विषयप्रवेश 

कविता त जो पनि लेख्छ तर लेख्ने जति सबैको लेखन कविता बन्दैन । कविता बन्नका लागि विचार चाहिन्छ । फुको विचार मात्र पनि कविता होइन । विचार त कङ्काल हो । जब कङ्कालरूपी विचारलाई कलात्मकताले बेरिन्छ, आलङ्कारिकताले सजाइन्छ, बिम्ब र प्रतीकका फुली र ढुङ्ग्री लगाइन्छन् तब त्यो कविता बन्छ । कविता रहरको उपज मात्र होइन । धेरै रहर गर्नेहरू कविताका नाममा अकविताका वान्ता गर्छन् । कविताको रहर गर्नेहरूको जमात ठूलो छ । हुनत वास्तविक कविता र कविहरू त्यही रहर गर्ने जमात हुँदै जन्मन्छन् तर रहर र प्रतिभाको सम्मिश्रणबाट मात्र साँचो कविता लेखिन्छ । हो, नेपाली साहित्यमा काव्य रचना रहर गर्ने जमातबाटै एक कवि जन्मिएका छन् । उनी अङ्ग्रेजी साहित्यका विद्यार्थी भए पनि नेपाली साहित्य औधी मन पराउँछन् । उनी प्राध्यापन गर्छन् । उप्रिएको समयको केही हिस्सा समाजचिन्तन, घरपरिवारमा बित्छ र त्यसबाट बचेको समयलाई सदुपयोग गर्छन् — कविता लेखनमा । अकविता र अकविहरूको जमातमा कविता लेख्ने कवि मध्ये एक हुन् — चेतराज रेग्मी ।

कवि चेतराज नेपाली कविताका क्षेत्रमा चुल्ठो कविता संग्रह लिएर उदाएका छन् । उदाएका यस अर्थमा कि यो उनको पहिलो कविता संग्रह हो । गोरखा पब्लिकेसनबाट प्रकाशित संग्रहमा कवि गोविन्दराज विनोदी र निबन्धकार रामबाबु घिमिरेको शुभकामना छ ।

लक्ष्मण अर्याल

शुभकामनामा कवि विनोदीका पारखिला आँखाले चेतराजको खुबीलाई रहरलाग्दो मात्र नभई लोभलाग्दो देखेको छ । रामबाबु घिमिरेले कवि रेग्मीलाई हौसलाको उपहार दिएका छन् । संग्रहभित्र ३३ कविताको एउटा सामुहिक चुल्ठो छ । यो चुल्ठोमा आमा, आमाको पोल्टो, मेरी आमा, पोखरा भएर बाँच्नू, मेरा कविता १, मेरा कविता २, फर्क बाबु, आयो गोर्खाली, आऊ यस्तो क्रान्ति छेडौं, मेरो देश १, मेरो देश २, नयाँ नेपाल, अछामको सन्देश, रोकिएर फेरी, आज फेरी मेरो गाउँमा, ए जिन्दगी, चुल्ठो, ए फूल, बा, गुरु, जवानी, पहिली पत्नी, निर्दयी प्रकृति निष्ठुरी जय, म मरेको छैन, ए हैजा, मृत्यु र जीवन, जिन्दगी १, जिन्दगी २, मृत्युपछिको मिलन, समय, भुँडी, मैले जस्तै तिम्ले पनि र तरकारीवाली शीर्षकका ३३ चुल्ठा छन् । चुल्ठाहरूको छनोटमा कविले प्रौढता देखाएका छन् । यसैले यो चुल्ठो समकालीनहरूमा अलि पृथक् छ ।

चुल्ठाहरूमाथिको अवलोकन  

चुल्ठो एक : आमा 

खेतबारी, गाउँबेसी, कुटोकोदालो गरेर सन्तानको खातिरदारीमा सदासर्वदा लागि पर्ने आमा महान् हुन् । उनी ममताकी प्रतिमूर्ति पनि हुन् । अन्तर्हृदयको सौन्दर्यता आमाभित्रको सुन्दर पक्ष हो । कविताले आमा महान् छिन् भन्ने भावलाई अभिव्यक्त गरेको छ । आधुनिकताका नाममा सन्तानहरूले आमाप्रति गरेको दुव्र्यवहार कदापि सह्य हुँदैन भन्ने भावलाई कविताले उजागर गरेको छ । हिमालको स्निग्धतासँग आमाको मुहारको तुलना गरिएको छ । आमालाई अजस्र प्रकृति ठानिएको छ । कविताको भाषा प्रवाहमय छ । कवितामा गद्यलयात्मक शैलीको उपयोग छ । ४ अनुच्छेद र ४१ हरप (९+७+११+१४) को संरचनामा कविता रचिएको छ ।

चुल्ठो दुई : आमाको पोल्टो 

सन्तानका लागि पोल्टोमा केही न केही भरेर राख्ने आमा महान् छिन् भन्ने भावलाई नै कविताले पक्डिएको छ । सन्तान हुर्किए पछि र बुढेसकाल लागेपछि आमा पोल्टो भर्न असमर्थ बन्छिन् । असमर्थता असक्तताबाट उब्जिन्छ । सन्तानले ख्याल गर्नुपर्छ आमाको पोल्टो भर्न । सकुन्जेल सन्तानका लागि जोहो गर्ने आमाका लागि सन्तानले पनि बुढेसकालको सहारा बन्नुपर्छ । समाजको उल्टो गति प्रति कविले व्यङ्ग्य गरेका छन् छैटौं अनुच्छेदमा ।

मलाई थाहा छ

बुढेसकालमा

आमाको पोल्टो भरिन

कि त धनको धनी देश हुनुपर्छ

कि त मनको धनी सन्तान जन्मनुपर्छ ।

यो मातृभक्ति र देशभक्ति दुबै कुरा हो । ‘म आमाको पोल्टो भरिएको कल्पनामा रमाउँदै छु अचेल’ भनेर अन्तिम अनुच्छेदको २ लाइनमा कविले आशाको वीजारोपण गरेका छन् । कविता गद्यलयात्मक शैलीमा लेखिएको छ । ७ अनुच्छेद र ८१ हरप (१०+१०+१८+२४+१२+५+२) को संरचनामा व्यक्त भएको कवितामा सरल र प्रवाहमय भाषाको उपयोग गरिएको छ ।

चुल्ठो तीन : मेरी आमा 

आमाकै बारेमा लेखिएको सङ्ग्रहको तेस्रो कविता हो यो तर प्रारम्भका २ कविताका अपेक्षामा यो बढी प्रतीकात्मक छ । यो देशको कविता हो र यहाँ व्यक्त भएकी आमा नेपाल आमा हुन् । नेपाल आमाप्रति नेपालीहरू सचेत भएनन् यसैमा कविको गुनासो छ । कविता भावनाप्रधान छ, देशभक्तिले ओतप्रोत छ । ७ अनुच्छेद र ९० हरप (५+५+६+२४+२३+११+१६) को संरचना हुनु, गद्यलयात्मक शैलीको उपयोग गरिनु, सरल भाषाको प्रयोग हुनु, प्रतीकात्मक अभिव्यक्ति बन्नु कविताका सबल पक्ष हुन् ।

