हितबहादुर प्रायः बिहानै उठ्छ । उठ्नेबित्तिकै उसको दिनचर्या पूजापाठबाट शुरू हुन्छ । त्यसपछि छ नबज्दै गाई दुहुने, मल सोहोर्ने भनौं गाईगोठको काम सक्छ ।
उसको साथी भनेकै रेडियो हो । उठ्नासाथ बिहानै एफएम रेडियो खोल्छ र बेलुका सुत्न आँखा बन्द नहुन्जेल सम्म रेडियो बजिरहेको हुन्छ । पुरानो जापानी कम्पनीको त्यो साथी रेडियो ऊ गाउँ डुल्ने बेलामा पनि उसको काँधमै झुन्डिएको हुन्छ । देशविदेशका खबर सबै थाहा हुने भएकाले कतिले त उसलाई रेडियो काका भन्छन् ।
अझ रेडियोमा बज्ने देउडा गीतका सवाल जवाफ सुनेर एक्लै मुस्कुराउँछ र सँगैसँगै भाकामा भाका मिलाई गीत गाउन थाल्छ ।
आफ्नो लोग्नेको चर्तिकला देखेर पार्वती कहिले कसो झोक्किन्छे, “काम छैन यही रेडियो सुन्यो, गीत गायो भर्खरै बैंस चढे जस्तो । यसो मेलापात गएर सघानु नि मलाई ।”
गीतसङ्गीत र उमेरको सम्बन्ध के हो हितबहादुरले बुझेको छैन । सुर्तीले र तमाखुले पहेँला दाँत ङिच्च देखाएर “हेर, पार्वती ! तन बूढो भए पनि मन बूढो हुँदैन; अझै तन्नेरी नै हुँ जस्तो लाग्छ ।”
पार्वती फेरि मकै पट्के जस्तै पट्किन थाली, “आ पातकी बूढो उमेर तीन बीस लागिसक्यो; कपाल फुलेर गेडा लाग्ने बेला तन्नेरीको जोश ।”
उनीहरूका दुई सन्तान शहरमा बसेर पढ्छन् । छोरी नर्सिङ सकेर विदेशको तयारी गर्दैछे । छोरो कक्षा बाह्रको जाँच सकेर बसिरहेको छ । घरमा दुई जना बुढाबुढी मात्रै छन् । बुढाबुढीलाई पुग्ने बाहेक बाँझो खेतमा बनामारो उम्रेको छ । गाउँमा गाडी पुगेपछि गाउँमै उत्पादन हुने धानको स्वाद जिब्रोले बिर्सिसक्यो ।
छोराछोरी पढेर विदेश जान्छन् अनि सुखका दिन आउँछन् भन्दै परिकल्पना गर्छन् दुवै । भित्रभित्रै खुशीले गद्गद हुन्छन् ।
सन्तानले कमाएर शहरमा लगाएको अग्लो घरको छतमा बसेर बुढाबुढी सुखभोग गर्ने कुरा पार्वतीले बेलाबेला हितबहादुरसँग गरिरहन्छे । ती कुराले दुवै मक्ख हुन्छन् ।
हुन त हितबहादुर तीन कक्षामा पढ्दापढ्दै विद्यालय छोडेको हो । पार्वती सात बहिनी मध्यकी जेठी बहिनी भएकाले घरको जिम्मेवारीले विद्यालयको अनुहार पनि देख्न पाइन । जति सुकै दुःख भए पनि छोराछोरीलाई धेरै पढाउने धोको दुवै जनामा थियो, अझैसम्म छ पनि ।
उनीहरूले छोराछोरीलाई संसार चिनाउने सङ्कल्प गरेर शहर पठाएका हुन् । गाउँमा हितबहादुर भैंसीको व्यापार गर्छ । गाउँगाउँबाट थारो भैंसी किनेर शहर पठाउने गर्छ । भैंसी व्यापारबाट आएको नाफाले छोराछोरीको पढाइ खर्च र कोठाभाडादेखि खानाखर्च जेनतेन पुगेकै छ । मानिसहरू गाउँमा बस्न नै छोडे । शहरको रमझम र अवसरको खोजीले गाउँ रित्तिँदै गएसँगै गाउँ वृद्ध आश्रम बनेको छ । गाउँमा बस्नेहरूले पनि खेती गर्नै छोडे; गाई भैंसी पाल्न छोडे । त्यसैले हितबादुरको व्यापार पनि घट्यो ।
छोरीको अस्ट्रेलियाको भिसा लाग्यो । हितबादुरले ऋण र सापटी गरी छोरीलाई विदेश पठायो । छोरोको पनि कक्षा बाह्रको रिजल्ट आयो । उसका सबै साथीहरू विदेशको तयारी गर्दै थिए ।
एउटा सन्तान नेपालमै, गाउँमै, जहाँ हितबहादुर र पार्वती छन् त्यही बसोस् भन्ने चाहाना दुवैमा थियो ।
पार्वतीले एकदिन फोनमा कुरा नलुकाई छोरोसँग भनी, ” बाबू दिदी विदेश गएकी छे तँ हाम्रो सहाराका लागि भए पनि नेपालमै बस है, गाउँ आऊ त हामी भन्दैनौं, तर नेपाल छाडेर कतै नजाऊ है ।”
मात्रै यति भनेकी थिई, शहरबाट छोराले झर्किंदै भन्यो, ” दिदीले मेरा लागि कमाउने हो र, म तपाईंहरूको लागि आफ्नो जिन्दगी नै बर्बाद पारूँ !”
