मलाई पर्यावरणीय सूक्ष्मता थाहा छैन तर प्राकृतिक वातावरणमा रमाउँछु । कृत्रिम आनन्दभन्दा प्राकृतिक पीडा मलाई आरामदायी लाग्छ । प्रकृतिमा रमाउन पाउँदा मनले शान्ति र शरीरले स्फूर्ति पाउँछ । जल, जमीन र जीवको सान्निध्यमा जैविक विविधताले मेरो श्वास भरिदिन्छ । कहिलेकाहीँ पारिस्थितिक प्रदूषण र जलवायु परिवर्तनले उकुसमुकुस पार्छन् । अम्ल वर्षा र हिउँको पग्लाइले  स्वाँस्वाँ पार्छन् अनि अनायास मेरो कलम पर्यावरणीय समस्या, मानवसँग प्रकृतिको सम्बन्ध तथा प्रकृति र वातावरण संरक्षणको महत्त्व वर्णन गर्न तम्सन्छ ।

जीव र वनस्पति पर्यावरणका अवयव हुन् । पर्यावरण आन्तरिक र बाह्य हुन्छ । आन्तरिक पर्यावरणको हलचल मनले बुझेर नियन्त्रण गर्छ । आन्तरिक पर्यावरणको कर्मशील अभिव्यक्ति हो । बाह्य पर्यावरणको परिवर्तन आँखाको पर्दामा नाचिरहन्छ । मनले भन्छ समाजमा पर्यावरणीय सङ्कट आउँदै छ, सचेत बन । प्रदूषण र वनविनाश मात्र हाम्रो समस्या होइन, हामी प्राकृतिक संसाधनको असंवेदनशील प्रयोग गर्न थालेका छौँ । हाम्रा कर्मले  सन्तान आत्तिएका छन्, प्रकृतिले दिएको सौन्दर्य शृङ्गार पखालिएर नासिँदै छ । मानिसका मनबाट प्राकृतिक सौन्दर्य र विविधता मासिनुहुन्न, तर यही हुँदै छ  । मानिसका हातबाट जङ्गल, नदी, पहाड, माटो र जीवजन्तुको अस्तित्व सङ्कटमा पर्नुहुन्न तर म यही गर्दै छु । मानव र प्रकृतिबीचको सम्बन्ध गहिरो  छ । जलवायु परिवर्तन, प्रदूषण, वनविनाश र अन्य गतिविधिले संवेदनाको गहिराइ पुरिनुहुन्न तर म संवेदनाहीन बन्दै छु । सेता हिमालको फेदीबाट बग्ने खोलाको किनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गरेर मन रमाउन पाउनुपर्छ तर म यिनलाई मृत्यु क्षेत्र बनाउँदै छु । मेरो हिमरेखा हिमालतिरै खिचिँदै छ । विनाशको नवीकरणले अस्तित्वको अन्त्य गर्न सक्छ । मानव ! औद्योगिकीकरण र शहरीकरणका नाममा आफ्नो दायित्व बिर्सने विकास नखोज । विकासले विनाशसँग साइनो गाँस्नु हुन्न । व्यवस्थाले बेवास्तासँग अँगालो हाल्नुहुन्न ।

सूर्य, चन्द्र, ग्रह, नक्षत्र, जल, थल, आकाश, वायुको सीमा हुँदैन । पशु र बिरुवा पनि भैतिक सीमामा बाँधिदैनन् । यिनलाई लिङ्ग, जातजाति, वर्ग, वाद, धर्म, वर्णले सीमाबद्ध गर्न सक्दैन । मानिसको सीमा हुन्छ । सीमाबाहिरका मानवीय कार्यकलाप दण्डनीय हुन्छन् । सीमा काट्न मानिसलाई पारपत्र चाहिन्छ तर मानिसले सोचको संसार बनाउन सक्छ । सकारात्मक प्रयत्नले सोचको संसारमा सबैलाई एकताबद्ध गर्न सक्छ । सीमातीत प्राकृतिक उपहार बचाएर संसारभरका मानिसका लागि साझा बनाउनु मानिसले पर्यावरणलाई दिने विवेकी उपहार हो । विवेकको ढालले  यिनको संरक्षण गर्नु पृथ्वीलाई जोगाउनु हो ।  म रबिन्सन क्रुसोले गर्न नसकेको विकास रोज्दिनँ ।  मलाई हकिन्सले बाटैमा रोकेर ब्ल्याक होल देखाइसकेका छन् । पैतालालाई अग्निमा सेकाएर शिरले शान्ति पाउँदैन । म पृथ्वीलाई मृत्युशैय्यामा पुर्‍याएर प्रीतिभोज गर्न सक्दिनँ ।

