पहिचान

हिजो टोलमा दुई कुकुरको बीचमा निकै नै चर्काचर्की भयो । टोल नै हल्लियो । एउटा कुकुर तल बाटोमा थियो । अर्को कुकुर माथि घरको झ्यालभित्र ग्रीलको पछाडि । हामी रमिता हेरिरहेका थियौं । खासमा कुकुरको दुइटा मात्र वर्ग हुन्छ रे — ‘घरको र गल्लीको’। बाटोको कुकुरले झ्यालको कुकुरलाई सधैँ भन्छ, “तेरो घाँटीको सिक्रीको डाम हेर् !” झ्यालको कुकुरले तल बाटोको कुकुरलाई हप्काउँछ “तेरो जीउको लुतोको डाम हेर् !” एउटा स्वतन्त्र छ, तर उपेक्षित छ । अर्को सुरक्षित त छ, तर बाँधिएको । तर, दुवैको एउटा कुरामा समानता छ, दुवैसँग आ-आफ्ना डाम छन् । आखिर, जुन वर्गमा बसेर जीवन बिताए पनि जीवनले एउटा “डाम” त छोड्दो नै रहेछ । र, ती डाम ‘घाउ’ले बनेका हुँदा रहेछन् । वास्तविक पहिचान ती डाम हुन् — ती घाउ जो निको त भए तर आफ्नै कथा छोडेर गए, सदा सम्झनामा रहोस् भनेर । खासमा, त्यो ‘डाम’ भनेकै उसको ‘पहिचान’ हो, ऊ त्यही डामबाट छुट्टिन्छ — घरको हो कि गल्लीको हो भनेर । कुकुरको त्यो लडाइँ भनेको वर्गको लडाइँ होइन, ‘पहिचान’को लडाइँ हो ।

नदीको लहरले किनारको ढुङ्गालाई लगातार थप्पड हानिरहेको हुन्छ । अनि ढुङ्गामा त्यो थप्पडको डाम पर्छ । त्यो डाम त्यो ढुङ्गाको गर्व हो, कसरी त्यत्रो बलशाली नदीको अतिक्रमणलाई उसले रोकेर फिर्ता पठायो भन्ने । त्यो चट्टानले भन्छ — “मैले प्रहार झेलेँ, म अडिग रहेँ, आकार बदलेँ, तर म मेटिइनँ !” देशको सीमाको रक्षा गर्ने सैनिकहरूले पनि यस्तै घाउका डाम बोकेका हुन्छन् होला । नक्साको हरेक सीमा खासमा एक रेखा हो, जो हेर्दा त सामान्य मसीले बनाएको जस्तो देखिन्छ; तर त्यो विभाजन हो, रगतले खिचिएको । रगत उडिसक्यो तर डाम बाँकी नै छ । त्यही डामको रक्षा सैनिकले गरिरहेछन् । हामी सिमानाभित्र हैन, डामले खिचेको रेखाभित्र बाँचिरहेका छौँ । हामी त्यो डामको घेराभित्रका बन्दी हौँ । यो घेरा नाघेर जानेले पनि डाम यतै छोडेर जान सक्दैन, आफैँसँग बोकेर जान्छ । आप्रवासीको जिब्रोमा हल्का डाम हुन्छ, त्यो उसको आफ्नो पहिचान हो । हरेक शब्दमा उसको मूल र निर्वासन दुवै झल्कन्छ । डाम वर्तमान पनि हो, अतीत पनि हो ।

डार्विनले फोसिलहरूको अध्ययनबाट इभोलुशनको सिद्धान्त प्रतिपादन गरे । वास्तवमा फोसिल भनेको त्यो बेलाको विकासको डाम हो, ढुङ्गाभित्र थुनिएर लुकेर बसेको । त्यही डामले त्यो बेलाको सभ्यताको पहिचान बोल्छ । सबै डामहरू घाउ होइनन्, केही डामहरू इतिहास हुन् जसले पहिचान निर्माण गर्छ ।

डामले सामूहिक पहिचान मात्र हैन, व्यक्तिगत पहिचान पनि बोल्छ । आखिरमा मान्छे त्यही हुन्छ, जो उसले सह्यो, जो उसले भोग्यो र जसबाट ऊ उठ्यो । हातमा परेका ठेला फुटेर बनेका डाम उसले गरेको मिहिनेतको पहिचान हो ।

