सम्झँदैछु, म बच्चा हुँदा चलचित्र जगतमा राज कपूर, दिलिप कुमार र देव आनन्दको बिगबिगी थियो । तीनै जना एकदम लोकप्रिय कलाकार थिए । ती मध्येका देव आनन्दको आज जन्मदिन परेको छ – सेप्टेम्बर २६ तारीख । केही वर्षअघि पढेको थिएँ उनको आत्मकथा, ‘Romancing with Life’. त्यसबाट प्रभावित भएर एउटा लेख पनि तयार भएको थियो ।

“My life has been full of special moments and people, like thousands of sparkling jewels embedded in my mind in the form of precious memories.” – Dev Anand

नीलो आकाशमुनि, भीमसेनस्थान अगाडिको ठूलो चोकमा गाउँका सबै मानिसहरू सुकुल ओच्छ्याएर बसेका छन् । एउटा सेतो जीप आउँछ । अगाडि सेतो पर्दा टाँग्छ । प्रोजेक्टर निकाल्छ । ठूलाठूला चक्का रिल निकाल्छ । अनि खर्रर्रर्र… आवाजका साथ प्रदर्शित हुन्छ — सिनेमा ‘तेरे घर के सामने’ ।

किशोर पहाडी

मेरो स्मरणमा यस्तो छ, पहिलो पटक देव आनन्दको सिनेमा हेरेको । त्यतिखेर सिनेमा भनेको अहिलेजस्तो सर्वसुलभ वस्तु छँदै थिएन । सिनेमा हेर्नको लागि झन् हाम्रो गाउँबाट त एक घण्टा गाडी चढेर ‘शहर ’ पुग्नुपर्थ्यो । काठमाडौँलाई नेपालीमा ‘शहर ’ र नेवारीमा ‘येँ ’ भनिन्थ्यो गाउँमा । गाडी चढी शहर गएर लामो लाइन लागेर टिकट किनी अथवा टिकट नहुँदा ब्ल्याकमा डबल पैसा तिरेर सिनेमा हेर्नुपर्थ्यो । त्यसो हुँदा भारतीय राजदूतावास अथवा सूचना विभागको गाडीले गाउँगाउँमा सिनेमा तथा डकुमेन्ट्री देखाएर गाउँलेलाई मनोरञ्जन प्रदान गर्दथे ।

यो करिब ४५ वर्षअघिको कुरा हो ।

श्यामश्वेत ‘तेरे घर के सामने’मा देव आनन्दले गाएको गीत अझै स्मरणमा छ — “तेरे घर के सामने एक घर बनाउङ्गा, तेरे घर के सामने दुनिया बसाउङ्गा …” पछि बजारमा गोविन्द मल्ल गोठालेको उपन्यास ‘पल्लो घरको झ्याल’ प्रकाशित भएको देखेपछि मलाई किनकिन लागिरह्यो, यो उपन्यासको शीर्षक देवआनन्दको ‘तेरे घर के सामने’सँग मिल्दोजुल्दो छ ।

देव आनन्दले आफ्नो जीवनमा धेरै चलचित्रका पटकथाहरू लेखेका छन्, त्यसैले उनी लेखनमा पनि सिद्धहस्त छन् भन्ने थाहा थियो । उनको मृत्युपछि मलाई उनको आत्मकथा ‘रोम्यान्सिङ विद् लाइफ ’ पढ्ने मौका मिल्यो । त्यो पढ्दा उनी एक कुशल उपन्यासकार पनि बन्न सक्ने सम्भावनाका लेखक रहेछन् भन्ने विश्वास जाग्यो । किनभने उनले आफ्नो जीवनका अत्यन्त निजी प्रसङ्गलाई आफ्नो आत्मकथा ‘रोम्यान्सिङ विद् लाइफ’मा लिपिबद्ध गरेका रहेछन् औपन्यासिक रुपमा, कौतुहल जगाउँदै ।

यो पुस्तक पढ्दा थाहा हुन्छ — देव आनन्द एकदम रोम्यान्टिक स्वभावका कलाकार रहेछन् । उनको यो आत्मकथाको आदिदेखि अन्त्यसम्म रोम्यान्स नै रोम्यान्स छ । सुन्दर केटी देख्नै हुँदैन, यिनलाई त्यो बोलिहाल्नुपर्ने, जिस्किहाल्नुपर्ने ।

एउटा प्रसंग छ, संघर्ष गर्दै गरेको अवस्थामा देव आनन्द बम्बईको लोकल रेलमा हुन्छन् । एक युवती चढ्छिन् अचानक । भीडमा बस्ने ठाउँ खोज्दाखोज्दै तिनी ठ्याक्कै देव आनन्द बसेको सिटको अगाडि बस्छिन् ।