केही नबोली पार्वतीले फोन राखी । के मन लिएर राखी खै थाहा भएन । तर फोनलाई निकै बेर टोलाएर हेरी । लामो खुइ छोडी !
जसका लागि आफ्नो भोको पेटमा पटुका कसेर पढाइयो उसैले आफ्ना आमाबासँग बस्नु जिन्दगी बर्बाद हुने सम्झिने रहेछन् । मनमनै कुरा खेलाई – के भएका आजकाल ठिटाठिटी देशमा बस्नु जिन्दगी बर्बाद हुनु सम्झिन्छ्न् ।
छोराको जिद्दीको अगाडि उनीहरू हारे । छोरी विदेश जाँदाको ऋण आधा पनि भएको थिएन फेरि थाप्लो भरी ऋणको भारी बोकाएर छोरो लन्डन उड्यो ।
छोराछोरी गाउँमै नभए पनि नेपालमै छन् भन्ने झिनो आशाले बाँचिरहेका उनीहरूलाई दुवै सन्तानको सात समुद्र पारीको यात्राले एक्लो महसूस गरायो । घरमा प्रायः साँझ आगो बल्न नै छोड्यो । हितबहादुरको व्यापार ठप्प भयो । घरमा एफएम रेडियोमा बज्ने विभिन्न कार्यक्रम सुन्दै दिन बित्न थाल्यो हितबहादुरको ।
दुवै एकअर्कालाई हेर्छन् तर कोही केही बोल्न सक्दैनन् । आँखाबाट आँसु झार्छन् । अनि एक अर्कालाई लुकाउँछन् । शायद ती दुईले छोराछोरीलाई बुई बोकेर मेलापात गरेको सम्झँदै छन् । कलिला औंला समाती समाती हिंडाएको दृश्य सम्झँदै छन् । एकदुई रुपियाँ जम्मा गरी काठमाडौं पढ्न पठाएको कुरा याद गर्दै छन् ।
= = =
शुरूशुरूमा विदेशबाट छोराछोरीले दिन बिराएर भिडियो कल गर्थे । बिस्तारै त्यो क्रम घट्दै गयो । दिनपछि हप्ता हुँदै महिनौंसम्म कुराकानी हुन छाड्यो । प्रायः फोन नै उठ्न छाड्यो; फोन उठे पनि व्यस्त भएको कारण देखाउँदै छोटो कुरा हुन्थ्यो । दुवै भाइबहिनीले आफू जाँदाको ऋण भने चुक्ता गरे । एक मनले ती बुढाबुढीलाई ढुक्क बनायो ।
हुन त छोराछोरीले आमाबालाई अलिअलि खर्च नि पठाउँथे । बाआमाको लागि खर्च भन्दा पनि छोराछोरीको कुराकानी, हाँसोठट्टा बढी महत्त्व लाग्ने रहेछ ।
पाँच–छ वर्षपछि छोरीले उतै विदेशीसँग घरजम गरी । छोरो पनि लन्डनकै बासिन्दा बन्यो ।
हितबादुर र पार्वती यता दिनप्रतिदिन उमेर र शोकले गर्दा थला पर्दै गए । न विदेशिएका सन्तान फर्किए न सुखका दिन नै फर्कियो । उनीहरूको सुखको घर, सुखको कौसी मात्र कल्पनामै सीमित रह्यो ।
एक दिन घरको चोटाबाट खसेर हितबहादुरको ढाड भाँच्चियो । राती भएकाले पार्वतीले अस्पताल पुर्याउन सकिन । बिहान गाडी आउने बाटोसम्म एक्लै बोकी । गाडीमा राखेर जिल्ला अस्पतालमा पुर्याई । त्यहाँ उपचार हुन सकेन । डाक्टरले नजिकैको शहरको अस्पतालमा रिफर गरिदिए ।
कहिल्यै शहर नछिरेकी पार्वती कुहिरोको काग जस्तै रनभुल्ल परी । हितबहादुरले अस्पतालको बेडमा बारबार भनिरहे– रेडियो मेरो साथी !
