…साँघुरो बस्तीभित्र-
फराकिलो मैदान छ
बीचमा “शमशेर-थुम्को” छ

वरिपरि नर-कंकाल…

थोत्रा “बुख्याँचा”हरू आउँछन्
पालैपालो उच्च सिंहासनमा बस्छन्
र गर्जन्छन्, “म जंगलको शेर हुँ !”

उनीहरूको पन्जामा मानव-रगत
उनीहरुको थुतुनामा मानव-रगत
तुच्छ पाप – “जाबो” मानव-हत्या ?
तथापी ओहो कत्रो ठूलो बहादुरी !

हो, “शेर” हुन यहाँ कति गार्हो छ !
को हुन्छ यहाँ “राजा” सानो आँटले?


बस्तीले दिनहुँ भ्रष्टाचार देख्छ /लेख्छ
जसले नर-कंकाललाई छोपेको छ
(भ्रष्टाचारले हत्या-प्रकरण छोपेको छ)

ए बस्तीका मनुवाहरु !
तिमीहरुलाई मेरो सानो प्रश्न छ :
ज्यानमाराहरुले देश लुट्दा
दिनहुँ समाचार बन्छन् किन ती अखवारहरुमा ?
कुन ज्यादा महँगो छ:
मान्छेको रगत, ज्यान कि देशको पैसा ?
र कुन आश्चर्य देख्यौ भ्रष्टाचारमा ?
तिमीहरु कै स्वीकारोक्तिमा
देश लुटिएको होइन र ?
तिमीहरु कै मौनतामा –
देश लुछिएको होइन र ?

आक्रान्त बस्तीमा –
छ त केवल छट्पटी/ रुवाबासी –
अर्थात्, एउटा उपहास आफै माथिको !
अनेक लज्जाबोध आफै माथिको !

सिंहदरबारको कथा हो
यो –
देशको वर्तमान व्यथा हो…!