देव आनन्दकै भाषामा — “सुन्दर र अबोध । एउटा फक्रँदै गरेको फूल जस्तै … ताजापनको मीठो सुवास अथवा मीठो चकलेटको वासना … …। ”

तिनीसँग जबरजस्ती बोल्न थाल्छन्, देव आनन्द । त्यसपछि रेलभित्रको प्रारम्भिक बोलचालमै देव आनन्द चर्चगेटमा रहेको तिनको घर हेर्न चाहन्छन् र तिनी ओर्लने ठाउँमै ओर्लन्छन् । तर तिनले बाटोमा हिँड्दाहिँड्दै बलिष्ठ पाखुरा भएको आफ्नो ब्वाईफ्रेण्डको बारेमा भनेर पछि टाढाबाट देखाएपछि देवले तिनलाई टाढाबाटै बिदाई गर्छन् । ९—१० वर्षको अन्तरालमा देव आनन्द स्टार भइसकेपछि एउटा चलचित्रको प्रिमियर शोमा युवतीहरुबाट अटोग्राफको निम्ति घेरिँदा त्यो भीडमा चर्चगेटकी त्यो युवती पनि हुन्छिन् । तिनीले बडो साहसका साथ देवलाई चुम्छिन् र भन्छिन् — “मलाई चिन्यौ ? सम्झना छ ? … म निलोफर …मेरो नाम त कहिल्यै सोधेनौ तिमीले ? ”
यस्तो खालका आख्यानात्मक प्रसंगहरु धेरै छन् यस पुस्तकमा । उनका कलेजका मित्रहरुले उनलाई छोड्न नचाहेका— हरेक युवतीको आकर्षणको केन्द्रविन्दु ।

यिनी बम्बईको चलचित्र उद्योगमा पदार्पण गर्दा सुरैया त्यहाँकी एकदम ठूलो कलाकार— लोकप्रिय । तर पनि सुरैयाले यिनलाई नयाँ कलाकार भनेर हेयको दृष्टिले हेरिनन् । बरु एक दिन भनिन्, “ थाहा छ, तिमी को जस्ता देखिन्छौ ? ”

“ को ?”
“ अरु कोहीले भनेको छैन ? ”
“ थाहा छैन मलाई । ”
“ ग्रेगरी पेक । ”

वास्तवमा देव आनन्दको अनुहार हलिवुडका तत्कालिन लोकप्रिय कलाकार ग्रेगरी पेकजस्तै छ पनि । …र विस्तारैविस्तारै देव आनन्दले ग्रेगरी पेकको अभिनय गर्ने शैली पनि अँगाल्दै गएको देखिन्छ । टाउको अलिकति दाहिनेतिर झुकाउने अनि हात हल्लाएर संवाद बोल्ने शैली ग्रेगरी पेकको भन्न सकिन्छ । पुस्तकमा त्यही ग्रेगरी पेकसँग यिनको भेट भएको प्रसंग पनि छ ।

सुरैयाको असल व्यवहारको कारण नै होला, देव आनन्दले सुरैयालाई मन पराउन थाल्छन् । सुरैयाले पनि देव आनन्दलाई मन पराउँछिन् । तर दुवैको प्रेममा भाँजो हाल्छिन् सुरैयाकी हजुरआमाले । यसको मुख्य कारण —सुरैया मुसलमान थिइन् र देवआनन्द हिन्दू । यसकै कारण हजुरआमाले दुवैको प्रेमलाई असफल बनाइदिन्छिन् ।

आफ्ना प्रेमप्रसंगहरुबाहेक यस पुस्तकमा देव आनन्दले आफूले चलचित्र बनाउँदा कसरी नयाँ नयाँ युवायुवतीलाई आफ्नो चलचित्रमा प्रवेश गराए भन्ने कुराको विस्तृत नालीबेली पनि छ ।

टिना मुनिम,ऋचा शर्मा, जीनत अमान, एकता, मनु गार्गी, जेकी श्राफ आदि कलाकारहरुलाई प्रथम प्रवेश गराउने देव आनन्द नै हुन् । पछि टिना मुनिम भारतका उद्योगपति अनिल अम्बानीले बिहे गरे भने ऋचा शर्मालाई सञ्जय दत्तले ।