तेस्रो दिन नै हितबहादुर पार्वतीलाई एक्लै छाडेर परमधामको यात्रा रोजे । एक्ली पार्वती झनै एक्ली भई । छोरी भर्खरै सुत्केरी भएकाले बुबाको काजकिरियामा पनि आउन नसक्ने जानकारी पठाई ।
शववाहनको सहायताले हितबहादुरको शव श्मशान घाट पुर्याइयो । मरेपछि पनि आफ्नो गाउँको माटो छुन पाएन बिचराले । हिन्दू परम्परा अनुसार दाहासंस्कार भयो ।
पार्वती घर फर्की एउटा अनिश्चितको बाटो पहिल्याउँदै; उसलाई सब बिरानो लाग्यो ती रूख, ती डाँड, ती पाखा अनि त्यो गाउँ ।
बुबा बितेको पाचौं दिन मात्रै छोरा आइपुग्यो लन्डनबाट ।
तेह्र दिनको काजकिरियासम्म आफन्त, छरछिमेकी आए ।
बिस्तारै घर रित्तिंदै गयो । एक महिना नहुँदै छोरो पनि लन्डनमा थुप्रै काम भएको भन्दै घरबाट निस्क्यो । पार्वती छोरोलाई डाँडाले नछेकुन्जेल हेरी । छोराले एकपटक फर्केर पनि हेरेन ।
पार्वतीलाई आफ्नो बचेरा उडेकोमा दुखी छैन, तर आफू एक्लिएकोमा दुखी साथै डर पनि छ । पीड यति हो, एक पटक पनि पछाडि फर्केर आमालाई केही कुरा गरेन । माया दर्शाएन । भविष्यको सुखको परिकल्पना सम्झाएन ।
श्रीमानको वियोगमा रित्तिएको आँसु पुनः छोराको बिदाइमा रित्तो भए । डाँको नै छोडेर रोई । उसलाई नरोऊ भनेर थमथम्याउने मान्छे नै थिएन । पहिलो पटक छोरो आफूसँग टाढिंदा पनि यसरी नै रोएकी थिई । त्यो बेला सम्झाएको हितबहादुरको कुरा सम्झी । झन् धित मरुन्जेल रोई शायद अब आँसुको बाढी यसरी नै बारबार आइरहन्छ होला । अब ऊ पूर्णतः एक्ली भई ।
बेसहारा पार्वती घरको बार्दलीमा श्रीमानको मायाको चिनो रेडियो र छोराछोरीको धमिलो तस्वीर काखमा च्यापेर एक्लै बर्बराउँछे – ‘रेडियो मेरो साथी !’ कहिले भोकभोकै रात काट्छे । बिरामीको बेला पनि धुमधुमती सुतेरै दिन बिताउँछे । न तातो पानी, न एक गाँस जाउलोको लागि सोध्ने कोही छ । ऊसँग मात्र छ ऊ जस्तै बूढो भएको घर । त्यसले पनि सहारा खोजिरहेको छ । घरले धुरखाँबो र पार्वतीले लट्ठीको सहारा खोजेका छन् ।
परिकल्पनाको सुखको घर भने उसको सपनामा ठडिरहन्छ अझै पनि । छोराछोरीको काखको सिरानीको परिकल्पना कथा भनेरै एकादेशमा पुग्यो ।
पार्वती अचेल मृत्युको पर्खाइमा छे । घरीघरी भगवानसँगै मृत्युको भिख माग्दै आँसु बगाइरहेकी छ । नितान्त एक्लै छे र बेसहारा प्रणाली जस्तै !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
८ माघ २०८२, बिहीबार 










