शहरको एक क्याफेमा मानवशास्त्र अध्ययनरत छोरीले भनी—‘शहर मसानहरूको आदिभूमि हो बाबा ! यहाँ आत्मा हराएका मानिसहरूको बसोबास हुन्छ ।’

छोरीको कुराले अन्तस्करणमै छोयो । हुन पनि शहरमा मानवीयता र अपनत्व भन्ने कुरा बिस्तारै हराउँदैछ । गाउँ र शहरको बीच स्तरीकरणको यो बृहत् दूरी बढ्दो थियो । अकस्मात् मलाई गाउँ जाने भूत चढ्यो । छोराले बाइक चेक गरिदियो । अनिश्चितकालीन गाउँको बसाइले पुलकित थिएँ म ।

मध्याह्नको उखरमाउलो गर्मीले कायल भएर मेरो बाइक लुम्लेको ओरालोमा अवस्थित ढ्याब्री होटेलमा मोडियो । गर्मी छल्न म उक्त ढ्यब्री होटलमा छिरेको हुँ । गर्मीमा चिसो मगाइनँ । बरु तातो चिया नै पिएँ । म सुस्ताएको बेला एकजना वृद्धावस्थाका दाबेदार बाहुन बाजे आफ्नो बाइकबाट ओर्लेर ढ्याब्रीमा पसे ।

होटलकी गुरुङसेनी दिदीले भनी–“च्या खाने हो ?”

बाहुन बाजे–“म च्या खान आ’हुम् र ?”

गुरुङसेनी–“उसो भा के खोज्न आ’को ट ?”

बाहुन बाजे–“खोज्न त के नै खोजिएन र ?”

गुरुङसेनी–“कति पाउनु भयो ट नि खोजेको ?”

बाहुन बाजे–“क्यै नपा’र त तिम्रो अन्वार हेर्न आ’को नि !”

बाजे रोगन बिना फिस्सिए । उनी हाँस्दा उनको पल्लो एकल दाँत झरुँला झैं गरी हल्लियो । सवालको जवाफ चलिरह्यो ।

गुरुङसेनी–“मेरो अन्वार हेरेर के पाम्चौ र ? किन हेर्नू नि !”

बाहुन बाजे–“क्यै नपा’र त तिम्रो अन्वार हेर्चु भनेको नि !”

ई हेनुस् मेरो अन्वार !” गुरुङसेनी दिदीले धारे हात लगाइन् । हाँसोको फोहोरा ढ्याब्रीभरि मडारियो ।

बाहुन बाजेको फोन आयो । उनको कुरा गराइ अनुसार उनी रोडका ठेकेदार रहेछन् । उनी गफ गर्दै गरेको बखत गुरुङसेनी दिदीले चिया सर्भ गरिन् ।

बाहुन बाजे–“अन्वार हेर्न आ’कोलाई नि जबरजस्त च्या ख्वाउने, कति ज्याद्रो अन्याय हो भन्चु के !”

गुरुङसेनी दिदी–“ह्याँ फोकटाँ बस्न काँ पाउँच ! ह्याँ बस्नेले त च्या खानुपर्च । हन ! अर्काआ अन्वार हेरेर के पाउँचौ के ?”

बाहुन बाजे–“हेर्ने भनेकै अर्काको अन्वार त हो । आफ्नो अन्वार कस्ले हेर्च र !”

यतिकैमा गुरुङसेनी दिदीका कुखुरा वरपर आए । पोथी छेउनेर आई । एकछिनपछि एउटा छिप्पिएको भाले नजिक आयो । निकै दम्भका साथ घिच्रो तन्काएर बास्यो । अनि बायाँ पखेटा भुइँ छुने गरी पोथीलाई फन्कामारी नाच्यो ।

कुखुरालाई हेर्दै बसेका बाहुन बाजे बोले–“ल हेर ! यो झिल्के भालेले कस्तरी फकाएको पोथीलाई ।”

गुरुङसेनी–“यो पोथीले फुल पार्न लाइचे क !”

बाहुन बाजे–“हैट् ! कुन् चैं ठूलो कुरा भओ र कुखुराले फुल पार्नु !”