प्रत्येक दिन बिहान म नीलो आँखाले आकाशतिर हेर्छु, आकाशमा नीलिमा देखिन्छ । शीतका थोपामा टल्किने हरियालीले मेरो आँखामा दीर्घता भर्छ । आँखाको नानी वरिपरि सेतो संसार छ । समुद्रको क्षितिजमा सेतो प्रकाश छ । सेतो र नीलोको आत्मीयताले मनको संसार फराकिलो पार्छ । नीलो, हरियो र सेतो रङसँग मेरो मन साटिएको छ । एक मनका सोच र कर्मले अर्को मन फाट्नु हुन्न । नीलो आकाशको काखमा सेता हिमालले भौतिक पदचालनसहित आत्मिक उचाइ दिन्छ । हरित पर्यावरणले आत्मिक उचाइमा शान्त निश्वास भरिदिन्छ । म उद्वेलित बन्छु र घरवरिपरि आँखा दौडाउँछु । घर, भर्‍याङ, गोरेटा र वन्यजन्तुको आवाजले मनलाई स्वागत गर्छ । पर्यावरणीय सुगन्धले श्वासको  शुद्धीकरण  गर्छ  । मेरो दैनिकी यसैले अलौकिक बनाउँछ । वनेली, वयेली र बलेँसीको त्रिवेणीमा आकाशले मेरो आँगनमा स्वर्ग उतार्छ ।

प्रकृति प्राकृतिक चिकित्सक हो । प्रकृतिको चिकित्सामा हतियार चल्दैनन् । प्रकृतिले मानसिक थकान र तनाव कम गर्छ । प्राकृतिक सौन्दर्य स्वास्थ्य समृद्धिको कारक हो । यसको संरक्षणले पारिस्थितिक पद्धति सन्तुलित भई जैविक विविधता र जलवायु परिवर्तनको असर न्यूनीकरण हुन्छ । प्राकृतिक संसाधनको उपयोग, कृषिमा आधारित जीवन र जैविक सञ्जालले परिवार र समुदायमा पुरातन ग्राम्य सौन्दर्य विकास गर्छन् ।  यो सौन्दर्य आर्थिक अवसर र रोजगारीका रूपमा गोरेटाबाट निस्केर चौबाटामा विचरण गर्छ । हरित सीप, उद्योग, व्यापार र सेवाको विस्तारले दिगो रोजगारका अवसर र समृद्धिको वयेली उराल्छन् । शिक्षण संस्था, स्वास्थ्य सेवा, यातायात र अन्य सामाजिक सुविधामा मानिसका मन खुल्छन् । शहर र गाउँले मितेरी लाउँछन् । ग्रामीण सान्दर्यलाई शहरी सभ्यताले हृदयमा राख्छ ।

म जब मिर्मिरेमा बारीका पाटामा पुग्छु । जून तुसारे सिरक फालेर आफ्नै लोकमा फर्कन लागेको हुन्छ । उसले हँसिलो मुस्कानमा घामको उज्यालो मलाई दिँदै पिरती साट्छ । मलाई बदलामा केही नमागी असल सोचको पोको दिएर फेरि भेट्ने वाचा गर्छ । घामको न्यानो मुस्कानमा मेरो पाइलाको क्षितिज खुल्छ । असल सोच आत्मा र प्रकृतिको संवाद हो ।  आत्माले प्रकृतिलाई बुझ्दा पर्यावरण शान्त बन्छ ।  उसका प्रत्येक अङ्गले मानिसमा ऊर्जा भर्छ । भोलिका लागि ऊर्जा सञ्चय हुँदा प्रकृतिले पृथ्वीलाई उन्नति दिन्छ । पारिस्थितिक सन्तुलनमा प्रकृतिले मानिसलाई समृद्धिको टीका लगाइदिन्छ । प्राकृतिक सौन्दर्य, स्थानीय पर्यावरण, वातावरणीय चेतना र शान्तिले जीवनका आरोह-अवरोहलाई सहज बनाउँछन् । कुपोषित हावा, पानी र माटो मेरा रहर होइनन् ।  म सहजतामा रमाउन चाहन्छु, पर्यावरणलाई स्वस्थ बनाउन चाहन्छु ।

