१९५५, जुलाई १५
काठमाडौँः मैले स्टिनबर्गको “इन द वर्कशप अफ रिभोल्युसन” भर्खर पढेर सिध्याएँ । म आफ्नै देशको एउटा सानो क्रान्तिमा पनि सहभागिता जनाइरहेको थिएँ । तर मलाई लाग्यो, भाग्यले ममाथि थोपरेको भूमिकाका लागि म पर्याप्त अनुपातमा क्रूर भइसकेको थिइनँ । नेपालका लागि कुनै महान् काम गर्ने अवसर मेरो सामु आएको पनि थियो, तर त्यसका लागि आवश्यक क्रूरताको अभावमा मैले उक्त अवसर गुमाएँ । शायद, क्रान्तिका म त्यति गम्भीर भइसकेको थिइनँ ।
जुलाई २१
काडमाडौँः म आर मार्टिन डी गार्डको “समर १९१४” पढिरहेको छु । म यसलाई महान् पुस्तक त भन्दिनँ, तर यो प्रथम विश्वयुद्धको एउटा प्रभावशाली कथा भने अवश्य हो । पूर्वी युरोपतिरका एक व्यक्तिको जीवनका मिहीन पक्षको आख्यानीकरणसहित लेखकले यस पुस्तकमा युद्धको एउटा शक्तिशाली चित्र खिँचेका छन् । यो एक शान्तिकामी पुस्तक हो, तर त्यसो भन्नुको तात्पर्य एउटा कमजोर तथा शान्तिप्रिय मान्छेले युद्धप्रति जनाएको कुनै कमजोर प्रतिक्रिया भने होइन । यसले पाठकलाई युद्धको भयङ्कर त्रासप्रति सजग गराउँछ, र त्यसको क्रूरता र छलको परिचय दिन्छ । यसको पात्र जेक्स मेरो सम्झनामा सधैँ रहिरहने साथी हो । ऊ शहीद भएर जानु मेरा लागि एउटा व्यक्तिगत क्षति हो, तर पनि ऊ मेरो लागि एउटा पथप्रदर्शक पनि हो । म उसको बलिदानीलाई व्यर्थ अथवा वीरतालाई अर्थहीन भन्दिनँ । उनको सहादतको क्षण तथा उसको मित्रवत् व्यवहार मेरा लागि मलाई घेर्न आइरहने अँध्यारा पलहरू चिर्ने उज्यालो हो । यो पुस्तक जीवनका धेरै शाश्वत प्रश्नहरूका बारेमा आत्मन्थन तथा विद्वत टिप्पणीहरूले भरिएको छ । ती प्रश्न सोध्न मात्र सकिन्छ । तिनको उत्तर पाउन मुस्किल छ ।
जुलाई २८
काठमाडौँः आज सुर्वणजी आउनुभयो । सन्धिको पुनरावलोकन तथा सामान्य कूटनैतिक सम्बन्धको शुरुवातका लागि एउटा चिनियाँ प्रतिनिधिमण्डल राजधानी आइपुगेको थियो । वार्ताहरू अत्यन्त गोप्य रूपमा सम्पन्न भए । यसबारे सल्लाह नगरेको भन्दै भारतीय खेमा रुष्ट पनि भयो । तर मैले भने यी वार्ताहरूको स्वागत गरेको थिएँ । मैले भनेको थिएँ, यी वार्ता मौजुदा सरकारले होइन, एउटा जननिर्वाचित सरकारले गर्नुपर्छ ।
जुलाई २९
मैले आजको साँझ प्रमुख निर्वाचन आयुक्तसँग बिताएँ । सुवर्णजीले मलाई भन्नुभयो – दरबार र भारतीय पक्ष बालिग मताधिकारको प्रयोगको पक्षमा छैनन् । भारतीय सल्लाहकारहरू आसन्न निर्वाचन केही मतदातामा सीमित रहोस् भन्ने चाहन्थे । र, उनीहरू चुनाव अप्रत्यक्ष होस् भन्ने चाहन्थे । यस सम्बन्धमा गान्धीजीको नाम पनि लिइयो । यो पनि भनियो, बालिग मताधिकारका आधारमा गरिने चुनाव नेपालका लागि ज्यादै खर्चिलो हुन जाने छ । यो सुनेर म यति आश्चर्यचकित भएँ कि मेरो प्रतिक्रिया शून्य रह्यो । तर मैले कही साहस बटुलेर प्रमुख निर्वाचन आयुक्तलाई भनेँ – सीमित मतदान र अप्रत्यक्ष मतदान दुवै काङ्ग्रेस जस्तो क्रान्तिको पक्षधर पार्टीका लागि मान्य हुने छैनन् । सीमित मतदान र अप्रत्यक्ष मतदानभित्र क्रान्तिकारी क्षमता हुँदैनथ्यो । यसको परिणाम एउटा यस्तो संसद हुने थियो, जसले केही पक्षको निहीत स्वार्थ तथा यथास्थितिको रक्षा गर्नु मात्रै हुने थियो । तर म आसन्न निर्वाचनलाई एक अत्यावश्यक सामाजिक परिवर्तनको माध्यमको रूपमा हेरिरहेको थिएँ । अर्को शब्दमा भन्ने हो भने यसले यथास्थिति बिथोल्ने अपेक्षा गरेको थिएँ । यदि निर्वाचन बालिग मताधिकारकै आधारमा गरियो भने, त्यसमा समाजिक रूपान्तरणका लागि कानून बनाउने थलोको रूपमा संसदलाई प्रयोग गर्न चाहने हामीहरूको योबाहेक अरू कुनै निजी स्वार्थ रहने थिएन ।
सुवर्णजीले यो पनि स्पष्ट पार्नुभयो कि भारतीय पाक्ष सीमित र अप्रत्यक्ष निर्वाचनकै पक्षमा थियो । मैले भगवान् हसायसँग पनि कुरा गरेँ । मलाई थाह भएन भारतीयहरू किन एउटा नाममात्रको संसाद चाहन्थे । के उनीहरू यथास्थितिको निरन्तरता चाहन्थे ? कि उनीहरू नेपाल अति विपन्न भएका कारण आम निर्वाचन र बालिग मताधिकारका लागि अझै परिपक्व छैन भन्ने ठान्दथे ? तर हामी निर्वाचनकै पक्षमा थियौँ, किनकि उनीहरूको कुरा मान्नु हो भने निर्वाचन नै नहुन सक्थ्यो । नियन्त्रित नै सही, हामी संसद चाहन्थ्यौँ । तर हामी उनीहरूको कुरा बुझिरहेका थिएनौँ ।
(परिवार श्रोतबाट प्राप्त, अङ्ग्रेजीमा लेखिएको बीपीको डायरीबाट अनुदित एक अंश । अनुवादः महेश पौड्याल)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