गुरुङसेनी–“अस्ती नै फुल पानुपर्ने, ढिला गरी ।”

बाहुन बाजे–“यल्ले फुल नपार्नुमा मलाई त शंका लाओ है ।”

के को शंका नि !” गुरुङसेनी दिदीले ओठ लेप्राएर भनी । वातावरण गरमागरम हुँदै थियो । पोथीले भुइँमा पोखिएका चारो खान थाली । चारो खाँदै गरेकी पोथीलाई हेर्दै बाहुन बाजेले भने–“यो पोथीले कि सङ्गिनी सुई ला’की हुनुपर्च । कि त गुपचुपमा अवार्सन गरेकी हुनुपर्च । नत्र यतिबेला त फुल पार्दी हो ।”

गुरुङसेनी–“ई, बरा ! यो पोथीलाई पनि छाडेनउ है । तिम्ले सङ्गिनी सुई लगाइदेको हो ? कि फलाना बाहुनले पोथीलाई भुँडी बोकाइच भनेर हल्ला होला भनी अवार्सन अर्न लागेउ र भन्चु ।”

बाहुन बाजे–“दुनियाँमा कोई नपा’र तिम्रो कुखुरालाई भुँडी बोकाउँछु मैले !”

गुरुङसेनी–“जताजता बाहुन बाजे उताउता स्वाहा !”

उनले बाजेलाई मरेस् शैलीका धारे हात लाइन् । बाजे पनि कहाँ कम रहेछन् र ! निकै हौसिएर बोले–“हेत्रो गर्मीमा तिम्रो अन्वार हेर्न भनेर पो ह्याँ आ’को त ! म भाले हुँ र तिम्रो पोथीलाई भुँडी बोकाउने ?”

हाँसोको फोहोरा यति तेज भयो कि टीनका ढ्याब्रीलाई छेडेर पारीको भित्तामा बज्रियो ।

सडक छेउको पाँचसात मिटर पर दुईवटा भाले देखिए । गुरुङसेनी दिदी एकछिन भित्र पसेर आइन् र कुर्सीमा बसिन् । बाजेले कुराको गीयर बढाए–“ती दुइटा भालेमा यो पोथीको लोग्ने कुन चैं हो ?”

गुरुङसेनी–“ह्या, केके कुरा गरेको यो मात्तिएको बाहुन ।”

बाहुन बाजे–“मताउने तिम्रो अन्वार छ करे नि !”

ठुलो रातो भालेले भातको सिता मुखमा चेपेर केट् ! केट् ! केट् ! केट् ! गर्दै पोथीलाई बोलायो । पोथी खुर्र दौडेर भालेको मुखैको चारो स्वाद मानेर खायो । वर रहेको हल्का रातो तर फुस्रो भालेले पनि केट् केट् गर्यो । रातो भालेसँग रहेकी पोथी उनलाई गोली मार भन्दै फुस्रो भालेको चुच्चोमा चुच्चो मिलाएर चारो खाई ।

“हन, यो आइमाई जाति किन यति बेइमान हुँदा हुन् !”

गुरुङसेनी–“जीवनमा अरू कोई नपा’र पोथी चहार्दै हिनेसी अस्तै हुन्छ बाजे ! कोई नपा’र पोथी रोज्नु भाथ्यो करे !”

बाहुन बाजे–“म तिम्रो पोथी हेर्न आ’हुम् र ? तिम्रो अन्वार पो हेर्न आ’को त । फ्रीमा च्या खुवाउनु छैन । खान्न भन्दा नि खुवाउने । तो पनि पैसा तिराएर । च्या बाहेक अर्थोक के दिन्थ्यौ र तिम्ले ।”

गुरुङसेनी–“ठेकेदार भअर बीयर खानु छैन । जाबो च्या खाँदा नि कति नेपर्या हुन् के यी बाहुन ! तेत्रो भ्रष्टाचार अरेर कमाएको धन काँ राख्ने हो र भन्चु !”

बाहुन बाजे–“कल्ले अर्यो भरष्टचार ? नभको कुरा गर्ने हैन है ! तिम्रो अन्वारको पैसा तिर्दिन । च्याको पैसा त तिरुम्ला करे नि ।”

गफिँदै गर्दा एउटा भाले किचनमा गएर खानेकुरा घोप्ट्यायो ।

कुचाले भालेलाई हिर्काउँदै गुरुङसेनीले भनी–“हन यो भाले कति अलक्षिणको होला के !”

बाहुन बाजे–“तेति सारो मर्ने अरी नहान न गाँठे ।”

गुरुङसेनी–“तपाईँकै जारलाई हानेको नि !”

