विधवा गौरीका शरीरमा यौवनका चिह्नहरू भरिँदै आए । अङ्गप्रत्यङ्गबाट माधुर्य र लावण्यको विकास हुन लाग्यो । यौवनका साथसाथै वेशभूषा, शृङ्गारविन्यासको शोख पनि बढ्‌दै गयो । तर के गर्नु । विधवा थी, उसको सौभाग्य विधाताले अघि नै पुछिदिइसकेका थिए । कमसेकम लोकलाजको निवारणका निमित्त पनि संसारमा उसले बहुतै सतर्क भएर हिँड्नुपरेको थियो । अरू कुरामा झैं दुःखका विकासको पनि एउटा समय हुँदो रहेछ । अघि बालक थी, खेलबाडमा दिन बित्थ्यो । उस बखत यस कुराको उति दुःख थिएन । अहिले सानोसानो कुराले पनि उसका मानस सरोवरमा वेदनाका ठूलाठूला लहर पैदा हुन्थे ।

शहरको ठाउँ, मूल सडकको छेउको घर, कहिले कुनै दम्पतीको जोडी फूलजस्ता छोराछोरी बोकेर ठाँटिएर हिँडेको देख्तथी । कहिले कुनै युगल जोडी मोटरमा बसेर हाँस्दै जान्थे । कुनै दिन मगन्ते गाइने चोकमा आएर “दिनै आउँछ रिङ्गदै-घुम्दै जोवन एकैबारको हजुर…” भनेर सारङ्गीका स्वरमा विरही तान अलापेर जान्थ्यो । संसारका यी मिथ्या प्रलोभनहरू देखेर कहिलेकाहीं उसको चञ्चल हृदयमा अचानक एउटा अज्ञात नालसाको आँधी चल्न थाल्थ्यो । कुनै मूक वेदनाले व्यग्र रहन्थी । खानलाउनको कमी थिएन तर जीवनमा सधैं एउटा शून्यपनको अनुभव हुन्थ्यो । यो अन्धकार जगत्मा उसको आत्मा छामछामछुमछुम गरेर एउटा हराएको अलभ्य वस्तुलाई खोजिरहन्थ्यो ।

मानिसलाई पाइने कुराको भन्दा नपाइने कुराको चाह ज्यादा हुन्छ । अरूलाई भन्दा अन्न नहुने दरिद्रलाई ज्यादा भोक लाग्छ । त्यस्तै अरूलाई भन्दा गौरीलाई राम्रो लाऊँ मीठो खाऊँ भन्ने इच्छा ज्यादा थियो । सधैं सफा लुगा लगाएर खुब सिँगारपटार गरेर ज्यालमा बस्थी । अभागिनी डढेका ललाटलाई सिँगारेर छोप्ने कोशिश गर्थी ।

 

नजिकै सडकपारि गोविन्दको घर थियो । गोविन्द सुन्दर युवक थिए । उन्नत ललाट, ठूलाठूला आँखा, गठिलो वदन, गोरो रङ, कुनै निर्मित प्रतिमा जस्ता देखिन्थे । त्रिचन्द्र कलेजमा बी.ए. क्लासमा पढ्थे । भावुक प्रकृतिका मानिस थिए । पत्रपत्रिकामा बराबर आफ्नू रचना दिइरहन्थे । बी.ए. पास गरेपछि मात्र विवाह गरुँला भन्ने सङ्कल्प गरेका थिए । स्त्रीसुधारका बहुतै पक्षपाती थिए । स्त्रीजातिलाई पूर्ण शिक्षा दिनुपर्छ, उनीहरू माटाका पुतलीझैं सिँगारेर कोठामा मात्र राखिछोड्ने वस्तु होइनन्, हाम्रो उत्थान नारीजातिका उपर निर्भर छ, स्त्री शिक्षिता भए हाम्रो घर स्वर्ग हुन्छ, विवाह जस्तो पवित्र विषयमा स्त्रीपुरुषहरूलाई स्वतन्त्र गरिदिनुपर्छ भनेर आफ्ना साथीहरूसँग स्त्रीसुधारका विषयमा बराबर वादविवाद गरिरहन्थे । फेसनको पनि खूब शोख थियो । प्रायः रोजरोजै नयाँनयाँ ड्रेस लगाएर कलेज जान्थे । छिमेकी हुनाले गौरीका घरमा पनि बराबर आउनु-जानु गर्थे । गोविन्दको मनोहर रूप देखेर गौरी तृप्त हुन्थी । घनिष्ठता बढ्‌दै गयो । दुवैको आत्मालाई एउटा प्रबल प्रेम सूत्रले बेर्यो ।

