जनकविकेशरी धर्मराज थापा नेपाली जगतका अभुतपूर्व प्रतिभा हुन् । लोकगीतका गायक, लोकजीवनका अध्येता, नेपाली जगतका भ्रमणकारी, कवि, नियात्राकार धर्मराज थापा साँचो अर्थमा नेपाली जगतकै रत्न थिए । पोखराको बाटुलेचौरमा जन्मेका उनले नेपाल र भारतका नेपालीभाषी क्षेत्रको व्यापक भ्रमण गरेका थिए । उनले नेपाल भ्रमण गर्दाको कृति “नेपाल भ्रमण” महत्त्वपूर्ण दस्तावेज हो उनको स्वदेश भ्रमणको । उनले पूर्वमा असम, सिक्किमदेखि पश्चिममा भाक्सुसम्म पुगेर नेपाली जगतमा ‘नेपालीले मायाँ मार्यो बरिलै’ गाउँदै तत्तत् ठाउँका नेपालीहरुलाई धुरुधुरु रुवाएका थिए ।
यस्ता नेपाल रत्नसँग २०३७ सालमा पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको टिकटमा मुक्तक कार्यक्रमको सिलसिलामा पोखरा जाँदा भेट भएको थियो र उनले पहिलो भेटमै आफ्नो निवास बाटुले चौर आउने निम्तो दिएका थिए । त्यतिबेला त जाने अवसर मिलेन, तर जतिबेला गएँ, त्यो बेला उनी घरमा थिएनन् र आँगनसम्म टेकेर फर्किएको थिएँ । त्यतिबेलासम्म मलाई थाहा थिएन, बाटुलेचौर छेउकै अमला विसौनी मेरो ससुराली हुन्छ भन्ने कुरा । त्यसपछि त पोखरा पानी पँधेरो नै भैहाल्यो ।
नेपाली जनजनमा भिजेका कवि भएकाले उनले “जनकवि केशरी” को पदवी पाएका थिए र जीवनभर जनजनमा भिजिनैरहे । उनको लोक गायनले उनलाई सधैं लोकप्रियता प्रदान गरिरह्यो । “हरियो डाँडामाथि हलो जोत्ने साथी, हह तारे हह, हह माले हह,” जनजिब्रोमा कहिल्यै पुरानो भएन । उनको गलाबाट पनि यो सधैं सदाबहार उस्तरी नै घन्किरह्यो, जसरी शुरुमा घन्किएको थियो ।
पिता हर्कबहादुर थापा र माता मनमाया थापाका सुपुत्रका रुपमा उनी विसं १९८१ साउन १ गते पोखराको बाटुले चौरमा जन्मेका हुन् । उनलाई २०१३ सालमा राजा महेन्द्रले “जनकवि केशरी” उपाधि दिएका थिए । उनले २०२५ सालमा प्रकाशित “मंगली कुसुम” काव्यका लागि मदन पुरस्कार पाएका थिए भने २०५७ सालमा मदन पुरस्कार गुठीकै “जगदम्बाश्री” पुरस्कार पाएका थिए । यसरी दुवै पुरस्कार पाउने साहित्यकार दुर्लभ छन् ।
उनले स्कुले जीवकालमै गीत गाउन थालेका थिए र गीत गाउँदै विभिन्न ठाउँहरु चहार्नु उनको आदत बनिसकेको थियो । यसरी गाउँदै हिंड्दा पाएको प्रशंसा र प्रोत्साहनले उनलाई कलिलो उमेरमै प्रशस्त ऊर्जा मिलेको थियो । त्यही ऊर्जाले एकदिन उनलाई पखेटा हालिदियो र उनी स्कुले जीवनमै पशुपतिमा शतबीज छर्न आउनेहरुका साथ लागेर काठमाडौं आए र काठमाडौंमै बस्ने मनशायले फर्केनन् । हुन पनि उनले पछि जीवनका अन्तिम वर्षहरु काठमाडौंमै बिताए । काठमाडौंको स्वयम्भू उनको बास भएको थियो ।
उनले मध्यमा पास गरेपछि श्री ३ को गुठी बन्दोबस्तमा नौसिन्दाको जागिर शुरु गरेका थिए । २००२ देखि २००८ सम्म उनले गोरखापत्रमा जागिर खाए । त्यसपछि उनले रेडियो नेपालमा जागिर खाए । उनले रेडियो नेपालको स्थापनाकालदेखि नै त्यहाँ जागीर शुरु गरेका थिए र २०२६ सालसम्म त्यो जागीरलाई निरन्तरता दिए । त्यसपछि २०२६ सालमा उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सह-सदस्य भए ।
