विराट् अटव्य खाण्डव–वन ठूलो अग्निकाण्डमा परेर खरानीका विशालाकार ढिस्काहरूमा परिणत भएको थियो । स्वयं अग्निदेवले ब्राह्मणदेवको रूप धारण गरेर श्रीकृष्ण र अर्जुनका समक्ष खाण्डव महावनलाई जलाउने इच्छा व्यक्त गरेका थिए । श्रीकृष्ण र अर्जुनले उनको याचना तत्क्षण स्वीकार गर्नुभएको थियो । अनि अग्निदेवले वरुणदेवबाट लिएर अर्जुनलाई गाण्डीव धनुष र शस्त्रास्त्रले भरिएको रथ तथा श्रीकृष्णलाई सुदर्शन चक्र र कौमोदकी गदा पनि अर्पण गरेका थिए । ती दिव्य युद्ध–सामग्रीका सामर्थ्य प्राप्त गरेर श्रीकृष्ण र अर्जुनले खाण्डववनलाई चारैतिरबाट घेरेर बन्द गरिदिएका थिए अनि अग्निदेवले सबैतिरबाट पसेर विशाल ज्वालावली फिंजाउँदै त्यो विराट् खाण्डव–वनलाई लगातार पन्ध्र दिनसम्म डढाएका थिए । यसबीच खाण्डव बचाउन खोज्ने इन्द्रादि देवगण र श्रीकृष्णार्जुनका बीच घमासान युद्ध भएको थियो । अन्त्यमा पराजित भएका इन्द्रले दुवैसँग मित्रताको हात बढाउँदै वरदान समेत दिएका थिए ।
यो महत् अग्निकाण्डमा परेर खाण्डववासी सारा पशुपक्षीहरू जलेर खरानी बनेका थिए । केही विशिष्ट प्राणीहरू मात्र विशेष सौभाग्यवश त्यहाँबाट बच्न सफल भएका थिए । ती थिए : नागराज तक्षकको छोरो अश्वसेन, मयासुर दानव र चार शाङ्र्गक पक्षीहरू ।
ती कसरी बाँच्न सफल भए ? त्यसको रोचक वृत्तान्त यसप्रकार छ :
अश्वसेन
अश्वसेनका पिता नागराज तक्षक हस्तिनापुरतिर गएकाले त्यस अग्निकाण्डका बेला त्यहाँ उपस्थित थिएनन् । चारैतिर आगो लागेपछि अश्वसेन मृत्युको भयले कहालिएको थियो । त्यसै बेला उसकी आमाले उसलाई निलेर आफ्नो शरीरभित्र सुरक्षित राखेकी थिई । त्यो त्यहाँबाट उडेर जान लाग्दैथिई । अर्जुनको दृष्टि त्यसमाथि परिहाल्यो र उनले तीखा बाण हानेर उसको शिरच्छेदन गरिदिए । अश्वसेन भने आमाको काटिएको शिरोभागबाट फुत्त निस्किएर सल्बलाउँदै उम्किन सफल भएको थियो । वास्तवमा देवराज इन्द्रले ठूलो हुरीबतास पैदा गरेर त्यो बेला अर्जुनको ध्यानभङ्ग गरेका थिए । फलस्वरूप अश्वसेनले कुलेलम ठोक्ने मौका पाइहाल्यो । तर, अर्जुनले त्यसलाई तत्क्षण शाप दिएका थिए : तँ आश्रयहीन भएस् भनेर ।
मयासुर दानव