प्रकृति सबै पाठकले रुचाउने एक विशाल साहित्य हो । चिसो पानी, प्राचीन सम्पदा, ढुङ्गामा कुँदिएका आकृति, भौगोलिक सौन्दर्य, शीतल हावा र न्यानो व्यवहार प्रकृतिका महाकाव्य हुन् । मेरो मन तिनलाई पढ्न चाहन्छ । महाकाव्यको पहिलो परिच्छेदमा म हरित क्रान्ति देख्छु । अर्को  परिच्छेदमा हरित सीप छताछुल्ल हुन्छ । अन्तिम परिच्छेदमा पुग्दा मेरो मस्तिष्क, हात र पैतालामा हरित अर्थतन्त्र भेट्छु अनि पर्या आनन्दानुभूतिको रसास्वादन गर्छु । मेरो प्रकृतिले हरियो रङ उमारेको देख्छु । नारी पुरुषका हातमा अनाजका बीउ र प्राणवायुको बोट देख्छु । एक हुल सेता परेवाले ल्याएको सन्देश कोइलीले गाइरहेको सुन्छु र आफूमा कोइलीको धुन घोलेर बाँसुरीको प्वालबाट निकाली घँसेनीलाई पैँचो दिन्छु ।

जमीन, पानी र हावा, सङ्गीत दृश्य पर्यावरणका उपहार हुन् । उपहार प्रयोगमा आउँछ तर यसको अन्त्य हुनु हुँदैन । उपहारमा श्रद्धा हुन्छ । श्रद्धाले नै मानव सम्बन्ध बढाउँछ र यसले प्रकृतिसँगको साइनो बचाइराख्छ । मोठमा रोपिने तुलसी र चौताराको वरपीपलमा मानिसको श्रद्धा हुन्छ । तरकारी, अनाज र पाकेका फलको मानिस र पशुप्रति श्रद्धा हुन्छ । मौरीको फूलप्रति र फूलको मौरीप्रति श्रद्धा हुन्छ । हरियो जङ्गलले सुन्दर बस्ती मन पराउँछ । फोहोरको डङ्गुरमा उम्रेर सयपत्रीले दिदीभाइको प्रेम उपहार दिन्छ । हिलामा हुर्केको कमल लक्ष्मीको प्रिय बन्छ । यो श्रद्धाको सम्बन्ध हो । श्रद्धाको सम्बन्धले पर्यावरणीय तत्त्वलाई ठिक ठाउँमा राख्छ । प्रकृतिमा बाघ र मृगको अनि दूबो र सालको एउटै मूल्य हुन्छ । प्रकृतिले सिंह र मृगलाई एउटै पोखरीमा पानी खान सिकाउँछ । सर्प र मुसालाई एउटै भूमिमा वास दिन्छ । जीव र वनस्पतिको जैविक मूल्यबोध प्रकृतिबोध हो । जैविक विविधताको संरक्षण मेरो संरक्षण हो, प्रकृतिको संवर्धन हो ।  स्थानीय ऊर्जा स्रोत प्रकृतिको गर्भमै छन् । यसको प्रवर्द्धन मेरा नातिनातिनाको पास्नीको मुस्कान हो ।