हँसिला, रसिला र गीतको भाकामा डुब्ने धर्मराज थापा लोकगीत र लोक संस्कृतिको संकलन सम्बर्धनमा लाग्न उनको रुचि भयो र त्यसले उनको लोकप्रियता व्याप्त भयो, जनजनमा भिजे । ओठओठमा पुगे । तर उनले प्राज्ञिक उचाई बढाउनेतिर ध्यान पुर्याएनन् । यसले उनी प्राज्ञिक क्षेत्रमा उनी अघि बढ्न सकेनन् । सिर्जनाको उचाइलाई पनि धकेल्न सकेनन् ।
विसं २०३७ सालमा पोखरामा भेटेपछि, चिनापर्ची भएपछि उनीसँग मेरो सम्पर्कमा निरन्तरता आयो । भेट्दा आत्मियतापूर्वक उनीसँग कुरा हुन्थ्यो । र, एकदिन २०४० सालमा काठमाडौंमा एउटा रमाइलो घटना घट्यो, जुन मेरो लागि अविस्मरणीय रहेको छ । भयो के भने, म त्रिपुरेश्वरमा तत्कालिन बेलामा रहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा काम गर्थें, एकाउण्टेण्टको रुपमा । अफिस छुट्ने बेलामा मेरी श्रीमती डेराबाट मलाई भेट्न आएकी थिइन्, त्यसपछि कतै जानु थियो । म रजिष्ट्रार अफिसबाट आउँदै थिएँ, जनकवि त्यतिबेला उपकुलपतिको कार्यालयबाट निस्केर आए, ठीक त्यतिबेला मेरी श्रीमती अन्जु मूलगेटबाट भित्र प्रवेश गरिन् । हामी ३ जनाको जम्काभेट भयो । मैले र अन्जुले एकसाथ उनलाई अभिवादन गर्यौं ।
जनकवि केशरीले मेरी श्रीमतीलाई सम्बोधन गर्दै भने, “नानी, यी नेपालका राम्रा कवि हुन् । राम्रो कविता लेख्छन् । पोखरामा पनि आइराख्छन्।” उनी मेरी श्रीमतीलाई मेरो परिचय दिंदै थिए । उनले बोलुन्जेल म चूप लागिरहें । अनि मैले भनें, “हाम्रो बिहे भएको ! हामी श्रीमान् श्रीमती ।”
मेरो कुरा सुनेपछि उनले हामी दुवैलाई एकसाथ अँगालो हाले । खासमा उनले अन्जुलाई पथ्वीनारायण क्याम्पसमा ननक्रेडिट शिक्षा कार्यक्रमका लागि सिफारिस गरेर सहयोग गरेका रहेछन् र छात्रवृत्तिमा मेरी श्रीमतीलाई शिक्षार्जनको मौका मिलेको रहेछ । उनले छोरीजस्तै मान्दा रहेछन् । हामीपछि पनि त्यो रमाइलो घटना सम्झेर हाँसेका थियौँ र उनको निश्छलपनको तारिफ गरेका थियौँ ।
यस्ता नेपाली जगतका रत्नलाई अमेरिका भ्रमणको क्रममा मेरो नेतृत्वमा अभिनन्दन गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो । उनी सन् २००७को जुलाईमा अमेरिका पुगेका थिए । उनी पुगेको खबर मैले मेरो “विश्वपरिक्रमा” पाक्षिकको मुखपृष्ठमा रंगिन फोटोसहित विशेष समाचार छापेको थिएँ । त्यस वर्षको भानु जयन्ती सदाझैं भर्जिनिया राज्यको उडबृजमा अवस्थित लेसिल्भेनिया पार्कमा आयोजना गरिएको थियो र त्यस कार्यक्रममा जनकवि प्रमुख अतिथि थिए । मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजित साहित्यिक कार्यक्रममा उनी प्रमुख आकर्षण थिए । बाल्टिमोरकै कार्यक्रममा तत्कालिन कार्यबाहक नेपाली राजदूत मेरा मित्र कालीप्रसाद पोखरेलले मतर्फ संकेत गर्दै अरु संघसंस्थासहित मिलिजुली जनकविको अभिनन्दन गर्न आव्हान गरेका थिए । म त्यसबेला अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको मेरिल्याण्ड, डिसी , भर्जिनियाको साझा “डिसी मेट्रो च्याप्टर” को अध्यक्ष थिएँ ।