बाहुन बाजे–“हैट् ! तिम्रो अन्वार हेर्ने म मात्र भनेको त भाले पनि हैच ! भालेसँग सल्किएर पो मलाई नानाभाँती भन्दिरैचे ! तै भअर पो जबरजस्त च्या ख्वाउनी रैच त !”

गुरुङसेनी–“छ्या ! नचाहिँदो कति गरेको ! यो बाहुनको दिमाग त बिगरेर कुहिन मात्र बाँकी छ होला हो ।”

पोथी घरी यता घरी उता गर्दै थिई । गर्मी केही घटेको थियो । आकाशमा बादल कावा खाँदै थियो । सवारीसाधनको चर्को आवाज पनि यी दुईको ठट्यौलीमा अलप थियो ।

रातो भालेको बाङ्गिएको पुच्छर देखेर बाजेले भने–“हन, यो भालेको पुच्छर कसरी बाङ्गिएछ ?”

गुरुङसेनी–“सडकाँ हैच । बाइकले चाकमै हान्देछ । बाङ्गियो । अइले आएर भने मलाई चैं शंका लाओ है ।”

बाहुन बाजे–“हन, के शंका लाओ ?”

गुरुङसेनी–“मेरी पोथी बिगार्ने तईँ होस् ! भनेर तपैंले हानेको जस्तो पो लाओ मुलाई ट !”

बाहुन बाजे–“तिम्रो भालेको दङ्ग नपुग्ने मुलाई आरोप लाएर हुन्च ? तेरिमा खाने….ओरालो लागेको मुलाई गुरुङसेनीले लखेत्नी भओ ।”

गुरुङसेनी–“छि ! छि ! छि ! छि ! दुनियाँमा अरु कोई नपा’र पोथी पनि छाड्नु भइन हई ! बरु यतानु लोकल पोथी नपाए उता बोइलर फममा टन्नै हुँदाहुन् करे नि ! जाबो पोथी ट यत्रायत्रा कत्राकत्रा हुन्चन् । भालेकै जार हुनुपर्च ट !”

बाहुन बाजे–“कस्तो अन्वार हेर्न मन लागेर आको मुन्सेलाई के के भन्च ! बरु मुलाई तिम्रो भाले बनाए नि हुने नि । अघिको भालेले झैं मिठो खुवाउँथेँ ।” लगत्तै बाजेको मोबाइलमा रिङटोन बज्यो । उनले आएँ आएँ भन्दै बाइक स्टार्ट गरे ।

गुरुङसेनी–“जानूस् ! पोथीले फोन गरी होली ।”

बाहुन बाजे–“भालेको जातै घुम्ने हो नि ! तिम्ले पनि पोथीले हस्तै हाम्लाई मनाँ राखे हुने नि ।”

गुरुङसेनी–“मबाट भैन ! तपैंको घरकी पोथीलाई सबै भालेलाई मनाँ राख्ने भन्नुहोला । पोथीकला सिकाम्नु होला ।”

बाहुन बाजे–“नसकिने भो बा !” भनेर बाइक हुइँकाए ।

गुरङसेनी–“पख्नूस् ! पख्नूस् !”

पर गएको बाहुन बाजे रोकिएर उता फर्के । गुरुङसेनी दिदीले भनी–“ह्याँको पोथीलाई नि जान्चु त भन्नूस् !” बाजे हिच्च हिच्चिएर उकालिएर अलप भए ।

दिन ढल्न लागेछ । म पनि ढ्याब्रीको रोइलोमा जुलाम भएको थिएँ अब ओरालिएँ ।

बाग्लुङ्ग बजारमा पुग्दा अपराह्न भयो । आकाशबाट सूर्यदेवले धर्ती फाट्ने गरी र प्राणीहरूको इहलीला समाप्त हुने गरी शक्तिशाली तापमानको मिसाइल प्रहार गर्दै थियो । गर्मीले हायलकायल भएका मनुवाहरूको कङ्काल सडकभरि अनियन्त्रित थियो । अनियन्त्रित मानिसहरूको भीडबाट उछिट्टिएर म पनि निर्दयी गर्मीबाट बच्न एउटा फलफूल पसलमा बिना इजाजत पसेँ । आफ्नै मनोमानी दङ्गले कुर्सी तानेर घ्याच्च बसेँ । गर्मी र थकाइले हायलकायल भएको शरीर पानीको कमीले गर्दा उद्धिग्न थियो । घाँटी खूबै तिर्खाएको थियो ।