सितारवादकको औँलामा एक गहिरो डाम थियो । वर्षौँसम्म सितारको तारलाई निरन्तर थिच्दा बनेको निशान । त्यो चोट होइन— समर्पणको चिन्ह हो, सङ्गीतको हस्ताक्षर, मिहिनेतको उपज । डामले घाउ मात्र बोक्दैन, गौरव पनि बोक्छ । उसले बोकेको त्यो गौरव उसको पहिचान हो ।

अस्ति ल्यापटप सफा गर्दै थिएँ, देखेँ मेरो किबोर्डमा अरू की (key) मा भन्दा स्पेसको ‘की’मा गहिरो डाम बसेको रहेछ, बढी थिचिएकोले । अहो ! मैले यत्रो समयसम्म त अक्षर भन्दा बढी मौन लेखेछु ।  लेख्नु भनेको मौन झन् गहन बनाउनु रहेछ । शायद ‘स्पेस की’ अरू ‘की’ भन्दा ठूलो हुनुको कारण पनि यो मौन अझ ठूलो होस् भन्ने चाहना होला । मेरो लेखकीय पहिचान शब्द हैन मौन पो रहेछ । मौनताका गहिरा डामहरूले नै जीवनको अर्थ दिँदो रहेछ ।

मेरो ल्यापटपबाट ‘ई’ (E) अक्षर मेटिइसकेको रहेछ, सबैभन्दा बढी प्रयोग हुने अक्षर हो यो । सबैभन्दा जरुरी, तर सबैभन्दा पहिले गायब भइदियो । यो मेटिएर डाम मात्र बाँकी रहेछ, अनुहार मेटिइसकेछ । अनौठो अनुभूति भयो— पहिचान केही बाँकी छैन तर धेरै वाक्य यसैले नै बनेको छ, विना पहिचान पनि त सिर्जना हुन सक्ने रहेछ ! अनुहार त मेटिन्छन्, तर डाम नै चिरस्थायी बन्छन् । डाम भनेको अनुपस्थितिको उपस्थित स्वरूप रहेछ ।

हामी के हौ ? कसरी बन्यौँ ?, भनेर भविष्यलाई हाम्रो व्यक्तिगत र सामूहिक कथा सुनाउने यिनै डामहरूले नै हो । मान्छेको सम्पूर्ण इतिहास भनेकै डामका कथाहरूको शृङ्खला हो । समयले डाम छोडेर गएको हुन्छ, कति डामहरू सजिलै पढ्न सकिन्छ, कति सकिन्न ।

सम्झना र अनुपस्थिति

बूढाबाको अनुहारमा समयले डामिसकेको थियो । अनुहार चाउरी परिसकेको थियो । उनले थर्थराएको हातले झ्यालको खापा खोले, हावाको झोँकाले मुखमा थप्पड हान्यो । हावा ताजा हैन चिसो थियो, कुनै श्मशानको ढुङ्गालाई छोएर आए जस्तो, टाढा कुनै देशबाट । बाहिर एउटा रुख ठिङ्ग उभिएको थियो, त्यो रुख हैन मानौँ कुनै थाकेको प्रतीक्षा हो । प्रत्येक दिन उनी कुर्सीमा बसेर झ्यालबाट टाढासम्म हेर्छन् । समय डुब्दै जान्छ र आकाश सुनौलो बन्छ । चर्न गएका गाईहरू घर फर्कन थाल्छन् । चराहरू बास बस्न थाल्छन् । अनि थाकेका डुङ्गाहरूले घाटमा विश्राम लिन्छन् । बूढा बा त्यो मलीन समयमा फर्कने बाटो टाढासम्म हेर्दै खोज्दै छन्, कुनै धमिलो आकृतिमा कसैलाई । टाढा धमिलो छाया देखेर सोच्छन्, त्यही हो कि, घर फर्कियो कि भनेर । आज बूढाबा पनि छैनन्, कुर्सी पनि छैन । तर झ्यालको मुनि भुइँमा कुर्सीको चारवटा खुट्टाको डाम छ, त्यो एकाकीपनको गह्रुङ्गो बोझले बनाएको डाम । अनुपस्थितिको डाम झन् गहिरो हुँदो रहेछ ।

