उनको नाम मृगनयनी ! धरानबाट काठमाडौंको बसमा हो मैले उनलाई पहिलोपल्ट भेटेको । आफ्ना बूढा बासँगै थिइन् उनी । उनका बा अलि कमजोर । हल्लिरहने जीउ । शायद उनी मदिराका पियक्कड थिए ।

उनले मलाई भने, बाबू कहाँसम्म जाने होला ?

मैले काठमाडौं भनेँ । उनले फेरि भने, मृगनयनी अलि बिरामी छे । म बूढो मान्छे, ताकत पनि छैन । लड्ने हो कि । बाबूले आफूसँग राखिदिनुस् न, झ्यालपट्टिको सिटमा ।”

मैले हुन्छ भनेर सहजै स्वीकार गरेँ ।

मैले मृगनयनीलाई आफूसँगै राखेँ । झ्याल खोलेँ, र मन्द बतासले उनको अनुहारलाई स्पर्श गर्न दिएँ । सामान्य र अलि पुराना लाग्ने लुगामा उनलाई देख्दा लाग्यो, खासै सुखमा हुर्किएकी छोरी होइनन् उनी । मैले पुलुक्क उनको अनुहार हेरेँ । प्रकृतिले आफ्नै हातले कुँदेर बनाएको मुखमण्डल । हल्का कालो रङको चश्माभित्रका आँखा स्पष्टै देखिन्थे । राराको एउटा भाग उठेर आएर थपक्क बसेर बनेजस्ता नीला, गहिरा लागे मलाई ती आँखा । सुन्दरताको त्यो हद मैले कुनै छोरीमा विरलै देखिको थिएँ, त्यो दिनसम्म । अलि अलि ईर्ष्या पनि लाग्यो— मेरी आफ्नै छोरी तारामा त्यो सौन्दर्य किन आएन ? अलिकति दोष आफैँलाई लगाएँ, अलिकति अनुराधालाई ।

केहीबेर गाडी गुड्दै, रोकिँदै गरिरह्यो । नयाँ यात्रु टिप्दै, सामान हाल्दै, सिट मिलाउँदै, किचकिच गर्दै अगाडि बढ्न खोजेकोले निकै खैलाबैला थियो । बल्लतल्ल भरिएपछि बस धरान र इटहरीबीचको जङ्गल छिचोलेर राजमार्गमा आइपुगेपछि पुनः रोकिंदै गुड्दै गर्न थाल्यो । अन्तिमतिरका दुईचार सिट अझै खाली थिए । सहचालक त्यहाँ पैसा फलाउने उपक्रममा आफ्नो गलाको लगानी गरिरहेको थियो, हावामा ।

र अन्ततः बस भरियो र गुड्न थाल्यो, एउटा स्थायी गतिमा । इटहरीबाट पश्चिम केहीबेर लागेपछि जङ्गलको बाटो आयो । गाडीभित्र होहल्ला र हलचल बन्द भयो । म मृगनयनीतिर फर्किएँ ।

मृगनयनी, तिमी कति कक्षा पढ्छ्यौ ?

तीनमा ।”

उनको उचाइ हेर्दा लाग्थ्यो उनी करीब चौध वर्षकी हुन् । तर तीन कक्षामा मात्रै पढ्ने भनेपछि मलाई अलि पत्यार लागेन । मैले भनेँ, होइन होला । यति ठूली मान्छे पनि तीन कक्षामा मात्रै पढ्छन् त ?

हो । ढिलो शुरू गरेको नि त पढाइ, उनले भनिन् । मैले शङ्का गर्ने ठाउँ रहेन ।

यसै पनि केटाकेटी औधी मनपर्ने मान्छे— सहयात्रीको रूपमा मृगनयनीलाई पाउँदा म ज्यादै खुशी थिएँ । बालबालिकासँग कुरा गर्दा विचार र वादको छाया नपरेका निर्दोष कुरा आउँछन् । त्यस्ता विचार प्रायः वैश्विक हुन्छन् र सार्विक हुन्छन् ।

यत्तिकैमा सहचालकले बसमा जडित मोनिटरमा चलचित्र चलायो । केही यात्रुको ध्यान त्यतातिर तानियो ।

तिमी सिनेमा कत्तिको हेर्छ्यौ ? मैले सोधेँ ।

हेर्दिनँ । सुन्छु ।”

मैले गीतको कुरा गरेको होइन । फिल्म के, मुभी । कत्तिको हेर्छ्यौ घरमा भनेको ?