चुल्ठो चार : पोखरा भएर बाँच्नू

यो प्रकृतिको कविता हो । जम्माजम्मी ४ अनुच्छेद र २० हरप (६+५+४+५) मा लेखिएको यो छोटो भएर पनि पूर्ण छ । आधुनिकताका फोहोरी हातले नछोएको पूर्ण प्राकृतिक स्थलका रूपमा कविले पोखरालाई हेर्न चाहेका छन् । रुसोले ‘प्रकृतितर्फ फर्क’ भनेका थिए । कवि पनि प्रकृतिलाई भौतिकताले अतिक्रमण गरिनु हुन्न भन्दै छन् कवितामा । भौतिकताले नछोएको प्रकृति उच्चकोटिको सम्पदा पनि हो । यसको संरक्षण गरिनुपर्छ । कविको आशय पनि यही हो । स्वच्छन्दतावादीहरू प्रकृतिलाई अतिशय रुचाउँछन् । यसमा कविभित्रको स्वच्छन्दतावादी प्रवृत्ति मुखर भएको पाइन्छ । यो संग्रहभित्रको उच्चकोटिको कविता हो । कवि भन्छन् —

लुटिएको इज्जत चोभारको डाँडोभन्दा

मस्त जवानी चियाउने — सराङकोट लिएर हाँस्नू

हो आमा, तिमी पोखरा भएर बाँच्नू ।

+++

धुवाँ धुलोको घुम्टोभित्र लुकामारी खेल्ने नागार्जुनभन्दा

झुल्के घामसँग टल्कने माछापुच्छे्रे लिएर हाँस्नू

हो आमा, तिमी पोखरा भएर बाँच्नू ।

गद्यलयात्मक शैली, सरल भाषा, गहन प्रस्तुति, प्रकृतिप्रतिको सम्मोहन नै यस कविताका प्राप्ति हुन् ।

चुल्ठो पाँच : मेरा कविता 

७/७ हरपका ८ अनुच्छेद (५६ हरप) मा रचिएको यो कविता छुट्टै बान्कीको छ संग्रहमा । कविले यहाँ आफ्नो सामाजिक सोचलाई व्यक्त गरेका छन् । लोकतन्त्र, मौलिक अधिकार, मतदान, नैतिकता, गणतन्त्र यी कविका सामाजिक धारणा हुन् । कविका सोचाइमा समाजका यी कुराहरूलाई रचनाका आधार बनाइनुपर्छ, राजनीति स्वच्छ प्रतिस्पर्धात्मक हुनुपर्छ र जनआवाजलाई राजनेताले सुन्नुपर्छ । यो अनादर्श समाजका बिरुद्ध आदर्श समाजको स्थापनाका लागि लेखिएको कविता हो ।

‘… बिना अपुरा हुन्छन् ’ भन्ने अंशको बारम्बार पुनरुक्तिले कवितालाई बढी गेयात्मक प्रकृतिको बनाएको छ । हरेक अनुच्छेदमा लयको सन्तुलन छ । यसले कवितालाई पठनीय पनि तुल्याएको छ । गद्यलयात्मक शैलीको उपयोग छ कवितामा । सरलता, सहजता, स्वतस्फूर्तता र प्रवाहमयता कवितामा पाइन्छन् ।

चुल्ठो : मेरा कविता

 सत्यम्, शिवम्  र सुन्दरम् यही नै हुनुपर्छ सिर्जनाको ध्येय । असत्य सिर्जना, अकल्याणकारी चिन्तन (शिवमको अर्थ कल्याण) र असुन्दर भावसम्प्रेषण असल सिर्जनाका बाधक हुन् । सिर्जना गलतको गन्तव्य होइन, यो त असलको यात्रा हो । कविको सोचाइमा समाज छड्के हिंडिरहेछ । यो बेला सिर्जनशक्तिको भविष्य अन्धकारमय छ । यो अन्धकारमा कविको कलम पिपलबोटमुनि बसेर शान्तिको सन्देश छर्ने बुद्ध खोज्दै छन् । यसमा कवितामार्फत समाजसुधार गर्ने कविको लक्ष्य मुखरित छ । यसैले कवि भन्छन् —

मलाई माफ गर विधाता,

मलाई यस्तो कविता लेख्नु छैन

जहाँ बुद्धको छातीमा टेक्दै हिटलर

बौद्ध स्तूपको अनावरण गरोस् ।

९ अनुच्छेद र पचासी हरप (१०+१२+१५+५+८+८+१२+११+४) मा लेखिएको यो कविताको शैली गद्यलयात्मक नै हो । कविको विचारलाई यहाँ सरल र बगेको भाषाले सशक्त तुल्याएको छ ।

चुल्ठो सात : फर्क बाबु

देश ब्रेन ड्रेन भएको छ । देश चलाउनेहरूमा दूरदर्शिता छैन । यही मौकामा चौका हान्न खोजिरहेछन् छिमेकीहरू । देशप्रति ममता गर्नेहरूसँग साशनसत्ता छैन । सानो समूहले ठूलो समूहको चाहानालाई धुलिसात पारेको वर्तमान छ । यसैले कविले देश छाडेर गएकाहरूलाई फर्कन आह्वान गरेका छन् कवितामा । महाभारतकालीन पात्रहरूको उपयोग गरिएको छ । युधिष्ठिर, कृष्ण, भीष्म, द्रोण यी सबैको भूमिकाप्रति कविको असन्तुष्टि जाहेर छ । यसैले आजका खल पात्रहरूका प्रतिबिम्ब बनाइएका छन् यी पात्रहरू । दुर्योधन त समाजमा यत्रतत्र सर्वत्र छन् । समाज बनाउनाका खातिर पलायन भएका बाबुहरू (नेपाली) लाई कविको आह्वान यस्तो छ कवितामा —

नछोड्नू बाबु दण्ड दिनू

आमाको धोती तान्नेहरूलाई

नछोड्नू कहिल्यै त्यसै

जन्म दिने आमा वेश्या हुन् भन्नेलाई ।

कवितामा वौद्धिकताभन्दा भावना प्रवल छ । ३ अनुच्छेद र ३३ हरप (१३+१६+४) को संरचनामा कविता रचिएको छ । सरल छ कविता । लेखन सरल भए पनि कविले भन्न खोजेको कुरो पेचिलो छ । गद्यलयात्मक शैली कविताको शैली बनेको छ ।

चुल्ठो आठ : आयो गोर्खाली

रगतले लेखिएको इतिहासको गौरव छ हामीसँग । हामी अधिकांश समय त्यसैमा रमाएका पनि थियौं तर समय बदलिएको छ, भाव र धारणा पनि बदलिनु पर्छ । यस्तै सोच्छन् कवि । यसैले इतिहासको रक्तरञ्जित गौरवभन्दा वर्तमानको घटना परिघटनाले दिएको मुस्कान बढी शक्तिशाली ठानेका छन् कविले कवितामा । गोर्खाली शब्दमा दाजुभाइ लडेको व्यथा देख्छन् र भित्रभित्रै दुख्छन् कवि । इतिहासको गौरवमा रमाएर वर्तमानको कर्म भुल्नु पनि जायज होइन भन्ने कविको आशय छ । कवि भन्छन् —

हो इतिहासमा गर्व गर्नुपर्छ

इतिहासको गर्भ बोक्न खोज्नु हुँदैन

आँङ डढ्यो भनेर आजको घाम

हिजोको बादलले छोप्न खोज्नु हुँदैन ।

कविको अभिव्यक्त सरलतामा शक्ति छ । यो नै कवि चेतराजको काव्यसामथ्र्य पनि हो । ५ अनुच्छेद र ४१ हरप (४+८+१०+४+१५) को संरचनाभित्र देशभक्तिको प्रवाह छ । देशभक्तिका लागि सीमामा घोचो गाड्नु पर्दैन । सबैको चेतनामा घोचो गाडिए सीमा आफैं बलियो बन्छ । सायद कविको धारणा पनि यही हो । गद्यलयात्मक शैलीको यो कविता कविको शक्तिशाली कविताको श्रेणीमा पर्छ ।