कोठाको कुनामा एउटा काठको पुरानो फुङ्ग उडेको सन्दुस छ, क्रान्तिका किताब र पर्चाले भरिएका । झ्यालबाट घामको रेखा छिरेर त्यसमा परेको छ । त्यसको सतहमा सानो गोलो ध्वाँसे डाम पनि छ । कुनै बेला त्यहाँ बलेको हुन्थ्यो उसको बाबाको लालटिन । त्यही लालटिनको रापले अलिकति तातिएर फेदले त्यहाँ गोलो डाम बनाएको थियो । कुनै रातमा बाबा लुकेर घर आएको बेला, त्यो लालटिनको मधुरो उज्यालोमा, ऊ र बाबासँगै बसेर रातभरि कुरा गर्थे । आमा छेउमा बसेर डराउँथिन् । अलिकति उज्यालो बाबाको मुखमा पर्दा बाबाको अनुहार दिव्य देखिन्थ्यो । बाबाले साँच्चै दिव्य कुरा गर्नु हुन्थ्यो । बाबाले अनौठा कथा भन्नु हुन्थ्यो — मान्छेका कथा, विज्ञानका कथा, समाजका कथा, विद्रोहका कथा र समानताका कथा । त्यहाँ बसेर उसले मान्छे बन्न सिक्यो । एउटा रात, बाबा लालटिन लिएर निस्कनु भयो । फर्कनु भएन । धेरै वर्ष भइसक्यो । तर सन्दुस माथिको त्यो गोलो डाम अझै छ, अनि त्यो देख्दा उसको मनमा आउँछ — “त्यहाँ कुनै बेला उज्यालो बस्थ्यो ।”

तकियामा अझै उनको टाउकोको रूप बाँकी नै छ, हल्का थिचिएको आकार, वर्षौँ थिचिएर बनेको थियो त्यो डाम । त्यो डाम मात्र हैन, त्यसमा उनको बास्ना पनि छ । तेलको जस्तो, कपाल रङ्गाउने अमोनियाको जस्तो, भिजेको कपाल जस्तो, ती सबै मिस्सिएर बनेको उनको छुट्टै समष्टि बास्ना । मेरा लागि पकाएको खानाको बास्ना पनि उनी कपालमा साथै लिएर आउँथिन् । आज उनी छैनन्, तर त्यो डाम, बास्ना र म अझै पनि सँगै सुत्छौँ । डामले नै पो रहेछ कहिल्यै साथ नछोड्ने !

धपाउँदा धपाउँदै, कराउँदा कराउँदै, गिलो सिमेन्टको भुइँमा बच्चाको खुट्टाको डाम परिनै हाल्यो, जुन समयसँगै एक निर्दोष चिन्ह बनेर बस्यो भुइँमा । दशकौँपछि, त्यही डाम एक मात्र सम्झना बन्यो— एक घरको, एक परिवारको, एक चकचकको र एक पहारिलो दिनको । डाम मीठो सम्झना पनि हो ।

ऊ थकित, निराश र समयले पूरा निचोरेर छाडेको जस्तो भएको छ, कुनै उमङ्ग बाँकी छैन । उसले आफ्नो स्कुलको बेलाको कापी फेला पार्‍यो । पल्टाएर हेर्‍यो, पेन्सिलले लेखिएको रहेछ तर सबै मेटिसकिएको । केवल धमिलो डाम बाँकी थियो । बूढो चस्मा मिलाएर बल्ल बल्ल पढ्यो, बाङ्गाटिङ्गा अक्षरमा लेखिएको थियो, “म उड्न चाहन्छु” । अक्षर उडिसकेछ तर डाम बाँकी नै रहेछ । रङ्ग हराइसकेछ तर सपना बाँकी रहेछ । डाम कहिल्यै नमेटिइने सपना हो, यसले उडान दिन्छ ।

डामहरू केवल भौतिक चिह्नहरू मात्र नभई, स्मृति, सम्बन्ध र विगतको अमिट उपस्थितिका गहन प्रतीकहरू हुन्, जुन हामीबाट कहिल्यै टाढा हुँदैनन् । अनुपस्थितिमा पनि, यी डामहरूले जीवनका महत्त्वपूर्ण क्षणहरू र सम्बन्धहरूको गहिरो छाप छोडेर हामीलाई जोडी राख्छन् ।