बिना इजाजत छिरेपछि साहुनीले केरकार गरी । जवाफमा मैले भनेँ – बनाना लसी ल्याइदिनू । ठीक छ ! को पारामा उनी गइन् ।

कमिला झैँ मानिसहरू यता जान्छन् । उता जान्छन् । कोही भित्र छिर्छन् । कोही बाहिर निस्कन्छन् । सबैको आ–आफ्नै धुन छ । आ–आफ्नै लय छ । आ–आफ्नै राग छ । विराग छ ।

जुस पसलको छेउमै एउटा सानो किराना पसल बाँयातिर फर्केको थियो । एउटी युवती आइन् र सोधिन् – रेड पेन छ ?

युवती निकै हतारोमा थिइन् । एउटा पुड्को साइड ब्याक बायाँ काँधमा झुण्डिएको थियो । पसिनाले मेकअप बिग्रेला झैँ गरी सतर्क थिइन् । झोलाबाट रुमालले मोबाइलको ऐना हेर्दै पसिना पुछिन् ।

किराना पसलवाली आई र भनी – कालो पेन ?

युवती– रेड भन्या कालो हो र ? उसो भए बल्याक भनेको रातो होला …!

किराना पसलवाली– हैन कअ् , कालो मात्र छ भनेको…

युवती– अनि रातो छैन भन्या भा’हुन्थो नि !

किराना पसलवाली– भनेको बुझे त भयो करे नि !

दुवै बीच एक टुक्रा हाँसो भुइँमा बजारियो । हाँसो सानै भए पनि निकै दमदार थियो । बजारिएको हाँसोको जिलेटिन भुइँमा ठोक्किएर उछिट्टियो । त्यसको छिर्काले मेरा दुवै कान छेडेर गए । बनाना लसीमा धीत नमरेको मेरो ध्यान नराम्ररी भङ्ग भयो ।

किराना पसलवाली– तिमी जस्तो पढ्या भा हुन्थ्यो करे । पढ्ने बेला गुच्चा खेलियो….

जिब्रो तानेर अचम्मको भावमा युवतीले भनिन् – हो र !

पसलवाली – हो त !

मेरो औपचारिक ध्यान लसीमा थियो । अनौपचारिक ध्यान उनीहरूको कुरामा । उनीहरूको ध्यान मतिर थिएन । आँखाको लेन्सले गोप्य रूपमा उनी दुई बीचको ठट्यौली खिचिरहेको थियो । कानले प्रत्येक्ष प्रसारण गर्दै थियो ।

युवती – किन खेल्नु भा’को त गुच्चा !

पसलवाली – पढ्न अल्सी लाएर …

हौसिएर युवतीले भनिन् – कस्तो खालको गुच्चा खेल्या हौ र ?

पसलवाली – डल्लो !

युवती – मैले गुच्चा चेप्टो हुन्छ भन्या छु र ?

पसलवाली – अनि डल्लोलाई डल्लो भन्नु परेन ?

युवतीले दायाँबायाँ हेरी । यो हेराइ वरिपरि कोही छ कि ! भन्ने पाराको हेराइ थियो । उनले मलाई पनि हेरिनन् । कोही नभएको मौका छोपी कुराको पाइन अझ दमदार बनाउँदै युवतीले भनी– स्कूल पढ्दापढ्दै गुच्चा खेल्या हौ कि छोडिकन खेल्यौ ?

पसलवाली – पढ्दापढ्दै ।

युवती – गुच्चा खेलाउनेसँगै ब्या गर्यौ ?

पसलवालीः– छ्या ! त्यस्तो हैन क ! साँच्चीकै गुच्चा भनेको ।

युवती घिच्रो तन्काएर कतै हेरी ।

पसलवाली – तिमीले खूब गुच्चा खेल्छौ कि क्या हो ? कुरा यस्तो पो गर्न थाल्यौ !