दानवहरूका महान् शिल्पी मयासुर पनि त्यो बेला तक्षकका घरमा त्यही खाण्डव वनमा थिए । आगोले पिल्सिने स्थिति आएपछि मयासुर त्यहाँबाट भाग्न लागेका थिए । त्यसैबेला अग्निले आफ्ना लप्काले त्यसमाथि आक्रमण गर्न लागेका थिए भने श्रीकृष्णले सुदर्शन चक्र उजाउन लाग्नुभएको थियो । अब आफ्नो ज्यान जानेभयो भनेर कहालिंदै मयासुर ती दुवैको आक्रमणबाट बच्न दौडिएर अर्जुनका समक्ष पुग्यो र उनका गोडामा छाँद हालेर जीवनदान माग्न लाग्यो । शरणागतमाथि दयालु बन्दै अर्जुनले भने : नडराऊ, तिमीलाई केही हुँदैन । यसरी अर्जुनले अभयदान दिएपछि श्रीकृष्णले पनि नमुचिको भाइ र दानवहरूको शिल्पी त्यस मयासुरलाई मार्ने मन गर्नुभएन, अग्निदेवले पनि आक्रमण गरेनन् । यसरी मयासुरको ज्यान बच्यो । पछि उसैले ठूलो शिल्प लगाएर पाण्डवहरूका निम्ति भव्य महल तैयार गरेको थियो ।
चार शाङ्र्गकहरू
परापूर्वकालमा मन्दपाल नामक एक विद्वान् महर्षि थिए । ती धर्मज्ञहरूमा श्रेष्ठ तथा परमतपस्वी थिए । उनी शरीर त्याग गरेपछि पितृलोकमा पुगे तर त्यहाँ उनलाई सत्कर्मको फल प्राप्त भएन । देवताहरूले भने : हे ब्रह्मन्, तपाईंले तपस्या त गर्नुभयो तर आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्नुभएन त्यसैले पुण्यलोकको भागी हुनुभएन । हे महर्षि, मानव जन्मँदै तीन ऋण लिएर जन्मिएको हुन्छ : देवऋण, ऋषिऋण र पितृऋण । यज्ञकर्मद्वारा देवऋणबाट, ब्रह्मचर्यद्वारा ऋषिऋण र प्रजोत्पादनद्वारा पितृऋणबाट मुक्त हुन्छ । तपाईं आफ्ना सत्कर्मद्वारा पहिलो र दोस्रो ऋणबाट त मुक्त हुनुभयो तर तेस्रो पितृऋणबाट मुक्त हुनुभएको छैन । सन्तानोत्पादन गरेपछि मात्र पितृऋणबाट मुक्त भइन्छ । त्यसैले हे विप्रवर, अब सन्तानोत्पादन गर्नुहोस् र ऋणमुक्त बनेर पुण्यलोकको भोग गर्नुहोस् ।
देवताहरूका यी वचन सुनेर मन्दपाल मुनिले विचार गरे : कसरी चाँडै सन्तानोत्पादन गरेर पितृऋणबाट मुक्त होऊँ ? यसरी सोच्दै उनी चाँडै नै अधिक सन्तान दिने पंक्षीहरूका छेउ गए र आफू स्वयं शाङ्र्गक पक्षी बनेर जरिता नाम गरेकी शाङ्र्गिकासँग समागम गरेर चार ब्रह्मवादी मुनिहरूलाई जन्म दिए । अनि, अण्डावस्थामै रहेका सन्तानहरूसहित जरितालाई चटक्क छोडेर उनी अर्की पक्षिणी लपिताका छेउ गए ।
उनी लपितासँग आनन्द–विहार गर्दै थिए । त्यसैबेला उनले खाण्डववन दाह गर्न तम्तयार भएका अग्निदेवलाई देखे । अनि वनमा रहेका आफ्ना पुत्रहरूको रक्षाका लागि यसरी अग्निदेवको प्रार्थना गर्न लागे :