चुल्ठो नौ : आऊ यस्तो क्रान्ति छेडौं 

समाजमा विद्वेष छर्ने क्रान्तिलाई अस्वीकार गरेको छ कविको कलमले । मान्छे मारेर रगतको होली खेलिने खेल, माटो बिनाका पुर्जा बाँडिने आश्वासन, शहीदका नाममा मुर्दा दिने राजनीति सामाजिक अपराध हुन् । हामीले देखिआएको, भोगिआएको र सुनिआएको क्रान्ति सुस्वादु छैन । यसैले कवि क्रान्तिको परिभाषा नै बदल्न चाहन्छन् । क्रान्ति विकास, भाइचारा, गाँस बास कपासका लागि हुनुपर्छ तर मान्छे मारेर ल्याइने होइन । एकता खलबल्याउने क्रान्ति कुनै पनि मूल्यमा स्वीकारिनु हुँदैन । क्रान्तिले विश्वास जगाउनुपर्छ, विश्वास मार्ने होइन । क्रान्तिले हातेमालो सिकाउनुपर्छ, सद्भाव बिथोल्ने होइन । कविताले मानवतालाई मूल मन्त्र बनाएको छ । कविताले बन्दुकको नाललाई शाान्तिको मुरली बनाउन चाहेको छ । कवितामा कविको विचार यसरी व्यक्तिएको छ —

आऊ छेडौं यस्तो क्रान्ति

………………………….

जसले उजाड मरुभूमि होइन

हराभरा गाउँबस्ती देओस्

जसले टुक्रा टुक्रा होइन

सिंगै एउटा मुटु देओस्

+++

सबै वर्ण सबै जात

एउटै रुखको छाहारीमा

सुसेलेर गामबेसी मीठा मीठा धुनहरू

नयाँ नेपाल बनाउन

हातेमालो गर्नैपर्छ

यो ४ अनुच्छेद र ५१ हरप (१७+७+१५+१२)  को संरचनामा लेखिएको गद्यलयात्मक कविता हो । मानवतावादलाई कविताले स्पर्श गरेको छ । सरलता र भावनाको प्रधानता कविताका उल्लेख्य पक्ष हुन् ।

चुल्ठो दशमेरो देश

कवितामा देशको वर्तमान हालत व्यक्त भएको छ । विकृति र विसंगति राजनीतिमा छ । यो हाम्रो सामाजिक परिपाटीमा पनि छ । कतै देश बेचिएको छ त कतै भेष बेचिएको छ । यहाँ नीति बलियो छैन नेता बलिया छन् । हामी धनी छौं प्रकृतिमा तर अव्यवस्थाले त्यसबाट फाइदा लिन सकिएको छैन । छिमेकीहरूको नीतिमा पेलाहापन छ । कतै चित्त बुझाउने ठाउँ नै छैन । यही निराशाको अभिव्यक्ति छ कवितामा । कवितामा देशको फोटोकपी छ । कवितामा समस्या नै समस्याको थुप्रो छ, समाधानको कुनै संकेत देखिंदैन । त्यसो त देश बिग्रियो, देश भत्कियो भनिनुको आशय देश सप्रिनुपर्छ भन्ने उद्देश्यकै लागि हो । यसैले कविताले देशभक्तिको भावलाई स्पर्श गरेको छ । अभिव्यक्ति तिख्खर छ । हेरौं —

जलस्रोतको धनी देशमा कतै

पानी नपाएर नानी मरेको हुन्छ

हिउँदमा विद्युत नपुगेर के भो

वर्षमा उठिबास लगाउन त पुगेकै छ

पिउने पानी नभएर त के भो

सिउँदोको सिन्दुर बगाउन त पुगेकै छ

+++

यहाँ असहमति बीच सहमति भन्दा

सहमतिभित्र असहमति खोजिन्छ

बुद्धहरूलाई कालोमोसो दल्दै

हिटलरहरूलाई पुजिन्छ

अविश्वासका खाडलहरूमा

विश्वासका लासहरू पुरिन्छ

कविता ४ अनुच्छेद र ५० हरप (११+२१+४+२०) मा लेखिएको छ । गद्यलयात्मक शैलीशिल्पको उपयोग गरिएको छ । राष्ट्रियताप्रतिको चिन्ता कवितामा व्यक्तिएको छ ।

चुल्ठो एघार : मेरो देश

देशभित्र केही छैन भन्दै विदेश पलायन हुन खोज्ने प्रति कविको टिप्पणी हो यो कविता । देशभित्र सेता हिमाल छन्, तराइका फाँटहरू छन्, पङ्ख फिंजाई नाच्ने मयुर र ढल्किहिंड्ने हाँसहरू छन्, वन्यजन्तुको साझा बासस्थान छ, स्वदेशी गीत छ संगीत छ, आफ्नै घाम र जून छन्, रीतिस्थिति, चालचलन, भाका, पाटी, पौवा, गुम्बा, मन्दिर, मस्जिद छन् । यी सबै नदेखेर वा तुच्छ ठानेर देश छाडी जान आतुर प्रेमिकालाई कविले देशभक्तिको पाठ पढाएका छन् कवितामा । देशले आफैं विकास दिंदैन, विकास हामीले कर्मबाट प्राप्त गर्न सक्छौं — कविताको खास मर्म यही हो । कवि भन्छन् —

रीत आफ्नो प्रीत आफ्नो, भाकासँगै गीत आफ्नो

कर्म गरे यै माटोमा सधैं सधैं जीत आफ्नो

+++

चोक बजारमा विचारहरू परेड खेल्छन् साँझबिहान

यै माटोमा जन्म लिएँ यै माटोमा जाओस् प्राण ।

कविता देशभक्तिपूर्ण भावनाले पूर्ण छ, ओतप्रोत छ । ३ अनुच्छेद र २४ हरपको संरचना छ कवितामा । हरेक अनुच्छेद आठ आठ हरपको छ । हरेक अनुच्छेदमा ४ हरप स्थायी अंश छ । यसले कवितालाई गेयात्मक बनाएको छ । कविता गीतिशैलीमा छ । मेरो देश १ निराशावादी विचारमा केन्द्रित भए पनि यसले भने पूरापुर आशाको सञ्चार गराएको छ । विदेशतिरै पलायन हुन खोज्ने प्रवृत्तिलाई कविताले निरुत्साहित गर्न खोजेको छ ।

चुल्ठो बाह्र : नयाँ नेपाल 

कविताभरि निराशाकै अभिव्यक्ति छ तर अन्तिम दुई हरपले भने आशाको सञ्चार गराएको छ । वर्तमानको संक्रमणकालीन समाज संझिने हो भने बाँच्नु फलामको चिउरा चपाएसरह अप्ठ्यारो छ तर बाँच्नै पर्छ । निराशाले त एक पल पनि बाँच्न दिंदैन । निराशाभित्रै पनि आशा हुन्छ । त्यो जगाउनु पर्छ र कोशिस गर्नुपर्छ बाँच्न । कवि हातमा टुकी लिएर नयाँ नेपाल खोज्दै छन् । खोजे भेटिन्छ समाधान नखोजे केही भेटिन्न । कवि दूरदर्शी हुन्छ । उसले समस्या पनि देख्छ र समाधान पनि भेट्छ । कविले यहाँ समस्याको चाङभित्र समाधानको सत्प्रयास पनि गरेका छन् । यो सकारात्मक चिन्तन हो । कविताभित्रको केही अंश हेरौं —

बाँच्नु व्यर्थ छ जीवन महँगीले आकाश छोएको बेला

आफ्नो आँसु सकिएर फेरी पैंचो मागी रोएको वेला

+++

यही हो कि फेरिनेछ कतै ? यही त म सोध्दै छु

म हातमा बलेको टुकी लिएर नयाँ नेपाल खोज्दै छु ।

५ अनुच्छेद र १८ हरपको संरचना भएको गद्यलयात्मक शैलीको यस कवितामा सुरुको अनुच्छेद २ हरपको भए पनि अन्य अनुच्छेद ४/४ हरपका छन् ।

