
आफ्नै स्टुडियोमा कला सिर्जनामा मग्न के.के. कर्माचार्य
नेपाली कलाक्षेत्रमा विशिष्ट योगदान दिँदै आएका कलाकारको नाम हो– वरिष्ठ कलाकार के.के. कर्माचार्य (कान्छा कुमार कर्माचार्य) । कलाका इतिहासमा छयाङ्ग देखिएका कर्माचार्यको त्यागमय कला जीवन सम्पूर्ण नेपाली कलाकारहरुको निम्ति प्रेरणाको स्रोत बन्छ । नेपाली कलामा उल्लेख्य योगदान दिने थुप्रै कलाकारहरूमध्ये छुट्टै विशेषता सँगालेका कर्माचार्यको जन्म वि.स. २००४ सालमा भएको हो । उमेरको हकमा अलि पर पुगिसकेका उनको सिर्जनात्मक ऊर्जा क्षमता आज पनि युवाकालको जस्तो देखिन्छ ।
सिर्जनाको सन्दर्भमा मौलिक पहिचान र सम्मान कमाई सकेका कर्मचार्यको सम्बद्घता र योगदान सिर्जनाको क्षेत्रमा मात्र सीमित रहेको छैन । उनको सक्रियता र लगन कला सिर्जना सँगसँगै साहित्यमा पनि रहेको छ । साहित्य विधामा विशेषतः बाल साहित्यमा उनको योगदान रहेको छ ।
बालशिक्षामा केन्द्रित बालमनोविज्ञानको पहिचानलगायत कलाक्षेत्रको संस्थागत विकास विस्तार र उत्थान उनको रुचिको विषय हो । कलाको संस्थागत विकासमा पनि उनले योगदान दिँदै आएका छन् । चित्रकार के. के. कर्माचार्य नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हुन् । यस अर्थमा नेपाली कला भूगोलमा कर्माचार्यको मूल्याङ्कन गर्नुपर्दा अलि फराकिलो दृष्टिकोणले हेर्नुपर्ने हुन्छ ।
मूलतः कर्माचार्यको क्रियाशिलतालाई माथि नै तीन श्रेणीमा विभक्त गरिसकिएको छ । कला सिर्जना, कला शिक्षा, बालसाहित्य र नेपाली कलाको संस्थागत विकासमा जागरुक रहने एक प्रतिभाशाली अभियन्ताका रुपमा । यो त भयो उनको मोटामोटी पहिचान । अझ यस भित्रको सूक्ष्मतालाई केलाउने हो भने उनमा निहित रहेको दुई कोशीय कलाशैली वा धार प्रष्ट उजेलिने गर्छ । अर्थात् उनका सिर्जनाहरूलाई दुई वादको धरातलमा उभिएको एक सिर्जनात्मक संवेग भनेर बुझ्न सकिन्छ । प्रथमतः वस्तुवादी यथार्थिक कलाधार र पूर्ण अमूर्त कलाधारमा केन्द्रित रहेर निरन्तर कलाकर्म गरिरहनु उनका सिर्जनात्मक विशेषताहरू हुन् । मूलतः उनलाई पोट्रेट (मुहार कला)को संरचनादेखि अमूर्तवादको सागरसम्म डुबुल्की मार्ने स्थापित कलाकार भनेर सम्बोधन गर्न पनि सकिन्छ । किनकि उनी लियोनार्दो दा भिन्ची या त्योभन्दा अघिको कालखण्डहरूमा विकशित हुँदै आएको मुहारचित्र धारको प्रभावलाई आत्मसात गर्दै अधि बढिरहने कलाकारका रुपमा चिनिन्छन् भने रशियामा जन्मेका पूर्ण अमूर्त कलाका जन्मदाता वासिली कान्डिस्किीको अमूर्तवादलाई आत्मसात गरिरहने सन्दर्भमा पनि उत्तिकै चिनिएका छन् । कर्माचार्य दुवै रुप वा छापमा खरो दरिँदै आएका कलाकार हुन् । अर्थात् उनी राम्रा राम्रा पोट्रेटहरू (व्यक्तिचित्र) बनाउँछन् । र, राम्रा राम्रा अमूर्त सिर्जनाहरू पनि आफ्नो क्यानभासमा सिर्जना गर्दछन् । यसरी कला सिर्जना गर्नुमा मात्र होइनन्, उनले अबलम्वन गरेका दुवै वादमा सशक्तता र प्रखरता भेटिन्छ । जति उनको दक्षता र सशक्ता पोट्रेटमा हुन्छ त्यति नै दक्षता, सशक्तता र गाम्भीर्य उनको अमूर्तवादमा छाएको अमूर्त कलामा पाइन्छ ।

एउटा अमूर्त कला