फेरि एउटा हाँसोको सानो जिलेटन पड्कियो । वरपर खासै अरू मान्छे नभएकोले त्यसको अलिकति छर्रा मलाई बाहेक कसैलाई असर गरेन ।

युवती काली काली थिई । हिस्सी परेकी थिई । उनले कुरा पनि हिस्सी गर्दिरहिछिन् भन्ने खुलासा भयो । यो कुराको प्रत्यक्षदर्शी म लगायत वरिपरिका कुर्सी टेबुल र भित्ताहरू साक्षी थिए ।

यतिखेर युवती कतै अलप भइन् । पसलवाली चाहिँ मैले लसी नसकुञ्जेल पसलका झिँगा धपाउँदै थिइन् । एकछिन पछि हेर्दा पसलवाली कतै ट्वाँ …. परी बसेकी थिइन् । मैले पिउँदै गरेको लसीको गिलास पनि अब त खण्डहर देखियो । उजाड देखियो । उदास देखियो । गिलास रित्तिएपछि मैले गिलासको अस्थिपञ्जरलाई रुङेर बस्नुको कुनै अर्थ देखिन ।

अर्को दिन म घर पुगेँ ।

चिन्तनको चौतारीमा बसेर केही नोस्टाल्जिक भइगएको थिएँ । बेलाबेला यसो हुनु कुनै अनौठो कुरा थिएन । मेरा तमाम क्षण यसैगरी बितेका हुन् पहिला पनि । मलाई थाहा छ, एक समय बित्नु एक आयु सकिनु हो । भनिरहनु परोइन, जीवनका अधिकांश आयु यसरी बिना काम सकिएका थिए । छन् । सकिनेछन् । कुनै बडप्पन कार्य बिना जीवन यसरी नै खिइँदै, मक्किँदै र सकिँदै गएको छ ।

अबेरसम्म पनि सुत्न नपाएका मेरा नयन त्यसै त्यसै उदास थिए । अगेनोमा बसेर घुँडामा भाङको तेलले मालिस गरिरहेछु । मसाजले केही राहत महसूस भयो ।

किट्लीमा पानी उम्लिरहेको थियो ।

तातोपानी गिलासमा राखेँ ।

यसो के पिउन बसेको थिएँ, चिण्डे कपाल भएको एउटा ह्वार्लाङ्गे कालो लुगामा अपरिचित मोटो मानिस ढोकानेर ठिङ्ग उभियो ।

रात घर्किसकेको यो बखत ऊ कतिखेर मेरो घर आइपुग्यो ? मलाई पत्तै भएन । हल्का त्रसित हुने खालको आगमन थियो । परन्तु त्रसित भएर भाग्नु पनि त भएन !

मैले अगेनाछेउमा आफ्नो घुँडा मसाज गर्दै गरेको हेरिरहेका फकिरले जुँगा मुसार्दै दैलाबाट मुस्काएर हेर्यो । ऊ एउटा अनौठो फकिर जस्तै लाग्यो । उसको अनौठो बनावट देखेर मलाई एकदम ताजुब लाग्यो ।

यति राती मेरो घरमा को पाल्नु भो ?”

गड नोज् !” ऊ आफै एउटा पिर्का तानेर सामुन्ने बस्यो र भन्यो– “परिचय हुँदै गर्ला, सम्झ ! अहिलेलाई पाहुना आए । साँझका पाहुना देउता समान हुन् ।”

एक्लै हो ?” मैले देउतालाई सोधेँ ।

एकजना विदेशी साथी पनि छ !” देउताले भन्यो ।

हेल्लो, नमस्ते !” भन्दै दाह्रीवाल विदेशी अर्को पिर्कामा बस्यो । मलाई विदेशी पाहुना हेर्न आतुर लाग्यो । म दुवैलाई पालैपालो हेरेँ । दुवैले मलाई पालैपालो हेरे । एकछिन केवल हेराहेर भयो मात्र । बोलचाल केही भएन ।

अहिले कहाँबाट आउनु भयो ?”

हामी अक्षरगन्जको द लाष्ट स्टेशनबाट सिधै यहाँ आएका हौँ ।” देउताले विदेशी साथीतिर नजर फ्याँक्दै बोल्यो ।

द लाष्ट स्टेशनबाट ?” मैले सोधेँ ।

अफकोर्स यस् !” फकिर जस्तै लाग्ने देउता बोले ।

यहाँ अरूको पनि घर छन् । मेरै घर आउनुको कारण छ कि !” मैले खुल्दुली राखेँ ।

द लाष्ट स्टेशनबाट हाम्रो पाइला सिधै यता मोडियो । परन्तु कारण गड नोज् !” फकिरले आफ्ना हत्केला आकाशतिर फैलाएर भन्यो ।

केही समय हामी बीच बोलचाल नभए पनि मलाई नाम सोध्न मन लाग्यो । सोधेँ पनि ।

मेरो नाम के एन !” फकिर बोल्यो ।

, तपाईँ रेस्लर केन त होइन ? परन्तु उनी गोरा थिए । तपाईं त कालो हुनुहुँदोरहेछ !”