चुल्ठो तेह्र : अछामको सन्देश 

कविले कविता लेखिनुको सन्दर्भ दिएका छन् कविताको अन्तमा । दिइएको सन्दर्भबाटै कविता नियाल्नु उपयुक्त हुन्छ । २०५८ मा माओवादीले अछामको मंगलसेन र साँफेबगरमा आक्रमण गरे । परिणाम भयावह थियो । कविले भनेअनुसार त्यही परिणामको उपज हो यो कविता । मानवता मरेको त्यो दिनले धेरैलाई मार्‍यो । मर्नेहरू त ताता गोली खाएर तत्कालै मरे तर बाँच्नेहरू पलपल मरिरहे । तत्काल मर्नुको पीडा अनुमान गर्न सकिन्छ तर अनुभूति हुन्न तर पलपल मरिरहनुको पीडाको कल्पना नै गर्न सकिन्न — यो बाँच्नेहरूको अनुभूति हो । गल्तीबाट सिक्नुपर्छ । अछाम जघन्य गल्ती गर्नेलाई फाँसीको माग गर्दैन तर भन्छ —

युद्ध होइन तिमी शान्तिलाई रोज

कस्तो हुन्छ मृत्यु अछामलाई सोध ।

कवितामा युद्धको भयावह अवस्थाको चित्रण यस्तो छ —

मार्नेहरू खोज्नै पर्दैन यहाँ

बचाउने खोजी गर्दा पाइँदैन

बास उठाउने साथी सबै

लास उठाउने कोही हुँदैन

कविले यहाँ अर्धमृत मानवतालाई जगाउन खोजेका छन् । कवि भन्छन् —

बाबुसँग छोराले प्राण होइन प्यार जित्नुपर्छ

दाजुसँग भाइले रण होइन मन जित्नुपर्छ ।

कविता ८ अनुच्छेद र ५८ हरप (४+७+६+७+८+१२+६+८)  को छ । गद्यलयात्मक शैलीमा कविता लेखिएको छ । यथार्थिक परिवेशमा टेकेर लेखिएको यो कविताले भावुक बनाउँछ ।

चुल्ठो चौध : रोकिएर बादलफेरि 

यो कविताको सन्दर्भ पनि माओवादी जनयुद्ध नै हो । त्यस समयमा युद्धविभीषिकाले नछोएको क्षेत्र नै थिएन । युद्ध लड्नेहरू पनि पीडित नै थिए र युद्ध नलड्नेहरू पनि पीडित थिए । सर्वसाधारणहरूको अवस्था सरकारपक्ष र माओवादीहरूको चेपुवामा परेको थियो । मानिसहरूले युद्ध अन्तको कामना मात्र गर्न सक्थे र गरे पनि । कवि पनि त्यही चेपुवाका मानिस थिए र युद्ध सन्त्रासको अन्त्यको कामना गरे । तनावको अवस्था थियो । त्यही तनावको अवस्थालाई कविले यस कवितामा जीवन्त रूपमा उतारेका छन् । युद्ध विरामको अवस्था हुनुपर्छ लेखन समय । यसैले कवि मनले युद्ध लड्नेहरू शाान्तितिर फर्किन्छन् कि भन्ने आधार भेट्टाएको छ । कवि भन्छन् —

खुलेको छ त्यो आकाश फेरी बादलसँगै नरोइदिए

शान्तिपूर्ण नेपाल यो कुरुक्षेत्र नभइदिए

बम बारुदको छाता ओढ्ने शान्तिको घुम बुन्छन् कि त ?

५/५ हरपका ७ अनुच्छेद (३५ हरप) को संरचना कविताको संरचना हो । शैली गद्यलयात्मक नै छ । निराशाको थुप्रोमाथि आशाको सञ्चार भने पाइन्छ कवितामा ।

चुल्ठो पन्ध्र : आज फेरी मेरो गाउँमा 

माओवादी युद्धलाई आधार बनाएर लेखिएको यो कविता गेयात्मक छ । लड्ने र नलड्ने दुबै प्रताडित भएको त्यो युद्धले अमानवताको हद पार गरेको देख्दा कवि मन बेस्सरी दुखेको अभिव्यक्ति हो यो । युद्ध विभत्सकारी हुन्छ । यसका अग्रेठमा माया, ममता, भातृत्व, शान्ति सबै जलेर खरानी हुन्छन् । पटक पटक मर्नुको पीडाले बाँच्नुको अर्थ खल्बल्याउँछ । कविले कतै निकास देखेका छैनन् । युद्धको भयावहतालाई कवि यसरी व्यक्त गर्छन् –

हातको चुरा फुटाएर काखको बालो छुटाएर

सजाएका सपना सबै सिसासरि फुटाएर

जिन्दगी नै निरस भा’छ उजाडिंदा सिउँदो पनि

मर्ने सबै नेपाली नै नेपाली नै मार्ने पनि

नेपालकै रुन्छ छोरा नेपालकै रुन्छे छोरी

ड्याङ्ङडुङ्ङ चल्छ गोली मेरो गाउँमा आजभोलि ।

गद्यलयात्मक शैलीमा ५/५ हरपका ७ अनुच्छेदमा लेखिएको यो कविता मानवमूल्यलाई औधी प्राथमिकता दिइएको उत्कृष्ट कविता हो ।

चुल्ठो सोह्र : जिन्दगी 

मानिस सचेत र स्वतन्त्र प्राणी हो । ऊ आजाद पक्षीजस्तै उड्न चाहन्छ तर अवरोधकहरू प्रशस्त छन् । ती अवरोधकहरू छलेर गन्तव्य पुग्नु सजिलो पनि छैन । जीवन संघर्षमय छ । जालझेल तिकडमले मान्छेको जीवनलाई घेरेको छ । जीवनमा जालझेल तिकडमका घेराबन्दीबाट उम्कन पाउनु पनि एउटा आनन्द हो । सधैं एकै गति एउटै दिशा हिंड्नुको कुनै मजा छैन । कवि जीवनको निरस र यान्त्रिक यात्रा बदल्न चाहन्छन् । कवि फूलजस्तै फुलिरहन चाहन्छन्, असमयमै ओइलिएर झर्ने कोपिलाझै जीवन हार्न चाहादैनन् । यो जीजीविषा हो । जीजीविषा स्वच्छन्दतावादीहरूको विशेषता हो । यस अर्थमा कवि स्वच्छन्दतावादी हुन् । कवि भन्छन् —

म बग्न चाहन्छु बदलेर बाटो

सधैं उही किनारामा ठोकिनुको साटो ।

सम्बोधनात्मक शैलीमा लेखिएको यो कविता जीवनको निरस यात्रा बदलेर हिंड्ने चाहनाको चाहमा हुर्किएको छ । ३ अनुच्छेद र १७ हरप (३+७+७) को छोटो संरचनाभित्र कविले मानव जीवनको सार्थकता खोजिरहेका छन् । कविता सरल गद्यलयात्मक शैलीमा लेखिएको छ ।

चुल्ठो सत्र : चुल्ठो 

श्रृङ्गारिक भावधारामा लेखिएको यस कविताको शीर्षकलाई सिङ्गो पुस्तकको शीर्षक बनाइएको छ । यसबाट कवि स्वयम् यो कविताप्रति सन्तुष्ट छन् भन्ने अर्थ लगाउन मिल्छ । विचार कविताको प्राण हो भने कल्पना कविताको शक्ति हो । यस कवितामा कल्पनाको बेजोड उडान भेटिन्छ । मञ्चीय पात्रका रूपमा तिमी र म को प्रयोग गरिएको यसमा म पात्र स्वयम् कवि हुन् भने तिमी पात्र यात्रापथकी कुनै अज्ञात युवती यात्री हो ।