म मुभी हेर्दिनँ अङ्कल । सुन्छु मात्र ।”

मैले सोचेँ— घरमा मुभी प्लेयर अथवा टिभी रहेनछ । शायद रेडियो अथवा म्युजिक प्लेयर मात्रै होला । शायद कसैसँग एन्ड्रोइड फोन पनि छैन होला । मैले यसो हेरेँ उनका बुवालाई । मैलो टोपी, पुराना लुगा र बेरङको इस्टकोट । सामान्य जुत्ता । मैले पक्का गरेँ— गरीबीको तुसारोले घरमात्रै होइन, बालबालिकको सपनाको बाली पनि खाइरहेको छ — कुटुकुटु ।

थप केही कुरा गरिनँ । गाडीमा गीत बज्न थाल्यो, कुटुमा कुटु सुपारी दाना ।” अलि पर पुगेपछि झकाएछु । बरमजिया पुगेपछि एक्कासि कानमा परेको खैलाबैलाले ब्यूँझिएँ । खाना खान रोकेको रहेछ गाडी ।

मृगनयनीका बाबु छोरीलाई लिन आए । म आफू पहिले निस्किएँ र सजिलो पारिदिएँ । उनले हात समाते बच्चीको, र तल झारे । हात समातेरै होटलतिर पसे, त्यसै गरी होटलपछाडिको शौचालयतिर लगे, र त्यसै गरी भित्र ल्याए । भीडभाड थियो । कुन टेबलमा बसे र के खाए, मैले हेरिनँ । गाडीमा चढ्दा पुनः हात समातेरै ल्याए । एक प्रकारको संशय भरियो मेरो मनमा । तर केही भनिनँ, सोधिनँ । बरु सोचेँ— बिहानै लगाएको ट्वाँकले  बुढा थर्थर छन्, र छोरीको आडमा हिँडिरहेका छन् । धिक्कारेँ ती बाउलाई ।

सबै यात्रु सिटमा फर्किए ।

झ्यालबाहिरबाट एउटा बाह्रतेह्र वर्षे केटो कराउन थाल्यो, माला, माला, माला, माला, माला !”

हेरेँ, छोरीहरूले लाउने विभिन्न रङका नेकलेस बेचिरहेको रहेछ । मैले पुलुक्क मृगनयनीको गलामा हेरेँ । खाली थियो ।

नेकलेस लाउने ? मैले सोधेँ । ऊ मुस्कुराई, तर बोलिन । मैले स्वीकृति ठानेँ ।

कुन रङ मनपर्छ ?

जुन भए पनि हुन्छ, अङ्कल ।”

भन न । आफूलाई मन पर्ने रङ त हुन्छ नि कुनैः रातो, हरियो, पहेँलो, गुलाबी…”

मैले यति भनिरहँदा उसले हातका औंला भाँचेर ती रङ गनेजस्तो गरी । तर केही भनिन । उता गाडी छुट्ने बेला भइसकेको थियो । मैले एउटा रातो मालाको दाम साधेँ । मोलमोलाइको समय थिएन । उसले मागेको पचास रुपियाँ दिएँ र माला मृगनयनीको गलामा लगाइदिएँ । उनको सौन्दर्य थप आलोकित भएर आयो ।

सेल्फी हानौं है ! मैले भनेँ । उसले हुन्छ भनी । मैले मोबाइलको क्यामेरालाई सेल्फी मोडमा लगेँ र सेल्फी खिचेँ चारपाँच वटा । अनि उनलाई देखाउँदै भनेँ, हेर त, कस्तो राम्रो फोटो । यो माला लगाएपछि त तिमी विश्वसुन्दरीजस्तै देखियौ ।”

उसले एउटा लज्जामिश्रित मुस्कान छोडी र दाहिने हातले गलाको माला छाम्न थाली । मैले सेल्फी फेसबुकमा पोस्ट गरेँ ।