विद्रोह र आह्वान

एक किशोरी एउटा मोजा अर्को मोजाभन्दा अलि माथिसम्म लगाउँथिन् । त्यो मोजाले बनाएको फरक डाम हेरेर उनलाई सन्तोष हुन्थ्यो । त्यो डाम, उनको मौन तर गहिरो अस्वीकृति थियो । समाजको कठोर अनुशासन र थोपरिएको नियमहरू विरुद्धको उनको निजी प्रतिकार थियो । फरक मोजाले जस्तै, फरक सोचले पनि बनाउँछ विद्रोहको पहिलो रेखा । त्यो डाम, संसारलाई ‘हामी सबै एउटै हुनु जरुरी छैन, हामी प्रत्येकमा छुट्टै व्यक्तित्व छ’ भन्ने सिकाउने एउटा मौन सन्देश थियो । डाम विद्रोहको अभिव्यक्ति हो । उनले एक दिन कस्सिएको कपडाले आफ्नो जिउमा पारेको डाम हेर्दै सोचिन्, “मेरो जिउ यो लुगाभित्र छटपटाए जस्तो छ, यो मुक्त हुन चाहन्छ ।” आफैँमा पीडाको डाम बसाएर पनि विद्रोहको मीठो अनुभूति हुँदो रहेछ । डाम स्वतन्त्रताको चाहनाको अभिव्यक्ति पनि हो ।

गाउँको स्कुलको ब्ल्याक बोर्डमा चकले लेखेको अधुरो समीकरणको हल्का डाम अझै देखिन्छ । जुन शिक्षकले त्यो लेख्दै थिए उनलाई कक्षा कोठाबाट थुतेर लगिएको थियो, उनी कहिल्यै फर्किएनन् । बच्चाहरूले केवल प्रश्न मात्र जाने उत्तर कहिल्यै जान्न पाएनन् । डामले प्रश्न मर्न दिँदैन, उत्तर कुर्न सिकाउँछ ।

भगवान्को मन्दिरमा गएर पनि किशोर बाहिरै बस्यो, माथा टेकेन । उसले भन्यो, “वर्षौँदेखि अनगिन्ती माथाहरूले त्यहाँ टेकेका छन् । भगवान्‌को चरणमा ढोग्दा ढोग्दा मूर्तिको खुट्टामा भक्तको निधारको डाम नै बसी सकेको छ । म भगवान्को खुट्टामा थप घाउ पार्न चाहन्न ।” यो उसको प्रतिकात्मक विद्रोह थियो । मान्छे आफ्नै सिर्जनामा विश्वास पनि गर्छ, डराउँछ पनि । यो डाम, उनीहरूले बाँचेको डरको निशानी हो । यो डाम जति गहिरो छ, त्यो समाज उति अशान्त छ । वा यो श्रद्धाको निशानी पनि हो, एक अदृश्य शक्ति प्रति सबै प्राप्तिहरूका लागि कृतज्ञताको निशानी । यो डाम जति गहिरो छ, त्यो समाज उति विनयी छ । डाम भय पनि हो, सुरक्षा पनि हो ।

समुन्द्रको किनारमा पल्टिएको बेवारिसे डुङ्गामा छालले लगातार हान्दा नूनले आफ्नो डाम छोडेको छ । यो केको डाम हो ?, शायद लामो पर्खाइको निशाना हो कि त्यो यादको, जुन समुद्रमा त गएको थियो तर डुङ्गा मात्र फर्कियो । वा छालले डुङ्गामा गरेको नुनिलो चुम्बनको । वा समुन्द्रले डुङ्गालाई लगातार झकझकाएको होला, धकेली रहेको होला, तिम्रो स्थान यहाँ हैन, थकाइ मार्न पुग्यो, अब तिमी निस्क किनारबाट, शुरु गर अर्को यात्रा !” डामले लगातार घचेटी रहन्छ, डाम एक आह्वान हो— अघि बढ्न ।

डाम विद्रोह र आह्वान हो — प्रतिरोध गर्छ, झकझकाउँछ र अन्ततः अगाडि बढ्न प्रेरित गर्छ । डाम विद्रोह र आह्वानको अदृश्य, तर नमेटिने भाषा हो । डाम व्यक्तिगत स्वतन्त्रताको चाहना र सामाजिक बन्धन विरुद्धको गहन प्रतिकारको बिम्ब हो ।

नदेखिने डामहरू

आज उसले सोच्यो— प्रेमको चिठ्ठी लेखेर पठाउँछु, वर्षौँदेखिको एकतर्फी प्यार आज प्रकट गरेरै छाड्छु । उसले लेख्यो पनि, मनभरिको कुरा पोख्यो, माया खन्याइदियो तर पठाउने आँट गरेन । चिठ्ठी डाइनिङ टेबलमा राख्यो, वाइनको गिलासले थिचेर । भोलिपल्ट हेर्दा, वाइनको रित्तो गिलास त त्यहीँ थियो, तर चिठ्ठी थिएन । हावाले उडाएर भुइँमा पुर्‍याएको रहेछ । उठाएर हेर्दा त्यसमा गिलासको फेदको गोलो डाम देखियो । यो नशाको डाम थियो, मदिराको नशाको वा प्रेमको नशा ? डाम प्रकट गर्न नसकिएको प्रेमको सुषुप्त अभिव्यक्ति हो ।