कविताअनुसार म पात्र र तिमी पात्रबीच अनुहारको प्रत्यक्षीकरण भए वा नभएकोले कुनै फरक पारेन तर कवि तिमी पात्रको अत्तरमा डुबेका घना कोशराशीमै सम्मोहित भइसकेका छन् । या भनौं एकतर्फी प्रेममा कवि फसिसकेका छन् र त्यो प्रेमको उत्पादक अनुहार होइन युवतीको कपाल हो । यसैले कविमा मनको अतल गहिराइमा वादशाह बन्ने (युवतीलाई भोग गर्ने) महत्वाकांक्षाको कातिल सुनामी उठ्छ । कविभित्रको चाहना कवितामा यसरी पोखिएको छ —

चारकोसे झाडीजस्तै घना केशराशिमा

उफ्रँदै हिंड्ने मृगशावकझैं कतै लुटपुटिएर हराउन पाए

या चारकोसे झाडीको सुरक्षार्थ

हातमा राइफल बोकेर बसेको सिपाहीझैं

तिम्रो निगरानीमा जुनी काट्न पाए ।

तर घटनामा नसोचिएको मोड आउँछ । त्यो हो — युवतीका हिटलर हातहरूले (कविका विचारमा ती हात हिटलर हात हुन् जसले कविको प्रेमलाई मार्‍यो) कविमा प्रेम जगाउने अत्तरमा डुबेका घना केशराशी चुल्ठो पारिन्छन् । सायद घटनापछि कविको प्रेमको अवसान भयो होला किनकि कविको प्रेमको फोकस प्वाइन्ट युवतीको अनुहार थिएन अत्तरमा डुबेको स्वतन्त्र र घना केशराशी थियो ।

गद्यलयात्मक शैलीमा लेखिएको यो कविता ५ अनुच्छेद र ४३ हरप (८+४+१०+११+१०) मा संरचित छ । यो संग्रहको उच्च काव्यात्मक गुणले भरिएको कविता हो । कल्पनाको तीब्रता, श्रृंगारिक भाव, प्रभावोत्पादक वर्णन, सरलता, स्वतस्फूर्तता आदि यस कविताका वैशिष्ट्य हुन् ।

चुल्ठो अठार फूल 

फूलको मानवीकरण गरी लेखिएको प्रकृतिको कविता हो यो । फूललाई विषयको केन्द्रीय मियो बनाएर कविले यहाँ जीवन जगत्को एउटा चित्र कोर्न खोजेका छन् । फूल फक्रिएको छ, सुन्दरता घटा फुटेको जलझैं छताछुल्ल पोखिएको छ हेर्नेहरूका आँखामा । निर्वस्त्र नाङ्गिएकी आइमाईजस्ती भएर आँखाहरूमा फुल्न पुगेकी फूलले अबुझका भाकाहरूमा स्फुरण ल्याइदिएको छ तर कोपिला नै हुँदा एउटा मिठो जिज्ञासा रहन्थ्यो, अडकल रहन्थ्यो । निर्वस्त्र नाङ्गिदा अब अडकल पनि रहेन र जिज्ञासा पनि शून्य बन्यो । कविको धारणा यहाँ फूल त्यसरी नाङ्गिनु  हुन्नथ्यो भन्नेमैं छ । यो कुरा यी पंक्तिबाट खुल्छ —

सम्भावनाका सोचहरूलाई उतारेर

यथार्थतामा तिमी निख्रिएकी छ्यौ

सिद्धिएकी छ्यौ

रित्तिएकी छ्यौ ।

यो कविता कथाले मागेको भन्दै नाङ्गिने र नगङ्याँइने घटनाहरूप्रतिको कविको असन्तुष्टि हो । सुन्दरता माथि एउटा आवरण चाहिन्छ जसबाट सुन्दरता चियाउन मिलोस् । आवरण बिनाको सुन्दरताले घृणाभावलाई जन्माउँछ । कवि भन्छन् —

जहाँ राज छिपेको हुन्छ

त्यहाँ सौन्दर्य लुकेको हुन्छ

जहाँ सौन्दर्य लुकेको हुन्छ

त्यहाँ मन झुकेको हुन्छ ।

नारीवादीहरूको कटाक्ष हुनसक्छ कविताको विषयलाई लिएर । भन्न सक्छन् — नारी मात्र किन नंग्याउँछन् यी कवि, यी कविप्रति पनि हाम्रो विश्वास धर्मरायो । कवि पनि सामाजिक प्राणी हुन् र समाजको प्रतिबिम्ब झल्किने गर्छ कविका कवितामा । नारी नाङ्गिनु ठिक हो त भनेका हैनन् कविले । यहाँ कविले नारीलाई नंग्याउने प्रवृत्तिको विरोध गरेका हुन् । यसैले कवि र कविताप्रतिको नारीवादीहरूको सम्भावित कटाक्ष फिका बन्छ ।

कवितामा ४ अनुच्छेद र ५५ हरप (१३+१८+१६+८) को संरचनामा गद्यलयात्मक शैलीको उपयोग पाइन्छ । कविता सरल शब्दयोजनामा बुनिएको छ तर अर्थ भने गूढ छ । कविताले विचारको प्रक्षेपण गरेको छ ।

चुल्ठो उन्नाइसबा 

यो सम्बोधनात्मक शैलीमा लेखिएको व्यंग्यधर्मी कविता हो । दुःखजिलो गरेर हुर्काउने बाबुआमालाई उत्तरार्ध उमेरमा बृद्धाश्रमको बास बसाउने सन्तानप्रति कविले यहाँ व्यंग्यको सुइरो रोपेका छन् । फेसबुके माया देखाएर कर्तव्यपालना गरें भन्ने सन्तानहरू हाम्रो समाजमा जताततै भेटिंदा कवि हृदय चोटिल बन्छ । हिजोका दिनमा विकास कम थियो तर संवेदनाको हत्या भने भएको थिएन । आज तुलनात्मक रूपमा विकासको गति अलि तीब्र छ तर मानिस संवेदनाशून्य बन्दै जाँदै छ । विकासले संवेदना मारिनु हुन्न । विकासले चेतना अवरुद्ध बन्नु पनि हुँदैन । कविले छाडेको तीर त्यतैतिर लक्षित छ ।

गद्यलयात्मक शैलीका चार अनुच्छेद र ६९ हरप (७+८+२६+२८) मा लेखिएको यस कविताको आशय ध्वन्यात्मक छ । कवि  भन्छन् —

देख्यौ त बा तिम्रो छोरो

…………………………

चाउरी परेका गालामा

आफ्ना कस्मिरी स्याउझैं

चिल्ला गाला जोड्दै खिच्नेछ सेल्फी

अनि रङ्ग्याउनेछ मुहारपुस्तिका

………………………………..