गाडीले गति लियो । हाम्रो संवाद बन्द भयो । खुलदुली भई नै रह्यो मलाई, गाडीभित्र । केही मिनेटपछि डाटा चलाएर फेसबुक हेरेँ । सेल्फीमा निकै लाइक आइसकेका रहेछन् । कमेन्टले पचासको सङ्ख्या नागिसकेको रहेछ, बीस मिनेटभित्रै । मैले उत्साहित हुँदै उसलाई देखाएँ र भनें, हेर, तिम्रो फोटो त भाइरल भएछ नि फेसबुकमा ।”

उसले मोबाइल हातमा लिई र आँखा नजिकै लगेर हेरी । मैले भनेँ, त्यत्ति नजिक नलैजाऊ । राम्रो देखिँदैन । आँखा पनि बिग्रन्छन् ।”

गुडिरहेको गाडीमा त्यसै पनि हल्लिरहन्छन् आँखा । फेरि त्यति नजिकबाट हेर्दा झन् गाह्रो हुने मेरो सोझो बुझाइ मैले पोखेँ । उसले मलाई मोबाइल फिर्ता दिई । मैले डाटा बन्द गरेर खल्तीमा हालेँ, र ढल्किएँ ।

अलिअलि भाते निद्राले पनि झ्वाम्म पार्दैलगेको थियो । सबैजसो यात्रु निदाएछन् बसभित्र ।

हेटौँडानजिक पुगेपछि म ब्यूँझिएँ । बाहिर घना जङ्गल । अघिल्लो रात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा अबेर रातिसम्म युवाहरूसँग कुरा गरेर बसेको थिएँ । निद्रा पुगेको थिएन । मैले गाडीमै निद्रा पुर्याएछु ।

मृगयनीलाई पुलुक्क हेरेँ । ऊ बाहिर जङ्गलको हरियाली आँखाले पिइरहेकी थिई । सोचेँ, त्यो कालो चश्माभित्रबाट देखिएको हरियालीमा केही त कमी होला नै । मैले फुत्त उसको चश्मा निकालिदिएँ र भनेँ, खुला आँखाले हेर्नुपर्छ हरियाली । त्यसको मज्जा नै बेग्लै हुन्छ, नानी ।”

चश्मा मेरो हातमा रह्यो । ऊ खुला आँखाले हरियाली पिइरही । गाडी गुडिरह्यो ।

अलि पर पुगेपछि मैले उसका आँखामा हेरेँ । सामान्य थिएनन् । चिसो पस्यो मेरो मनभित्र । तर बोली फुटेन ।

बाहिरको सिरसिर हावाले हानेर होला, आँखाबाट आँसु झरिरहेका थिए । मैले आफ्ना हातले उसका आँसु पुछिदिएँ । ती आँखालाई स्पर्श गर्दा लाग्यो मैले आकाशको एक किनार छोएको छु । हृदयमा वात्सल्यको एउटा विलक्षण लाभा उम्लेर आएको थाह पाएँ । खप्नै सकिनँ । उसलाई गुम्लुङ्ग अँगालो हालेँ र भनेँ, छोरी !” अनि सुस्तरी चश्मा उसका आँखामा लगाइदिएँ ।

धेरैबेर हामी बोलेनौं ।

गाडी भरतपुर पुगेर रोकियो । उसका बाबुले मृगनयनीलाई हात समातेर बाहिर ताने । म सिटबाट उठेँ र सजिलो बनाइदिएँ । बाबु छोरीलाई आफूसँग राखिदिएकोमा मलाई धन्यवाद दिए । मैले मृगनयनीको गला हेरेँ । मैले किनिदिएको माला हेरेँ । त्यो त्यहीं थियो — गाढा रातो, गुलाफको रङजस्तो । मेरो स्नेहको निशानी, मलाई निकै प्रिय लाग्यो ।

बाहिर उसका बाबुले सफारीलाई अस्पताल” भनेकोसम्म सुनेँ ।  मनमा चिसो पस्यो । बस अगाडि बढिहाल्यो । थप बुझ्न सकिनँ । यति यकिन गरें, जुन ठाउँमा बस रोकियो, त्यहाँबाट दक्षिण जाने गल्लीतिर छिरेका थिए उनीहरू, सफारीमा ।