न ! न !! केन होइन । के एन !” चुरोटको धुवाँसँगै बोल्यो ऊ ।

मतलब ?”

के एन मिन्स कुमार नगरकोटी !”

कुमार नगरकोटी ?”

यस माई फ्रेण्ड ! दुनियाँले मलाई कुमार नगरकोटी भनेर चिन्छन् ।”

अब म कसरी चिनूँ ?”

यज योर चोइस माई फ्रेण्ड ! कुमार या के एन जे पनि भन्न सक्छौ ।”

गुड ! अनि यो तपाईँको साथीको नाम ?”

ही इज एलटिटी ! तिमीलाई थाहा छैन ? उनी विश्वविख्यात छन् ।”

एलटिटी ?”

यस माई फ्रेण्ड, ही इज एलटिटी !”

मतलब लिब्रेशन तमिल टाइगर्स ? के उनी श्रीलङ्काबाट आएका हुन् ?”

न ! न !! उनी लिब्रेशन तमिल टाइगर्स पनि होइनन् । श्रीलङ्काबाट आएका पनि होइनन् ।” फिस्सिएर बोले उनी ।

को हुन् त यिनी ?” मेरो जिज्ञासाको पहाड चुलियो ।

उनी लियो टोल्सटाय हुन् । यिनी रसिया निवासी ।”

लियो टोल्सटोय ?” ट्वाँ पर्दै मैले आँखा नझिम्काई टोल्सटोयतिर हेरिरहेँ । उसले पनि मलाई उसैगरि हेरिरह्यो । एकछिन मौन अवधि जस्तै लाग्यो ।

अफकोर्स माई फ्रेण्ड ! ही इज फ्रम रसिया ।” मिस्टर केएन बोले ।

तातोपानी पिउन लागेको थिएँ । पाहुना आएपछि मैले पाहुनालाई एकएक मगमा तीनपानेको झोल राखिदिएँ । मैले आफूलाई पनि राखेँ । चियर्स गर्दै पियौं । अनेकानेक कुरामा झुम्दै पियौं ।

अनि पाटनका तान्त्रिक लाग्ने गल्ली र घाटहरू पछ्याउँदै हिँड्ने नगरकोटी आज अचानक टोल्सटोयसँग कसरी मेरो घरमा ? कतै मेरो घरलाई पनि घाट त सम्झिनु भएन ?” कुराको शुरूवाती पाइला चालेँ ।

न ! न !!”

अनि ?”

यस्तै हो, शायद तिमीलाई हामी फकिर जस्तै लाग्यो होला । हुन त फकिरलाई फकिर नभनेर के भन्नु है !” केएनले झर्को माने जस्तै गरेर मलाई सोध्यो– “अनि तिम्रो गाउँको नाउँ के अरे ?”

मइँनाम !”

, मइँनाम ! यो आदिवासी गाउँ मलाई निकै तान्त्रिक लाग्यो ।” मिस्टर केएन तीनपाने पिउँदै बोले ।

अघिदेखि चूपचाप बसेका टोल्सटोय आफ्नो दाह्री मुसार्दै बोले– “मिस्टर अन्नोन ! तिम्रो नाम के अरे ?”

मेरो नाउँ केजी !” उनी दुईले आफ्नो नाम शर्टफमबाट भनेको हुँदा मैले पनि आफ्नो परिचय उसैगरी बताएँ ।

केजी ! यु मिन किलोग्राम !” मिस्टर केएन ताजुबलाग्दो गरी हाँसे ।

म पनि उनकै स्टाइलमा भनेँ– “न ! न !! नो किलोग्राम ! नो किलोकाँटा ! आम् जस्ट केजी ! केजी मिन्स कर्मसही घर्ती मगर ।”

कोठाको भित्ताभरि कोरस हाँसो गुन्जियो । कोरस हाँसो शुन्यतामा विलय भयो । तीनपाने थपिए । मिस्टर केएन र मिस्टर एलटिटीको चुरोटको धुवाँ रग्मगियो ।