 

अस्ति गोविन्दकी बहिनीको बिहा थियो । गौरी पनि निम्तामा गएकी थी । एकान्तमा गौरीले गोविन्दसँग “सानो बाबू, संसार कस्तो छ ?” भनेर सोधी ।

गोविन्दले भने, “जताततै रमाइलो छ । कतै अग्ला हरिया पहाडबाट पानीका सेता छहरा फरेका छन् । कतै सुन्दर बगैंचाहरू छन् । कतै बिजुलीका प्रकाशले जगमग भइरहेको नृत्यशालामा अप्सरा जस्ता सुन्दरीहरू नाचिरहेका छन् । कतै झिलिमिली परेका सहर छन् । कति भनूँ माहिली नानी । जता हेर्यो उतै सुन्दर दृष्य मात्र छ ।”

गौरीले लामो सास फेरेर भनी, “हजुर ढाँट्नुहुन्छ । म त जताततै कालो अन्धकार, कहाली लाग्दो छाँगा, तीखातीखा काँडाका घारी, हजारौं हिंस्रक जन्तुले भरिएको गहिरो कालो रह, धपधप बलेका स्मसान भूमि, कतै मृत्यु वेदनाको चीत्कार, रोदनसिवाय केही देख्दिनँ ।”

यति भनेर अर्कापट्टि फर्केर बर्र आँसु झारी ।

गोविन्दले फेरि भने, “हुन त त्यसै हो, हामी केवल कल्पनाबाट मात्र सुखको अनुभव गर्छौं । त्यस्तै सुखको कल्पना गर्न सक्यौ भने एकछिन तिमी पनि सुखी हुन सक्छ्यौ ।”

गौरीले फेरि गहभरि आँसु पारेर आकाशतिर हेरेर भनी, “भो बा भो ! म कल्पना गरेर सुख किन्दिनँ, जसलाई सुखको रहर छ, जसले यो जगत्मा सुखी हुने मौका पाएको छैन, उही कल्पनामा सुख साटोस्, मलाई चाहिंदैन, सुखको एउटा रेणु पनि चाहिंदैन ।”

यति भनेर आँसु झार्दै ऊ पल्ला कोठातिर गई ।

केही दिनका बाद गौरीको शरीर भारीजस्तो देखियो । आनन्दका बदलामा दुवैका मुखमा तीव्र विषादको छाया देखिन लाग्यो । नारी लज्जाशील जाति हुनाले गौरी अब विशेष चिन्तामग्न देखिन्थी । किन हो कुन्नि सधैं आइरहने गोविन्द अब कहिलेकाहीं मात्र देखा पर्न लागे ।

 

एक दिन राति गोविन्द आफ्नो कोठामा बसेर एक्लै पाठ घोकिरहेका थिए । नोकर्नी चमेलीले एउटा सानू कागज ल्याएर “सानो बाबू । यो हजुरका साथीले पठाएको चिठी अरे, धारामा माहिली नानीले दिएकी,” भनेर गोविन्दका अगाडि फ्याँकिदिई ।

 

प्यारे !