धेरै दिनसम्म मेरो मनमा यो शब्द गुञ्जिरह्यो— अस्पताल, मानौं यो मेरो समयको सबैभन्दा ठूलो आकाशवाणी हो र मैले अबको आधा शताब्दी यसलाई दोहोर्याइरहनु पर्नेछ ।

यसैबीच मसँग मृगनयनीको कुनै निशानी रहेन, बाहेक केही थान फोटाहरू । पालैपालो फेसबुकमा हालिरहेँ । प्रतिक्रिया लिई नै रहेँ । उसको सौन्दर्य थियो नै त्यस्तैः कसैको मन हर्न सक्ने । मैले आफैंलाई भाग्यमानी ठानेँ— यात्राको कुनै मोडमा ऊ मेरी सहयात्री थिई ।

****

करीब दुई वर्षपछि म भरतपुर पुगेँ, कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह आधा उज्यालोको परिचर्चामा भाग लिन । मन मान्दै मानेन र म उनीहरू पसेको गल्ली पुगेँ, र नजिकै कुन अस्पताल छ, पत्ता लगाएँ । त्यो भरतपुर आँखा अस्पताल थियो । हिमालको सबै हिउँ मेरो छातीमा आएर घोप्टिएको अनुभव गरें ।

मैले प्लसटुमा पढाएका विद्यार्थी आशिष ठाकुर त्यहाँ चिकित्सक भएर पुगेका रहेछन् । मलाई देख्नेबित्तिकै उनले नमस्कार गरे र नजिकै आए । मैले उसलाई मृगनयनी नाम गरेकी कुनै आँखा बिरामीको यहाँ उपचार हुँदैगरेको वा नगरेको पत्ता लाउन अनुरोध गरेँ ।

धेरैबेरपछि आशिष आए । उनले सबै रेकर्ड ल्याएका थिए ।

धरानको हो सर ?

हो, मैले भनेँ । मोबाइलबाट फोटो पनि देखाएँ ।

उसको अन्धता निको नहुने किसिमको रहेछ, सर । ऊ केही वर्षदेखि आउन छोडेकी छे यहाँ ।”

मलाई आकाश खसेर किचेजस्तो भयो । मुख सुकेर आयो एक्कासि । मैले सोचेँ, आँखाको कुनै रोग थियो शायद । हदै भए दृष्टीविहीन हुनुपर्ने । तर बेपत्ता !

म त्यहाँ बसिरहन सकिनँ । रेकर्ड हेरेर उसका बाबु वीरसिंह थापाको फोन नम्बर समेत टिपेँ र अशीषलाई जान्छु भनेर अस्पतालबाट निस्किएँ ।

मभित्रको खुल्दुली मेटिएन । मृगनयनी छाइरही मेरो स्मृतिभरि, मेरो मस्तिष्कभरि । करीब दुई वर्षपछि सोध्दै खोज्दै म धरान पुगेँ ।

बाबुलाई क्षयरोग रहेछ, मरेछन् । मृगनयनीजस्ती दृष्टिविहीन छोरीको व्यवस्थापन गर्न धौधौ भएकोले उनकी आमाले लौकहीमा एउटा स्कूलमा सङ्गीत प्रशिक्षण गर्ने दृष्टिविहीन कलाकार उमेश केसीसँग बिहे गरिदिइन् रे ।

धेरैपछि कोसीबाँध फुटेर लौकही डुबानमा पर्दा एकअर्काको हात समातेर भागेका ती दुई दृष्टिविहीन दम्पतीको आजसम्म अत्तोपत्तो नभएको स्थानीयले सुनाए । कसैले भने, भारततिर गए । कसैले डुबेको आशङ्का गरे । ठोस कुरा कसैसँग पनि थिएन ।

हृदयको गति नै स्तब्ध होलाजस्तो भयो । सोचेँ, देख्नमात्रै सक्ने भएका भए उनीहरू यसरी बेपत्ता हुने थिएनन् ।

त्यस दिनदेखि म उनीजस्ता हजारौं मृगनयनीको सहारा बन्ने अठोटका साथ जीवन कर्ममा लागिरहेको छु ।