म वातावरण निर्माण गर्न सक्दिनँ । प्रकृतिमा ढुङ्गा, माटो, हावा र पानी थप्न सक्दिनँ, बरु सक्न सक्छु । म पहाड, हिउँ, बादल र बास्ना बनाउन सक्दिनँ तर बचाउन सक्छु । प्रकृतिले मलाई जे दिएको छ, त्यही मात्र मेरो हो । वातावरणको सिर्जना मेरो वशमा छैन तर म वातावरणमैत्री निर्माण गर्न सक्छु । मेरा सडकले बाबियोको संसार उजाड्नु हुन्न ।  म बनेली सिर्जना गर्न सक्छु । मेरो बन्चराले वन मासिनुहुन्न । म दीगो पर्यटनका लागि खट्न सक्छु तर प्यासले पर्यटकको घाँटी सुक्नु हुन्न । म फोहोर व्यवस्थापन गर्न सक्छु तर मैले गर्ने फोहोरले अर्काको सास फेर्ने, हिँड्ने, रमाउने आधार खोसिनुहुन्न । धनीका सन्तानको खुशीका लागि गरीबका दुःखका आधार मेटिनुहुन्न । म मेरो, पशुको, पर्यटकको पदमार्ग सुधार गर्न सक्छु, टढेलाले सालकको बास उजाड्नु हुन्न । मैले जैविक उद्यान निर्माण  गरेर जुरेलीलाई नाच्न दिनुपर्छ । मयूरका हुल र मृगका बथानलाई  टारबारीमा चर्न दिनुपर्छ । धनेशलाई डाँफेको घर पाहुनासरह हुन्छ । लालीगुराँसलाई लेकमै फुल्न दिनुपर्छ । स्थानीय प्रजाति पुनःस्थापना गर्ने जिम्मेवारी मेरो हो । आँगनको डिल कटान हुन नदिन मैले नै कम निदाउनुपर्छ । मेरो सपनामा भूक्षय नियन्त्रण गर्ने सोच हुर्कनुपर्छ । म निदाएर देख्ने होइन, बिउँझेर देख्ने सपनासँग प्रीति गाँस्न चाहन्छु । प्रकृति पढेर साकार सपना सिर्जना गर्न गर्न चाहन्छु ।

पशु अविवेकी छ त्यसैले बिगार्न जान्दैन । बिरुवा निश्चल छ त्यसैले कुभलो चिताउँदैन । रोपे हुर्कन्छ, उखाले प्रतिवाद गर्दैन, काटे आन्दोलन गर्दैन । मानिस विवेकशील छ त्यसैले ऊ बिगार्न सक्छ  । उसले बनाउन पनि जानेको हुन्छ । वातावरण मानिसले बनाएको होइन । वातावरण आफैँ बिग्रिने पनि होइन, मानिसले बिगार्ने हो । प्रकृतिले जीवलाई वास दिए जस्तै मानिसले प्रकृतिलाई बचाउन जान्नुपर्छ । प्रकृतिमाथिको आक्रमण मानिसको अस्तित्वमाथिको आक्रमण हो । विवेकी मानिसले प्राकृतिक स्रोतको अतिक्रमण र दुरुपयोग गरी वातावरण विनाश गर्छ । यो आत्महत्याको प्रदर्शनीमा रमाउने संवेदना हो  । धुलोधुँवा र प्रदूषण मानिसका उपज हुन् ।  वनफँडानी, काठतस्करी, आगलागी, भूक्षय मानिसका कारण सिर्जित समस्या हुन् । यसमा प्रकृतिको कुनै संशय, सोच र संलग्नता हुँदैन ।  मानिसका कारण जलाशय सुक्छ, मानिसकै कारण मरुभूमीकरण हुन्छ । प्रकृतिले आणविक दुर्घटना गराउँदैन । प्राकृतिक वातावरणमा उर्वराशक्तिको ह्रास हुँदैन । शहरीकरण मानिसकै विकासको परिणति हो । रोगव्याधि, महामारीमा प्रकृतिको दोष हुँदैन । प्रकृतिले त मानवीय पीडा शमन गर्छ । घाउ लागे औषधी दिन्छ । तीर्खामा पानी दिन्छ । जन्मनासाथ सास दिन्छ । मृत जीव र वनस्पतिलाई मटीमा मिलाएर  उर्वरता उपहार दिन्छ । प्रकृति स्वार्थ नामेट छ तर मानिसले गरेका विकास कार्यले प्रकृतिलाई कष्ट दिन सक्छ । मानवसिर्जित पर्यावरणीय अवरोध सहन नसक्दा प्रकृतिमा विनाश हुन्छ र यो मानिसकै लागि प्रत्युत्पादक हुन्छ  ।

शिक्षा, स्वास्थ्यजस्तै बाटोघाटो विकासको पूर्वाधार हो । बाटोघाटो विकासका प्राथमिक माध्यम हुन् तर विडम्बना ! यी बाटाले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजोआजका घटना साक्षी छन्  । मलाई थाहा छ, मेरो यात्रा लक्ष्यसम्म सुरक्षित हुनुपर्छ तर बाटो पशुको पनि हो । पशुले बाटो काटेर पारि जाँदा मृत्युले बाटो छेक्नु हुँदैन । मानिसलाई विकास चाहिन्छ तर विकास त्रासद् हुनुहुँदैन । बालकलाई सिकाइने पाठ्यक्रममा विकासको प्राथमिकता मानिसको सुरक्षित जीवन भन्ने लेखिनुपर्छ । पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित बाटाले बाढीपहिराको जोखिम बढाएका छन् । अवैज्ञानिक बाटो भावी सन्ततिलाई सुख दिलाउन खोज्ने वर्तमान पिँढीको अज्ञान हो । ज्ञानीका विकास मार्गमा बाढी र पहिराले पथिकलाई रोक्नुहुन्न ।

