मन त थियो
बालापनझैँ
जूनकीरी समाउँदै
करेसाबारीमा
सलबलाउँ
साँझको बेला
उल्लासमय दीप
प्रज्ज्वलन गरूँ
मन थियो,
आफ्नै बगैंचाकै
डाली डाली
भएर सप्रिऊँ
तर सकिनँ
पहरामा फुलेको
गुराँशले झैँ
उचाइको गर्व गर्न
शायद हुन सक्छ
फुल्नु अगाडि
गाउँ छोड्नु परेर
बरु भीरमै फुल्न
पाएकोमा जाति हुन्थ्यो
वनको वैभवसँग मेरो
सम्बन्ध नि माथि हुन्थ्यो
भुलिएर आँगनीमा
भन्न मन थियो
यो आफ्नै आँगन हो
आफ्नै छहारी हो
जब बुझेँ,
नारी हुनुको अस्तित्वबोध
नर्सरीको बिरुवा र नारी
उस्तै लाग्यो
फुल्नु अगाडिको गमला
छोड्नु अगाडिको घर
सृष्टिको जिम्मा
जिन्दगीका तानाबाना
त्यसैले होला
शायद
फुल्ने बेलामा
म अन्तै पुगेछु
बरु भीरमै फुलेको भए
सुनाखरीको साथी हुन्थेँ
भीरमौरीलाई जाती हुन्थेँ
हेर्नेले पनि उचाइको
सुन्दरता देख्थ्यो
समय रहुञ्जेल
गुराँशजस्तै बैंशालु हुन्थेँ
अफसोच
जब आँगन छेउको
लालुपातेझैँ फुल्न
के खोजेकी थिएँ
फक्रिन के चाहेकी थिएँ
मेरा हातहरू मागिए
नाइँ भन्न जानिनँ
टाउको नहल्लाउँदा
अरूको खुशी
निमोठेजस्तो देखें
टाउको हल्लाउँदा
आफ्नै खुशी निमोठिए देखेँ
शब्द स्याबासीले ज्ञानी भएँ
नाइँ भन्दा घाती हुन्थेँ
ल भनेर जाती भएँ
वाचाल ओठ र मौनताको खातिर
मन निचोरेको सहमतिले
उर्वर सपना बसाइँ सर्ने भए
खडेरी र बिरुवा सम्झिएँ
हो, मैले यसपछि
गाउँमा फुल्न नपाउँदै
प्रमाणपत्रहरू बोकेर
सबै रङहरूले रङ्गिएर
म डोली चढेँ
म फुल्ने बेला गाउँ छोडेँ ।
फ्रान्कफोर्ट, जर्मनी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 