दर्शन नपाएको महिना दिन भइसक्यो । परमेश्वरका दिव्य चक्षुलाई ढाक्न खोजेथें, केही लागेन । नाथ ! डुबें, निसास्सिन लागें ! तान्नुहोस् प्रभु ! यस अभागिनीको हात समातेर तान्नुहोस् !

अभागिनी

गौरी

चिठी पढिसकेपछि गोविन्दका आँखा तिरमिर भए । यो झलमल्ल जगत् एकदम अन्धकार भो । धेरै वेरपछि विचार गरे, “मैले के नगर्ने काम गरेको छु र डर ? समाजमा उमेर ढलिसकेका मानिसहरू बाह्र वर्षकी अबोध बालिकासँग बिहे गर्छन् र त्यसलाई उमेरमै विधवा गराएर आफू यो संसारदेखि बिदा हुन्छन् । कोही एउटी पत्नी छँदै केवल भोगका लालचले दुई-तीनओटी विवाह गर्छन् । कैयौं मानिस घरकी विवाहिता स्वास्नीलाई छोडेर सिउसाँझै वेश्याका कोठीमा पस्छन् । तिनलाई पाप नलाग्ने, धर्मको हत्या नहुने, अपराध अपराध नठहर्ने, म अपराधी ठहर्ने ? स्त्रीका झैं पुरुषहरू पनि किन पत्नीव्रतमा रहँदैनन् ? स्वास्नी मानिसहरू झैं लोग्ने मानिसले पनि जुनीभर राँडो भएर बस्नुपरे थाहा पाउने थिए । भोलि समाजका साम्ने छाती फुकाएर भनिदिन्छु- बाह्र वर्षका उमेरमा विधवा भएकी बालिका, जसलाई प्रणयसूत्रको कुनै पनि रहस्य थाहा छैन, त्यसलाई उसका इच्छाविरुद्ध आजीवन वैधव्यबन्धनमा जकडेर राख्नको समाजलाई के अधिकार छ ? केवल प्रणययज्ञको धूवाँ लाग्दैमा नारीको जीवन अशुद्ध हुन्छ भन्ने आज्ञा कुन धर्मले दियो ? गौरी मेरी धर्मपत्नी हुन्, उनको गर्भको बालक मेरो औरस सन्तान हो ।”

तर फेरि मनमनले भने, “संसार बहुमतको आडमा खडा छ । म एक्लो मानिसले गरेको प्रलाप कसले सुन्छ र ? हाम्रो कर्म समाजका साम्ने जघन्य रूपमा प्रकाश हुन्छ । जातभातको प्रश्न उपस्थित हुन्छ । अदालतका साम्ने खडा गरिन्छौं । मानिस चउर, पाटीचौतारमा बसेर हाम्रो कर्मको समालोचना गर्न थाल्छन् । टोलका मानिसहरूलाई दुई-चार महिनालाई काम पुग्छ । चन्द्रकान्त भण्डारीका छोरा बेखाका पसलमा बसेर थपडी मार्न थाल्छन् । बाटो हिंड्ने बटोही औंल्याउन लाग्छन् । बाफज्यादाको मर्यादा डुब्छ । आमा रुन थाल्नुहुन्छ । दाइहरू लाजले पानी हुन्छन्, अनि यो मेरो प्रलाप हाँसोमा उड्छ ।” इत्यादि विचार गरेर गोविन्दले लामू सास फेरे ।

गोविन्द कवि थिए । उनले आफ्ना कल्पनाजगत्‌मा जुन नारीरत्नको प्रतिमा खडा गरेका थिए, ती सबै गौरीमा मिल्थ्यो । यदि विधवा भन्ने प्रश्न नहुँदो हो त आज गौरीलाई पाएर गोविन्दको जीवन सुखमय हुने थियो ।

एकछिनपछि चमेली भात खान बोलाउन आई तर गोविन्दले, “मलाई सन्चो छैन, चुलो छोडिदिनू,” भनी पठाए ।

 

