निरन्तर नवनव रूपमा परिवर्तित हुँदै जाने क्रियाकै नाम गति हो र यही सजीवताको प्रतीक पनि हो । हुन त भुइँचालो गएको बखत निर्जीव डाँडो पनि हल्लिन्छ, त्यहाँ पनि एउटा गति देखिन्छ । बाढीले हराभरा फाँटलाई बगरमा परिणत पार्छ, त्यहाँ पनि एउटा परिवर्तन देखिन्छ । त्यसैले हामी ठान्छौँ मानौँ प्रकृति नै स्पन्दनशील छ । यो पनि एक प्रकारको गति नै हो, जस अनुसार हिजोको वैधवशाली नगरहरू आज महेन्जोदाडो र हरप्पाका टुटे फुटेका भग्नावशेष रूपमा परिवर्तित भएका छन् । हिजोका कैयौँ पट्याइलाग्दा बगरहरू आज रहरलाग्दा नगरमा परिणत भएका छन् । पुरातत्त्ववेत्ताहरूले प्रकृतिको यस किसिमको गतितिर निकै चाख लिएका हुन्छन् । तर ख्याल राख्नु पर्ने कुरा के छ भने प्राकृतिक तत्त्व मात्र गतिको प्रेरक तत्त्व होइन, अन्तर्निहित चेतनाशिलता र स्पन्दनशीलताबाट प्रेरित मानवीय चटपटेपन, चाल र चाखहरूमा नै गतिको वास्तविक छाँया देख्न सकिन्छ । यो गति भुइँचालो जाँदा डाँडोमा आउने गतिभन्दा धेरै फरक हुन्छ, यो गतिको परिमाणस्वरूप हुने परिवर्तन बाढीले फाँटमा ल्याउने परिवर्तनभन्दा बेग्लै छ । त्यसैले हामी गतिलाई सजीवताको प्रतीक मान्छौँ र गतिहीनतालाई जडता भन्छौँ ।
मानिस एक चेतन र स्पन्दनयुक्त सजीव तत्त्व हो, त्यसैले उसको जीवन, उसको समाज, उसको सभ्यता, उसको इतिहास र एक शब्दमा उसको संसार नै गतिशील छ र परिवर्तनशील छ । त्यसैले हामी देख्दै आएका छौँ आदिम ढुङ्गे युगदेखि आजको रकेट युगसम्म मावनजातिको इतिहास कसरी चल्दै र चलमलाउँदै, बन्दै र बदलिँदै आएको छ । प्राकृतिक रहस्यहरू खोज्ने र खोताल्ने क्रममा अपार अपार महासागरहरू तरेर मात्र नपुगी अपरम्पारको आकाश फड्कन समेत कसिएको आजको मानिस र मेघ गर्जँदा रुखको टोड्कोभित्र लुकेर केके न हुन आँट्यो भनी तर्सने अथवा अलि चलाख भएपछि त्यो गर्जनले पनि मासु खानै त खोजेको होला नि भन्ठानी ‘इन्द्राय नमः’ गर्ने मानिसमा आकाश जमीनको फरक छ । मान्छेले जमीन खोस्रन थालेको मुहूर्तदेखि आकाश खोतल्न लागेको बेलासम्म उसको इतिहासमा कुन पहाड कसरी पग्लदै गयो ? कुन कुन नदी कसरी घुम्दै गयो को को जन्मे ? कति सङ्घर्ष, क्रान्ति, युद्ध र महायुद्धहरू भए ? जीवन जगतप्रति धारणा र मान्यताहरू क्सरी कसरी परिवर्तित हुँदै आए ? यी सबको लेखाजोखा गरेर साध्य छैन । केवल यत्ति भन्न सकिन्छ – गति रोकिएको छैन ।
हो, गति रोकिएको छैन । यो कोशी झैँ बगिरहेको छ । नित्य निरन्तर नै बगिरहेको छ । तर यसको क्रम भने कतै तीव्र, कतै सुस्त, कतै भयानक र कतै शुष्क गरी सदा एकनासको छैन । भनुँ भने मानव जातिको इतिहासको गति सुल्टो मात्र होइन कतै उल्टो पनि देखिन्छ ।
उत्तरको पहाडी प्रदेशमा झर्ने प्रायः नेपालका नदीहरू पानीको स्वभाव अनुसार भिरालो–भिरालो हुँदै दक्षिणतिर नै बग्दछन् । प्रकृति अनुसार यो सब्ल्याँटो गति हो । तर वर्षामा कोशी र गण्डकीको वेग यस्तो जथाभावीसित दौडिदिन्छ कि आफ्नो डोरेटो मात्र दौडेर नपुगी कहिलेकहीँ स्वभाविक दिशा नै बिर्सेर जताबाट पायो उतैबाट भाँडिन्छन् । फलस्वरूप एकातिर उर्वराक्षेत्रहरू जलमग्न हुन्छन् त अर्कातिर नदीले छाडेका क्षेत्रमा सयौं वर्षसम्म दिक्क लाग्दा भड्खाराहरू रहन्छन् जसबाट अर्कातिर क्षतिग्रस्त क्षेत्रको उपलब्धि पूर्ति हुन सक्दैन ठीक त्यसैगरी समाजको गति विभिन्डिएको, बिब्ल्याँटो मोडमा चलेको उदाहरण इतिहासमा बराबर पाइन्छ । मानिसमा निहित चेतजन्य विवेचन शक्ति र मनजन्य अहम्को सन्तुलन नमिल्नु पनि बङ्ग्याउने एउटा कारण हुनसक्छ । कुरुक्षेत्र मानवीय इतिहासको