बरालजी मान्छे जान्ने-सुन्ने थिए । आकाशदेखि पातालसम्मका कुरा गर्नमा खप्पिस बरालजीका कुरा सुन्दा देश, दुनियाँ, इतिहास, राजनीति, नाफा, घाटा सबै कुराको ज्ञान पाइन्थ्यो । जीउमा कता दुख्दा के जडीबुटी दल्नु पर्छ देखि लिएर देशको अवस्था सुधार्न सरकारले के गर्नुपर्छ भन्ने सम्ममा उनी निक्कै कडासँग व्याख्या गर्न सक्थे । कहिले छर-छिमेकी, कहिले साथीभाइ त कहिले नातेदारहरू बरालजीका ज्ञान-गुनका श्रोता बनेकै देखिन्थे ।
तर ती श्रोता मध्ये सबैभन्दा नियमित र धैर्यवान् श्रोता चाहिं बरालजीकी आफ्नै श्रीमती थिइन् । हरेक दिन बिहान-बेलुकै श्रीमानका ज्ञानी-गुनी विचार, जानकारी र विश्लेषण सुन्दा सुभद्राको प्रतिक्रिया “हजुर- हजुर र हो-हो” नै हुन्थ्यो । त्यस बाहेक अरू कुरा भन्नलाई उनीसँग न त ज्ञान थियो, न त रुचि नै ।
सुभद्राको सबैभन्दा ठूलो रुचि थियो- टिकटकमा नाचेर भिडियो बनाउने ! बरालजी चाहिं नाच्न भनेपछि फिटिक्कै जान्दैनथे, र सामाजिक सञ्जालमा त झन पटक्कै रुचि नभएको कुरा उनी सबैलाई जोडतोडले सुनाउने गर्थे ।
तर जे होस्, आफ्ना हरेक सैद्धान्तिक विचार र व्याख्यामा श्रीमतीको “हजुर- हजुर र हो- हो” रुपी पूर्ण समर्थन पाएर बरालजी प्रसन्न हुने गर्दथे ।तर एउटा समस्या थियो; त्यो थियो- त्यस्ता सैद्धान्तिक विचारहरूको व्यावहारिक अनुसरण गर्ने ठाउँमा ।
जस्तै- एक साँझ बराल दम्पती पैदल हिंड्दै थिए । त्यसै बेला सुभद्राले फुटपाथको पानीपुरी खान मन गरिन् । बरालजीले उनलाई “यो पानीपुरी नखाऊ, किनकि त्यसको पानीको झोल सफा छैन” भने ।
तर त्यस्तो बेलामा चाहिं सुभद्रा त्यही गर्थिन् जे उनलाई गर्न मन लाग्थ्यो । बरालजीको तर्क, बुद्धि र गणितले यस्तोमा काम गर्दैनथ्यो ।
बरालजीले दूषित पानीबारे लामो व्याख्या गरे । तर अन्त्यमा श्रीमतीले भनिन्, “होइन, खाऊँ न !”
बरालजीले यो नखाऊँ बरु भोलि अर्को ठाउँमा गएर खाउँला भनेर सम्झाए । सबै सुनिसकेपछि उनले भनिन्, “होइन क्या, खाऊँ न !”
बरालजीले तेस्रो पटक अझ लामो वैज्ञानिक व्याख्या गरे । तर सुभद्राले फेरि अन्त्यमा भनिन्, “होइन क्या, खाऊँ न !”
यसरी बरालजीकी श्रीमतीले पानीपुरी खाएरै छोडिन् । श्रीमतीको जोडबलमा बरालजीले आफूले पनि चार वटा डल्ला क्वाप्लाक्क पारे ।
त्यसैगरी, अर्को एक दिनको कुरा हो, सुभद्राले बरालजीलाई एउटा टोपी किनेर ल्याएर दिइन् । बरालजीले टोपी लाउने बानी कहिल्यै नभएकोले लाउन नसक्ने कुरा बताए । सुभद्राले भनिन्, “होइन क्या, लाउनू न !”
टोपी लाउँदा आफूलाई असजिलो लाग्ने बारे उनले श्रीमतीलाई सम्झाइ-बुझाइ गरे । “सानै बेलादेखि मैले टोपी कहिल्यै लाइनँ … टाउको चिलाउँछ … सकसक लाग्छ …” हर तरहले उनले व्याख्या गरे । तर अन्त्यमा सुभद्राले भनिन्, “होइन क्या, लाउनू न !”
बरालजीले रिसले टोपी पर हुत्त्याइदिए । “मलाई मन पर्दैन र म लाउँदिनँ” भन्दै उनले आफ्नो अन्तिम निर्णय सुनाए ।
श्रीमतीले डराउँदै बरालजीले नसुन्ने गरी मधुरो स्वरमा भनिन्, “होइन क्या, लाउनू न !”
भोलिपल्ट बिहान बाहिर निस्कन लाग्दा श्रीमतीले बरालजीलाई फेरि टोपी ल्याएर दिइन् र भनिन्, “यो लाउनू न !”
त्यस दिनदेखि बरालजी साँझ-बिहान टाउकोमा टोपी लाएर अरूलाई ज्ञान-गुन र अर्ती-उपदेश बाँड्दै गरेका देखिन थाले । हुँदा-हुँदा, हिजोआज त टिकटकमा टोपी लाएका बरालजी श्रीमतीसँग नाच्दै गरेको पनि देखिन थालेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