****

यो थियो उपन्यासकार प्राञ्जलको उपन्यास “मृगनयनी” को मलाई सबैभन्दा मनपर्ने अंश । आज बिहानैको समाचारमा उसको पुस्तकले २००० युरोको प्रतिभा पुरस्कार जितेको समाचार सुनेपछि मैले र्याकबाट निकालेर यति अंश पढेँ । उसले थाहै पाएको छैन होला र मैले आफैँ फोन गरेर उसलाई सरप्राइज दिनुपर्ला भनेर सोच्दैथिएँ, उसले फोन गरिहाल्यो ।

समाचार सुनाएर अलि लजायो । भन्यो, माफ पाऊँ है सर । लजाउँदै भनेको छु । सरलाई नभनेर कसलाई भन्नू !”

कथाकार प्राञ्जल मभन्दा केही वर्ष कान्छो भए पनि हामी साथीतुल्य थियौं । मनका कुरा पनि साटासाट गर्थ्यौं । एकअर्काका पाण्डुलिपि पढ्थ्यौं र सुझाव–सल्लाह साट्थ्यौँ । अलि कलिलै भएकोले होला, यसमा अलिअलि आत्मश्लाघा भने थियो । म भनिरहन्थेँ— राम्रो लेखक हुनलाई अभिमान घटाउनु जरूरी छ, विनम्रता बढाउनु जरूरी छ । भन्थेँ, हामी लेखक भावनाका किसान हौं । अरूको भावना टिप्छौं । विनम्रताविना हृदयमा पस्न सकिँदैन ।” ऊ मान्थ्यो । तर बेलाबेला फुत्त निस्कन्थ्यो उसको पुरानो आत्मप्रशंसा गर्ने बानी । अनि म तत्काल टिप्पणी गरिदिन्थेँ । ऊ लजाउँथ्यो ।

त्यसैले हुनुपर्छ उसले फोनमा लाज लाग्यो भनेको । तर मैले कर गरेपछि भन्यो ।

आहा । यस्तो कुरा भन्न पनि लजाउनुपर्छ त ! यो त ढोल पिटेर सबैलाई सुनाउने कुरा हो । कहाँबाट कसले दिने भएछ पुरस्कार ?

क्रिष्टोफेल ब्लाइन्डेन मिसन भन्ने एउटा जर्मन संस्था रहेछ । दृष्टिविहीनहरूबीच काम गर्दोरहेछ । त्यसैले दिने रहेछ ।”

रकम त मदन पुरस्कारको भन्दा पनि पो बढी रहेछ । लौ बधाई ।”

धन्यवाद, सर । यसो हुनुमा तपाईंको ठूलो देन छ, उसले भन्यो ।

कसरी ? यो तपाईंको प्रतिभा र योगदानको कदर हो ।”

तपाईंले पाण्डुलिपि नहेरिदिनुभएको भए यो हुने थिएन ।”

त्यो त मैले नहेरेको भए अरू कसैले पनि हेरिहाल्थ्यो नि । चुरो कुरो त कथा हो, जो तपाईंले ल्याउनुभयो ।”

कृतज्ञ छु सर । अब जिम्मेवारी बढेको महसूस गरेको छु । सरलाई भोलि भेट्न आउँछु । अहिले बिदा मागेँ ।”

मैले पाण्डुलिपि पढेको थिएँ । सम्पादन के गर्नु, उसको कथा पढेर म र रमा दुवै भावविह्वल भएका थियौं । हुन त हामीले पहिले पनि यस प्रकारका कथा पढेका थियौं, तर प्राञ्जलको भाषाको जादू र कथाकारिताको विलक्षण छटाले हामीलाई भित्रैबाट हल्लाएको थियो । हामी दुवैले रस्किन बोन्डको कथा “द आइज आर नट हियर” पनि पढेका थियौं, जसको छाप प्राञ्जलको कथामा परेको स्पष्टै देखिन्थ्यो । तर पनि, उसको किताबको केही केही अंश पढेर त हामी रातभरि रोएका थियौं । आज त्यही कथांश दोहोर्याएर पढेँ ।