त्वमग्ने सर्वलोकानां मुखं त्वमसि हव्यवाट्
त्वमन्तः सर्वभूतानां गूढश्चरसि पावकः ।
त्वामेकमाहुः कवयस्त्वामाहुस्त्रिविधं पुनः
त्वामष्टधा कल्पयित्वा यज्ञवाहमकल्पयन् ।
त्वया विश्वमिदं सृष्टं वदन्ति परमर्षयः
त्वदृते हि जगत् कृत्स्नं सद्यो नश्येद् हुताशन ।
तुभ्यं कृत्वा नमः विप्राः स्वकर्मविजितां गतिम्
गच्छन्ति सह पत्नीभिः सुतैरपि च शाश्वतीम् ।
त्वामग्ने जलदानाहुः खे विषक्तान् सविद्युतः
दहन्ति सर्वभूतानि त्वत्तो निष्क्रम्य हेतयः ।
जातवेदस्त्वयैवेदं विश्वं सृष्टं महाद्युते
तवैव कर्म विहितं भूतं सर्वं चराचरम् ।
त्वयाऽऽपो विहिताः पूर्वं त्वयि सर्वमिदं जगत्
त्वयि हव्यं च कव्यं च यथावत् सम्प्रतिष्ठितम् ।
त्वमेव दहनो देव त्वं धाता त्वं बृहस्पतिः
त्वमश्विनौ यमौ मित्रः सोमस्त्वमसि चानिल : । मभा, आप, २२८अ, २३ देखि ३१ श्लो ।
हे अग्निदेव, तपाईं नै समस्त लोकका मुख हुनुहुन्छ, तपाईंले नै सबै देवताहरूलाई हविष्य पुर्याउनुहुन्छ । हे पावक, तपाईं सबै प्राणीहरूका अन्तस्तलमा गूढ रूपमा विचरण गर्नुहुन्छ । विद्वान्हरू तपाईंलाई अद्वितीय ब्रह्म भन्दछन् । दिव्य, भौम र जठरानलका रूपमा तपार्इँका तीन रूपहरूको बयान गर्दछन् । पृथिवी, अप, तेज, वायु र आकाश, सूर्य, चन्द्र र यजमान यी आठ मूर्तिहरूमा विभक्त गरेर ज्ञानी पुरुषहरूले तपाईंलाई नै यज्ञवाहन बनाएका छन् । महर्षिहरू भन्दछन् – यो सारा सृष्टि तपाईंले नै सम्पन्न गर्नुभएको हो । हे हुताशन, तपाईं विना यो चराचर जगत् तत्काल नष्ट हुन्छ । सकल ब्राह्मणवर्ग तपाईंलाई नै प्रणाम गरेर सनातन गतिलाई प्राप्त गर्दछन् । आकाशमा रहेको विद्युदग्नि पनि तपाईंकै स्वरूप हो । प्रलयकालमा भयङ्कर ज्वालावली लिएर तपाईंले नै यस जगत्लाई भस्म गर्नुहुन्छ अनि हे जातवेदा, पुनः तपाईंबाट नै यो समस्त विश्व उत्पन्न पनि हुन्छ । तपाईंद्वारा नै समस्त कर्महरूको विधान पनि मानिएको छ । समस्त चराचर जगत्को सृष्टि पनि तपाईंबाटै हुन्छ । पुराकालमा तपाईंबाट नै जल पनि प्रकट भयो । यो विश्वब्रह्माण्ड तपाईंमै प्रतिष्ठित रहेको छ । तपाईंमा नै हव्य र कव्य प्रतिष्ठित छन् । तपाईं नै दग्ध गर्ने अग्नि, धारण पोषण गर्ने धाता र बुद्धिका स्वामी बृहस्पति पनि हुनुहुन्छ तपाईं नै अश्विनीकुमारद्वय र मित्र, चन्द्रमा अनि वायु पनि हुनुहुन्छ ।
