माघमा ढुमरु गाउँछु
बर्खामा थकाइ मार्न
सजना गाउँछु
भोजमा पगरी बाँध्ने
माँगर,
डानु रि डाडा गीत गाउँदा-गाउँदै
मादलको ट्रासन सुन्ने बितिक्कै
मञ्जिरा छनछन बज्ने
आवाजमा रमाउँछु
म दशैँमा सखिया नाच्छु
झुम्रा, डिननचुवा, राटनचुवा
कठघोरी, लट्ठी नाच
भिन्न-भिन्न नाचको पैँया लाग्छु

गोलो-गोलो लाम्चो ढिक्रीसँगै
खँरिया, बरिया
पोँई, सिढरक टिना
अन्डिक भाट
चरङ्गिक टिना
सुरिक शिकार
घोँङ्घी सुरुक्क पार्छु
रसिलो गुलियो जाँरको झोल
च्वाट्ट पार्छु

म,
आफ्नो पहिचानमा रमाउँछु
पसिनाको कमाई खान्छु
वड्रा, बरेरुवा
झपकनिया, डिलिया
खोँघिया
टापीमा माछा मार्दै
बाँझो जमिनमा
लहटा, मस्री
धान गहुँ मकै
फलाउँछु
जल जमीनमा रमाउँछु


फरुवा खेलाउन बिर्सेको छैन
माघको भुरा खेल
बिर्सेको छैन
न त
बिर्सेको छु
पसिना बगाउँदै
सिन्की बनाउन
जाँर बनाउन
गुर्ही मनाउन
लेनदेन
हिसाब किताब
काम कर्तव्य बिर्सेको छैन
यस्तै हौ हामी थारु
हाम्रो यही हो पहिचान

हाम्रो भलमन्सा
गाउँरुपि राज्य चलाउँछन्
अघारी
कार्यपालिका
चौकीदार
सूचना सञ्चार मन्त्रालय हेर्छन्
गुरुवा-बैडवा
विदेश मन्त्रालय सवार छन्
घरमा सहयोग चाहे
रानपरोस् जुट्छन्
भोजकाजमा
गाउँ भरिका गाउँलेहरू
एकसाथ रमाउँछन्
मरणी-करणीमा
गाउँलेहरू
रातभरि जाग्राम बस्छन्
कट्नीमा
जोट्नीमा
धनकट्नीमा
घरछवनीमा
सँगसँगै रमाउँदै मनाउँछन्
यस्तै हौ हामी थारु
यही हो हाम्रो पहिचान।

कैलाली