बाटो निर्माणले पारिस्थितिक र जैविक विविधतामा प्रभाव पारी वन्यजन्तु तथा वनस्पतिको नाश गर्छ । यिनको उचित संरक्षण र व्यवस्थापनका लागि जीव तथा वनस्पतिविज्ञसँग वैज्ञानिक परामर्श लिनुपर्छ । बाढीपहिराको महामारी बाटो खनाइ, जलवायु परिवर्तन, मुसलधारे वर्षाद्वारा सिर्जित प्रभाव हुन् । यी मानवले सिर्जना गरेका समस्या  हुन् । यसको जोखिमलाई कानुनले न्यूनीकरण गर्न सक्छ । मेरा विधायकको मसीमा पर्यावरण घोलिनुपर्छ ।

हाम्रो संस्कृतिमा वृक्षरोपण पुण्यकार्य हो । वृक्षले कार्बनडाइअक्साइड अवशोषण गरी वायुमण्डलमा अक्सिजनको स्तर बढाउँछन् । वायुप्रदूषण न्यूनीकरण र जैविक विविधता संवर्धनमा वृक्षरोपण सहयोगी हुन्छ । प्राकृतिक स्रोतको पुनः प्रयोगले वातावरणलाई स्वच्छ राख्न सहयोग गर्छ । विद्युत् र ऊर्जा स्रोतको बचत तथा पानीको सदुपयोग वातावरण संरक्षणमा सहायक हुन्छन् । वर्षाको पानी सङ्कलन, पाइपको मर्मत पानी प्रयोगका विवेकशील उपाय हुन् । प्लास्टिक र प्लास्टिकजन्य पदार्थको कम प्रयोग पनि पर्यावरण स्वच्छताको राम्रो उपाय हो । मनसुनी पानीले भूमिगत जलभण्डारको भरण गर्छ । भूमिगत दरारबाट खोलानालामा मूल फुट्छ । वनजङ्गल र घाँसे मैदानले ढाकिएको जलाधार क्षेत्रले बर्सात्को पानी खोलानालासम्म पुग्न रोक्छ । वनस्पतिका पात, हाँगा र जराले पानी अड्काउँछन् । वाष्पीकरणले उत्सर्जन गर्छ । प्रकाश संश्लेषणमा पानी प्रयोग हुन्छ । यस्ता प्राकृतिक प्रक्रियाले बर्सात्को पानीको  परिमाणलाई विलीन गराइदिन्छ । मेरा सन्तानको बोली फुट्दा तोतेबोलीमा यो पर्यावरणीय सूक्ति घुलन हुनुपर्छ । जन्म, मृत्यु, उत्सव र समारोहमा वृक्षरोपण गरी खुशी साट्दा हाम्रै प्रकृति सुन्दर हुन्छ ।  दाजुभाइ घरभिन्न भएजस्तै मानिसले प्रकृतिसँग अंशबन्डा गर्नुहुँदैन । मैले सन्तानलाई वातावरणको सदस्य बनाउन सक्नुपर्छ ।

मानिसले विकासका लागि योजना बनाउँछ । योजनाले कमिला, धमिरा, जटामसी र कन्दमूलको स्वस्थान खोस्नुहुन्न । बाटो बनाउने उपकरणले बाबरीको बास र बालिकाको गाँस खोस्नुहुन्न । घरछेउबाट जाने बाटाले पानीका मुहान काट्नुहुन्न । हाम्रो शरीरमा स्वस्थानी हावा, पानी, माटो, आकाश र शक्ति छ भने विकासले त्यसबाट मलाई छिनेर टाढा लानुहुन्न । मेरो शरीरको पानी सुकाउने विकासे सास फेरेर म मखमली गद्दामा निदाउन सक्दिनँ । मलाई ढुङ्गाको  सिरानी, माटाको न्यानो र हावाको छानो प्यारो लाग्छ ।

