तर कसैले बेच्यो भने गाउँका लागि त्यो सनसनीपूर्ण समाचार बन्थ्यो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रमा पनि केही परिवर्तनहरू देखिन थाले । निजी क्षेत्रले आर्थिक क्षेत्रमा हात हाल्यो । हाम्रो काँठतिर देखिएको एउटा परिवर्तन जग्गा जमीनमा थियो । पैसा भएकाहरूले काँठतिरका जग्गाहरूलाई खरिद गरेर प्लानिङ शुरु गरे । पैसा हुनेले पैसा हाले,  कसैले दिमाग लगाए, बस त्यसपछि त जग्गाको भाउ आउन थाल्यो, काँठमा पैसै पैसा ।

आजको दिनमा काँठलाई धनी मानिन्छ । काँठका मान्छेहरू धनीमा गनिन्छन् । किनकि उनका पितापुर्खाले जोगाएर आजको पुस्तासम्म आइपुगेको जग्गाजमीनको भाउले आकाश छोएको छ । चार आनाको टुक्रोले नै करोड बढीको थैली बोक्छ । पाखो, भिरालो, बगर केही भन्नु पर्दैन, जे छ सबै बिक्छ । केवल लालपुर्जा हुनुपर्छ । त्यसैले अब खेतबारीमा जोतिनु पर्दैन भुँडीकै लागि भनेर काँठका बासिन्दालाई ।

एक टुक्रो बेच्यो घर बनायो । अर्को टुक्रो बेच्यो छोराछोरीको बिहे गर्‍यो । अर्को टुक्रो हुत्त्यायो छोराछोरीलाई अमेरिका अस्ट्रेलिया पठायो । अर्को टुक्रो फ्याँक्यो एउटा गाडी किन्यो । अलिकति बेच्यो, पैसा लगेर बैङ्कको फिक्सड डिपोजिटमा राख्यो, र त्यसैबाट आएको ब्याजले घर चलायो । बसी बसी खायो । त्यसैले होला आजभोलि काँठवासीहरू खेतबारीमा भेटिँदैनन् । खेतबारीमा भेटिए नै भने पनि खेतीपातीका लागि थोरै व्यापार व्यवसायका लागि ज्यादा भेटिन्छन् । होइन भने अत्यधिक काँठवासीहरू आजभोलि सफा मौसममा त यात्रामा नै हुन्छन् ।

आजको “धनी काँठ”ले भोलिका सन्ततिको भविष्य पनि हेर्नुपर्छ । सन्ततिलाई पनि छोडिदिनुपर्छ सम्पत्तिको केही हिस्सा । काँठ त शहरिकरणको पोल्टामा जाला तर काँठका छोराछोरीहरू बस्नु पर्ने र टिक्नु पर्ने यही काँठमै हो । थोरै त परदेसिएलान् तर बाँकीले बस्नु पर्ने भूगोल यही हो । जसरी पितापुर्खाले हस्तान्तरण र पुस्तान्तरण गरे चल-अचल सम्पत्ति, त्यसैगरी आजको पुस्ताले पनि त्यसलाई जिम्मेवारीपूर्वक भावी सन्ततिसम्म पुर्‍याउनु जरुरी छ । “सामान्य जीवन, उच्च विचार”मा विश्वास गर्ने पुस्ताबाट “धनी काँठ”सम्म आइपुगेका छौं । त्यसैले आजको धनी काँठले “पैसाको फुरफुर”मा भविष्यप्रतिको जिम्मेवारीलाई पनि बिर्सिन हुन्न ।

(नोटयस लेखका घटना तथा पात्र सबै काल्पनिक हुन्  कसैको जीवनसँग मेल खान गएका संयोग मात्रै हुनेछ ।)