यसरी स्तुति गरिएका अग्निदेवले आखिरमा मन्दपाल मुनिलाई भने : म तपाईंको के अभीष्ट सम्पन्न गरुँ ? मन्दपालले भने :
खाण्डवदहनका वेला कृपया मेरा पुत्रहरूलाई बचाइदिनुहोला । तथास्तु ! भनेर अग्निदेव पनि अगि बढे ।
उता जब खाण्डववनमा विकराल कालरूप अग्निज्वाला लपलपाउन थाल्यो अनि जरिताले आफ्ना चारै नवजात शिशुहरूलाई मूसाका दुलोमा लुक्न लगाइन् । तर तिनीहरूले भने : मूसाले हामीलाई कहाँ छोड्लान् र । जरिताले भनी : होइन, बाबू प्वालमा मुसो छैन, मैले आफ्नै आँखाले देखेकी हुँ : मूसालाई बाजले शिकार बनाएर उडाइसकेको छ । तिनले भने : अरु पनि त मूसा त्यहाँ हुन सक्छन्, त्यहाँ सुरक्षा छैन ।
आगाको लप्का त्यतैतिर बढ्दै थियो । त्यो देखेर ती सबै मुनिकुमार शाङ्र्गकशिशुहरू एकाग्र भावले अग्निदेवको स्तुति गर्न लागे । जेठो जरितारि, माइलो सरिसृक्क, साइँलो स्तम्बमित्र र कान्छो द्रोण ती सबै जन्मजात ब्रह्मज्ञानी थिए । ती सबैले अन्तस्तलदेखि ध्यानमग्न बनेर वैदिक वाङ्मयका मन्त्रहरूको भावमयतामा अग्निदेवको स्तुति गर्न लागे ।
उनको स्तुति सुनेर अग्निदेव प्रसन्न भए र भने— लाग्दछ तिमीहरू ऋषिपुत्र हौ, म तिमीहरूको स्तुतिबाट प्रसन्न बनें । मन्दपाल मुनिले पहिले नै तिमीहरूको प्राणरक्षाका लागि निवेदन गरेका थिए । तिमीहरूलाई म अभयप्रदान गर्दछु । यसरी अग्निदेवले तिनको रक्षा गरे ।
उता मन्दपाल मुनिलाई चिन्ता लागी नै रह्यो । यद्यपि अग्निदेवले तथास्तु त भनेका थिए तैपनि उनका मनमा शान्ति थिएन । सन्तानका लागि सन्तप्त हुन लागेको देखेर लपिताले भनी : तिमी मलाई माया नै गर्दैनौ, खालि त्यही जरिता र उसका सन्तानकै मात्र पीर गर्दछौ । तिमी त्यसै जरितासँगै जाऊ, म पनि दुष्ट पुरुषको आश्रयमा रहेकी स्त्री झैं एक्लै वनमा विचरण गरुँली ।
यता अग्निेदवले सुरक्षित राखेका सन्तानहरूका छेउमा मन्दपाल मुनि पुगे । तर, त्यहाँ कसैले पनि तिनलाई अभिनन्दन गरेन । उनले भने : हे जरिता, मेरा जेठा माइला साइँला अनि कान्छा छोरा कुन कुन हुन्? उसले भनी : तपाईंलाई किन चाहियो ? पहिले मलाई हीन सम्झिएर जहाँ गएका थियौ त्यसै मनमोहक मुस्कानवाली तरुणी लपितासँगै जाऊ न, यहाँ किन आउनुपर्यो ?