गौरीलाई देखेर टोलका आइमाईहरू कानेखुसी गर्न लागे । गौरीको चिन्ताको पारावार थिएन । निकट भविष्यमा परिआउने एउटा भयङ्कर विपत्ति आँखाका साम्ने नाचिरहेको थियो । यो व्यग्र वेदनाका उपर सान्त्वना दिने व्यक्ति यो बेइमान संसारमा कोही थिएन । भागूँ भने भाग्ने ठाउँ छैन । चारैतर्फ निर्दयी समाजको कडा पहरा छ । विचार गरी “म एक्लीको पाप होइन, आज सानो बाबूसँग गएर कर्तव्यको टु‌ङ्गो लाउँछु ।”

पहिलो साँझ थियो । पालोमा जाने सिपाहीहरू गुन्टा बोकेर सडकमा हिंडिरहेका थिए । कलधारामा स्वास्नीमानिसहरूको घुइँचो थियो । गौरी छिंडीमा झरी । एकछिन ढोकाबाट सडकतिर हेरेर गोविन्दका ढोकाभित्र पसी । चोकमा नोकर गाई दुहुन लागेको थियो । एक जना पहाडतिरको मानिस फलैंचामा बसेर चिउरा चपाउन लागेको थियो । तलाबाट पानीको गाग्रो चेपेर चमेली ओर्ली । चमेलीलाई देखेर गौरीले भनी, “चमेली दिदी, एकछिन सानो बाबूलाई बोलाइदेऊ न ।”

गौरीको स्वर सुनेर झ्यालबाट गोविन्दकी आमाले भनिन्, “को ? गौरी बेस्ये हो कि ? यो निर्छली राँड एकातारै हाम्रा घरमा किन आइरहन्छे हँ ? यसका जगल्टा भुत्ल्याएर निकाल्दे चमेली ! अलच्छिनीले बिहा भएका महिनै दिनमा पोइ टोकी, अब कसलाई टोक्न आँटेकी हो !”

गोविन्दकी आमा झ्यालबाट कराएको सुनेर, वल्लोपल्लो घरका मानिसहरू, कोठामा डेरा गर्ने सिपाहीहरू सब जना झ्यालझ्यालबाट रमिता हेर्न लागे । गौरी फरक्क फर्केर आफ्ना घरमा आई । माथिल्लो भऱ्याङमा आधाआधी पुगेकी थी, कोठामा दाजुभाउजू कुरा गर्न लागेको सुनी, “टुहुरी बहिनी भनेर कपालमा टेकाउनुभो, कुन दिन नाकमा कालो लाउने हुन् ! एकछिन घरमा बास छैन । हजूर बाहिर जानुभो कि दौडेर छिंडीको ढोकामा पुग्छिन् । सबैको आउँछ बैंस, यस्ती उत्ताउली त कहीं देखिएन ! आफ्नू पुर्पुरो डढेपछि चार जनाको भनाइ जोगाएर हिंड्नुपर्छ । हाम्री कान्छीका पनि त बाहुन छैनन् नि, खोइ त यस्तो त गर्दिन ए । उज्यालो हुँदानहुँदा बागमती नुहाएर आइपुग्छे । एकछिन कोठाबाट बाहिर निस्कन्न । अस्ति सानो बाबूकी आमा अब गौरी बेस्ये आई भने भुत्ल्याएर निकालिदिन्छु भन्थिन् अरे । आजकाल त जीउ पनि डोलोडोलो भैरहेछ । छिः ! केके देख्नुपर्ने हो !”