जीव र वनस्पतिको अस्तित्व पृथ्वीसँग जोडिएको छ । मानवीय अस्तित्व जोगाउन स्वस्थ पृथ्वी चाहिन्छ ।  स्वास्थ्य समृद्धि निष्पक्षतासँग सम्बन्धित हुन्छ । मानिसको स्वार्थनिहीत कार्यकलापले प्रकृतिको सन्तुलन गुम्न सक्छ । जलभण्डारको मूल सुक्नु, हिमालमा हिउँ पातलिनु, पहाडका पाटा र मधेशका गराको उर्वरा शक्ति घट्नु मानिसका कार्यकलापका उपज हुन् । मानिसको स्वास्थ्य मानिसकै कारण बिग्रन्छ अनि पृथ्वीको स्वास्थ्य पनि मानिसकै कारण बिग्रन्छ । ताल, खोला र समुद्रका माछाको सङ्ख्या प्रकृतिले घटाएको होइन । वर्षचक्र प्रकृतिले परिवर्तन गरेको होइन । ओजोनमा हमला प्रकृतिले गरेको होइन । रेनफोरेस्ट र मुगा चट्टान विनाश हुनु, प्रकृतिमा स्वतः उपलब्ध यार्चागुम्बाजस्ता जडीबुटी लोप हुनु चिन्ताको विषय हो । चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ, प्रकृतिलाई विनाश गर्दै सृष्टिको अन्त्य गर्छ ।  म मेरो र मेरा सन्तानको अन्त्य चाहन्नँ । विश्व वन्यजन्तु संरक्षण कोषले आयोजना गर्ने अर्थ आवर, वृक्षरोपण तथा चेतनामूलक सम्मेलन, हरित गृह ग्यास न्यूनीकरण, जलवायु परिवर्तन कोष स्थापना जस्ता पर्यावरण सुरक्षाका आधारलाई म मेरो जीवन आधारका रूपमा स्वीकार गर्छु ।

पर्यावरण आफैँ विनाश हुँदैन तर विनाश हुन नदिन संरक्षण गर्नुपर्छ । पर्यावरणको संरक्षणमा नारी पुरुष दुवैको दायित्व हुन्छ । पर्यावरणीय दुरावस्था र नारी उत्पीडन दुवै सामाजिक समस्या हुन् । हाम्रो विश्वासले प्रकृतिलाई आमासरह ठान्छ  । अहिलेको विश्वले पनि महिला र प्राकृतिक संसाधनको शोषणसँग सम्बन्धित सांस्कृतिक, सामाजिक र राजनीतिक पक्षको आलोचना गर्छ ।

पितृसत्तात्मक संरचनाका कारण पुँजीवाद मौलायो र प्राकृतिक संसाधनको अत्यधिक दोहन भई पर्यावरणीय शोषण शुरु भयो । पितृसत्तात्मक सोचका कारण महिलालाई श्रमिकको रूपमा कम मूल्यमा प्रयोग गरियो  । महिला र महिला अधिकारमाथि शोषण भयो । विकास परियोजनाले प्राकृतिक संसाधनको शोषण गरेर पर्यावरणीय सङ्कट सिर्जना गरे । महिलाको अधिकार र जीवनस्तरलाई खतरामा पारे, प्रकृति र कृषिमा निर्भर ग्रामीण महिलालाई जीविकोपार्जनको गर्तमा डुबाए । कृषि कार्यमा संलग्न महिलाले अधिकार र अवसर पाएनन् । हानिकारक कृषि प्रणालीले प्राकृतिक संसाधनको नाश र महिलाको स्वास्थ्यको विनाशलाई विकासको रूपमा पहिचान दिए । यो पर्यावरण ह्रासको कारण बन्दै आयो तर कसैले रोक्ने प्रयास गरेनन् । महिलालाई प्राकृतिक संसाधनको स्वामित्व र प्रयोगमा सामाजिक न्याय दिनुभन्दा आवाज रोकेर रोगको उपहार दिनुलाई उन्नति मानियो । सामाजिक न्यायलाई सिद्धान्तमा सीमिति गरियो, व्यावहारिक बनाइएन । समान अधिकार र न्यायका लागि इको नारीवादलाई प्रोत्साहन गरिएन ।