अमूर्तकला त्यो हो, जो आफैँमा एक प्रश्नैप्रश्नको पुञ्ज हो । यसले आफैँ प्रश्न गर्छ र उत्तर पनि आफैँ दिन्छ । खासमा अमूर्तकला भाव अनुभूतको पद्चाप हो, जसले आवरण होइन अन्तर्निहित गुदीको उत्खनन गर्दै वास्तविक सनातनीय सत्यको पटाक्षेप गर्छ । कर्माचार्यको क्यानभासको अमूर्तकला अमूर्तकला भाव र गतिको एक सशक्त सँगालो हो भन्दा अतिशयोक्ति नहोला । उनको अमूर्त कलाले प्रचूर रूपमा गतिलाई प्रष्फुटित गरिरहेको आभास मिल्छ । क्यानभासमा आँखा ठोकिँदा झुलाजस्ता रंगीन विम्व देखिने हरेक अमूर्त कलामा रेखा, रङ, भाव र गतिको प्राध्यान्य रहेको हुन्छ । उनको अमूर्तकला हेर्दै जाँदा सन् १९१२–५६का अमेरिकाका विख्यात कलाकार ज्याक्सन पोलकको क्यानभासको अनुभूति गराउँदछ । पोलकको कला सिद्धान्त भनेको गति वा ‘मोसन’मा केन्द्रित रहेको मान्यता हो । उनी ‘मोसन’ कलाकै कारण विश्वकला जगत्मा चर्चित कलाकार बनेका थिए । गति नै पोलक क्यानभासको प्राण हुने गर्दथ्यो । पोलकले गतिको तरङ्गमा विश्वास गरेजस्तै कर्माचार्यले पनि गतिमा आफ्नो पूर्ण विश्वास र भरोसा जताएका छन् । वास्तवमा यस पंक्तिमा कर्माचार्यको अर्मूत कलाभावलाई ज्याक्सनको कलासँग तुलना गरेर हेरिएको भए पनि दुईको कलामा प्रशस्तै फरकपन भने पाउन सकिन्छ । माइक्रो लेभलबाट हेर्दा दुई बीचको भावमान्यतामा एकरुपता भेटिन्छ तर कलाशैलीका अन्य अवयवहरूमा भने समता रहेको भेटिँदैन । प्रकृतिको गतिको अनुभूति दिलाउने कर्माचार्यको कतिपय अमूर्त चित्रले प्रकृति जगत्को एकआपस बीचको सामजस्य, सम्बन्ध, घर्षण र परिणाम दिन खोजेको हुन्छ । कर्माचार्य नेपाली कला जगत्मा अमूर्त कलाका निम्ति अब्बल एवं वरिष्ठ स्रष्टा हुन् । उनले यस्तै आफ्नैपनको अमूर्त शैलीमा हजारौँ सिर्जनाहरू रचना गरिसकेका छन् । क्यानभासमा प्रयुक्त हुने रङमा मिठासपन छर्दै तुलिका घातको प्रभाव दिनु र प्रकृतिको गति वा समयको गतिलाई प्रश्रय दिनु उनको अमूर्त कला क्यानभासका विशेषताहरू हुन् । एकमुष्ठ भन्नु पर्दा कर्माचार्यको अमूर्त क्यानभासले छुटटै किसिमको आफ्नै मौलिक दर्शन र आनन्द छोड्ने गर्छ । र, भिन्न भिन्न दर्शकलाई भिन्न भिन्न रसस्वाद पस्कने गर्छ । कला हेर्ने दर्शक मन्त्रमुग्ध हुने गर्दछन् ।
नेपाली समसामयिक कलाजगत्मा अमूर्त कला सँगसँगै के.के. कर्माचार्यले वस्तुवादी मुहार चित्रहरू पनि प्रशस्तै सिर्जना गर्दै दर्शक खुशी कनाएका छन् । उनले विभिन्न सर्वसाधारण व्यक्ति, विशिष्ट व्यक्ति र अनगिन्ती नेपालका मूर्धन्य साहित्यकारहरूका मुहार चित्रहरू बनाएका छन् । वस्तुवाद वा यथार्थिकपनका हुबहु चित्राङ्कन गर्ने दक्षता उनमा प्रखर रुपमा विद्यमान रहेको पाइन्छ । नेपालमा उनलाई मुहार चित्रकारका सन्दर्भमा सिद्धहस्त कलाकार भनेर चिन्न पनि सकिन्छ । नेपाली कलाको उपल्लो दशकहरूमा नगई पछिल्ला चरणहरूलाई मात्र सम्झिने हो भने अमर चित्रकारको मुहार चित्रहरूमा छाउने गरेको मिहिनता र गहिरोपनको उचाई जस्तो उत्कृष्टता उनको मुहार कलामा मैले भेट्ने गरेको छु जहाँ गहकिलो रङ्प्रयोग भित्र सफाट्ता हुन्छ । यथार्थिकताको धरातलमा प्रकाश र छायाँको उत्कृष्ट उच्चकोटीको हुन्छ । म उनको कलामा मिहिनता, धैर्य र संयमताको पराकाष्ठाको गुण भेट्छु । मुहार चित्र क्यानभासमा आँखा डुल्दै जाँदा सहजै रुपमा यो मुहारचित्र सिर्जना के.