यति पढेपछि मैले प्राञ्जलको उपन्यास बन्द गरेँ । आँखाभरि मृगनयनी आइरही । मृगनयनीको जीवनसँग एकाध घण्टामात्रै साक्षात्कार गरेको प्राञ्जलभरि कति धरै पसिसकेकी थिई मृगनयनी ! ऊ लामो समयसम्म दृष्टिविहीनहरूकै बारेमा कारुणिक कथा लेखिरह्यो । उनीहरूको दृष्टिकोणबाट संसार चिहायो । उसका कथा र लेख पढेपछि करुणा र दयाका लाभा उठेर आउँथे । हामी पनि सोच्न थालेका थियौं, सबै गुमे पनि सम्झौता गर्न सकिएला तर दृष्टि नै नरहेपछि त जीवन नै के पो रह्यो र ? न रङ्गिन संसार बुझ्नु छ, न बाग बगैँचामा रमाउनु छ । फूल भन्नु, चरा भन्नु, चित्रकला भन्नु, चलचित्र भन्नु…सबै आधा अर्थ बोकेका निस्सार वस्तु ! लेखकहरूले जति ढाँटे पनि माया पलाउने एउटा बलियो आधार अनुहारको बुनोट पनि हो । दृष्टि नहुँदा त्यो आधार पनि हुँदैन । अरूले भन्दिएको भरमा कसैलाई लोग्ने अथवा स्वास्नी मानेर बिहे गर्नुपर्ने र सँगै बस्नुपर्ने । पुलपुलेसा, सडक, शहरबजार जाँदा, अरूकै भर । स्कूल कलेज छामेकै भर । उफ् !

प्राञ्जलले हामीलाई पनि निकै पगालिसकेको थियो । उसका रचनाका नियमित पाठक हामी दृष्टिविहीनता भनेको संसारकै कठोरतम अभिशाप हो भन्नेमा पुगिसकेका थियौं । प्रभाव न हो, मैले पनि लेखेको थिएँ केही मुटुछेड कविता, केही कारुणिक कथा । हामी एउटा गैर–सरकारी संस्थाका सदस्य पनि बनिसकेका थियौं र दृष्टिविहीनहरूको उत्थानका लागि आफूले सकेको काम पनि गर्न थालिसकेका थियौं ।

यसैबीच त हो, एकाबिहानै प्राञ्जलले पुरस्कारको समाचार सुनाएको !

प्राञ्जलको नाम चल्यो देशभरि । पत्रिकाले ठूला ठूला तस्वीरसहित समाचार छापे । अन्तर्वार्ता लिइयो । ऊ एक सामान्य लेखकबाट सेलेब्रिटी लेखकमा परिणत भयो ।

यसैबीच एक दिन उसलाई ललितपुरको बुङमतीमा अवस्थित एउटा अपाङ्ग सेवा केन्द्रबाट सञ्चालकको फोन आएछ । त्यहाँ पुगेर त्यहाँ बस्दैआएका दृष्टिविहिनता लगायतका अन्य प्रकारका अपाङ्गता भएका करीब एक सय बालबालिकाहरूलाई उत्प्रेरणाको भाषण दिन उसलाई बोलाइएको थियो । उसले भन्यो, सर पनि जाऔं न । म एक्लै कता जाऊँ ?

हामी मेरै मोटरसाइकल चढेर त्यहाँ पुग्यौं । पुगेपछि केही त बोल्नै पर्ने होला । उसको जस्तो पुरस्कृत नभए पनि म पनि अलि अलि लेखेरै आएको मान्छे । बोल्न त पक्कै भन्लान् । बाटोभरि कुरा खिपेँ । संवेग, करुणा र दयाका भाव र शब्द सँगालेँ र राखेँ मुटुभरि । दर्द, दुर्भाग्य, नियति, कठोरता, निस्सारता…मैले खिपेका शब्दहरू थिए । संवेगको खेलमा मभन्दा पनि खप्पिस प्राञ्जलले झन् समुद्र नै उतार्यो कि हृदयमा, भन्न सकिनँ । उसको त आँखाको बुनोटै यस्तो थियो कि जहिले हेरे पनि आँसु टिल्पिलाएजस्तो देखिन्थ्यो ।