प्राकृतिक सौन्दर्य प्राकृतिक वातावरणको विशिष्ट आकर्षण हो । यसले आत्मिक शान्ति र आनन्द दिन्छ । पर्वत, नदी, वन्यजीवन, ताल र बगैँचा यसका अवयव हुन् । नारी प्रकृतिसँग पुरुषभन्दा नजिक हुन्छन् । धर्म, संस्कृति, परम्परा, मनोविज्ञान, भाषा, आयआर्जनमा महिलाको श्रम, सीप र बुद्धि प्रबल हुन्छ । पुरुषका प्रयत्न तुलनात्मक रूपमा वातावरणविरोधी देखिन्छन् । प्रकृतिको पीडाशमनमा महिलामा समानुभूति हुन्छ । पर्या साहित्यले नारी र प्रकतिको पीडा मुक्ति  गर्छ । म मुक्तिमार्गको यात्री बनी अन्तिम लक्ष्य चुम्न चाहन्छु ।

मानिसको उत्पत्तिदेखि नै मानिस र पर्यावरणको सम्बन्ध जोडिएको छ । आदिवासी र पर्यावरणको अन्तर्सम्बन्ध हुन्छ । आदिवासी पर्यावरण संरक्षणका अभियन्ता र प्रकृतिका पूजक हुन् । आदिवासीमा पर्यावरणीय अनुभव र परिस्थितिक ज्ञानको भण्डार हुन्छ  । प्रकृतिमा आउने परिवर्तन र प्राकृतिक विपत्तिका बारेमा आदिवासीमा आदिम ज्ञान हुन्छ । आदिवासी जनजीवनमा आधारित वातावरणीय लेखनले पर्यावरणीय समस्याको वैज्ञानिक समाधान गर्छ । आदिवासीको ज्ञान, रैथाने सीप र वातावरणीय संवेदनालाई बुझ्ने सन्देश पर्यावरण संरक्षणको उत्तम प्रयत्न हुन्छ ।

आदिमकालदेखि  धर्मले  प्रकृतिको संरक्षण गरेको छ । स्वच्छ वातावरणमा जिउन पाउनु मौलिक हक हो भन्ने कुरालाई पूर्वीय धर्मग्रन्थमा पृथ्वी शान्ति र सर्वशान्तिको भावनासहित प्राथमिकतामा राखिएको छ । हाम्रा शास्त्रमा वर्णित पर्यावरण संरक्षण र यसको महत्त्वका  विषयवस्तु  स्तुत्य छन् । धर्ममा धार्मिक संसकारलाई पशुपक्षी र वनस्पतिसँग जोडिएको छ । खाना पकाउने दाउरा, पूजामा प्रयोग हुने समिधा र शव जलाउन प्रयोग हुने काठ भिन्नभिन्न हुन्छन् । विभिन्न धार्मिक कार्यमा भिन्नभिन्न फलफूल, वनस्पति र जडीबुटीको प्रयोग हुन्छ । यसले प्राकृतिक तवरले वनस्पति संरक्षणमा जोड दिएको छ ।  धर्मको साँचो पालनाले जापानले वनको महत्त्व बुझ्यो, मिश्रले पानी चिन्यो । मलाई धार्मिक पर्यावरणका अनेक अध्यायभित्र चुर्लुम्म डुब्ने रहर छ ।

पर्यावरणको सुरक्षाका लागि पर्या साहित्यकारको विशेष भूमिका हुन्छ । वातावरणविद्को शक्तिशाली कलमले पर्यावरणीय समस्या जनतामाझ पुर्‍याउन सक्छ । यसले प्रत्युत्पन्न शक्तिसँग हुङ्कार गर्न सक्छ ।  समथर, खोँच, मधेश, मरुभूमि, हिउँ, पहाड, जङ्गल, वन्यजन्तु आकर्षक जैविक विविधता हुन् । वन्यजन्तु चोरी शिकारी र यसको अवैध व्यापार जैविक विविधता ह्रासको कारक हो । यो पर्या साहित्यको विषयवस्तु बन्न सक्छ । पर्या साहित्यले बाढीको वितन्डा, आगलागीको लप्का, हिमतालको फुटाइ र खडेरीको पीडाको वर्णन गरी सचेत बनाउन सक्छ । हात्तीको दाह्रा, गैँडाको खाग र बाघको छालाको तस्करीको कथा बुनेर पर्यावरण जेगाउन सक्छ ।

