वागलुङमा जन्मिएका कार्टुनिष्ट तथा चित्रकार हुन्, विश्व थापा मगर ।

सानैदेखि चित्र कोर्ने थापा चित्रकारितामा लागेको १२ वर्ष भयो । सानैदेखि चित्र कोर्न मन पराउने उनले ८ वर्षदेखि कार्टुनहरु बनाउँदै आइरहेका छन् ।

स्कुल पढ्दा उनलाई सामाजिक विषय शिक्षकले विभिन्न चित्रहरु कोरेर ल्याउन अह्राउँथे । ‘शिक्षकले मलाई पृथ्वीनारायण शाह, भानुभक्त आचार्य जस्ता व्यक्तित्वहरुको चित्र बनाउन भन्नुहुन्थ्यो’, उनले भने, ‘ती सबै मैले बनाएर लगेका चित्रहरु कक्षाकोठाका भित्ताहरुमा टाँसिदिन्थेँ, त्यसले मलाई चित्र कोर्नका लागि थप हौसला दिन्थ्यो ।’

विश्व थापा मगर

उनी हाल नयाँ पत्रिकामा कार्टुन तथा चित्रहरु बनाउँछन् ।

उनलाई ल्याण्डस्कोप चित्रहरु बढी कोर्न मन पर्छ । पछिल्लो समय भने थापा समसामयिक तथा राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर चित्रहरु कोर्ने गर्दछन् ।

‘धेरैजसो म आर्टिकल बेस्ड कार्टुन तथा चित्रहरु कोर्ने गर्छु,’ उनले भने, ‘कथाले जे मागेको छ त्यसमै केन्द्रित रहेर कथाअनुसारको पात्रहरुलाई चित्रमा उतार्छु ।’

‘कार्टुन बनाउने बेला कहिलेकहीँ आर्टिकलको शीर्षक देख्नासाथ दिमागले यस्तो बनाउँछु भनेर क्लिक गरिसकेको हुन्छ,’ उनी भन्छन्, ‘कहिले चित्र उतार्नका लागि पुरै आर्टिकल पढेर सक्नुपर्छ ।’

उनी भन्छन्, ‘चित्रकारहरुले कुनै घटना वा विषयवस्तु देख्नासाथ आफ्नो दिमागमा एउटा इमेज बनाइसकेका हुन्छन् । त्यसलाई कागजमा वा कम्प्युटरमा दृश्य उतार्न धेरै समय लाग्दैन । ८० प्रतिशत काम पहिल्यै नै दिमागले गरिसकेको हुन्छ ।’

थापालाई चित्र तथा कार्टुन कोर्न बाहेक गित गाउन, गितार बजाउन पनि मन पर्छ ।