धेरै वर्षपछि महसुस गर्दै छु – मलाई पहिले जस्तो बाडुली लाग्दैन । नियतिले बाँधेर राखेको मेरो सानो कोठा, अझै साना झ्यालहरूबाट जीवनको गतिशीलतालाई अचम्म मानी निहाल्दै थियो । साउने झरीको मन्द आवाज र भिजेको माटोको सुगन्धलाई पछ्याउँदै म पनि हातमा समातेको ‘चिनी कम, रङ्ग कडा’ चियाको सर्को लिँदै झ्याल नजिक पुगेँ । वर्षौँदेखि निर्माणाधीन रहेको सडक र त्यसको साक्षी बन्न बाध्य वरको रूखलाई अक्सर उजाड देख्नु । तर अहिले भने झरीमा रुझेर उसका रङहरू फेरि खिलखिलाइ रहेका छन् । एक प्रकारको आत्मीयता गाँसिएको छ हामी बीच । यस अन्जान शहरमा ऊ मेरो लागि प्रथम र एक्लो सन्दर्भबिन्दु हो जसको आधारमा मैले आफ्नो ठेगान परिभाषित गर्ने गर्छु ।

अँध्यारो रातमा घर फर्किँदा, उसैलाई देखेपछि त हो ढुक्क हुने, सकुशल फर्किएछु भनेर । पाहुना बोलाए पनि सबैभन्दा पहिला चिनाउने पनि उसैलाई । अस्ति भर्खर मेरो साथीलाई साँझ निम्त्याउँदा वरको बोट अगाडि आएपछि फेरि फोन गर्नु भनेर सुझाएको थिएँ । चियाको एक चुस्की लिन्छु र धर्तीमा वर्षाको नृत्य हेर्दै सम्मोहित हुन थाल्छु । सायद धमिलिँदै गएका यादहरू स्मरण गर्नका निम्ति झरीको बखतभन्दा अनुकूल अरू कुनै समय हुँदैन । थाहै नपाई मेरो मस्तिष्कमा पनि केही यस्तै ख्यालहरू आउन थाले, र म अचानक सोच्न बाध्य भएँ । के त्यो कुरा सही थियो ? कि हामीलाई बाडुली तब लाग्छ जब कसैले हामीलाई सम्झन्छ ? सौभाग्यवश भनौँ कि दुर्भाग्यवश, केही राम्रा संस्थाहरूबाट ‘शिक्षित’ हुने अवसर पाएको हुँदा, यस्तो ‘अन्धविश्वासी’ जिज्ञासाले मलाई आकर्षित नगर्नुपर्ने हो ।

तर्कशीलताको युगमा जायज त यहीँ हुन्थ्यो कि गुगल अथवा च्याटजिपिटी खोलेर म बाडुलीको वैज्ञानिक कारणबारे खोजीनीति गरूँ । तर जति प्रयास गरेँ नि, त्यो सहसम्बन्ध जुन कुनै जमानामा स्पष्ट देखिन्थ्यो, त्यसलाई अन्देखा गर्न मन र मस्तिष्क दुवैले कहिल्यै मानेन । आखिर कसरी चाहिँ भुलूँ बाल्यकालका ती क्षणहरू जब बाडुलीले सताउँदा मलाई राहत नै स्मरण गरेका नामहरूले दिने गर्दथे ? र कसरी भुलूँ मेरो मुहारमा छाउने त्यो मुस्कान, जब बाडुली उसको नाममा आएपछि रोकिन्थ्यो ? क्षणभरको लागि भए नि म असाध्यै खुशी हुन्थेँ, यो ठानेर कि उसले मेरो गुप्त चाहनाबारे थाहा पाई र त्यसलाई अस्वीकार गर्नुको साटो, अँगालेर बसी ।