मनभरि अनौठो गह्रुँगोपन भएपनि गफगाफ गर्दै, हाँस्दैहँसाउँदै हामी त्यहाँ पुग्यौँ । सञ्चालक कृष्ण ताम्रकारले हामीलाई स्वागत गरे । हामीले सकेसम्म मुस्कानलाई नियन्त्रित गर्यौं । अनुहारलाई सकेसम्म मलिन बनायौं । बोलीलाई थप दबायौं ।

एकछिनको तयारीपछि हामीलाई एउटा ठूलो हलमा लगियो । प्राञ्जलका लागि माला पनि तयार गरिएको रहेछ । सञ्चालकले सबैका माझ उसको परिचय गराए, र अभिनन्दनस्वरूप माला पनि लगाइदिए । मलाई खादाले स्वागत गरे ।

प्राञ्जलको योजना त्यस भवनभित्र समुद्र उतार्ने थियो । संवेगको गहिराइ छुने योजना थियो । करुण रसले मन्थन गर्ने सोच थियो, यो समयलाई । आँखाहरूमा भेल उतार्ने सपना थियो — शायद ।

तर मैले भनेँ— एकछिन बालबालिकाका कुरा सुनौं । उनीहरूलाई बुझेपछि झन् सजिलो हुन्छ भन्ठानेँ । सबैको त सम्भव थिएन, केही बालबालिकाको परिचय गराउने सञ्चालकले चाँजो मिलाए ।

उँचो, चर्को र आत्मविश्वासपूर्ण स्वरमा एकजना बालकले भने, म रोहित रसाइली । मेरो घर कालिकोट हो । म कक्षा नौमा पढ्छु । म पूर्ण दृष्टिविहीन हुँ । म गीत गाउँछु । एउटा गीत एल्बममा पनि आइसकेको छ । म यहाँ धेरै खुशी छु । मलाई जिन्दगीदेखि कुनै गुनासो छैन । म भविष्यमा राम्रो गायक बनेर देशको शान बन्न चाहन्छु । धन्यवाद ।”

उनले यति भने, र गीतको एक टुक्रो पनि गाएर सुनाए । निकै कर्णप्रिय गीत थियो । परर तालीले हल गुञ्जियो ।

म दिनेश प्याकुरेल । कक्षा दसमा छु । मेरो घर सल्यान हो । म पनि पूर्ण दृष्टिविहीन हुँ । मलाई दृष्टिविहीनले केही गर्न सक्दैन, ऊ दयाको पात्र हो भनेको मन पर्दैन । म मेरो जिन्दगी धान्न तयार छु । मान्छेहरू हाम्रो नाममा आँसुको व्यापार गर्छन् । मलाई त्यो मन पर्दैन । म बाँसुरी बजाउँछु । ठूलो भएर बाँसुरीकै क्षेत्रमा नाम कमाउन चाहन्छु ।”

उनले बाँसुरी पनि बजाए : फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा । हल फेरि गुञ्जियो ।

छेउका साथीले कोट्याएपछि एक जना बहिनी बोलिन्, म रेश्मा शाही । मेरो घर दाङ हो । म पनि दृष्टिविहीन हुँ ।” उत्साह र मुस्कानले भरिएको स्वर थियो उनको ।

सर ऊ कान पनि सुन्दिन, कसैले भन्यो ।

सबै गलल हाँसे । रेश्मा पनि हाँसिन् ।

सञ्जयले पनि सुन्दैन, सर ।”

भरतले पनि सुन्दैन, सर ।”

गलगल हाँसो । हलमा कुनै विषाद पल छैन । सबै उल्लासमा देखिन्छन् ।

मेरो नाम सुवर्ण राउत । मेरो घर सुर्खेत । म पनि कक्षा दसमा पढ्छु । म आँखा देख्छु, तर मेरो एउटा खुट्टामा अपाङ्गता छ । म सानै हुँदा माओवादी युद्धमा हानिएको बमको छर्रा परेर यस्तो भएको हो । यो घटनापछि पाँच वर्ष मेरो पढाइ रोकियो । त्यसैले म उमेरले अरूभन्दा ठूलो छु । अपाङ्ग भएपनि अहिले मलाई दुख्दैन । म गरिखान सक्छु । मेरो एउटा मात्रै माग छः मजस्तो अपाङ्ग भएकाहरूका लागि अपाङ्गमैत्री भवन र सडक बन्नुपर्यो र हामीजस्ताको अवस्था बेचेर डलर कमाउने खेल बन्द हुनुपर्यो । हामीलाई दया होइन, हौसला दिनुपर्छ । हामीलाई आँसु होइन, उत्साह दिनुपर्छ ।”