“के गर्नु चण्डाल भनेको मान्दिनँ, यसको सारै ताप भो ।”

गौरीका हृदयमा अघि नै ठेस लागिसकेको थियो । अहिले झन् छाँगाबाट खसेजस्ती भई । सास बढेर आयो, छाती ढुकढुक गर्न लाग्यो । आज गौरीको गति त्यस दुःखी पक्षीको जस्तो भयो जो निर्दयी सिकारीको गोली लागेर छटपटाउँदै भैंमा झर्छ ।

चाल मारेर आफ्ना कोठामा गई । भित्तामा पतिको तस्वीर टाँगिइरहेको थियो । त्यो धेरै कालदेखि झुन्डिरहेको निर्जीव चित्रमा आज उसले स्वामीको सजीव दिव्य मूर्ति देखी । हात जोडेर भनी, “नाथ ! पुनर्जन्ममा हजुरलाई पाउने धर्मको महान् आज्ञामा विश्वास गर्न सकिनँ । बालकपनको अल्लारे बुद्धिमा लागेर फूलझडी खेल्न खोजेथें प्रभु । सर्वस्व डढेको थाहा पाइनँ । पथभ्रष्ट भएँ, पतित भएँ, अब प्रायश्चित्त गर्छु नाथ, प्रायश्चित्त ।”

गौरी दुवै हातले मुख छोपेर रुन लागी । यो मनोवेदनाले एकछिन अचेत जस्ती भई । नीलो आकाशमा हजारौं तारागणका बीचमा आमाको दिव्य मूर्ति देखी । उनले लाललाल आँखा गरेर भनिन्, “पापिनी ! म सतीका कुलमा कालो टीका लगाइदिइस्, किन बाँचिरहिछस् ? फुन्डिएर मर् । डुबेर मर् । संसारमा आफ्नो कालो मुख नदेखा !”

 

मिर्मिर उज्यालो हुन लागेको थियो । पशुपति नुहाउने मानिसहरू प्रभाती गाउँदै रानीपोखरीको बाटो जान लागेका थिए। भोटेका भेडाहरू बगरमा फिंजिएका ढु‌ङ्गाझैं देखिन्थे । सडकका बिजुलीबत्तीहरू पनि धमिला भैसकेका थिए । त्यस्तैमा एउटी स्वास्नीमानिस पाखामा पछ्यौरा फ्याँकेर ग्वाम्म रानीपोखरीमा फाल हाली । एक जना मानिसले भन्यो, “पुलिस दाइ । पुलिस दाइ । पोखरीमा मानिस फाल हाल्यो ।”

पुलिस दौडेर आयो । एकछिनमा सैकडौं मानिस जम्मा भए । एक जना पुलिस ठानामा खबर दिन गो । उज्यालो भएपछि इन्स्पेक्टरहरू आए । पानीबाट लास झिकेर पाखामा राखे । मानिसको अपार भीड लाग्यो ।

डाक्टर घोसले निहुरेर लासको अङ्गप्रत्यङ्ग हेरे । त्यसपछि चस्मा झिकेर पुछ्न लागे । अनि आँखीभौं खुम्च्याए, फेरि दाँतले तल्लो ओठ टेकेर भने, “पेट ठो भारी मालुम होता हाए, पोस्टमार्टम कोर्ने होगा ।”

एउटा बाटो हिंड्ने ढाक्रेले आफ्नो साथीसँग भन्यो, “कति राम्री रहिछ गाँठे !”

“त्यसै हुनाले त डुबेर मरी, आइमाईको रूपै शत्रु, रूपै मित्रु ! तेराहाम्रा त ज्यापूका आलुबारीमा उभ्याउने जस्ता छन्, मर्न जा भनेर घरबाट निकाल्दा पनि मर्दैनन् ।”

एकछिनपछि एक जना चस्मा लगाएको सुन्दर युवक ठेलमठेल गरेर लासनेर आइपुग्यो । युवक गोविन्द थियो । मर्ने गौरी रहिछ । त्यस बखत गोविन्दका मुखको रङ एकदम उडेको थियो । कुनै संज्ञाहीन पागलझैं देखिन्थ्यो ।

आज समाजका वेदीमा एउटी अनाथिनी विधवाको जीवनलीला यसरी समाप्त भयो ।

(गुरुप्रसाद मैनालीको कथासंग्रह नासोबाट)