के. कर्माचार्यको भन्न सकिन्छ । यसरी अमूर्त कलामा जस्तै मुहार कलामा पनि छुट्टै तर मौलिक फरक छाप बनाउन सक्नु कर्माचार्यको विलक्षण प्रतिभाको कारणको प्रतिफल नै हो । यति मात्र होइन, उनले आफूलाई हुलाक टिकटका विशिष्ट र वरिष्ठ डिजाइनरका रुपमा र चित्राङ्कन विधिबाट बालबालिकाहरूमा ज्ञान र शिक्षा बाँड्ने सन्दर्भमा पनि आफूलाई ज्वलन्त उभ्याएर परिचित बनेका छन् ।
सकसपूर्ण पारिवारिक जिवनबाट गुज्रेर आजसम्मको अवस्थामा आइपुग्दा कर्माचार्यको धेरै आरोह र अवरोहहरू पार भइसकेको छ । र, विविध समयमा उनका कलाहरूको राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा एकल र थुप्रैचोटि सामूहिक प्रदर्शनीहरू भइसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्र एवं संघसंस्थाहरूबाट दर्जनौं पुरस्कार र सम्मानहरूबाट विभूषित भइसकेका उनको पहिलो एकल प्रदर्शनी २०२८ सालमा नाफामा सम्पन्न भएको थियो भने जे आर्ट ग्यालरी, हार्डवर्ग टाउन जर्मनीमा, स्पेस सेल ग्यालरी दक्षिण कोरियामा, काठमाडौंमा, चीनमा, भारत, बंगलादेश, जापान लगायतका देशहरूमा भएका थिए । समूहगत प्रदर्शनीहरू अनगिन्ती भएका छन् । नेपाली कला क्षेत्रमै जिन्दगी बिताउँदै जाँदा उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै पुरस्कार एवं सम्मान प्राप्त भएको पनि छ । २०२५ सालमा पहिलो पल्ट उनले द्वितीय पुरस्कार पाएपछि विभिन्न समयमा नियमित पुरस्कार र सम्मान पाउँदै आएका छन् । २०३० सालमा नवौं राष्ट्रिय कला प्रतियोगितामा नाफाबाट, २०३३ सालमा देशव्यापी पोष्टर कला प्रतियोगितामा, २०४५ सालमा गोरखा दक्षिण बाहु, २०५२ मा स्वर्ण जन्मोत्सव पदक, २०५३ मा रजत पदक, २०५४ मा राष्ट्रिय प्रतिभा पुरस्कार र २०५८ मा वीरेन्द्र ऐश्वर्य सेवा पदक प्राप्त भएका छन् भने नेपाली कलाक्षेत्रमा लागेर योगदान पु-याएबापत उनलाई विभिन्न क्षेत्रले विभिन्न समयमा थुप्रै सम्मान र कदर गरेको छ । यस्तै स्रष्टा सम्मान लगायत सर्वश्रेष्ठ चित्राकंन सम्मान भनेर नेपाल बाल साहित्य समाजले नियमित सम्मान गर्दै आएको छ । बेला बेला अन्तर्राष्ट्रिय क्षेत्रमा हुने कला वर्कसप एवं प्रदर्शनीमा उनी नेपालका तर्फबाट प्रतिनिधि भएर थुप्रै देशहरूमा गएका पनि छन् । उनको प्रकाशनका हकमा भन्नुपर्दा ४०७ हुलाक टिकट डिजाइन सन् २०६२ सम्म र सन् २०१५ मा ६ थानसहित ५७ भन्दा बढी सचित्र बालसहित्य पुस्तकमा चित्राकंन उनले गरेका छन् ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव र पूर्व कुलपति के. के. कर्माचार्यले आफू प्रज्ञा प्रतिष्ठानमा क्रियाशिल भइरहँदा प्रज्ञा प्रतिष्ठानको भावना, मर्म र उद्देश्यले बोलेका कतिपय काम कुराहरू पूर्ण गराउँदै अघि बढेको र नेपाली कलाक्षेत्रको विकासको निम्ति नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको गच्छेनुसार र बजेटनुसार प्रदर्शनी, प्रकाशन लगायतका विभिन्न कार्यहरू सकारात्मक रुपबाट अघि बढाएको कुराको जानकारी दिए ।
(लेखक कलाकार, कला समीक्षक हुन् ।)




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