यो रहस्यमय बाडुली निर्क्योल प्रक्रियामा मलाई विश्वास नै यस कारण लाग्न थाल्यो किनभने यो बिरलै मात्र काम गरिरहेको हुन्थ्यो । एउटा शङ्कास्पद चरित्र भएको मनुष्य हुनुको नाताले मलाई ‘अचुकता’ मा कहिल्यै भरोसा लागेन, खास गरी जब मैले थाहा पाएँ कि गर्भनिरोधक उपकरणहरूले पनि सत् प्रतिशत सुनिश्चितता नदिने रहेछ । त्यसैले मेरो बाडुली रोक्ने हर असफल पुकार नै यो प्रक्रिया वैध हो भन्ने कुराको प्रमाण हुन्थ्यो । आखिर सधैँ आफ्नो बारेमा सोच्न कसलाई पो फुर्सद हुन्छ र ? बाडुली नरोकिएमा निराश हुँदै एक गिलास पानी पिउँथे – एउटा व्यवहारिक विकल्प ।

सायद सुन्दा अनौठो लाग्ला, मैले एउटा कल्पेको कथा र त्यसकै काल्पनिक स्वीकृतिलाई वास्तविक भन्ठान्थेँ । तर जब म आफ्नो जिन्दगीलाई फर्केर हेर्छु र पाउँछु कि मैले अनुभव गरेका र कल्पनामै सीमित रहेका क्षणहरू, दुवै यादको पहुँचबाट उतिकै नजिक या उतिकै टाढा छन् । मलाई लाग्छ, कल्पना पनि हाम्रो विगतको उतिकै अंश हो जति बाँचिएका अनुभवहरू ।

म छ कक्षातिर हुँदाको कुरा हो । मेरो नाबालिग जिन्दगीमा आकर्षणको पहिलो किरण बनी आई एक कक्षामुनि पढ्ने एउटा केटी । सायद बाल्यकालमा हाम्रो मन बढी कोमल हुने भएर होला, हरेकमा सुन्दरता वयस्क अवस्थामा भन्दा सजिलै देखिने । त्यसैले पो हो कि उसलाई असाध्यै सुन्दर ठानेको ? अहिले मुहार ठ्याक्कै याद नभए पनि उसले छोडेको गहिरो छाप भने अझै सम्झन्छु । तर अधिकताको पनि आफ्नै समस्या हुन्छ । असाध्यै लागेरै होला उसको सुन्दरता, नजिकिने आँट कहिल्यै आएन । अधिकताले तर्साउने रहेछ, आफ्नो अपर्याप्तता देखाउने भएर होला । बरु अलि कम सुन्दर ठानेको भए डराउने थिइनँ कि ? धन्न प्राविधिक विकासले किबोर्ड पछाडि लाज लुकाउन सम्भव बनाइदिएकाले पछिका वर्षहरूमा परिचित हुने प्रयास चाहिँ गरेँ । हुन त संवादको नाममा जन्मदिनमा साटिएका शिष्टाचार सन्देशहरू बाहेक अरू के नै पो आदानप्रदान गरेका थियौँ र ? त्यही नि खै किन हो, जाबो एउटा ‘ह्याप्पी बर्थ डे’ लेखेर पठाउँदा लाग्थ्यो- ती दुई शब्दले शब्दकोशप्रतिको दायित्व भुली, मेरा गहिरा अव्यक्त भावनाको प्रतिनिधित्व गरिरहेका हुन्थे ।

भन्नै पर्दा, मलाई उसको आवाज कस्तो छ भन्ने कुरा पनि कहिल्यै थाहा भएन । न त थाहा भयो उसलाई मन पर्ने र नपर्ने चिजहरू, जुन हामी आफ्ना प्रियजनका ‘अटो’मा लेख्ने गर्थ्यौँ । मलाई थाहा थियो त केवल उसको नाम, उसको रोल नम्बर र उसको मुस्कान जसले बाँकी सबै सांसारिक तथ्यहरूलाई महत्त्वहीन तुल्याइदिन्थ्यो । हुन पनि शब्दहरूको आवश्यकता नै के ? तिनीहरूमा अल्झिनु नै बेकार । तिनबाट बुनिएका वर्णमालाका चाङ, जसको चयन जतिसुकै जायज लाए पनि, आफूलाई अभिव्यक्त गर्न सधैँ अपर्याप्त हुन्थ्यो, र हुनेछ ।