आफूहरू आउनुको रहस्य खोल्दै मिस्टर केएनले भने, “मिस्टर कर्म ! मृत्युको खोजमा यो ठाउँ गजबको लोकेशन लाग्यो हामीलाई । त्यसको लागि हामीले यही ठाउँलाई रोज्यौं पनि । यो ठाउँ जनयुद्धको उद्गमस्थान पनि त हो होइन र ? बुर्जुवा मृत्यु र सर्वहारा मृत्युको लागि यो भन्दा उपयुक्त अर्को ठाउँ हुनै सक्दैन । के तिमीले हामीलाई मृत्युको विविधताको बारे बताउन सक्छौ ?”

मृत्युको लोकेशन मेरो गाउँलाई बनाएको सुन्दा एकछिन त रिस पनि उठ्यो । भन्न मन लाग्यो, यो ठाउँ मृतकहरूको आदिभूमि होइन ! तैपनि आफैलाई सम्हालिनु पर्ने थियो । सम्हालिएँ पनि । र, भनेँ– “भैहाल्छ ! म तपाईँहरूलाई यहाँको मृत्यु संस्कार बारे बताउँला । यसमा कुनै कसर बाँकी रहने छैन ।”

मैले हरेक कुरामा उनी दुईलाई तपाईँ भनेकोमा सायद असहज महसुस गरेर होला, अघिसम्म चूपचाप बसेका टोल्सटोय बोल्यो– “तपाईँ ? के को तपाईँ ? तिमी भन न ! यो सर्वहाराहरूको थलोमा पनि सम्बोधन गर्दा ऊँचनीचको यो भेदभाव ? मानिसले मानिससँग गर्ने व्यवहारमा पनि यो स्तरीकरण ? म यस मानेमा चाहिँ असहमति छु है मिस्टर कर्म ।”

उमेर पनि मभन्दा पाका र व्यक्तित्व पनि अतुलनीय भएकालाई म कसरी तिमी भनूँ ? आदरार्थी शब्द नै मलाई प्रिय लाग्छ ।” मैले आफ्नो राय प्रकट गरेँ ।

परन्तु टोल्सटोयले मेरो प्रतिकार गरे । तपाईँ र तिमी भन्नुमा पनि नेपालमा विभेदीकरण भएको उनले आरोप लगाए । टोल्सटोयको कुरामा नगरकोटीले पनि सहमति थपे । लामो समय यसबारे हामी बीच घम्साघम्सी भयो । आखिरीमा दुबैजनाको कच्कच् सदर हुने भयो । मुखमा तपाईँ भन्ने शब्द नै आए तापनि सम्हालिँदै तिमी भन्नुपर्ने भयो ।

अनि यो सर्वहारा मृत्यु र बुर्जुवा मृत्युमा के भेद छ ?” मलाई मृत्युको विविधताबारे जान्ने उत्सुकता जाग्यो र जिज्ञासाको तलतल पोखियो ।

ए अँ, मैले टोल्सटोयलाई भनेको थिएँ कि तिम्रो देशमा मृत्यु बुर्जुवा हुन्छ । हाम्रो देशमा मृत्यु सर्वहारा हुन्छ । यसो भन्दा टोल्सटोयले मानेनन् र यो आदिमस्थलतिर यसबारे खोज गर्न जाऊँ भन्यो । हामी सिधै मइँनाम आइपुग्यौं । तिमीलाई के लाग्छ मिस्टर कर्म ? यहाँको मृत्यु सर्वहारा हुन्छ कि बुर्जुवा ?” नगरकोटीको प्रश्नले म रन्थनिएँ ।

पहिला मलाई बताऊ मिस्टर के एन ! कस्तो खाले मृत्यु बुर्जुवा हुन्छ ? कस्तो खाले मृत्यु सर्वहारा हुन्छ ? मलाई मृत्युको विविधताबारे सुन्न मन लाग्यो ।” मैले भनेँ ।

हामीबीच निरव शुन्यता छायो । किचेन कोठामा नगरकोटी र टोल्सटोयको चुरोटको धुवाँ पुनः रग्मगियो ।