हामीले करीब बीस विद्यार्थीको परिचय सुन्यौं । एक तहको दुःख सबैको थियोः कसैको दृष्टि थिएन, कसैको श्रवणशक्ति थिएन । कसैसँग दुवै थिएन । कोही कोही हातगोडाका अपाङ्ग पनि थिए । तर कसैसँग हीनताबोध थिएन । जीवनप्रति गुनासो थिएन । निराशा थिएन ।

मैले नबोल्ने निर्णय गरेँ । तर सञ्चालकले धरै दिएनन् । बिस्तारै शुरू गरेँ, म बुझ्छु तपाईंहरूको पीडा । यो रङ्गिन संसार नदेख्नु वा यसमा हिँड्डुल गर्न नसक्नुको दुःख ।”

एकजना भाइ जुरुक्क उठे र भने, सर, यो रङको कुरा हाम्रो दिमागमै छैन । तपाईंहरू हाल्दिनुहुन्छ र दुख्न सिकाउनुहुन्छ । छोड्नुस् त्यो कुरा ।”

अर्काले भन्यो, सर्, रातो अथवा सेतो भन्नु हाम्रा लागि केवल आवाज हो, ध्वनि हो । रङ होइन । हामीलाई त्यस आवाजले दुखाउँदैन । कहिल्यै नदेखिएको स्वर्ग वा नर्कको बयानले तपाईंलाई के फरक पार्छ ? भन्नुस् त ?

मलाई दाँतमा ढुङ्गा लागेजस्तै भयो । मैले सचेततापूर्वक केही शब्द बोलेर मन्तव्य पूरा गरेँ । प्राञ्जलले जिन्दगीकै छोटो भाषण गर्यो— हेलेन केलरलाई साक्ष्य बनाएर । कार्यक्रम सकेर हामी घरतिर लाग्यौं ।

मेरो घर ठिमी, उसको लोकन्थली । लोकन्थली पुगेपछि उसले भन्यो, सर, म पनि ठिमी जान्छु । एक मिनेट कोठा पस्छु ल । एउटा कुरा निकाल्नु छ ।”

मैले मोटरसाइकल उसको कोठाबाहिर रोकेँ । ऊ फुत्त भित्र पस्यो र उसको पुरस्कार विजेता उपन्यास “मृगनयनी” लिएर आयो । सोचेँ— पुरस्कार पाएको खुशीमा ऊ मलाई उक्त पुस्तक उपहार दिन चाहन्छ ।

हामी ठिमी पुग्यौं । नयाँ बस्ती जान हनुमन्ते नदीको पुलमा पुगेपछि भन्यो, सर्, एकछिन बाइक रोक्नू न ।”

सोचेँ, केही भयो होला । ऊ बाइकबाट ओर्लियो । पुलको रेलिङको फलाममा बस्यो र आफ्नो उपन्यास ध्वार्र पारेर पाना पाना च्यात्दै हनुमन्तेमा फाल्दै गर्न थाल्यो । मलाई “किन ? भनेर सोध्नु थिएन, सोधिनँ ।

पछि सुनियो, प्राञ्जल उसले जितेको पुरस्कार ग्रहण गर्न गएन अरे । उसको प्रकाशकलाई उक्त पुस्तकको नयाँ संस्करण निकाल्ने अनुमति पनि दिएन रे ।

हामीले घरमा फेरि पढ्यौं प्राञ्जलको उपन्यास ।

रमाले भनिन्, बाबा, दृष्टिविहीन त मृगनयनी होइन, प्राञ्जल हो ।”

मैले उनलाई आश्यर्चमिश्रित आँखाले हेरें । उनको आत्मविश्वास हेर्नलायक थियो ।

(महेश पौड्यालको बेस्ट सेलर कथासंग्रह ‘अपरिचित अनुहार’बाट)