आखिर एउटा छोरोले बाबुलाई गर्ने माया

यो भन्दा बढी अरु के नै हुन सक्छ र ।

कवितामा बनावटी माया स्विकार गरे जस्तो अभिधेय भाव देखाइएको भए पनि कविताको आशय त्यस्तो होइन । कविताले बाहिर घसिने मायाको होइन भित्री हार्दिक मायाको वकालत गरेको छ । यो कविता कर्तव्यबोधको पाठ हो ।

चुल्ठो बीसगुरु 

हाम्रो शिक्षा परम्परागत छ । परम्परागत शिक्षा प्रणाली वैज्ञानिक छैन । शिक्षा दिने गुरुहरूमा पनि परम्पराको गरुँगो भारी बोकेर हिड्ने प्रवृत्ति कायमै छ । कविका विचारमा यो गलत हो । आधुनिक शिक्षा बालमैत्री हुनुपर्छ र आमूल परिवर्तनकारी हुनुपर्छ — कविको भावनाले त्यतैतिर ताकेको छ । कवितामा बाबु र छोरा पात्र छन् । बाबुसँग छोराको प्रश्न छ — परम्परागत शिक्षाप्रणालीका सम्बन्धमा । छोरो भविष्यको धारक हो । उसको चाहनाको शिक्षा हिजोको भन्दा फरक हो । यहाँ देखिएको असन्तुष्टि परम्पराको निरन्तरता बनेको वर्तमान शिक्षाप्रति नयाँ पुस्ताको  असन्तुष्टि हो ।

५ अनुच्छेद र  ४४ हरप (२+८+१०+१४+१०) मा लेखिएको यस कविताले थोरैमा धेरै कुरा बोलेको छ । यो गद्यलयात्मक शैलीको व्यंग्यधर्मी कविता हो ।

चुल्ठो एक्काइसजवानी 

प्रियलाई सम्बोधन गरी लेखिएको यो सम्बोधनात्मक कविता हो । कविका विचारमा पानी र ज्ञान नलुटिने चिज हुन् तर जवानी भने लुटिएका छन् बम्बइका भिण्डिबजारहरूमा । जवानी बहुमूल्य छ । बहुमूल्य चिजले धेरैमा लोभ जगाउँछ । अन्ततः लोभले मान्छेलाई लुटेरा बनाउँछ । समाजमा जवानीका लुटेराहरू सामाजिक धर्काहरू नाघेर अघि बढ्दा कवि दुःखी छन् र निरीह पनि ।

कविले यहाँ पानी र ज्ञान लुटिंदैन भनेका छन् । कविले यी कुरा कुरा कुन अर्थमा भने उनै जान्लान् । कविले भनेझैं व्यक्तिभित्रका ज्ञान त लुटिंदैन तर पानी भने लुटिएको छ व्यवहारमा । नेपाल भारत सीमामा बग्ने नदीहरूमा पानी ठुल्ठुला बाँध र नहर बनाएर लुटिएका उदाहरण छन् । हाम्रामा मात्र होइन यो सिलसिला अन्यत्र पनि सुन्न र देख्न सकिन्छ । यसैले यहाँ कविको पानी नलुटिने बिम्ब त्यति सुहाएको छैन ।

यो कविता ४ अनुच्छेद ३५ (२+१२+१३+८) हरपमा संरचित छ । गद्यलयात्मक शैलीमा लेखिएको यो कविताको गूढार्थ भने सामाजिक भ्रटता माथिको प्रहार हो ।

चुल्ठो बाइस : पहिली पत्नी 

कविता एकालाप शैलीमा लेखिएको छ ।  कवितामा नारी पात्र (पहिली पत्नी) ले पुरुष पात्रप्रति एकोहोरो आफ्ना कुरा राखेकी छ । प्रेमिका अधीर भएर प्रेमीलाई पर्खिएकी, प्रेमी सपनाहरू बोकेर वैदेशिक रोजगारीमा गएको, ऊ जाँदा प्रेमिकाले निथ्रुक्क भिजेर बिदा गरेकी तर यो बिर्सिएर पे्रमीले मुटुको कीला अर्की युवती ल्याएको, प्रेमिका यही चोटले त्रिवेणीमा हेलिएकी, उसका ब्याट्री सकिनै लागेका घडीजस्तो जिन्दगीलाई प्रेमीले पुनः उतारी पहिली पत्नी बनाएको कथासूत्र भेटिन्छ यो कवितामा । कवितामा परिस्थिति दुःखान्त छ भने परिणम सुखान्त छ । बिम्बात्मक छ कविता ।

गद्यलयात्मक शैलीका ८ अनुच्छेद र ५८ हरप (६+६+९+८+४+६+८+११) मा संरचित यो कविता मध्यम स्तरको रचना हो ।

चुल्ठो तेइस : निर्दयी प्रकृति निष्ठुरी जय 

प्रस्तुत कवितामा प्रकृति र जय दुई पात्र छन् । प्रकृति अवस्था हो । अवस्था अनुकूलन र प्रतिकूलन हुनसक्छ । प्रतिकूलित प्रकृति भन्ने देखाउन कविले प्रकृतिलाई निर्दयी विशेषण दिएका हुन् कवितामा । कविताको पृष्ठभूमिअनुसार जय चेतना हो, चेतना पनि कोमल, सुकुमार अनि नारी हृदयको – दयालु अनि लाखौंमध्येको एक । यसैले कवि जयको स्वभावअनुसार उनलाई हिउँदे बिदाको फुर्सदमा ईश्वरले बनाएको सुन्दर परीको उपमा दिन्छन् । तर प्रकृति जय अनुकूल छैन । भनौं – चेतना माथि प्रतिकूलित प्रकृतिको सधैं प्रहार हुन्छ – पूर्णिमालाई औंशीले खेदेजस्तो । जय प्रतिकूलित प्रकृतिसँग सौदाबाजीमा उत्रिन सक्दैन । यसैले ऊ प्रतिकूलसँग छड्किएर हिंड्न चाहान्छ । फूलबारीमा हुर्काइएका फूलहरू नफक्रँदै फूलदेखि टाढा हुन खोज्दै छ जय अथात् चेतना । यसैले कवि हृदयका आराध्य बनेका जयलाई निष्ठुरीको विशेषण चढाउँछन् । यो कविको जयसितको सान्निध्य हो – रोष होइन, इबी होइन ।

पाँच अनुच्छेदका ११२ हरपमा (४+१७+४५+२६+२०)  लेखिएको यो कविता गद्यलयात्मक शैलीमा छ । आलङ्कारिक पद र पदावलीको उपयोगले कवितालाई सुस्वादु र भावनात्मक बनाएको छ ।

चुल्ठो चौबीस : मरेको छैन 

एक स्वाभिमानी राष्ट्रवादी पात्रको अभिव्यक्ति हो यो कविता । त्यो स्वाभिमानी पात्र जो नेपाल आमालाई एक सपुत सन्तानले दिनुपर्ने भरोसा र सान्त्वना दिन्छ, आफ्नै देशमा सम्भावनाहरू देख्नुपर्छ भन्ने विचार राख्छ अनि जन्मभूमिप्रति गद्दारी गरेको छैन भनी शिर ठाडो गरी बोल्नसक्छ । सामान्य गल्ती कमीकमजोरीहरू हुन सक्छन् तर मातृभक्त, देशभक्त त्यो पात्र जघन्य अपराध बोकेर आमासामु आएको छैन । यदि अपराधी थियो भने उसले आफ्ना सान्त्वनाका पोका फुकाउन सक्ने थिएन । मर्नु सकिनु हो तर बाँचे देशका लागि केही गर्न सकिन्छ यदि मनभित्र पवित्र भावना छ भने । यही विचार सम्प्रेषण गर्न कवि सफल छन् यस कवितामा ।

गद्यलयात्मक शैलीका ६ अनुच्छेद र २९ हरपमा (३+४+६+६+५+५) संरचित यो कविताका प्रत्येक अनुच्छेदका अन्तमा ‘आमा नरुनू म मरेको छैन’ भन्ने स्थायी अंशको पुनरावृत्ति छ । यो पुनरावृत्तिले कवितालाई पठनीय र गेयात्मक बनाएको छ ।