अमेरिकाको सबैभन्दा पुरानो नेपाली संस्था अमेरिका नेपाल सोसाइटी र अनेसास डिसी मेट्रो च्याप्टरको सामूहिक आयोजनामा २१ जुलाईका दिन लोमन्स प्लाजा, फल्स चर्चमा अवस्थित थोमस जेफरसन पुस्तकालयको सभाकक्षमा डिसी मेट्रो क्षेत्रका नेपालीहरुको उपस्थितिमा उनको भव्य अभिनन्दन गरिएको थियो । अभिनन्दन पत्रमा अमेरिका नेपाल सोसाइटीका तत्कालिन अध्यक्ष प्रेम संग्रौला र मैले संयुक्त रुपमा हस्ताक्षर गरेका थियौँ प्रमुख अतिथिसहित । सो कार्यक्रमका लागि नर्थ क्यारोलाइना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने डा. हरिहरप्रसाद भट्टराई आएका थिए र विश्वविद्यालयका तर्फबाट उनले सम्मानपत्र पनि चढाएका थिए । सो समारोहमा साहित्यकार तथा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका पूर्व प्रतिनिधि डा. जयराज आचार्यको पनि उपस्थिति थियो । सो अवसरमा जनकवि केशरीले समयाभावको कारण लामो बोल्ने अवसर त पाएनन्, तर छोटो मीठो र प्रभाविलो मन्तव्य दिएका थिए ।
उनको अमेरिका भ्रमण फलदायी र अविष्मरणीय रहेको थियो । श्रीमती र छोराको साथमा उनी अमेरिका भ्रमणमा थिए । उनको भ्रमणको क्रममै अमेरिकामा दैवीप्रकोपले मिनेसोटाको यौटा पुल क्षतिग्रस्त भएको थियो र सो घटनाको बारेमा उनले तत्कालै कविता रचना गरेर विश्वपरिक्रमा पत्रिकामा प्रकाशनार्थ मलाई पठाएका थिए ।
उनले अमेरिका भ्रमणको सम्झनालाई यौटा काव्यकृति “चिरायू” को नाममा रचना गरेका थिए र सो कृति प्रकाशित पनि भएको थियो ।
जनकवि केशरीले “डाँफे चरी” पत्रिका सम्पादन थालेका थिए, जुन आज पनि उनका सुपुत्रहरुले निरन्तरता दिइरहेका छन् । त्यस्तै “धर्मराज थापा सावित्रीदेवी गुठी” को स्थापना आफ्नो जीवनकालमै गरेका थिए । त्यस संस्थाबाट सम्मान पुरस्कारहरु पनि निरन्तर दिइने गरेको छ । यसबाट उनी आफूले मान सम्मान र पुरस्कार लिने मात्र होइन, अरु प्रतिभालाई पनि प्रोत्साहित गर्नुपर्छ, पुरस्कृत गर्नु पर्छ भन्ने सोचका सर्जक थिए भन्ने बुझ्न सकिन्छ ।
मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार, एकेडेमीको पुरस्कार लगायत उनले जीवनको उत्तरार्धमा बसुन्धरा मान प्रतिष्ठानले प्रदान गर्ने “वसुन्धरा श्री पुरस्कार”बाट २०६८ सालमा पुरस्कृत भएका थिए । यो पुरस्कार ग्रहण गर्न उनी स्वास्थ्यको कारणले सक्षम थिएनन् र उनलाई अस्वस्थ अवस्थामा उनकै निवासमा ओछ्यानमै प्रदान गरिएको थियो । जगदम्बाश्री पुरस्कार उनलाई, “श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत” भन्दै प्रदान गरिएको थियो ।
जनकविले आफ्नो जीवनकालमा पञ्चायती व्यवस्था छँदा बेलाबेलामा राष्ट्रिय पञ्चायतको सदस्य पदको उम्मेदवारी दिने र पछि नाम फिर्ता लिने जुन काम गरे, त्यसलाई भने उनका सच्चा शुभेच्छुकहरुले रुचाएका थिएनन् । त्यसो गर्नुमा उनलाई आर्थिक लाभको कुरासँग पनि जोडेको सुनिन्थ्यो तर ती र त्यस्ता उनका कमजोरी भए पनि उनले नेपाली लोक गीत, संगीत, साहित्यमा पुर्याएको योगदान अतुलनीय छ । तर जीवनको अन्तिम वर्षहरुमा उनी प्रति जिम्मेवार निकायहरुको बेवास्ता भने ननिको लाग्ने पक्ष थियो ।
लामो समयको अस्वस्थतापश्चात् २०७१ असोज २८ गते काठमाडाैँमा उनको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।