उनीहरूको पहिलो भेट थियो । टेबलको उता उनी थिइन, यता ऊ । चिसो गिलासमा आएको बाफमा उसले उनको नाम लेख्यो, दुवै मुस्कुराए । केही समयपछि गिलासमा लेखेको त्यो नाम उडिसकेको थियो । नाम त्यहाँ थिएन, उनी पनि थिइनन् । तर समाउँदा उसलाई अझै पनि उनको नामको त्यो चिसो डामले पोल्यो । यो भतभती कताबाट आयो थाह भएन । भित्र कतै स्वाभिमानमा परेको अप्रत्याशित चोटले सिर्जना भएको बेइज्जती, तिरस्कार र अपमानको पीडाको पोलाई हुनुपर्छ त्यो । डाम सबै देखिँदैनन्, कुनै भित्र कतै लुकेका हुन्छन्, तिनले पोल्छन् मात्र ।

केटाले अचानक उसको ओठ चुम्यो— न स्नेह थियो, न अनुमति, बस एउटा स्तब्धता थियो, जसलाई उसले सहमति मान्यो । ऊ झसङ्ग भई । भित्र कतै केही डामियो, तर केही बोलिन । बस सहिदिई । उनले कहिल्यै केही भनिनन्— न त्यस दिन, न कुनै अर्को दिन नै । तर त्यो डाम सदा बलिरह्यो, ओठमा होइन, उनको अन्तर्मनमा ।  समय बित्दै गयो, सम्बन्धहरू आउँदै गए, तर त्यो डामभित्रको भतभती कहिल्यै गएन । कसैले त्यसलाई देख्न सक्दैनथ्यो, तर उनले त्यसलाई सधैँ आफूसँगै बोकिरही । जब जब उनका ओठ अरू कसैका ओठसँग मिल्थे, सबैभन्दा पहिले त्यही पुरानो डाम देखापर्थ्यो । त्यसले सधैँ अरू कसैले भन्दा पहिले चुम्बन गरिरह्यो । कुनै डामले जिन्दगीभर झस्काइरहन्छ ।

विवाहको औँठीले औँलामा हल्का डाम पारेको हुन्छ, त्यो धेरै समयसम्म रहन्छ । त्यो डाम त्यो कसमको निशानी हो जुन पुरा पनि गरियो, र तोडियो पनि । डाम विश्वास पनि हो, धोका पनि हो ।

नदेखिने डामहरू साक्षी हुन्— कहिलेकाहीँ प्रेमका, कहिलेकाहीँ चोटका, तर सदैव रहिरहने । देख्न नसकिने तर जीवनभर पोलिरहने ती डामहरू समयसँगै झन् गहिरो बन्छन् । तिनीहरूभित्र कतै गहिरो रूपमा बसिरहन्छन् र सधैँ पोलिरहन्छ ।

अन्त्यमा,

घाउहरू भुलिन्छन्, डामहरू रहन्छन् । डाम, केवल निशान मात्र होइन, यी त जीवनका गहिरा अर्थ बोकेका कथा हुन् । यी डाम हाम्रो पहिचान, स्मृति, विद्रोह र अस्तित्वका अदृश्य साक्षी हुन् । हामीले भोगेका प्रत्येक सुखदुःख, प्राप्त गरेका उपलब्धि र गरेका त्यागहरूको मौन तर चिरस्थायी प्रतिध्वनि हुन् यी डामहरू । डार्विनका जीवाश्म जस्तै, यी डामहरू समयको दस्ताबेज हुन्, जुन साक्षी बनेर हाम्रो व्यक्तिगत र सामूहिक इतिहास बोल्छन् । प्रत्येक डामले एउटा कथा भन्छ, एउटा सत्य उजागर गर्छ । अदृश्य डामले प्रेम, धोका, पीडा र मौन विद्रोहका नमेटिने छापहरू छाड्छन्, जसले हामीलाई जीवनभर डोऱ्याइरहन्छ । यसले ‘हामी को हौँ र कसरी बन्यौँ ?’ भन्ने गहिरो दर्शनलाई प्रतिनिधित्व गर्छन् ।