चुल्ठो पच्चीस हैजा

यस कविताको अन्तमा कविकथन सन्दर्भ प्रस्तुत गरिएको छ । सन्दर्भ उल्लेख नगरिएको भए पनि यो सार्वकालिक कविताको अर्थ पक्ष बलियो नै थियो तर सन्दर्भ उल्लेख गरेर कविले रचनागर्भको पेटारो खोलेका छन् । दिइएको सन्दर्भअनुसार हेर्ने हो भने नेपालको विकट पहाडी जिल्ला जाजरकोटमा हैजाको प्रकोपले पूरै जिल्ला आक्रान्त बनेको र त्यसप्रति उदासीन राज्यको गैरजिम्मेवारपना देखेका कविले आफ्ना आक्रोश कवितामार्फत पोखेको देखिन्छ । यो कविता सम्बोधनात्मक प्रकृतिको छ । प्रत्यक्षमा यहाँ हैजालाई सम्बोधन गरिएको भए पनि परोक्षमा कविले यहाँ सत्तासीन अविवेकीहरू जो सामान्य उपचारका लागि राज्यको ढुकुटी चोइट्याएर विदेश सयर गर्छन् तिनका छातीमा विद्रोहको ढ्याङ्ग्रो ठोकेका छन् । कवि भन्छन् –

तँ हत्यारा होस् एक क्रूर डरपोक होस्

तँ गहको आँसु, चिताको आगो, विछोडको शोक होस् ।

चार अनुच्छेद र ६२ हरपमा (१५+२२+११+१४) संरचित यो कविता काव्यात्मक छ । सघन व्यङ्ग्यले भरिपूर्ण हुनु र अभिव्यक्तिको निखार पाइनु यस कविताका प्राप्ति हुन् ।

चुल्ठो छब्बीस : मृत्यु जीवन 

मृत्यु सास्वत सत्य हो । ज्ञानीहरू ज्ञानबाट मृत्युलाई पनि उत्सव मनाउँछन् । यसबाट भागेर होइन स्विकार गरेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ । कविले यही दर्शनलाई पक्डिएका छन् – भनौं मृत्युदर्शन । कविका विचारमा जीवनसँग बिछोड होइन मृत्यु । यो त जीवनसँगको सुरम्य मिलन हो । मरेपछि यो सन्सारले बिर्सिए मान्छेको मृत्यु हुन्छ तर मरेर पनि जनजनका हृदयमा बाँच्न सक्नु ठूलो कुरा हो । कविको मृत्यु रोज्ने इच्छामा यही जीवनवादी सूत्र फेला पर्छ । कवि भन्छन् –

ती मृत्युमा जीवनको अन्त देख्छन्

म मृत्युमा पनि जीवन देख्छु

त्यसैले त म मृत्यु अँगाल्न लालायित छु ।

कविता दार्शनिक भावभूमिको छ । सरलतामा जीवनदर्शनको गहनता फेला पर्छ । यसमा गद्यलयात्मक शैलीका ६ अनुच्छेद र ५४ हरपको (५+५+८+१०+१९+७) हरपको संरचना छ ।

चुल्ठो सत्ताइस : जिन्दगी

जिन्दगीका विभिन्न पाटामध्ये एक पाटाको वर्णन हो यो कविता । यसमा जीवनको दुःखद् पाटो व्यक्त छ । जिन्दगीलाई कविले शान्त समुद्रमा सुनामीसँगै उठेको छालजस्तो भनेर चिनाएका छन् । कवि भन्छन् –

बहिखाताको हिसाव नमिल्दा

रिसाउने साहुजीझैं

यो आफैंमा रिसाइरहेछ ।

+++

जब डामिन्छ हरपल

फोका बनेर उठ्छ जिन्दगी

जब बर्सन्छन् पीडाहरू मनभित्रका

फोका बनेर फुट्छ जिन्दगी ।

तर कविले भनेझैं जिन्दगी दुःखद् मात्र छैन, सुखद् र उल्लासपूर्ण पनि छ । कसरी हेर्ने त्यो दृष्टिकोणको कुरा हो । जिन्दगी दुःखपूर्ण छ भनी सोच्नु पलायनवादी चिन्तन हो । कवितामा कविको पलायनवादी विचार हाबी भएको छ ।

तीन अनुच्छेदका ४२ हरप (७+२२+१३)  र मुक्तलयात्मकता यस कविताका संरचनागत वैशिष्ट्य हुन् ।

चुल्ठो अठ्ठाइस : जिन्दगी

जिन्दगी १ का तुलनामा यो कविता बढी सन्तुलित छ । यसले जीवनका विभिन्न पाटाहरू केलाएको छ । कविले हिमालसरि अग्लिएका, मैनझैं पग्लिएका, खोला बनेर सुसाएका अनि कहिले आफैंसँग रिसाएका जिन्दगीहरूको चर्चा गरेका छन् । यस्तै यसमा सोमरसमा घुलेका, षोडशीमा भुलेका, युधिष्ठिर अनि शकुनि बनेका जिन्दगी पनि समेटिएका छन् । किलो किलोमा जोखिएर बितेका जिन्दगीहरू अनि बिग्रेको घडीको सुइ भएका जिन्दगीहरू जीवनका अनादर्श पाटा हुन् भने हिमालका शुभ्र कान्तिसरि सूर्यरश्मिसँगै टल्किएका जिन्दगीहरू जीवनका आदर्श पाटा हुन् । कवि भन्छन् –

बलेको चिरागझैं सल्कियो जिन्दगी

गहको आँसुझैं छल्कियो जिन्दगी

गद्यलयात्मक शैलीका ४ अनुच्छेद र २५ हरप (४+५+८+८)  लेखिएको यो कविता गेयात्मक छ ।

चुल्ठो उनन्तीस : मृत्युपछिको मिलन 

कवितामा ‘म’ र ‘तिमी’ दुई पात्र छन् । म प्रेमी हो र तिमी प्रेमिका । प्रेमिका अर्थात् म पात्रको सोचकी प्रेमिका । प्रेमी म प्रेमिका तिमीप्रति अनुरक्त छ तर प्रेमिकाको प्रेमीप्रति कुनै अनुरक्तता भेटिंदैन । यो एकतर्फी प्रेम हो । कवि भन्छन् –

सायद मृत्युपछिको मिलन

असम्भव ठान्नेहरूका लागि

तिमी र म – हामी दुबै

के अविस्मरणीय उदाहरण होइनौ र ?

यो अभिव्यक्तिबाट प्रेमी म प्रेमिका तिमीप्रति कति अनुरक्त छ भन्ने बुझ्न सकिन्छ । तर निष्ठुरी प्रेमिकामा प्रेमीको प्रगाढ प्रेमपूर्ण भावाभिव्यक्तिले कुनै असर गरेको देखिंदैन ।

कविता बिम्बात्मक र लालित्यपूर्ण छ । अर्को अर्थमा केलाउने हो भने कविले प्रकृति र मानव जीवनको तादात्म्यभाव गराएको देख्न पनि सकिन्छ । प्रकृति आफ्नै गतिमा छे र मानव आफ्नै गतिमा । प्रकृतिप्रति मान्छेमा अनुरक्तता हुन्छ तर त्यो अनुरक्तताले प्रकृतिलाई कुनै फरक पार्दैन । धीरगम्भीर छ प्रकृति धीरोप्रशान्त नायकजस्तो । मान्छे मृत्युपश्चात् प्रकृतिमै समाहित हुन्छ भन्ने भाव पनि कवितामा पाउन सकिन्छ ।

४ अनुच्छेदका ५३ हरपमा (१३+१६+१२+१२) संरचित यो कविता गद्यलयात्मक शैलीमा बुनिएको छ ।

