मेरो जीवन
घरभरि छरिएका पुराना किताब
किताब च्याप्ने पुरानो झोला
र कफी कपमा अल्झिएको छ
मजाले बरालिएको छ

तिनीहरूले
धन्न मलाई चिनेका छन्
सुनेका छन्
मेरा आँखाबाट
कहिलेकाहीं पखालिने अतीत पनि देखेका छन्

त्यसैले
किताब;
पुराना भए नभन्नु
झोला;
बिराना भए नभन्नु
यिनै पानाहरूले मलाई
हुस्सु लागेका
ओझेल परेका रहस्यहरू देखाउँछन्
जहाँ मेरो मनको घाम शायद कहिल्यै झुल्किन्नथ्यो
यिनै झोलाहरूले
भारी मन
हलुका बनाउँछन्

कफी कप?

उफ्,
कफी खान्छौ ?

कप पुरानो छ
तर बात नयाँ
बाफ नयाँ
बाफहरू
तँछाड्मछाड् गर्दै माथि-माथि जान खोज्छन्
तर
उनीहरूको आफ्नो आकाश छैन
के भयो त?
प्रिय बतास छ
साथ छ
आँट् छ
रात छ

अनि साँच्चै
कफी खान्छौ?
किताब पढ्छौ?

कपडाका सिलाइ बुनाइसँग लुकामारी खेल्ने मेरा झोला
अक्षरका भारी हाँसी–हाँसी उठाउँछन्
म झोला उठाउँछु तर थाक्दिन
अक्षर मायालु लाग्छन्
म भाग्दिनँ
यिनै अक्षरमै

गीताञ्जली अटाउँछ
प्लेटो, सोक्रेटस्, ओशो अन पारिजात अटाउँछिन्
दोस्तोभिस्की ‘क्राइम एन्ड पनिस्मेन्ट’ को तराजूले न्यायको पाठ सिकाउँछन्
र पाउलो कोएल्हो ‘अल्केमिस्ट’ भन्दै आफ्नो सपना बाँच्ने बिगुल
फुक्छन्

म यिनलाई छोडेर कहाँ भागूँ?
पुरानो भयो भनेर कहाँ फालूँ?
यिनैहरू मेरा अस्तित्व हुन्

मेरा रूपक, हामी परिपूरक

अनि अब
के म आफैँलाई फाल्न सक्छु र?
म आफैँलाई मार्न सक्छु र?
बरु आऊ
मसँगै
मेरा किताबहरूलाई शूली चढाऊ
एकछिनका लागि
म येशू हुनेछु
गोली हान
पानासँगै ज्ञानको हत्याकाण्ड फैलियोस्
आऊ
बरु खरानी बनाऊ
म कविताहरूमा पुरिनेछु
आऊ
हरेक अक्षरलाई टुक्रा टुक्रा पार
अनि
सर्जकलाई मेटाऊ
तर पहिले
कफी खान्छौ?
किताब पढ्छौ?

पुरानो त रक्सी मात्रै राम्रो भन्ने?
पुरानो रक्सी, नयाँ मात, बेकारको बात?
पुरानो घाम देखेको छौ?
पुरानो जून?
आऊ,
मैले बिहान सधैं बार्दलीबाट घाम बोलाउँछु
ओझेल लागेको मन
एकछिन सुकाइदेऊ
टक्टक्याऊ
अनि पो
भरे आउने जुनको आभा कडकडमा पोखिनेछ
तल
तिमीलाई हेरेर गुलाफ खिलखिलाउनेछन्
तर नचुँड्नु है!
काँडाहरूले त कोतरेको कहिले देखिन्न
म सँगाल्ने छु
तिम्रो करुणा
र मेरा पुराना कविता
समय आउँछ जब
जब
आहूति दिने दिन आउँछ

मेरा किताबको चिताबाट निस्किएको धुवाँ
र कफी कपबाट निस्किएको काँचो बाफ
स्वतन्त्र आकाशमा छाडदनेछु —
एकै साथ !!

त्यस दिन
तिमी दर्शक हुनेछौ
अनि
म प्रेमी हुनेछु
त्यस दिन
म प्रेममा मेटनेछु

त्यस दिन
प्रेम अमर हुनेछ
त्यस दिन
कविता अमर हुनेछ,
कविता अमर हुनेछ!