त्यसमाथि व्यक्तिगत सीमितता । यस्तो प्रगाढ थियो उसलाई खुशी राख्ने इच्छा कि म चाहन्थेँ मेरा अभावहरू उसका नबनुन् ।  चाहन्थेँ, उसलाई दिन मिल्ने कोशेलीहरू आफ्नो अपर्याप्तताको कारण पसलका तख्ताहरूमै छोड्न नपरोस् । किन चाहिँ  प्रेम, जो अनन्तः हो, त्यसलाई भौतिकताको दायरामा कैद गर्ने ? यही प्रश्नहरू पछ्याउँदै गर्दा मैले कल्पनाको संसारमा शरण पाएँ, जुन एक मात्र ठाउँ थियो जहाँ मेरो प्रेमको अभिव्यक्ति सङ्कुचित हुनेवाला थिएन । मलाई लाग्छ, म सफल पनि भएँ । या भनौँ, म हारेँ केवल समयसँग, जुन आफैँमा एउटा जीत हो ।

खैर, मेरा त्यही नाबालिग आकर्षणका दिनहरूमा हो मलाई सबैभन्दा बढी बाडुली लाग्ने, जुन अचानक आउँथ्यो एउटा सामान्य साँझमा कल्पनाको भूमिबाट सन्देश बोकी, र मेरो मुहारमा मुस्कान छोडेर जान्थ्यो । यदि उसैको नामले बाडुली रोकिएमा म पनि पुग्थेँ त्यही भूमि । यदि नरोकिएमा अन्य प्रियजनलाई सम्झन खोज्थेँ । मेरी आमाको मुहार आउँथ्यो सबैभन्दा पहिला । म सोच्थेँ, उहाँ के गर्दै हुनुहोला ? सायद दराजमाथि राखेको एउटा सुटकेस झिकेर अर्को ठ्याक्कै उस्तै देखिने सुटकेस राख्दै हुनुहोला, र ह्यान्डल समात्दा मलाई सम्झनुभएको होला – घर भएको भए छोरोले सघाउँथ्यो भनेर । त्यसले पनि काम नगरेमा एकछिन आश्चर्य मानी सोच्थेँ – को चाहिँ रहेछ मलाई अनायासै याद गर्ने ? र अन्त्यमा एक गिलास पानी पिउँथेँ – एउटा व्यवहारिक विकल्प ।

यसरी नै वर्षहरू बित्दै गए, सांसारिकताको  निरन्तर चक्रले मलाई यथार्थमै खिचेर राख्यो, र मैले भुलेँ त्यो संसार । जब हालै मात्र लादिएका प्राथमिकताहरूबाट मुक्ति पाई, भएभरका सबै आकाङ्क्षाहरू त्यागी, पुनः एकपटक एकान्तमा फर्किएँ, तब झल्याँस्स याद आयो त्यो गुप्त बाटो, जुन कुनै बखत म दिनानुदिन हिँड्ने गर्थेँ । स-साना पाइला चाल्दै त्यही ढोका अगाडि पुग्छु, मुस्कानका साथ । तर जब ढोका खोल्छु तब पाउँछु सबै मरुभूमिमा परिणत । न त कुनै मायाको चिनो, न त कुनै बिछोडको पत्र । आखिर, कल्पनामा समेत मान्छेहरू कुर्न नसक्दा रहेछन् !

दश वर्ष जति भयो – मलाई थाहा छैन ऊ अहिले कता छे । के गरिरहेकी छे ? के उसको जीवनमा खुशीयाली छाएको छ ? – यसै भन्न नसके नि आशा चाहिँ गर्छु । आखिर आशबाहेक अरू के चाहिँ पो गर्न सक्छु र मैले ? यसरी उसलाई सम्झिँदै गर्दा, के उसलाई बाडुली लाग्ला ? के उसले त्यो केटो सम्झेली जससँग उसको नजर मिल्ने गर्थ्यो, धेरै वर्ष अगाडि ? कि ऊ पानी पिएर आफ्नो जिन्दगीमा फर्किने छे, चालै नपाई त्यो अद्भुत प्रेमकथा, जसको ऊ मुख्य पात्र रही ?