सुन कर्म ! हाम्रो देशको मृत्यु सर्वहारा हुन्छ । मृत देहलाई जलाउनु र सो धुवाँ बनेर आकाशमा उड्नु साँच्चिकै सर्वहारा मृत्यु हो । जसलाई जमिनको आवश्यकता पर्दैन । पश्चिमा देशको मृत्यु बुर्जुवा हुन्छ । मरेपछि पनि मानिसलाई एक टुक्रा जमीन अनिवार्य चाहिने मृत्यु बुर्जुवा नै हो ।” नगरकोटीले ठोकुवासाथ आफ्नो राय राखे । मलाई उनको मृत्यु सम्बन्धी वर्गीय चिन्तन ताजुबलाग्दो लाग्यो ।

शायद नगरकोटीय दार्शनिक अवधारणा अनुसार मइँनामको मृत्यु संस्कार पनि बुर्जुवा नै हो कि ! यहाँ पनि मृत्यु पश्चात् मृतकको देहलाई जमीनमुनि गाडिन्छ । गाड्नलाई एक टुक्रा जमीनको अनिवार्य आवश्यकता पर्छ ।” मैले यहाँको यथार्थता प्रष्ट्याएँ ।

हामी बीच केही मतभेदका कुरा पनि भए । अन्ततोगत्वा टोल्सटोयले यहाँको चिहानघाट हेर्ने मनसाय व्यक्त गरे । मैले उनी दुईलाई चिहानघाट देखाउन राजी भएँ ।

लेट्स गो म्यान !” टोल्सटोय र नगरकोटी जुरुक्क उठे ।

हामी तीनजना बिस्गा गयौं । बिस्गा, जहाँ मृत देहलाई गाडिन्छ । मैले चिहानका उजाडभूमि देखाइदिएँ ।

यही सानो थुम्कोमा गाड्ने हो र ?” आश्चर्यमिश्रित भावमा नगरकोटी बोले । मैले हो भनेँ ।

बिस्गामा मगरहरूको लास मात्र गाडिन्छ । अरूको होइन ।” मैले भएको यथार्थ खोलेँ ।

ह्वाट नन्सेन्स ? मगरहरूको लास मात्र गाडिन्छ ?” नगरकोटी चारैतिर आँखा डुलाउँदै बोले । उनले मेरो कुरामा विश्वास गरिरहेका थिएनन् ।

मैले हो भन्दै टाउको हल्लाएँ । बिस्गाको दक्षिणतिर भिरालो भाग थियो । जहाँ अर्को चिहानघाट थियो । त्यही भिरालो भाग देखाएर टोल्सटोयले सोधे– “ए, तल पनि चिहानघाट रहेछ नि है !”

त्यो कोँ हो ।” मैले भनेँ ।

ह्वाट मिन्स कोँ मिस्टर कर्म ?” नगरकोटी तल हेर्दै बोले ।

कोँऽ ! यहाँका कामीहरूको चिहानघाट हो ।”

वाउ ! टू मच इन्ट्रेस्टिङ्ग !” टोल्सटोय फिस्सिए ।

अनि दमाईहरूको चिहान पनि बेग्लै ठाउँमा हो त ?” नगरकोटीको जिज्ञासा बिस्गाभरि पोखियो ।

तल थुम्कोमा अवस्थित जीर्ण चौतारी देखाउँदै मैले भनेँ– “त्यो ठाउँको नाम बल्गाउने हो । दमाईहरूको चिहानघाट त्यही हो ।”

देख्यौ नगरकोटी ! मृत्यु वर्गीय मात्र नभई जातीय पनि हुँदोरहेछ तिम्रो देशमा ।” टोल्सटोयको व्यंग्यवाणले नगरकोटी निःशब्द भए ।

शायद असह्य भएर हुनसक्छ नगरकोटी हान्निएर गए । नगरकोटीलाई फर्काउन टोल्सटोय पनि पछिपछि लागे ।

मैले दुवैलाई रोक्न खोजेँ । दुवै आफ्नै रफ्तारमा अघि बढे र केहीक्षणमा अलप भए ।

मृत्युको स्तरीकरणको झटारोले रन्थनिएका मिस्टर केएन र एलटिटी सायद अक्षरगन्जकै द लाष्ट स्टेशनतिरै गए हुनन् । मृत्युको यो स्तरीकरणले म आफैलाई असह्य भयो ।

भोलिपल्ट म पनि फेरि फर्किने गरी पोखरा हान्निएँ ।