… र जीनत अमान ? जीनत अमान त देव आनन्दले नेपाल आएर नेपालकै कथामा बनाएको पहिलो चलचित्रकी पहिलो नायिका ! देव आनन्द एक पटक नेपाल आउँदा तत्कालिन नेपालमा देखिएको हिप्पी संस्कृतिलाई लिएर यिनले एउटा चलचित्र बनाए — “ हरे रामा हरे कृष्ण । ” त्यस चलचित्रमा नेपाल — विशेषतः काठमाडौँ उपत्यकाका विभिन्न दृश्यहरु प्रयोग गरेर यिनले विश्वसामु नेपालको राम्रै पाटो प्रदर्शन गरे भन्ने लाग्छ ।

यो चलचित्र प्रदर्शन हुँदा म त्रिभुवन आदर्श विद्यालय, फर्पिङ्गमा दस कक्षामा पढ्ने गर्दथेँ । एक जना मित्र सर्वज्ञरत्न तुलाधरले यस चलचित्रको गीत “डबडिबाडबा…डबडिबाडबा… डबाडबाडबाडबाडबा… हरे रामा हरे कृष्णा… ” कक्षा कोठाको काठको टेबुललाई तबलाजस्तै बजाएर बडो सुरका साथ गाउने गरेको मलाई सम्झना छ ।

यो गीतको साथै यस चलचित्रको ‘दम मारो दम ’ तथा ‘कान्छा रे कान्छा रे ’ गीत त्यतिखेर बडो लोकप्रिय भएको थियो । यो चलचित्र बनाउँदाखेरीको विस्तृत कथाका लागि पुस्तकका करिब ५ परिच्छेद खर्चेका छन् यिनले । राजपरिवार मुख्यतः तत्कालीन राजा महेन्द्रले यिनलाई चलचित्रको कथा लेखनदेखि लिएर छायांकनमा समेत विभिन्न व्यवस्था गरी सहयोग गरेको प्रसंग छ ।

यसै चलचित्रको सन्दर्भमा एक ठाउँमा यिनले भक्तपुरबासीहरुको बारेमा यस्तो लेखेका छन्, “वामपन्थी विचारधाराद्वारा प्रभावित क्षेत्र तथा भारतविरोधी मानसिकता लिनेहरुको बाहुल्य भए तापनि त्यहाँ मुमताजको एक नृत्य छायांकन गर्दा मानिसहरु बडो रुचिका साथ भाग लिन आए । पूरा शहरै यसै मिसनमा लागेजस्तो लाग्थ्यो । स्कूलबाट केटाकेटीहरु, कामबाट कार्यालयबाट मान्छे, स्वास्नीमान्छेहरु सबै मुमताजसँग तीन दिन बिदा मनाउन आएजस्ता देखिन्थे ।… ”

“ हरे रामा हरे कृष्णा ” वास्तवमा बडो राम्रो चलचित्र साबित भएको थियो । योबाहेक “ ईश्क ईश्क ईश्क ” र “ जोनी मेरा नाम ” पनि यिनले नेपालमा छायांकन गरी निर्माण गरेका थिए ।

‘रोम्यान्सिङ विद् लाइफ’मा लाहोर (त्यतिखेर भारतकै) सरकारी कलेजबाट बी.ए. पास गरेपछि एउटा सानो काँधे झोलामा आफ्ना थोरै चीजबीज बोकी रेलको तेस्रो दर्जामा चढेर सपनाको शहर बम्बईतिर यात्रा भएकोदेखि शुरु भएकोदेखि लिएर चलचित्र “ मिस्टर प्राइममिनिस्टर ” रिलिज हुन्जेलसम्मका जीवनका अनेक उतारचढावका कथाहरु छन् ।

इतिहासमा निकै महत्त्व राख्ने घटनाहरुसँग पनि बेलाबेलामा साक्षात्कार गरिएका छन् । जस्तो कि — महात्मा गान्धीको हत्या, कलाकार गुरुदत्तले विष खाएर आत्महत्या गरेको, दाइ विजय आनन्दको मृत्यु, राजदरबार हत्याकाण्ड आदि ।