चुल्ठो तीस : समय

९ अनुच्छेद र १८० हरपमा (१७+२६+२२+१०+९+३९+११+२९+१७) लेखिएको यो कविता संग्रहकै सबैभन्दा लामो संरचना भएको कविता होे । ‘तिमी’ र ‘म’ दुई पात्र भएको र स्मरणशैलीमा लेखिएको यस कवितामा म पात्र घटनावाचक हो । ‘म’ युवक हो र ‘तिमी’ युवती । स्वतन्त्रताको लडाइँमा जेल परेको त्यो स्वतन्त्रतापथगामी युवक युवतीको प्रेमी पनि हो । दुबै एकअर्कालाई चाहान्छन्, प्रगाढ सम्बन्धमा छन् तर स्वतन्त्रताका लागि लड्दा जब युवक जेल पर्छ तब परिस्थितिले कोल्टे फेर्छ । युवतीको बिहे हुन्छ तर उसले आत्महत्या गर्छे । यही कथासूत्रको आधारमा खिपिएको यो कविता काव्यात्मक राग दिंदै अगि बढेको छ । कविताको प्रस्तुति बिछोड होइन करुणान्तमा पुग्छ । कवि भन्छन् –

मस्तिष्कको पर्दामा अतीतको याद

फिलिम बनेर कुदिरहेछ बेतोड

बुलेट ट्रेनजस्तै

तिम्रा मायाप्रीतिका बाचाहरू ।

चुल्ठो एकतीस : भुँडी

भुँडी सघन व्यङ्ग्य भएको कविता हो । यो हास्य कविता होइन । हास्य शिथिल छ व्यङ्ग्यका अगाडि । सामाजिक बेथितिमा पनि कहाँ आउँछ र हाँसो । बरु पढेर आक्रोश पैदा हुन्छ । भ्रष्टाचार यो कविताको विषय हो । घुस खाएर खुलेआम समाजमा हिंड्नेहरू नदेख्ने फुलो परेका आँखा भएका अख्तियारधारी प्रति कविले व्यङ्ग्यको सुइरो रोपेका छन् । सुकेको र फुकेको भुँडी, घुस खाएको र भुस खाएको भुँडी, आकाशिएको र निसासिएको भुँडी, हाकिमको र पिउनको भुँडी – यिनै भुँडीहरूको तुलना छ कवितामा । प्रत्यक्षमा कविले फुकेको, घुस खाएको, आकाशिएको, हाकिमको भुँडीलाई गजबका भुँडीका रूपमा लिए पनि परोक्षमा कवि सुकेको, भुस खाएको, निसासिएको र पियनको भुँडीप्रति सहानुभूति राख्छन् । यो कविताको ध्वन्यात्मक अर्थ भने घुस्याहा भुँडीहरूको विरोध र जनसामान्यका भुँडीहरूको पक्षपोषण हो अर्थात् हुने खानेभन्दा हुँदा खानेहरूको समर्थन हो ।

कवितामा अन्तरअनुप्रासीयता छ । यसले कवितालाई पठनीय र गेयात्मक बनाएको छ । भाषा सरल तर काव्यात्मक छ । गद्यलयात्मक शैलीका ५ अनुच्छेद र ६५ हरपको (९+१०+१५+१४+१७) संरचनामा यो कविता लेखिएको छ ।

चुल्ठो बत्तीस : मैले जस्तै तिम्ले पनि 

निष्ठुर प्रेमीप्रति प्रेमिकाको टिप्पणी हो यो कविता । पटक पटक सँगै जिउने सँगै मर्ने वाचाकसम खाएको त्यो प्रेमी थाहै नदिई अन्तै नाता जोड्न तयार हुँदा प्रेमिकाको मन आहत छ । भरोसा टुटेको छ । युवतीले युवकसँग बारम्बार धोका खाएकी छे । युवकसँग मन टुटेको बताउने युवती दोस्रो अनुच्छेदको पहिलो हरपमा युवकसामु प्रेमयाचना गर्दै गिडगिडाउनुभन्दा बरु विष खाएर मर्छु भन्छे तर यो मरिहाल्ने युवती भने होइन । मर्छु भनेको एउटा आवेगको पोखाइ मात्र हो । चौथो अनुच्छेदको पहिलो हरपमा युवतीका ‘एउटा यात्रा जिन्दगीको आखिर पूरा गर्नैपर्छ’ भन्ने अभिव्यव्यक्तिमा जीवनेच्छाको स्वभाविक शैली भेटिन्छ ।

कविता गेयात्मक छ र गद्यलयात्मक शैलीमा ४/४ हरपका ४ अनुच्छेदको संरचनामा बुनिएको छ ।

चुल्ठो तेत्तीसतरकारीवाली 

शङ्कर लामिछानेले भनेथे ‘औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा’ शीर्षकको निबन्धमा – “बाबु जीवनमा कविता छरिएर बसेका छन्, देख्न सक्नु र टिप्न सक्नु मात्र पर्छ । लेख्ने फुर्सद कसलाई ?” कविको यो कविता पढेपछि लाग्छ – लेख्नका लागि विषयको कमी छैन । समाजका ससाना क्षण र घटनाहरूमा कविताका सशक्त पङ्तिmहरू लहरिएर बसेका हुन्छन् ।

सामाजिक सञ्जालमा एकताका तरकारी बोकेकी एक नवयौवनाको आकर्षक प्राकृतिक भाइरल तस्विर र त्यस विषयमा सञ्जालमै चलेका टीकाटिप्पणी तरकारीवाली कविताको आधार विषय हो । ती नवयौवनाको प्राकृतिक स्वरूपमा सबै लठ्ठ परेझैं सौन्दर्यका उपासक कवि पनि मोहित बनेका छन् । हेर्ने दृष्टि भने फरक छ । अरु भौतिक आँखाले हेर्छन् भने कवि अभौतिक या प्राकृतिक आँखाले चियाउँछन् । उनको प्राकृतिक श्निग्ध आवरणमा भौतिकवादीहरू हावी नहोऊन् भन्ने कविको कामना छ । यो कामनासम्म त ठीक छ तर कविताका अन्ततिरका केही हरपहरूबाट कवि उनलाई आफ्नो पीर भुल्ने माध्यम मात्र बनाएर कतै उनका उन्नतिप्रति बाधक त बनिरहेका छैनन् भन्ने प्रश्न खडा गर्न सकिन्छ । कवि भन्छन् –

मानसपटलमा तिम्रो स्केच कोर्दै

लेख्न चाहन्छु/सक्छु एउटा कविता तरकारीवाली

र ग्राहक बनेर हरेक दिन

भुल्न चाहन्छु घरमा

तेल, बेसार र मसला सकिएको व्यथा ।

गद्यलयात्मक शैलीका ४ अनुच्छेद र ९१ हरपहरूमा (१०+५२+१७+१२) यो कविता लेखिएको छ ।

निष्कर्ष 

समग्रमा कवि चेतराज रेग्मीका कवितामा चेतनाको प्रवाह छ । कवि हृदयबाट सञ्चालित छन् । यसैले कवितामा जटिलताको यान्त्रिकता भेटिंदैन । सरलताभित्र हृदयहारिता छ, पवित्रता छ । संग्रहभित्रका केही कविताहरू उच्च कोटिका छन् । केही एकाध कविताका हकमा भने सङ्ग्रहका लागि नछानिएको भए हुन्थ्यो भन्ने चाहिं लाग्छ । ठाउँ ठाउँमा मुद्राराक्षसले सताउँछ । लयात्मकताका दृष्टिले संग्रहभरि नै गद्यलयात्मकतालाई पक्डिएको छ । कोमलकान्त शब्दसज्जा, आलङ्कारिक जलप, बिम्बको वैविध्य, स्वतस्फूर्तता कवि रेग्मीको मूलभूत प्रवृत्ति बनेको छ । कविताहरू यथार्थताकै सेरोफेरोमा छन् । काव्यात्मक रङका हिसाबले कवि चेतराज नेपाली कविताको यात्रामा निकै आशलाग्दा पात्र देखिएका छन् ।