मानिसको कार्यकलाप वातावरणमैत्री बनाउन र हराभरा पृथ्वीलाई सन्ततिमाझ जस्ताको तस्तै हस्तान्तरण गराउन कलमले अव्यवस्थित विकाससँग युद्ध गर्न सक्छ  । शस्त्रको युद्धभन्दा कलमको युद्ध प्रभावकारी हुन्छ । शस्त्र विनाश बुद्धि हो, कलम सृष्टि  हो ।  कलम पर्यावरण संवर्धनको सृष्टि शिल्प हो । म मेरो आँगनको सृष्टि शिल्पी बन्न चाहन्छु ।

जलवायु परिवर्तनले तापक्रम बढाएर, बाढीपहिरो ल्याएर, वर्षात् गराएर, खेडेरी पारेर मानिस तथा वन्यजन्तुको बसाइलाई प्रभाव  पार्छ ।  जलवायु परिवर्तनको कारक चाहिँ मानिस मात्र हो ।  मानिसले पर्यारणलाई वातानुकूल बनाउन सक्छ । वातावरणले मानिसलाई शान्ति दिन्छ । प्रकाश, हावा, तापमान, जमिन र पानीमा आउने परिवर्तनले एकअर्कालाई प्रभाव पार्छन् । यिनको संरक्षणका प्रयास मनोरञ्जनात्मक र परिवर्तनकारी हुन्छ । मेरो  गाउँ शीतल, सफा  निर्जन, शान्त र चोखो  छ । शहर तातो, भिड, कोलाहलमय र तनावपूर्ण  छ । म तनावको सेजभन्दा शान्तिको गजरासँग मितेरी लाउँछु ।

अबको हाम्रो लेखनी हरियो वन, कोइलीको गीत, डाँफेको नाच, सुक्दै गरेको झरना, पग्लिएको हिमाल, लोपोन्मुख हिउँ चितुवा र ध्रुवीय भालुमा केन्द्रित हुनुपर्छ ।  हिमरेखा माथि सर्नु, बाघ, भालु, गैँडा लोप हुनु,  पोखरी र खोला दूषित हुनुका कारण, प्रभाव र संरक्षणमा केन्द्रित हुनुपर्छ । साहित्यले मानिसका संवेगलाई मात्र वर्णन गरेर पुग्दैन । प्रदूषण र बाढीपहिरामा प्राण गुमाएका वन्यजन्तु साहित्यका विषय बन्नुपर्छ । डढेलाले बास गुमाएका पशु, बासस्थान नस्ट भएपछि विस्थापित वन्यजन्तुका कहानीमा महाकाव्य लेखिनुपर्छ । हात्ती चढेर  राष्ट्रिय निकुञ्जमा गरिएको वन्यजन्तुको दर्शनलाई यात्रावर्णनमा समेटिनुपर्छ । के  पालमा सुतेर खाइएको रैथाने  खानाको वर्णन साहित्य बन्दैन र ? अब हामीले सर्प जयन्ती, भालु जयन्ती, माटो जयन्ती, पृथ्वी जयन्ती, वन दिवस, साग पर्व मनाए हुन्न ? पुराना कागज, खाली सिसी र फलामका टुक्रा बटुल्ने श्रमजीवी र सफाइकर्मीको कहानी रामायण बन्न सक्दैन ? प्रकृति र वातावरणलाई चलचित्रका पर्दामा उतार्न सकिँदैन ? रैथाने बालीको उत्पादन र प्रयोगको गौरव योजना बनाउन सकिन्न ? मलाई यी विषयले मर्ममै छोएका छन् र मेरो कलम लेख्दालेख्दै थरथरी काम्न थालेको छ । कलम दूरदर्शी हुन्छ । मेरा कलमका डोबले त्रासद भविष्य देखिसकेको छ । मलाई त्रासदी ओढेर परिवारसहित त्रिवेणी मेलामा घुम्ने रहर छैन ।

वातावरण, वन्यजन्तु र वनस्पति मानिसका लागि अन्तरसम्बन्धित प्राकृतिक स्रोत हुन् ।  प्राकृतिक स्रोतको समतापूर्ण उपयोग पर्यावरणको सम्मान हो । म आफू, मानिस र पृथ्वीको सम्मानलाई जीवनमन्त्र ठान्छु ।