राजदरबार हत्याकाण्डको बारे यिनले यस्तो लेखेका छन् — “ राजा वीरेन्द्र र उहाँकी रानी राजपरिवारका अन्य धेरै सदस्यहरुका साथ आफ्नै छोराद्वारा हत्या गरिए र पछि ती युवा युवराजले आफूलाई पनि गोली ठोकिदिए । राजपरिवारमा त बचेका त खालि अधिराजकुमार ज्ञानेन्द्र मात्र रहेछन्, जो घटनाका समय भाग्यवश त्यहाँ थिएनन् । शाही परिवार यसरी भुस्कुट पारिएको घटनाले मेरो मस्तिष्कमा वेदनाको एउटा चिह्न छोड्यो । मैले त खालि अब ज्ञानेन्द्रलाई राज्यको नयाँ राजा भएपश्चात् तत्कालै सानो समवेदना सन्देश मात्र त पठाउन सक्थेँ । पछि मलाई त्यहाँको सरकारले चलचित्रमा मेरो योगदानका लागि सम्मान गर्ने बेला चाहिँ मैले उहाँसँग आफ्नो दुःख व्यक्त गरेँ । अनि २००५ को जुलाई महिनामा पशुपतिनाथको मन्दिर गएर राजा वीरेन्द्रको शवदाह गरिएको ठाउँ हेरेर बसिरहेँ । मेरो आँखाबाट एक थोपा आँसु चुहियो र त्यहाँ बगिरहेको नदीमा दिवंगत राजाको पीडासँगै मिसियो ।”

देव आनन्द आफैँ भन्छन् भूमिकामा — “आत्मकथा लेख्नु एकदम कठिन हुन्छ किनभने यो लेख्दा तिमी आफू र आफ्नो वरिपरि घटेका घटनाहरु — दुवैप्रति इमानदार हुनुपर्छ । ”

यसर्थमा यिनी आफ्नो आत्मकथामा इमानदार भएको नै देखिन्छ । इमान्दारीको कुरामा — यिनले यस पुस्तकमा आफ्नो पहिलो यौन सम्बन्धको बारेमा समेत खुलेर लेखेका छन् । एउटा गेष्टहाउसमा बस्दाखेरी एक अपरिचित युवतीसँगको मित्रता र त्यो युवतीको कोठामै भएको त्यो युवतीसँगको सम्भोग यिनको जीवनको पहिलो सम्भोग हुन्छ र त्यस घटनाको वर्णन यिनले बडो खुला हृदयका साथ अश्लील नहुने किसिमबाट गरेका छन् ।

इमान्दारीकै कुरामा अर्को घटना छ — यिनले आफ्नो बाबुलाई तीता शब्दहरु बोलेका । आर्थिक अवस्थाको कारण बी.ए.पछि पढाउन नसकेका आफ्नो बाबुलाई यिनले आफू चलचित्रको नामी कलाकार भइसकेपछि भन्छन् —“मैले म ब्याङ्कमा क्लर्क बन्दिनँ भन्दा तपाईंले वास्ता गर्नु भएको थियो ? म लाहोरमै साहित्यमा मास्टर्स गर्छु भन्दा तपाईंले मेरो कुरा सुन्नु भएको थियो ? … …जसले तपाईंसँग रेलभाडाका लागि समेत पैसा लिएन कसरी तपाईं यसो गर् उसो गर् भनेर सिकाउनुहुन्छ ? जबकि म यहाँ लाखौँ बेरोजगारको भीडको लहरमा मिसिई संघर्ष गर्न आएको थिएँ ।”

“त्यतिखेर म गरिब थिएँ,” भन्न त भने बाबुले तर यिनले आफ्ना पितालाई तीता शब्द प्रयोग गरेको गर्यै गरे । तर त्यस क्षणलाई देवले बडो इमान्दारीताका साथ लेखेका छन् ।

यसमा एउटा चित्त नबुझ्दो कुरा छ — यिनकी श्रीमती मोना (कल्पना कार्तिक) सँग बिहे गर्नुअघि फिल्ममा खेलेको, प्रेम गरेको, बिहे गरेको, छोराछोरी पाएकोसम्म प्रसंग छ तर त्यसपछि यिनले पूरा पुस्तकमा आफ्नी श्रीमती बिर्सेका छन् ।

यताउता गएको, देशविदेश चहारेको, सुन्दरसुन्दर युवतीहरु भेटेको अनि तिनीहरुलाई नै लिएर कथाका प्रारुप तयार पारेको, तिनीहरुलाई नै लिएर चलचित्र निर्माण गरेको आदि प्रसंगहरु छन् तर अहँ देवसँग यिनकी श्रीमती कतै घुम्न गएको पनि देखिएन, श्रीमतीद्वारा यिनको जीवनमा कस्तो प्रभाव रह्यो उल्लेख पनि कहीँ कतै छैन ।

मलाई त कल्पना कार्तिक अहिले बाँचेकी छन् या मृत्यु भइसक्यो भन्ने पनि थाहा छैन । इनसाइक्लोपेडियायुक्त मस्तिष्क भएका चलचित्र निर्देशक एवं साहित्यकार प्रकाश सायमिलाई मैले सोध्दा उनले जवाफ दिएका थिए —“बाँचेकै छिन् । ”

उनले भनेपछि विश्वास गर्नै पर्याे, तर हो कि होइन कुन्नि !