मन्दपाल मुनिले भने :
न स्त्रीणां विद्यते किंचिदमुत्र पुरुषान्तरम्
सापत्नकमृते लोके नान्यदर्थविनाशनम् ।
वैराग्निदीपनं चैव भृशमुद्वेगकारि च
सुव्रता चापि कल्याणी सर्वभूतेषु विश्रुता ।
अरुन्धती महात्मानं वसिष्ठं पर्यशङ्कत
विशुद्धभावमत्यन्तं सदा प्रियहिते रतम् ।
सप्तर्षिमध्यगं धीरमवमेने च तं मुनिम् ।
अपध्यानेन सा तेन धूमारुणसमप्रभा
लक्ष्यालक्ष्या नाभिरूपा निमित्तमिव पश्यति । मभा, आप, अ २३२, श्लो २६ देखि २९।
यस लोकमा रहेका स्त्रीहरूमा परपुरषसँग सम्बन्ध र सौतेनी डाहबाहेक कुनै अरु त्यस्ता दोष छैनन् जसले परमार्थको विनाश गरुन् । विशेषतः सौतेनी डाह यस्तो वस्तु हो जसले सदा वैरभावको आगो भड्काउँछ, उद्वेग बढाउँछ । समस्त प्राणीहरूमा सुविख्यात, उत्तम व्रतको पालना गर्ने भएकी कल्याणमयी अरुन्धतीले समेत आफ्ना पति महात्मा वशिष्ठमाथि शंका गरेकी थिइन् जो सदा उनकै हितचिन्तनमा लागिरहन्छन्, सप्तर्षिमण्डलका मध्यमा सदा विराजमान रहन्छन् । त्यस्ता धैर्यशाली महामुनि, सरल शान्त स्वभावका वशिष्ठलाई पनि सौतेनी डाहका कारण तिरस्कार गरिन् । यस्तो अशुभ चिन्तनले गर्दा नै अरुन्धतीको अङ्गकान्ति धूमिल बन्न गयो । तिनी घरि लक्ष्य र घरि अलक्ष्य बनेर यस्तो लाग्दछ — मानौं कुनै कारण खोजिरहेकी हुन्छिन् ।
आज म आफ्ना पुत्रहरूलाई भेट्न आएको छु, तैपनि तिमी मेरो तिरस्कार गछ्र्र्याै, आफ्नो अभीष्ट वस्तु प्राप्त गरिसकेपछि तिमी जसरी मसँग सन्देहयुक्त व्यवहार गर्दछ्यौ लपिता पनि ठीक त्यस्तै व्यवहार गर्दछे ।
न हि भार्येति विश्वासः कार्यः पुंसा कथञ्चन ।
न हि कार्यमनुध्याति नारी पुत्रवती सती ।। मभा, आप, २३२ अ, ३१श्लो ।
यो मेरी भार्या हो भनेर पुरुषले स्त्रीमाथि कहिल्यै पनि विश्वास नगर्नू, किनभने स्त्री पुत्रवती भइसकेपछि पतिसेवा आदि आफ्ना कर्तव्यमाथि पटक्कै ध्यान दिन्नन् ।
यसरी शाङ्र्गक पक्षीका रूपमा रहेका मन्दपाल मुनिले यति कुरा भनिसकेपछि ती चारै पुत्र विनीत भावले आफ्ना पिताका सान्निध्यमा गए । ती चारै पुत्रलाई सान्त्वना दिंदै उनले भने : मैले अग्निदेवलाई पहिले नै प्रार्थना गरिसकेको थिएँ र उहाँबाट तिमीहरूको रक्षा गर्ने वचन प्राप्त गरिसकेको थिएँ । उहाँले दिनुभएको त्यही वचन स्मरण गरेर, तिमीहरूकी आमा जरिताको धर्मज्ञतालाई बुझेर अनि तिमीहरूमा रहेको ब्रह्मज्ञान र आत्मबललाई पनि स्मरण गरेर पहिले म यहाँ आइँन । हे छोराहरू हो, तिमीहरूले मप्रति हृदयमा कुनै दुर्भाव राख्नु हुँदैन । तिमीहरू सबै ऋषिपुत्र हौ, स्वयं ऋषि हौ किनभने तिमीहरूलाई ब्रह्मतत्त्वको बोध भइसकेको छ ।
यसरी पुत्रहरूलाई सान्त्वना दिएर पत्नी जरिता र चारै शिशुसन्तानलाई लिएर ती द्विज मन्दपाल मुनि उडेर सुरक्षित जीवनको खोजमा कुनै अज्ञात दूरदेशतिर लागे ।
…..
महाभारत, आदिपर्व , २२७ देखि २३२ अध्यायमा आधृत ।
२०८२ साल आषाढ २० गते शुक्रवार ।
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