एउटा बिब्ल्याँटो मोड हो । कारण त्यहाँनेर मानिसको अहम्मान्यताले फेरि ‘मर’ कि ‘मार’को जङ्गली संस्कारतिर इतिहासलाई उल्टाउन खोज्यो । फलस्वरूप त्यहाँसम्म विकसित मानव सभ्यताको ह्रास मात्र भएन, युगौँयुगसँग इतिहासले विकासको स्पन्दन नै पाएन । गति सुस्तक्रममा निवृत्तिमुखी डोरेटोतिर अलमलियो । मान्छे जुन चेतना लिएर सोच्छ त्यसैलाई मिथ्या मान्य थाल्यो, जुन जीवन लिएर बाँच्छ, त्यसैलाई वृथा भन्न थाल्यो । समाज विकासको क्रमिक अध्ययन गर्ने विद्वान्हरूले यस्ता बिब्ल्याँटा मोडहरू धेरै पाएका हुन सक्छन् । टाढा नजाऊँ, धेरै गन्थन नगरुँ भने प्रथम र द्वितीय विश्व युद्ध पनि गति विभिन्डाइका प्रतीक हुन् । युद्ध के गति होइन र ? गति त आवश्य हो तर यो मानवीय विवेक संस्थानको प्रतिकूल भएकाले यसलाई बिब्ल्याँटो गति मान्नु पर्छ । हुन त संहारक तत्त्व, दानवी प्रवृत्ति, अहम्जन्य शक्तिहरूसित युद्ध गरिन्छ भने त्यसलाई प्रतिकूल गतिको प्रतिक भनिहाल्न मिल्दैन तापनि संहारात्मक ध्वंसात्मक कुनै पनि गतिविधि सिर्जनाको सूत्रधार मानवीय चेतनाको दृष्टिमा बिब्ल्याँटो चाल नै हो भन्नु पर्छ । सङ्क्षेपमा जीवनोन्मुखी र विकासोन्मुखी प्रक्रिया सब्ल्याँटो गति हो । मरणोन्मुख र ह्रासोन्मुख प्रक्रिया बिब्ल्याँटो गति हो । ह्रासोन्मुख गतिको प्रतीक युद्ध मात्र होइन, बलियाले निर्धालाई निमोठ्ने, चतुरले सोझालाई ठग्ने प्रक्रिया पनि हो । त्यो ठीक होइन भनी युगौँयुगको अनुभवले पत्ता लगाइसकेर पनि फेरि तिनै प्रवृत्तिलाई उठाउन खोज्नु पनि गतिलाई बिब्ल्याँटो पार्न खोज्नु हो । त्यसैले राजनीतिक शब्दावलीका पुनरुत्थानवाद, प्रतिक्रियावाद र आर्थिक शब्दावलीका सामन्तवाद आदि संज्ञाहरू प्रतिकूल गतिशिलताको परिचायक हुन् । त्यस्तै उदासीनता, निष्क्रियता, नैराश्य पलायन र कुण्ठाहरू मनैवैज्ञानिक दृष्टिले जीवनको स्वभाविक गतिका विकृत र वाधक तत्त्व हुन् भने यिनैलाई गिजलिरहनु पनि स्पन्दनशीलताको बिब्ल्याँटो गति हो । त्यसैले कुनै पनि स्थितिको निरीक्षण गर्दा कुनै पनि धारणाको समीक्षण गर्दा कुनै पनि मान्यताको परिक्षण गर्दा सब्ल्याँटो गतिसित सामन्जस्य राख्छ कि राख्दैन भनेर हेर्ने गर्नु पर्दछ ।
यसै पृष्ठभूमिमा आजको युगलाई हेर्ने हो भने इतिहासको गति यहाँनेर फेरि विभिन्डिरहेको हामी देख्छौँ ।
मान्छेले अन्तरिक्षको ढोका खोल्न लाग्यो – हाम्रो गति कति सङ्लिँदै गयो त भनी हामीलाई खुशी लाग्छ । तर हिरोसिमामा दूबो उम्रिन नपाउँदै अजङ अजङका बम तेर्स्याएर लौ आ त ? भनिरहेका शक्तिशालीहरूको तुजुक देख्दा इतिहासको गति उल्टिएर फेरि अर्को कुरुक्षेत्र खोज्न लागेको त होइन भनी हामीलाई शङ्खा लाग्छ । विज्ञानको कुनै पनि उपलब्धि मानिसमात्रको उपलब्धि हो, सब्ल्याँटो गतिको द्योतक हो । तर प्रयोगमा हाम्रो विवेचना संस्थानले काम गरेन भने यसले गति विभिन्ड्याउने मात्र होइन, गतिलाई ठप्प नै गराउन पनि बेर लागाउँदैन ।
त्यसैले समस्यै समस्याको चाङमाथि आजको महान् समस्या हो विकासको गतिलाई सोझो गोरेटो दिनु । न अल्मल्याउनु र न उल्ट्याउनु । आज जस–जसको हातमा आणविक शक्ति छ । तिनको मुखमा मानव जातिको इतिहासले पुलुपुलु हेरिरहेको छ । मानौँ ऊ भनिरहेको छ – मलाई अगति होइन, प्रगति चाहिएको छ । मलाई ह्रास होइन, विकासको बाटो देऊ, किनभने जीवन जीवनोन्मुख गति चाहान्छ । यही नै सब्ल्याँटो गति हो ।
(‘राजीनामा’ : भैरव अर्यालका विविध रचना : सङ्कलक/सम्पादन : शिव रेग्मी)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










